कारोबार संवाददाता
बुधवार, भदौ १८, २०७६
433

फर्निचर व्यवसायमा लामो समयदेखि सक्रिय हुँदा के कस्ता अनुभव बटुल्नुभएको छ ?
सबैभन्दा ठूलो समस्या भनेको कच्चा पदार्थको हो । साना विषयहरू धेरै छन्, व्यावसायिक समस्या समाधानका लागि पहल गर्न, व्यावसायिक एकता, हकहितलगायत विषयलाई संस्थागत रूपमा समाधान गर्दै लैजानका लागि नेपाल फर्निचर तथा फर्निसिङ संघको स्थापना भएको हो । लक्ष्यअनुसार संस्थाले व्यवसाय विस्तार तथा व्यावसायिक सुरक्षालगायतका क्षेत्रमा काम गर्दै आइरहेको छ । रातारात सबै कुरा समाधान हुने होइन । विस्तारै बजारको अवस्थाअनुसार हामी सहज बाटोमा अघि बढ्नेमा विश्वस्त छौं ।

नेपाली उत्पादन विदेशी उत्पादनसँग प्रतिस्पर्धी छन् ?
उत्पादनअनुसार कतिपय स्वदेशी उत्पादन प्रतिस्पर्धी छन् भने कतिपय उत्पादन लागत बढी पर्ने भएका कारण विदेशीसँग प्रतिस्पर्धी हुन सकिरहेका छैनन् । दक्ष जनशक्तिको अभाव, कच्चा पदार्थको सहज उपलब्धता नहुनुलगायत कारणले हामीले विदेशी कामदार र विदेशी कच्चा पदार्थको सहायता लिनुपर्ने अवस्था हुन्छ । यसरी उत्पादन भएका वस्तु भने अन्तर्राष्ट्रिय उत्पादनसँग प्रतिस्पर्धी छन् । हामीले भोगिरहेको समस्या भनेको कच्चा पदार्थ र दक्ष जनशक्तिकै हो ।

नेपाली अग्राख काठलाई विदेशी उत्पादनसँग कसरी तुलना गर्नुहुन्छ ?
बाहिरको काठ हामीहरूले बाध्यताले मात्र झिकाएको हो । नत्र नेपाली काठजस्तो टिकाउ विदेशी काठ हुँदैनन् । मूल्यका आधारमा भन्नुपर्दा नेपाली अग्राखको लागत २० प्रतिशतले महँगो पर्न जान्छ, तर गुणस्तरीय उत्पादनका कारण मूल्यलाई मात्र बजारले हेर्दैन । विदेशी काठको आयात हुन थालेको चार–पाँच वर्षमात्र हुन थालेको छ । सरकारलाई यस सम्बन्धमा पटक–पटक घचघच्याउने काम भएको छ । हरेक पटक सकारात्मक कुरा पनि आउँछ । तर, सरकार छिनभरमै फेरिने यसअघिका समस्याले कुनै पहलकदमी लिन सकिएको थिएन । अहिलेको सरकारबाट नेपाली काठको बजार विस्तारमा केही आस गरेका छौं । हेर्दै जाऊँ, नतिजा कस्तो आउँछ ।

नेपाली काठ अहिले कस्ता उत्पादनमा बढी प्रयोग भइरहेको छ ?
नेपाली काठमा बढी बिक्री हुने अफिस टेबल, पलङलगायत पर्छन् । महँगो भए पनि टिकाउ र बलियो हुन्छ भनेर यही किन्न मन पराउँछन् । पाएसम्म मानिसहरू नेपाली काठ प्रयोग भएका यस्ता उत्पादन किन्न खोज्छन्, नपाएको अवस्थामा चिनियाँ उत्पादन किन्न बाध्य छन् । आकर्षक डिजाइन र मूल्य केही सस्तो पर्ने भएकाले चिनियाँ उत्पादनको प्रयोगकर्ताको संख्या पनि बढ्दो छ ।

फर्निचरजन्य उत्पादन खरिद गर्न उपभोक्तालाई कत्तिको सहजता छ ?
फर्निचरजन्य उत्पादनका प्रयोगकर्तासँगै यसको बजार विस्तार भइरहेको छ । हामीकहाँ एकै पटक घरका लागि आवश्यक फर्निचरका सामान खरिद गर्नेको संख्या भने ज्यादै न्यून छ, जसका कारण चरण–चरणमा सामान खरिद गर्दा फरक–फरक पसल तथा स्टोरमा पुग्नेहरू धेरै छन् । व्यवसायीहरू पनि अलग–अलग स्थानमा छरिएको अवस्था छ । यसले एउटा सामान किन्नका लागि नै धेरै ठाउँ चहार्नुपर्ने अवस्था केही हदसम्म छ । यही समस्यालाई ध्यानमा राखेर हामीले विगत सात वर्षदेखि बर्सेनि फर्निचर तथा फर्निसिङ एक्स्पो आयोजना गर्दै आइरहेका छौं । यसले एउटै छानामुनिबाट धेरै किसिमका उत्पादनको अवलोकन गर्न उपभोक्तालाई सहज बनाएको छ । यसपटक सातौं संस्करणको फर्नेक्स मेला भदौ २५ गतेदेखि आयोजना हुँदैछ । आम उपभोक्तालाई मेला अवलोकन गरी सहज रूपमा फर्निचरका उत्पादनका बारेमा जानकारी लिनुहुन अनुरोध गर्छु ।