कारोबार संवाददाता
बिहिवार, श्रावण २३, २०७६
389

तनहुँको १० वटा स्थानीय तहमध्ये व्यास नगरपालिका जिल्लाको सदरमुकाममा अवस्थित नगरपालिका हो । स्थानीय तह हरूमध्ये बढी आर्थिक स्रोत भएको नगरपालिका पनि व्यास नै हो । १४ वडा रहेको यो नगरपालिकाभित्र विकट ग्रामीण बस्तीका साथै पडाडी क्षेत्र पनि छन् । नगरपालिकालाई आर्थिक रूपमा सम्पन्न बनाउन सकिने थुप्रै आधार तथा स्रोत छन् । प्रशस्त प्राकृतिक स्रोतसाधन र प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थलहरू पनि छन् यहाँ । व्यास पराशर क्षेत्र, छाब्दी बाराही मन्दिर यहाँका प्रमुख तीर्थस्थल हुन् भने मानहुँकोट, सहिद गाउँ पुलिमराङलगायतका ठाउँ पर्यटकीय सम्भावना बोकेका ठाउँ हुन् । राष्ट्रिय गौरवका रूपमा रहेको १ सय ४० मेगावाट तनहुँ जलविद्युत् आयोजना, वेदव्यासको १ सय ८ फिट अग्लो मूर्ति र पराशर पार्क निर्माण, दमौली मल्टिप्रपोज योजना यस क्षेत्रको आर्थिक विकासका महŒवपूर्ण कडी हुन् । प्रस्तुत छ, व्यास क्षेत्रको विकासको अवस्था, सम्भावना, चुनौतीलगायत विषयमा नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेसँग कारोबार दैनिकका सुनिता आचार्यले गरेको कुराकानीको सार :

स्थानीया तहमा निवार्चित भएको पनि २६ महिना भइसक्यो । तपाईंले यस अवधिमा जनताका लागि गरेका मुख्य के–के काम गर्नुभयो ?
हामी निवार्चित भएर आएपछि सुरुमा साविकका गाविस र नगरपालिकाले परिषद् गरेर टुङ्ग्याइसकेका योजनालाई नै अघि बढायौँ । पहिलो वर्ष हामीले १ हजार ३ सय ९५ भन्दा बढी योजनालाई सम्बोधन ग-यौं र गएको आवमा १ हजार २ सय योजना सम्पन्न गरिसकेका छौँ । हामीले गएको वर्ष वडाहरूमा १ करोड ६० लाख विनियोजन गरेर केही योजना वडाबाटै सम्बोधन ग-यौं र विशिष्ट योजनाहरू नगरपालिकाकै तर्फबाट अगाडि बढायौं । हामी अहिले विशेषगरी पूर्वाधार निर्माणका कार्यमा लागेका छौं, जस्तै— बाटो, खानेपानी, शैक्षिक क्षेत्र सुधारका पक्षमा, खेलकुदका पूर्वाधार निर्माण र जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्र विकासका लागि पूर्वाधार निर्माणमै हाम्रो ध्यान केन्द्रित छ । यसका लागि हामी आएपछि मानहुँ र पुलिमराङलाई जोड्न दुई पटक मानहुँ–पुलिमराङ म्याराथन ग-यौं, नगरपालिकाको सभाकक्ष पनि निर्माण भएको छ, धेरै लामो समयसम्म नगरपालिकाले सानो भवनमा कार्यसम्पादन गर्नुपर्दा सेवा दिन असहज भएको अवस्था थियो, हामीले १० करोडको लागतमा सुविधासम्पन्न नपाको भवन निर्माण गरेका छौं । करमा खासै वृद्धि नगरी हामीले नगरपालिकाको आम्दानी बढाउन सफल भएका छौं । आर्थिक वर्ष ०७३-७४ मा ४ करोड ३६ लाख मात्र आम्दानी रहेकोमा हामी आएपछि आव ०७४-७५ करोडसम्म वृद्धिको लक्ष्य लिएका थियौं, तर हामीले १० करोड २५ लाख आम्दानी गर्न सफल भयौं । त्यसैगरी गएको वर्ष हामीले १४ करोड ६ लाख आम्दानी गर्न सफल भएका छौँ । हामीले नगरपालिकाको आन्तरिक आम्दानी पनि बढाउन सफल भएका छौँ भने बजेटको आकार पनि बढेको छ । हाम्रो प्रदेश सरकार र संघीय सरकारबीच प्रभावकारी समन्वय हुन नसक्दा संघ र प्रदेशबाट आउने बजेटको तालमेल मिलेको छैन र पहिला बहुवर्षीय योजनाका रूपमा रहेका योजनाहरू हामीले नै सम्बोधन गर्नुपर्दा हाम्रो बजेट बढी पूर्वाधार केन्द्रित भएको हो ।

जनप्रतिनिधि नहुँदाको अवस्थामा पारदर्शिता भएन, बढी भ्रष्टाचार भयो भन्ने गुनासा थिए, अहिलेको अवस्था के छ ?
जनप्रतिनिधि नहुँदाको अवस्थामा स्रोतसाधनको सही सदुपयोग नभएको त पक्कै हो, तर गुनासाकै भरमा प्रमाणित नभएका कुरा त गर्न हुन्न । अहिलेको अवस्थामा हामीले अधिकांश काम उपभोक्ता समितिमार्फत नै गराएका छौँ, त्यस्तोमा भ्रष्टाचारको कुरै आउँदैन र केही काम उपभोक्ता समितिमार्फत हँुदैनन् त्यसलाई मात्र टेन्डर प्रक्रियाबाट कार्य गरेका छौँ । अलिकति मितव्ययितालाई चाहिँ ख्याल गर्नुपर्ने आवश्यकता पक्कै पनि छन्, तिनीहरूलाई हामी विस्तारै सुधार गर्दै जानेछौं ।

स्थानीय सरकार भएर जनताको काम गर्दा के कस्तो अवस्थाको सामना गर्नुभएको छ ?
नागरिकको अपेक्षा ज्यादा छ । हामीसँग सीमित स्रोतसाधन छ र योजनाहरूलाई व्यवस्थित रूपमा लैजान हामीकहाँ प्राविधिकको पनि कमी छ । अति नै साना–साना कुरामा नागरिकको नगरपालिकाप्रतिको निर्भरता र अपेक्षा बढी भएकाले सबै कुरालाई सम्बोधन गर्न गाह्रो भएको छ । हरेक क्षेत्रमा नगरपालिकाको अपनत्व हुने हुनाले सम्भव भएसम्म सम्बोधन गरिरहेकै छौं । सीमा र क्षमताभन्दा बढी अत्यधिक अपेक्षा हुँदा ससानो कुरामा हामी अलमलिनेतर्फ गएका छौं, अबको चुनौती यस्ता कुरालाई छिचोलेर अघि बढ्दै विशिष्ट योजनामा केन्द्रित हुनु छ ।

आर्थिक वर्ष ०७५-७६ मा के–के काम सम्पन्न भए र आगामी वर्षका मुख्य योजना के–के छन् ?
अघिल्लो वर्ष हामीले वडा कार्यालयका आफ्नै भवन निर्माण योजनालाई अघि सारेका थियौं । वडा कार्यालयहरू भाडाको घरमा सञ्चालन गर्नुपर्दा पर्याप्त ठाउँ नहुँदा परेका समस्यालाई मध्यनजर गर्दै त्यो योजना अघि सारेका हौं । केही वडा आफ्नै भवनबाट कार्य सुरु गर्न सक्षम भइसकेका छन् भने केहीको भवन निर्माणकार्य चलिरहेको छ । त्यस्तै हामीले प्रसिद्ध धार्मिकस्थल छाब्दी जाने बाटो पिच, धेरै ग्रामीण वडामा जाने बाटो पिच गर्ने प्रक्रिया अघि बढाएका छौं । त्यस्तै नागरिकको सीप बढाउने, खेलकुद विकासको कार्य, शैक्षिक क्षेत्र सुधारका कार्य गरेका छौं । गएको वर्षमा हामीले १ हजार २ सय ५ योजना सम्पन्न गरेका छौं । त्यसमध्ये करिब सय योजना क्रमागत योजनाका रूपमा यो वर्ष पनि निरन्तरता भएर आएका छन् । यो वर्ष विशेषगरी कृषि, पर्यटन र शिक्षालाई मुख्य प्राथमिकतामा राखेका छौं । हरेक वडा कार्यालयसम्म हाम्रो कार्यकालभित्र कालोपत्रे सडक पु-याउने गरी काम गर्दैछौं । त्यस्तै हामीले विशेष योजनाका रूपमा दमौली सेन्टर पार्कलाई व्यवस्थित गर्ने, पराशर पार्क, मानहुँ, पुलिमराङ, वेदव्यासको १ सय ८ फिट अग्लो मूर्ति निर्माणका कार्य गर्नेछौं । कृषि, पर्यटन र शिक्षाको पूर्वाधार निर्माण र विकासका लागि हामीले यो वर्ष १ अर्ब ३८ करोड बराबरको बजेट ल्याएका छौँ । हामीले हाम्रा वडा कार्यालयहरूलाई व्यवस्थित गर्ने मार्गहरूलाई व्यवस्थित गर्ने, खानेपानी, कृषि, शिक्षा, पर्यटन र स्वास्थ्यका क्षेत्रहरूलाई थप व्यवस्थित गर्न यो वर्ष पनि लागिपरेकै छौं ।

जनताको आवश्यकता र योजनाबीच कत्तिको तालमेल छ ?
जनताको आवश्यकता र योजनाबीच राम्रो तालमेल छ । हामी कहाँ २ सय ४० जति टोल विकास संस्था छन् र योजना छनोट गर्दा हरेक वडाले सम्भावित योजनाका बारेमा छलफल गरी वडाले सिफारिस गरेका योजना नै छनोट गरेका छौं । हामीले वडावासीहरूसँग सान्दर्भिकतासँगै जोडेर योजनाहरू छनोट गर्छौं ।

नगरपालिकाका मुख्य समस्या के–के छन् ?
हामी यो नगरपालिकाको योजनाबद्ध विकासको गर्ने अभियानमा छौं । यसमा हामीले जग्गा विकास आयोजना प्रारम्भ गर्नका लागि हामीले जुन प्रयत्न गरिरहेका छौं, यसका बारेमा हामीले नागरिकलाई बुझाउन सकेका छैनौं । हामीले कन्सल्टेन्ट सर्भिसभन्दा पनि आफ्नै युुनिट खडा गरेर त्यो कार्यलाई अघि बढाउने कोसिस गर्दैछौं । हामीसँग साधनस्रोतको कमी छ र वडावासीको विकासको अपेक्षा र सम्भावना बढी प्रस्तावित भएर आएका छन्, जसले गर्दा साधनस्रोत र जनताका मागबीचको तालमेल मिलाउने विषय निकै चुनौतीपूर्ण छ । हाम्रो कर्मचारी व्यवस्थापन र प्राविधिक पक्षलाई अझै सेवामुखी बनाउन सकिएको छैन । अनुभवको कमी, समायोजन भएर आएकाहरूको पनि कार्य प्रकृति फरक भएकाले पनि समस्या आएका छन् । हामी कहाँ केही दक्ष जनशक्तिहरूको पनि अभाव छ । प्राविधिक क्षेत्रको परिपक्व सेवा नपाउँदा हामीले चुनौती महसुस गरेका छौं ।

काम गर्दै जाँदा बढी प्राथमिकता दिनुपर्ने विषयमा ध्यान पुग्न नसकेको जस्तो लाग्दैन ?
मैले अघि पनि भनें, हामीसँग स्रोतसाधन सीमित छन् । प्राविधिकहरूको उचित सल्लाह–सुझाव नपाउँदा कतिपय विकासका योजना हामीले सम्पन्न गर्न सकेका छैनौं । जस्तै— पृथ्वी राजमार्ग अधिकरण गरी बनाइएका घरहरू जुन मापदण्डविपरीत हुँदा पनि संघीय सरकारको सहयोग नहुँदा हटाउन नसकेको अवस्था छ । हामीले बढी पूर्वाधारमा खर्च गर्नुपर्दा नागरिकको सीप विकास, व्यावसायिक सीप विकासमा सहयोग गर्न सकिएको छैन, त्यसले गर्दा बेरोजगार युवाको रोजगारी सिर्जना गर्ने केही गर्न सकिएको छैन । त्यस्तै हाम्रो न्यायिक प्रद्धतिलाई विश्वसनीय बनाउन धेरै मेहनत गर्नुपर्नेछ, काम गरे पनि कानुनी र न्यायिक प्रक्रियाबाट पोख्त भएको जनशक्ति नभएका कारणले गर्दा नागरिकका अपेक्षित समस्या समाधान हुनसकेका छैनन् । त्यस्तै हामीकहाँ विदेशतिरबाट आउने तरकारीको मन्डी छ र स्थानीय कृषकहरूले हाम्रा उत्पादनले बजार पाएनन् भनेर गुनासा गर्छन् हामीले त्यो व्यवस्थापन गर्न सकेका छैनौं ।

र अन्त्यमा ?
मैले यो बीचमा विकासका दृष्टिकोणले सम्पन्न भनिएका दुई ठूला देश बेलायत र चीनका मेयरहरूसँग पनि भेटने मौका पाएँ । ती दुवै देशमा जागरण छ, उत्साह छ, आफ्नो भूमिलाई कसरी सुन्दर र समृद्ध बनाउने भन्ने प्रतिबद्धता छ । हाम्रो दीर्घकालीन सोच, इमान, निष्ठा र प्रतिबद्धताको कमी छ । नागरिकको असीमित अपेक्षा र विकासको चाहनालाई स्रोतसाधनको अधिकतम प्रयोग गरी निष्ठापूर्वक अगाडि बढी नै रहेका छौं र हाम्रो कार्यालय सकिँदासम्म सकारात्मक काम गरेको सन्देश प्रवाह गर्ने आत्मविश्वास छ ।