प्रकाश लम्साल
बिहिवार, श्रावण २३, २०७६
990

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँ –निजगढ दु्रतमार्ग, निजगढ स्मार्ट सिटीको निर्माण र चर्चाले निजगढ नगरपालिकाले नाम पाएको छ । चुरे पर्वतमालाको फेदीमा अवस्थित निजगढ नगरपालिकाले थुप्रै राजनेता उत्पादन गर्नेदेखि लिएर पञ्चायती कालमा होस् वा माओवादी द्वन्द्वमा ठूला नेताहरूको आश्रयस्थल बनेको निजगढ नगरपालिकाले २ दशकदेखि सामाजिक संघ–संस्थामा निःस्वार्थ लाग्दै आएका नगर प्रमुखको जिम्मेवारी सुरेश खनाललाई दिएको छ । विधि प्रक्रियामा अडान लिने र आफूलाई सधंै गतिशील भूमिकामा उभ्याउने क्षेत्रमा उनको चर्चा हुने गरेको छ । २०५० सालमा दुई वर्ष कोरिया बसेर औद्योगिक ज्ञान बटुलेर आएका खनालले २०५८ सालसम्म व्यापारमा संलग्न रहे, त्यसपछि निजगढको हरेक क्षेत्रमा सामाजिक रूपमा सहभागिता बढाई कतिपय संघसंस्थामा नेतृत्व गरेका खनाल साविक सिंगौल गाविस, रतनपुर गाविस र निजगढ गाविस मिलेर बनेको निजगढ नगरपालिकाको प्रमुख हुन् । नगरसभामा उनी अल्पमतमा छन् । पुरानो तर विकासका दृष्टिले उपेक्षित यस नगरपालिकाका जनप्रतिनिधिहरू पछिल्लो समय भने नगरको विकासमा क्रियाशील छन् । सोही सन्दर्भमा निजगढ नगरपालिकाको विकास, सम्भावना र अवसर, चुनौती, जनअपेक्षा, नगरको योजनालगायतका विषयमा नगर प्रमुख सुरेश खनालसँग कारोबारकर्मी प्रकाश लम्सालले गरेको कुराकानीको सार :

नगरपालिकाको आर्थिक विकासका लागि कस्ता योजनालाई प्राथमिकतामा राख्नुभएको छ ?
नगरपालिकाको आर्थिक उन्नति पनि जरुरी छ । हामीले विशेषगरी नगरक्षेत्रभित्र रहेका युवालाई व्यवसायमा जोड्न विभिन्न किसिमका कार्यक्रम सञ्चालन गरिरहेका छौँ । हरेक वडामा सडक पुगेपछि मात्रै त्यहाँको अन्य विकास गर्न सम्भव हुने भएकाले हामीले हरेक वडामा सडकको अभियान चलाएका थियौँ, जुन अहिले पूरा हुने अवस्थामा छ । त्यसपछि हामी हरेक वडाका युवालाई उद्यमशिलतामा जोड्नका लागि कार्यक्रम ल्याउँछौँ । कुनै व्यवसाय गर्ने युवालाई अनुदान दिने र अनुदानका लागि अन्य निकायमा सिफारिस गर्ने पनि गरेका छौँ । नगरपालिकाभित्र रहेका विभिन्न धार्मिक एवं पुरातात्विक तत्वहरूलाई पनि संरक्षण एवं संवद्र्धन गर्नुका साथै तिनको प्रचारप्रसार गरी यस नगरपालिकामा पर्यटक भित्र्याउने किसिमका कार्यक्रम पनि छन् । यो नगरपालिका चुरेसँगै जोडिएको हुँदा भारतीय पर्यटकहरू आउने धार्मिकस्थल, पार्क प्रवद्र्धन र संरक्षणमा जुटेका छौं । नगरकै चुरे क्षेत्र मोहरी, हिरालाल पार्कहरूमा रिसोर्ट होटलहरू खुल्न थालेका छन्, आन्तरिक पर्यटक आउन पनि थालेका छन् । पर्यटकीय पूर्वाधार निर्माणले यहाँको आर्थिक विकासमा टेवा पु-याउने पनि विश्वास लिएका छौँ ।

नगरपालिकामा विकास बजेट खर्चको अवस्था के छ ?
यो नगरपालिका कृषिसँग प्रत्यक्ष जोडिएको छ, धेरैको जीवन कृषिमा आधारित छ, त्यसैले सडक मुख्य पाटो हो जुन कृषि उत्पादनले बजार मूल्य पाउँछ, बिचौलिया हाबी हुन पाउँदैनन् । यहाँ खर्चका लागि गा-हो छैन । चालू आर्थिक वर्षको बजेट पनि हामीले सबै सकिसकेका छौँ, तर बजेटको अभाव हुने गरेको छ । हामीसँग बजेट नभएकै कारण कतिपय योजनाका काम रोकिने अवस्था छ । बजेट खर्चका लागि समस्या छैन, तर बजेट पर्याप्त नहुँदा चाहिँ समस्या छ ।

विकास–निर्माणका कुरा गर्दा ठूला मेसिनकै बढी प्रयोग हुने गरेको र मेसिनको प्रयोगले स्थानीय मजदुरको रोजगारी खोसिएको जनगुनासोप्रति यहाँको भनाइ के छ ?
जनस्तरबाट छिटो सडक चाहियो भन्ने माग आउँछ । सडक छिटो पु-याउन मेसिनको प्रयोग नगरी सम्भव छैन । यसका बाबजुद पनि हामीले सडकको वाल र नाली निर्माण गर्दा स्थानीय मजदुरकै प्रयोग गर्नुपर्ने नीति अख्तियार गरेका छौं । काम पाइन भनेर मजदुरले भनेको मलाइ थाहा छैन, अर्को कुरा मेन सडक मेसिनबाट खनिए पनि साना सडक र बाटोहरू जनस्तरबाटै निर्माण गर्ने गरेका छौं । गाउँमा सडक पुगेपछि स्थानीयलाई अब आधुनिक खेती सुरु गर्न प्रेरणा दिइरहेका छौं । गाउँमा जाने गाडी फर्केर आउँदा सागपात, हरियो तरकारी, दाल, तोरी, गहुँ, मकै, धानलगायत गाडीमा केही न केही लिएर आउने गरेका कारण गाउँमा सडक पुगेपछि आयात–निर्यात बढाउन स्थानीय उत्पादनलाई जोड दिनुपर्नेमा लागेका छौं ।

जनप्रतिनिधिले विकास बजेटमा भ्रष्टाचार गर्ने गरेको र आफू निकटका नेता–कार्यकर्तालाई पोस्ने गरी योजना बन्ने गरेको सुन्नमा पनि आएको छ, तपाईंको नगरमा नागरिकको गुनासो कत्तिको छ ?
छैनन् भन्न पनि सकिँदैन, नगरपालिकामा आएर सीधै योजना माग्ने र बजेट देऊ भन्ने केही हुन सक्छन् । योजना निर्माण गर्ने विभिन्न चरण हुन्छन् । वडा भेलादेखि जनसहभागितामा योजना छनोट हुन्छन् । त्यो प्रक्रियाबाट नआएर सीधै व्यक्तिगत योजना माग्नेहरूले मसँग हिम्मत गर्न सक्दैनन्, स्थानीयस्तर र कर्मचारीहरूसँग माग्ने गरेको र उहाँहरूले समेत हुँदैन भनेर फर्काउने गरेको पाएको छु, गलत हल्ला गरेका हुन् । विगतमा हुने भागबन्डाका आधारमा योजना लाने र गुणस्तरीय काम नगरी कमिसन खाने व्यक्तिहरूले अहिले म आएपछि त्यो आँट गर्न सकेका छैनन् । म आफू र मेरो नगरपालिकाको टिमलाई अनियमितिताका कुनै काममा संलग्न भएको पाइएमा हदैसम्मको कारबाही गर्न र भोग्न पनि रत्तिभर पछि हट्ने छैन ।

नगरपालिकाले कृषिमा देखिने गरी कुनै नमुना काम गरेको छ ?
निश्चय नै हामीले कृषिको बजारीकरण, गाउँमा चहलपहल, ग्रामीण मान्छेसँग पनि आर्थिक जोहो, त्यसैका कारण गाउँगाउँमा बजार र वित्तीय कारोबार हामीले दुई वर्ष लगाएर मेहनतका साथ बाटो बनाउँदाको परिणाम हो यो । अन्य नमुना काम सम्पन्न हुँदैछन्, गरेका छौं । सबैभन्दा प्रमुख र निजगढको भविष्य स्मार्ट सिटीको डीपीआर बन्नुपूर्व तयारीका काममा सहरी विकासअन्तर्गत काम सुरु ग-यौं, त्यो नै नमुना भएन र ?

जनतालाई प्रत्यक्ष राहत हुने खालका अन्य के–कस्ता कार्यक्रम छन् नगरपालिकासित ?
व्यवस्थित ग्रामीण विकासलाई प्राथमिकता दिएका छौं, शिक्षा, स्वास्थ्यमा निगरानी बढाएका छौं । पानी, सिँचाइलाई महŒवपूर्ण मानेर काम गरिरहेका छौं । शिक्षा, स्वास्थ्यबाट कोही नागरिक वञ्चित नहून् भनेर सोअनुसारका पूर्वाधार निर्माण भएको छ र हुँदै पनि छ, यही वर्षदेखि निजगढमा १५ शै्याको अस्पताल सञ्चालनको तयारीमा छ, पानीको खासै समस्या छैन, शिक्षामा प्रदेशमै उत्कृट विद्यालयहरू छन्, १ सय मासिक खर्च हुने विद्यालय सञ्चालनमा आएको छ र गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षामा लगानी गरेका छौं ।

गरिब, विपन्न र असहायका लागि नगरपालिकाबाट के–कस्ता राहतका कार्यक्रम भएका छन् ?
नगरपालिकाले दुर्गम वडाहरूमा सडक, बिजुली, शिक्षासँगै लाने काम सुरु भएको छ । दलित लक्षित वर्गप्रति क्षमता वृद्धिका कार्यक्रम, सीपमूलक कार्यक्रम, उन्नत आधुनिक कृषिलगायतका काममा यो वर्गलाई समेटेर काम थालिएको छ, विद्यालयमा निःशुल्क किताब प्रदान गर्दै बालबालिकालाई स्कुल पढ्ने व्यवस्था मिलाएका छौं । नगरपालिकाभित्रका कुनै पनि नागरिकले गरिबीकै कारण स्कुल पढ्न नसक्ने अवस्थाको अन्त्य गर्ने गरी काम गरिरहेका छौं । समग्रमा नागरिकको मौलिक हक सुरक्षित हुने गरी विकासका काम गरिरहेका छौं ।

जनअपेक्षाअनुसार कसरी कार्यसम्पादन गर्दै हुनुहुन्छ ?
स्थानीय सरकारको प्रमुखको जिम्मेवारी दिएका छन् मैले इतिहास कोर्नु छ । मैले कोरियामा तीन कुरा सिकेर आएँ, इमानदारिता, लगनशिलता र झूटो नबोल्ने त्यही कुरा मैले अँगाले र हाल म यहाँ छु । विगतदेखि नै जनताका हरेक दुःख–पीडासँग लड्दै–भिड्दै राजनीति गरिरहेको छु । मेरो चाहना पनि छ— म नगर, देश र जनताकै पक्षमा निरन्तर लागिरहूँ ।
मप्रति आशा भएरै मलाई मेरा प्रिय नगरवासी दाजुभाइ, दिदीबहिनी, आमाबुबाहरूले स्थानीय सरकारको प्रमुखका रूपमा चुन्नुभयो । जनताका अपेक्षा धेरै छन् । विश्वमै राष्ट्रिय गौरवका आयोजनाले निजगढ चर्चामा छ स्थानीय तहको पुनर्संरचनापछि यहाँ साविकका, सिगौल र रतनपुर दुर्गम र विशुद्ध ग्रामीण गाविस थपिएर बृहत् नगरपालिका बनेको छ ।
नागरिकस्तरबाट सडकको माग नै पहिलो प्राथमिकतामा आउने गरेको हो र मेरो चाहना पनि सडकले जोड्न सके व्यापारको चहलपहल बढ्ने, बजारसँग ग्रामीण उत्पादनको सोझो सम्बन्ध हुने, आयस्तरमा वृद्धि हुने भन्ने थियो, त्यही गरें, गर्दै पनि छु, सकारात्मक परिणामहरू देखिएका पनि छन् । यातायातबाट वञ्चित रहेका गाउँबाट सडकको माग आउनु पनि स्वाभाविक हो । जनचाहनाअनुसार नै ग्राबेल, कच्ची, पक्की र कालोपत्रे सडक निर्माण भइरहेका छन् । यस आर्थिक वर्षदेखि प्रत्येक वडामा एक आर्थिक वर्षमा १ किमि कालोपत्रे निर्माण अनिवार्य गरेको छु, सबै जनप्रतिनिधि सकारात्मक भएर जुटेका छन् । सडक बाटो पुगेपछि स्थानीयवासी खुसी भएका छन् । मैले निर्वाचनका क्रममा घरदैलो गर्न जाँदा पनि जनताको पहिलो माग नै गाउँमा सडक पुग्नुपर्ने हुन्थ्यो, सोहीअनुसार सडकलाई प्रमुख प्राथमिकतामा राखिएको छ, अन्य खानेपानी समस्या भएका क्षेत्रमा खानेपानी योजना निर्माण, पीसीसी बाटो र सिँचाइलाई पनि प्राथमिकतामा राखेर काम भइरहेको छ । गर्न बाँकी पनि थुप्रै काम छन् । आन्तरिक स्रोत धेरै छैन, प्रदेश र संघीय सरकारको मुख ताक्नुपर्ने अवस्था छ । जनताका मागअनुसारका अन्य धेरै काम आगामी दिनमा निरन्तर गर्ने योजना पनि छ, यस्तै साथ र सहयोग रहे अवश्य सफल हुनेछु ।

स्थानीय सरकार सञ्चालन गर्दा नगरपालिकासित के कस्ता चुनौती आइपरेका छन् ?
स्थानीय सरकार सञ्चालन गर्दा सबैभन्दा जटिल कर्मचारी अभाव देखिएको छ । एक दिनमा हुने काम भएका कर्मचारीले रातदिन खट्दा पनि चार–पाँच दिन लाग्ने गरेको छ । नगरपालिकाका सबै वडा कार्यालयमा अझै सचिवको दरबन्दी पूरा हुन सकेको छैन । हाम्रो नगरपालिकामा न्यायिक समिति जिल्लामै उत्कृष्ट रहे पनि पूर्वाधार बन्न सकेको छैन । कानुनी रूपमा सहयोग गर्ने कर्मचारीको दरबन्दी छैन, तर पनि सानोतिनो निवेदन लिएर अन्यायमा परेको भनेर नागरिकहरू निवेदन लिएर आउनेलाई प्राप्त स्रोतकै आधारमा न्यायसम्बन्धी मुद्दा छिनोफानो गर्न नगरपालिका सफल चाहिँ भएको छ ।

गौरवका आयोजनासँगै निजगढको चहलपहल व्यापक बढ्यो नि ?
स्थानीय तहको पुनर्संरचनापछि नगरपालिकाले छोटो समयमै व्यवस्थित सहरीकरणको योजना ल्याएको छ । बसाइँ सराइ रोक्न व्यवस्थित विकास चाहिन्छ । शिक्षा, स्वास्थ्य र रोजगारीका अवसर सिर्जना गर्न सके नगरपालिकामा अझै चहलपहल बढ्न सक्छ । नगरवासीमा बढदो आँखाको समस्या रहेकाले तीलगंगासँग आँखा अस्पताल सञ्चालनका लागि सहकार्य अघि बढेको छ सामान्य अस्पताल र प्रसूति गृह र सर्पदंशको उपचार त भइरहेको छ ।

नगरपालिकाको मुख्य आन्तरिक आयस्रोत के हो, जसले नगरपालिको आन्तरिक आयमा प्रत्यक्ष सहयोग गरेको छ ?
नगरपालिकासित बकैया नदीमा बालुवा र गिट्टीमा कर लगाएको छ । निकासी, नक्सापासलगायतका सामान्य कर आन्तरिक आय नगरपालिकाको छ । प्रसिद्ध धार्मिक स्थलहरू, पर्यटकीय क्षेत्रको विस्तार हुँदैछ । संरक्षित वन क्षेत्र यहाँ छ, यहाँ उत्पादित जडिबुटीको समुचित उपयोग गरेर नागरिक र नगरपालिका दुवैलाई समृद्ध बनाउन सकिन्छ ।

जनअपेक्षाअनुसार काम गर्ने विशेष योजना के छ ?
मुख्य कुरा, रोजगारी सिर्जना गर्ने योजना बनाएको छु । पाँच वर्षसम्म निजगढ नगरपालिकालाई समृद्धिको बाटोमा कसरी लैजान सकिन्छ भन्ने विषयमा नगर कार्यपालिकामा विशेष छलफल र बहस गरिरहेका छौं । जनतासँग प्रत्यक्ष भेटघाटका क्रममा पनि उनीहरूका आवश्यकताका बारेमा नै सोच्ने गरेको छु । जनताबाट आएका मागलाई प्राथमिकीकरण गरी कार्यान्वयनका पाटोमा लान म र मेरो टिम प्रतिबद्ध छ । यसमा कर्मचारी, नागरिक समाज र जनप्रतिनिधि सबैले शुद्ध र पवित्र मनले जनभावनालाई शिरोधार्य गरेर काम गरे अवश्य पनि समृद्ध नगरपालिका बन्ने आशा लिएका छौं ।

सातामा धेरै पढिएको