संघीयतामा आर्थिक विकासको मार्गचित्र बहस–२
कारोबार संवाददाता
मंगलबार, फाल्गुन १, २०७४
366

प्रदेश नम्बर ४ को विकासका प्रमुख क्षेत्र पर्यटन र जलविद्युत् नै देखिएका छन् । ११ जिल्लामध्ये गोरखा, मनाङ, मुस्ताङ, लमजुङ र कास्कीका हिमाली क्षेत्रमा पर्यटनको अपार सम्भावना छ भने नवलपरासीदेखि प्रदेशको राजधानी तोकिएको पोखरा सहर आसपासमा उद्योग, कलकारखानाका लागि उपयुक्त देखिन्छ । गोरखाको गोरखा नगरपालिका १३ देउरालीमा देशकै एकमात्र गोरखकाली टायर उद्योग रुग्ण अवस्थामा छ भने देउरालीमै विशेष आर्थिक क्षेत्रका लागि पनि उद्योग मन्त्रालयले सर्वेक्षण सम्पन्न गरेको छ । यसैगरी पालुङटार नगरपालिकाभित्र उद्योग स्थापनाका लागि प्रशस्तै जमिन छन् । उता तनहुँको राजमार्ग क्षेत्र आसपासका हरेक स्थान जुनसुकै उद्योग स्थापनाका लागि उपयुक्त छ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा एड्भान्स सिमेन्ट उद्योगदेखि खैरेनीटारमा चाहिँ सूर्य टोबाको कम्पनी सञ्चालनमा छ । यसैगरी पोखरामा औद्योगिक क्षेत्र नै छ भने लेखनाथ पनि उद्योगको लागि सम्भाव्य छ, तर पोखरा सहरको प्राथमिकता चाहिँ पर्यटन नै हो । कारोबारले राखेको बहसमा पनि अधिकांश सहभागीले पोखरालाई पर्यटनले चम्काउनेमा दुईमत नरहेको बताए । उता पर्वत, म्याग्दी, बागलुङ पनि उत्तिकै रूपमा कृषि, पशुपालन, मानवीय बसोबासका लागि उपयुक्त छन् । जलविद्युत्को जिल्ला भनेर चिनिने लमजुङका विभिन्न जलविद्युत् आयोजना, स्याङ्जाको कालीगण्डकी, तनहुँ र गोरखा सिमानाको मस्र्याङ्दी जलविद्युत्, गोरखा र धादिङ सिमानाको बूढीगण्डकी जलविद्युत् परियोजना तथा पर्वत र कास्कीस्थित जलविद्युत् आयोजनाले यस प्रदेशमा प्राकृतिक स्रोतसाधनको आम्दानी उल्लेख्य हुने देखिन्छ । यस प्रदेशका नाम चलेका विभिन्न धार्मिक तथा पुराताŒिवक क्षेत्रहरूलगायतबाट पर्यटनको आम्दानी भइरहेको पाइन्छ । पोखरा सहर शिक्षा, स्वास्थ्यको पनि उत्तिकै बलियो देखिन्छ । पोखरामा अन्तरप्रदेशबाट शिक्षा र स्वास्थ्य सेवा लिन्छन् । कारोबारले पोखरामा आयोजना गरेको आर्थिक विकासको मार्गचित्रको बहसको बाँकी भागको प्रस्तुति कारोबारकर्मी दीननाथ बराल, सन्तोष गौतम र लक्ष्मीप्रसाद सापकोटाबाट ।

निजी क्षेत्रलाई साथमा लिनुपर्छ
अशोक पालिखे
पूर्वअध्यक्ष, पोखरा उद्योग वाणिज्य संघ
प्रदेश ४ मा औद्योगिकभन्दा पनि पर्यटन, जलविद्युत्, कृषि, जडीबुटी, शिक्षा, स्वास्थ्यको सम्भावना भएकाले प्राथमिकता दिनुपर्छ । धौलागिरि, अन्नपूर्ण, माछापुछ्रे , मनास्लुलगायतका हिमाल, अन्नपूर्ण र मनास्लु संरक्षण क्षेत्र यही प्रदेशमा पर्ने भएकाले साहसिक र खेलकुद पर्यटनको उत्तिकै सम्भावना छ । यही प्रदेशमा रहेका बूढीगण्डकी र कालीगण्डकी जलविद्युत्का खानी हुन् । प्रदेशको राजधानी पोखरा देशकै पर्यटकीय केन्द्र हो । पोखराको स्वच्छ हावापानी र वातावरणले गुणस्तरीय शिक्षालय स्थापना गरेर अस्ट्रेलिया , बेलायत, जापान पढ्न जाने विद्यार्थीलाई यहीँ अध्ययन गर्ने सुविधा दिनुपर्छ । अध्ययनका लागि विदेश गएका नेपाली विद्यार्थी नफर्कने समस्या छ । दक्ष जनशक्तिसँगै पैसा पनि बाहिरिएकाले पोखरामा स्वास्थ्य क्षेत्रमा पनि उत्तिकै सम्भावना छ । हाल दुईवटा मेडिकल कलेज पोखरामा छन् । प्रदेशमा भएका सम्भावनालाई वास्तविकतामा रूपान्तरण गर्न सरकारले निजी क्षेत्रलाई साथमा लिनुपर्छ ।

कृषि र पर्यटनमा प्रचुर सम्भावना
चन्द्रकान्त बराल, उद्योगी
हिमालदेखि तराईलाई समेटेको प्रदेश ४ पर्यटन र जलविद्युत् मात्र नभएर कृषिको प्रचुर सम्भावना बोकेको क्षेत्र हो । विविधतायुक्त हावापानी कृषिक्षेत्रको विकासका लागि सम्भावनाको आधार हो । तराई क्षेत्रमा खाद्य, पहाडमा तरकारी, सुन्तला र कफी तथा मनाङ र मुस्ताङमा व्यावसायिक स्याउखेतीको सम्भावना छ । हिमाली क्षेत्रमा भेडा–च्याङ्ग्रा, पहाडमा गाई–भैसी, बाख्रा र कुखुरापालनको माध्यमबाट रोजगारी सिर्जना गर्नुका साथै दूध, फलफूल, तरकारी, मासु, अन्डामा आत्मनिर्भर मात्र नभई निकासी गर्न सकिन्छ । कृषिक्षेत्रमा यान्त्रीकरण, व्यवसायीकरण र बजारीकरणमा ध्यान दिनुपर्छ । पोखरा पर्यटनको केन्द्र नै भयो । मनाङ, मुस्ताङमा कोल्ड स्टोर बनाएर त्यहाँ उत्पादन हुने स्याउ बेसिजनमा बजार पठाउन सकेमा धेरै आम्दानी गर्न सकिन्छ । स्याउखेती विस्तारसँगै कोल्ड स्टोर बनाउन प्राथमिकता दिनुपर्छ । अहिले सिजनमा कृषकले मूल्य नपाउने समस्या छ । बेसिजनमा स्याउ बजारमा पुरायाई आयात प्रतिस्थापन गर्ने नीति लिनुपर्छ ।

पुजी अभिवृद्धि आवश्यक
विश्वमोहन अधिकारी, सिइओ, ओम विकास बैंक
आर्थिक वृद्धिदर

को लक्ष्य हासिल गर्न स्थानीय, प्रदेश र संघीय सरकारले पुँजी निर्माण हुने क्षेत्रमा बजेट परिचालनमा प्राथमिकता दिनुपर्छ । नियामक निकायको कमजोरीले बैंक तथा वित्तीय संस्थाहरूले छिटो–छिटो ब्याजदर परिवर्तन गर्नुपर्ने अवस्था आएको छ । केन्द्रीय बैंकको निर्णयलाई कार्यान्वयन गर्नु हाम्रो दायित्व हो । तर, उद्योगी–व्यापारीहरूलाई अस्थिर ब्याजदर नीतिका कारण अप्ठ्यारो पर्न गएको छ । आर्थिक नीति र मोनिटरिङमा ग्याप हुँदा यस्तो अवस्था आएको हो । आर्थिक वृद्धिदरको लक्ष्य हासिल गर्न स्थिर ब्याजदर नीति र सरकारी निकायले पुँजी निर्माण हुने क्षेत्रमा बजेट परिचालनमा प्राथमिकता दिनुपर्छ ।

प्राकृतिक स्रोतसाधन परिचालन
डा. रवीन्द्र श्रेष्ठ
अध्यक्ष, सांग्रीला विकास बैंक
प्रदेश ४ को हकमा प्राकृतिक स्रोतसाधनको पहिचान र परिचालनमा ध्यान दिनुपर्छ । पोखराको पर्यटनलाई टिकाइराख्न गुणस्तरीय पर्यटनको अवधारणा र सडक मार्गलाई व्यवस्थित बनाउनुपर्छ ।
पछिल्लो समय सबैको ओठमा झुन्डिएको विकास र समृद्धि शब्दलाई व्यवहारमा उतार्न राजनीतिक स्थिरता, वैदेशिक र आर्थिक नीतिमा एकरूपताको आवश्यकता छ । अस्थिर आर्थिक नीतिको मारमा बैंकिङ क्षेत्र परेको छ । छिटो–छिटो ब्याजदर परिवर्तन गर्नुपर्दा बैंक, वित्तीय संस्थालाई निकै समस्या भएको छ । दुई–तीन वर्षका लागि स्थिर आर्थिक नीति बनाउनुपर्ने आवश्यकता छ ।

उद्यमशीलताको क्षेत्रमा लगानी आवश्यक
रेशमबहादुर थापा
सिइओ, गण्डकी विकास बैंक
सरकारले बैंकिङ पहुँच विस्तारका लागि पूर्वाधार र सुरक्षाको प्रबन्ध मिलाउन प्राथमिकता दिनुपर्छ । बैंकको पहुँच गाउँगाउँका नागरिकसम्म  पुराएर  उद्यमशील क्षेत्रमा लगानी गर्न चाहन्छौं, तर अनुकूल नीति–नियम र पूर्वाधारको अभाव छ । लगानीमैत्री ऐन–कानुन र वातावरण बनाउन भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम हुनुपर्छ ।
यो प्रदेशको हिमाल, पहाड, तराईका धेरै ठाउँमा बैंकका शाखा खुलेका छन् । दुर्गम ग्रामीण क्षेत्रमा पुगेर सेवा दिनु हाम्रो प्राथमिकता हो । तर, त्यहाँ इन्टरनेट र सुरक्षा पूर्वाधारको आवश्यकता छ ।


राजधानीबाहिर पनि मन्त्रालय लैजाऊ
सूर्यबहादुर केसी, उद्योगी
देशमा विभिन्न विचार बोकेका पार्टीहरू भए पनि यति बेला सबैको उद्देश्य देशमा आर्थिक विकास र समृद्धि ल्याउने नै हो । यसै विषयलाई समेटेर कारोबारले आर्थिक बहसको सुरुवात गरेकोमा धन्यवाद दिन चाहन्छु ।
प्रदेश नम्बर ४ को विकासको सम्भावना पर्यटन, जलविद्युत्, स्वास्थ्य, खेलकुद हुन्; तर राजधानी पोखरा भएपछि सबै मन्त्रालय पोखरामा मात्र सीमित पार्नु उचित हुँदैन । पोखराको जनघनत्व बढेको छ, यहाँ निर्माण भएका भौतिक संरचना क्षणिक ढंगले साँघुरा भएकाले राजधानीमा हुने सबै मन्त्रालय यसैमा केन्द्रित हुँदा यसले भार थेग्न सक्दैन । अब प्रदेश ४ का केही मन्त्रालय पहिलाको
लेखनाथ हुँदै खैरेनीसम्म पु¥याउनुपर्छ । पोखरालाई बृहत् ढंगले सोच्नुपर्छ । सडक विस्तार गर्नुको विकल्प छैन । कम्तीमा ४–५ मिटरको पिच सडक हुनुपर्छ । कम्तीमा २०–२५ वर्षसम्म हुने गरी पिच सडक निर्माण गर्नुपर्छ ।
प्रदेश संरचना निर्माण गर्दा दिगो ढंगले गर्नुपर्छ, सोचविचार गरी आर्थिक अवस्थालाई ख्याल गरी गर्नुपर्छ; अन्यथा काम सुरु हुने, त्यसले गति नपाउने र बीचमै थन्किने हुन्छ । विकट गाउँहरूसमेत पोखरा–लेखनाथ महानगरपालिकामा गाभिएकाले सबै क्षेत्रको विकास गर्नु अर्को चुनौती छ । निजी क्षेत्रलाई लगानीको वातावरण मिलाएर सुरक्षा दिन सक्नुपर्छ अनि मात्रै दिगो विकास हुन्छ ।


स्टक मार्केटमा ध्यान
गोकुल रिमाल, स्टक ब्रोकर
नेपालको स्टक बजार १९ अर्ब रुपैयाँबराबरको छ । यसको विकासमा राजनीतिक दलको पनि चासो बढ्नुपर्छ । धेरै मुलुकमा स्टक मार्केट विकास नभई आर्थिक विकास हुन कठिन हुने हुँदा नेपालमा पनि राजनीतिक दलहरूले यसलाई बुझेर यसको प्रभावकारितालाई अघि बढाउन सक्नुपर्छ ।


स्रोतको भन्दा सोचको अभाव छ
दीपेन्द्र श्रेष्ठ
अध्यक्ष
नेपाल पत्रकार महासंघ, कास्की
आर्थिक समृद्धिका लागि सोच महत्वपूर्ण छ । आर्थिक समृद्धिको कुरा गरिहँदा, हामी आर्थिक वृद्धिदर कति बढाउछौं भन्ने महत्वपूर्ण कुरा हो । कुल गार्हस्थ्य उत्पादनमा हामी कति योगदान दिन सक्छौं ? आन्तरिक स्रोतकै रूपमा राजस्व कति वृद्धि गर्न सक्छौं ? यसको खोजी गर्नु जरुरी छ । हामीसँग स्रोतको भन्दा सोचको अभाव छ जस्तो लाग्छ । पहिले यो प्रदेशका समस्याको खोजी गरौं ।
यहाँ बेरोजगारी, परनिर्भरता बढ्दो छ । लगानीको अभाव, राजनीतिक अस्थिरता, जलवायु परिवर्तनको सबैभन्दा ठूलो मार यही छ । फेवाताल र हिमाल दुवै चपेटामा परेका छन् । महŒवकांक्षाले द्वन्द्व सिर्जना भएको छ । दलहरूले समृद्धिको सपना बाँडेर विकासका धेरै कुरा उठेका छन्, यसले सामाजिक द्वन्द्व पनि निम्त्याएको छ । अब त धार्मिक द्वन्द्वको पनि समस्या छ । गरिबीको समस्या छ । पर्यटनका लागि सुरक्षा महŒवपूर्ण छ । गुणस्तरीय शिक्षा, खाद्य र स्वच्छ पिउने पानी उहाँका मुख्य समस्या हुन् । हावाबाट बिजुली निकाल्न सक्ने प्रदेश पनि यही हो । यहाँ अवसर र सम्भावना धेरै छन् । सोलारको सम्भावना छ । फलाम र युरेनियम खानी पनि छ । कृषिमा धेरै अवसर छन् । अब यी स्रोतको उपयोग गर्न सांसदहरू जिम्मेवार बन्नुपर्छ । अहिले देशभरमा श्रमका लागि बाहिरिने यही प्रदेशका श्रमशक्ति रहेको पाइन्छ । यो जनशक्तिलाई यही उपयोग गर्ने वातावरण बनाउनुपर्छ । यहाँका समस्या समाधानको मुख्य कडी राजनीतिक स्थिरता हो । स्थिर र गतिशील सरकारको आवश्यकता छ । आक्रामक ढंगले काम गर्ने सरकार चाहिन्छ । सुशासन, ढिलासुस्तीको अन्त्य गर्नुपर्छ । यहाँ कम मन्त्रीमण्डल बनाउने र सुविधा कम लिने मन्त्रिपरिषद् भए राम्रो हुन्छ । नीति बनाउन बढी जिम्मेवार हुनुपर्छ सांसदहरू । आफ्नो भूमिकामा सांसदहरू स्पष्ट हुनु जरुरी छ ।

राज्यको लगानी पनि आवश्यक छ
दीपक श्रेष्ठ
व्यवसायी
प्रदेश नम्बर ४ मुलुककै समृद्ध प्रदेश हो । यहाँ थुप्रै खालका सम्भावनाहरू छन् र चुनौती पनि । यहाँ विशेष गरी कृषि, पर्यटन र जलविद्युत्को सम्भावना बढी छ । यी क्षेत्रलाई यो प्रदेशले मुख्य प्राथमिकतामा राख्नुपर्छ । पहिलो कुरा त राजनीतिक स्थायित्व हुनुपर्यो । राजनीतिक स्थायित्व हुँदैन कि भनेर हामी निकै चिन्तित बन्नुपर्ने अवस्था छ । जुन खालको कर्मचारीतन्त्र परिचालन गर्ने राज्यको परिपाटी छ, यसलाई सुधार गर्नुपर्छ । अहिलेकै अवस्थामा कर्मचारी परिचालन गरियो भने सोचेजस्तो र आमनागरिकले चाहेजस्तो विकास हुन सक्ने देखिँदैन । यो प्रदेशको मुख्य सम्भावना भनेको कोरल्ला नाकादेखि भारत जोड्ने रोडलाई जतिसक्दो छिटो सक्नुपर्छ । उक्त सडकको विकासपछि यहाँ भारतीय धार्मिक पर्यटकको ओइरो लाग्छ । पर्र्यटकीय क्षेत्र भएर मात्र हुँदैन, यसमा राज्यको लगानीको पनि आवश्यकता छ । पहिला भैरहवाका पर्यटकीय क्षेत्रको संरक्षण र सुधार सँगसँगै पर्यटन पूर्वाधार निर्माणमा जोड दिन सकियो भने यसको विकासबाट मात्रै यो प्रदेशलाई समृद्ध बनाउन सकिने निश्चित छ ।