दीननाथ बराल
आइतवार, श्रावण १९, २०७६
475

पोखरा महानगरपालिका–१४ मा जन्मेका उद्योगपति सूर्यबहादुर केसी पूर्वप्रधानपञ्च पनि हुन् । उनको पालामा पोखराको भौतिक संरचनामा धेरै मुहार फेरिएको थियो । नेपालकै पहिलो चाउचाउ (आहा-रारा) उद्योग सुरु गरेका केसीले २०२३ सालमा राइस मिल, २०२८ सालदेखि निर्माण व्यवसायीमा आबद्ध भएका थिए । १४ वर्षदेखि व्यावसायिक यात्रामा होमिएका केसी सामाजिक, राजनीतिक, ऊर्जा, खाद्य, बैंकिङ, उद्योगलगायतका क्षेत्रमा लाग्दै आएका छन् । राप्रपामा लामो समयसम्म आबद्ध रहेका उनी विगत केही वर्षदेखि नेपाली कांग्रेसमा आबद्ध भएसँगै हाल प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् । यसअघि उनी संविधानसभामा सदस्य थिए । यसै विषयमा आधारित भई उद्योगपति तथा प्रतिनिधिसभा सदस्य केसीसँग पोखरा संवाददाता दीननाथ बरालले गरेको कुराकानीको सार :

प्रतिनिधिसभा सदस्यको दृष्टिमा संघीय शासन व्यवस्थालाई यसको कार्यान्वयन, गतिविधि र अपेक्षाको कसीमा कसरी हेर्दै हुनुहुन्छ ?
मेरो विचारमा नेपालको राजनीतिमा विगतदेखि नै अत्यन्त धेरै प्रयोग भएका छन् । २०६४ सालदेखि करिब ३ सय वर्षको संस्थाको भूमिका शून्य हुने गरी नयाँ शासन व्यवस्थाको प्रयोग सुरु भएको हो । सानो देशमा बाहिरी चलखेल भई नेपालको भू–राजनीति अवस्थाको उपयोग गरेर आफ्नो अस्तित्व देखाउन संसारका विभिन्न शक्ति चलायमान छन् । त्यसबाट स्वतन्त्र हामो देशको अस्तित्व जोगाउँदै असंलग्न परराष्ट्र नीति अवलम्बन गर्ने नीति छ । कठिनाइ सिर्जना हुँदै आएका छन् । चालू खर्च अत्यन्तै बढेको, पुँजीगत लगानी न्यून भएको, दिगो विकासमा ध्यान नपुगेको अवस्थामा कार्यान्वयन पक्षबाट सन्तुष्ट हुन गा-हो भएको छ ।

विदेशको चलखेल भएको भन्नुभयो, यसमा प्रभाव कहाँ छ त ?
विदेशको चलखेल धेरै वर्ष अघिदेखि थियो, त्यो अझै पनि देखिन्छ । हाम्रा देशका पार्टी र राजनीतिक नेतामा त्यसको प्रभाव प्रत्यक्ष देखिन्छ ।

तपाईं संघीय शासन व्यवस्थाले मुलुकको मुहार फेरिनेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?
म व्यक्तिगत रूपमा अत्यन्तै आशावादी मानिस हुँ । राष्ट्रको क्षमता, राष्ट्रिय जनशक्तिको क्षमता, काम गर्ने दृष्टिकोण, काम गर्ने तौरतरिका अत्यन्तै कमजोर छ । सबै कमी–कमजोरीलाई आत्मसात् गर्नसके, कर्मचारीतन्त्रलाई राजनीतिबाट स्वतन्त्र राख्न सके, निष्पक्ष बनाउन सके भविष्यमा आशा गर्ने ठाउँ प्रशस्त छ । वर्तमान अवस्थामा धमिलो पानीमा माछा मार्ने प्रवृत्तिले लक्ष्य हासिल गर्न असम्भव छ ।

एकजना विधायकको हैसियतमा संघीय कानुन बनाउन आफूले खेलेका भूमिकाप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
म हिजो र आज पनि अत्यन्त अल्पमत विपक्षमा भएको रहेको सांसद हुँ । हामीले दिने सुझावहरू केही हदसम्म ग्रहण गरे पनि सबै कुरा हामीले सोचेजस्तो हुँदैन भएको पनि छैन । संसद् बहुमतीय प्रणालीमा निर्णय हुने व्यवस्था हुँदा आंशिक रूपमा मात्र सन्तुष्ट छु ।

कानुनहरू बन्दै गर्दा सर्वसाधारण नागरिकले उत्तिकै विरोध गर्दै पनि आएका छन्, कानुन बनाउने विधायकका रूपमा यसलाई कसरी विश्लेषण गर्न चाहनुहुन्छ ?
कानुन बन्ने प्रस्ताव आउँदा हाम्रा सांस्कृतिक धरोहर, सांस्कृतिक मूल्य–मान्यता र हाम्रा शास्त्रीय मूल्य–मान्यतामा आघात पु-याउने गरी जनताका मनका गहिराइको आस्था नबाझी बहुमतीय आधारमा लाद्न खोज्दा विरोध भएको छ । सरकारले ल्याएको गुठी विधेयक, मिडिया काउन्सिल विधेयकजस्ता कुराले जनताको मन कुँडिएको छ । यस्तै हो भने भोलि देशमा विद्रोह जन्मन सक्छ भन्ने हेक्का राख्नुपर्छ भन्ने कुरा सुझावका रूपमा राख्न चाहन्छु ।

तीन तहको सरकारका भूमिकाहरूप्रति यहाँको के धारणा छ ?
विगत दुई वर्षदेखि सरकारका क्रियाकलाप हेर्दै आएको छु । स्थानीय तह, प्रदेश सरकार र केन्द्रीय सरकारको समन्वयमा अत्यन्तै ठूलो कमजोरी छ, यसलाई सबैले स्वीकारेका छन् । दिगो कार्यक्रम बहुमतको नाममा जनतालाई असर पर्ने गरी प्रतिपक्षको राम्रा सुझावलाई नसुन्ने प्रवृत्ति हावी भएको छ । असन्तुलित विकास बजेट, विनियोजन गर्ने जनताको अहित हुने व्यवहार भएको कुरा त जनताबाट मात्र होइन, जनप्रतिनिधिबाटै यस्तो गुनासो सुन्दै आएका छौं । यी गुनासा अत्यन्तै न्यूनीकरण गर्दै सन्तुलित तथा दिगो विकासमा लाग्न सरकारलाई मेरो सुझाव छ । होइन भने विकासको नाममा कनिका छर्ने, कार्यकर्ता पोस्ने प्रकारको बजेट हुनु हुँदैन मेरो धारणा हो ।

सरकारले नागरिकका अपेक्षा पूरा गर्न सकेजस्तो लाग्छ ?
चुनावका बेला घोषणापत्रमा धेरै–धेरै सपना बाँडिएको थियो । ती अपेक्षाहरू हाल दुईतिहाइको वामपन्थी सरकार आएर पनि खै जनताले देख्न पाएको ? घरघरमा ग्यास, पूर्व–पश्चिम रेल, पानीजहाजलगायतका नारा देखाएर जनताको मत पाउने कार्यान्वयनतर्फ ध्यानै छैन । यस्ता सपना बाँडेका कारण जनताले कम्युनिस्टलाई दुईतिहाइको बहुमत दिएका हुन्, खै जनताको हितमा कम गरेको ? जनताका ती अपेक्षा सरकारले पूरा गर्न सकेको छैन, जनताले कम्युनिस्ट पार्टीप्रति विश्वास गरेर चुनावमा दिएको मतलाई कम्युनिस्ट पार्टीले आज पूरा गर्न नसक्दा नारामा मात्र सीमित भएको हो कि भन्ने हामीलाई लागेको छ ।

प्रतिपक्षीको भूमिकामा कांग्रेस भुत्ते रहेको भन्ने आरोप छ नि ?
प्रतिपक्ष सालीन छ । तोडफोड, चक्काजाम, बन्द हड्तालजस्ता विकासको गतिलाई अवरोध गर्ने काम नगरेको हुँदा धेरै चर्चा नपाएको हो, तर प्रतिपक्षले मलिन भूमिका खेले पनि भूमिका भने कमी छैन । हामीले सदनदेखि सडकससम्म शान्तिपूर्ण आन्दोलन गर्दै आएका छौं र हामी परेको खण्डमा भोलिका दिनमा पनि गर्नेछौं ।

सरकारको आरोप सत्ताबाट बाहिरिनुपर्दा कांग्रेस सही बाटोमा नहिँडिरहेको भन्ने छ नि ?
सत्तापक्षले आफ्ना सबै कुरा मानिदिए हुन्थ्यो भन्ने लाग्नु स्वाभाविक हो, तर भिन्न राजनीतिक आस्था भएका, भिन्न आदर्श अनुभवले तिखारिएका दलबीचको मूल्य–मान्यता फरक हुने भएकाले काम गर्ने तौरतरिका र पारदर्शी तौरतरिकाको पटक–पटक प्रश्न उठ्ने गरेका छन् । मूूल कुरा, वामपन्थी सोच र प्रजातान्त्रिक सोचविचारको द्वन्द्व हो भन्ने कुरा मलाई लाग्छ ।

कांग्रेसको आन्तरिक पार्टी जीवन, संगठन ध्वस्त हुँदा पनि सम्हालिन नसकेको देखिन्छ, के भन्नुहुन्छ ?
कांग्रेस सम्हालिन नसकेको होइन । पहिलेका पुस्ता, वर्तमान पुस्ता र हालको युवा पुस्ताबीचको प्रतिस्पर्धाले नेतृत्वमा आउन खोज्नुले कसै–कसैलाई कांग्रेस सम्हालिन नकेको बुझाइ परेको हुनसक्छ, तर कांग्रेस आन्तरिक रूपमा हामी एक छौं । कांग्रेसमा तीन पुस्ताबीचको प्रतिस्पर्धा छ । कांग्रेसले गाउँगाउँमा जागरण अभियान सञ्चालन गरेको छ । कांग्रेस पुनर्ताजगी, पुनर्निर्माण अभियानमा लागेको छ ।

कांगे्रसको भावी कार्यदिशा के हुन्छ ? प्रतिपक्षीका रूपमा पनि र आफ्नो आन्तरिक जीवनमा पनि ?
कांग्रेसका आन्तरिक असमझदारीहरू छिट्टै समझदारीमा रूपान्तरण हुनेमा विश्वस्त छु । हामी प्रतिपक्षका रूपमा समयसापेक्ष भूमिका निर्वाह गर्नेछौं । देशको सर्वाङ्गीण विकासमा सत्तामा हुँदा पनि, बाहिर बसे पनि कांग्रेसको सशक्त भूमिका रहनेछ । आगामी निर्वाचनमा सत्ताप्राप्तिका लागि धेरै सुधार गर्नेछौं ।

यहाँ त उद्योगी पनि हुनुहुन्छ । संघीय शासन व्यवस्थामा नेपालको औद्योगिक विकास कसरी हुनुुपर्छ ?
मेरो जीवनका महत्वपूर्ण समय राजनीति, समाजसेवा र ऊर्जा, बैंकिङ, खाद्य, उद्योग, व्यवसायमा बित्यो । मेरा तीन छोरा प्रकाश, किरण र रोशन पनि मैले अपनाएको पेसामा संलग्न छन् । उद्योग–व्यवसायीलाई विभिन्न बहानामा तर्साउने, धम्क्याउने जस्ता क्रियाकलाप विद्यमान छन् । यसले उद्योगमा लाग्नेहरूको पीडा महसुस गर्ने संस्थागत चरित्रको विकास अझै हुन सकेको छैन । यसको प्रत्यक्ष असर पर्र्दै गएको छ । बैंकको ब्याजदर घट्न नसक्दा व्यवसायी मर्कामा परेका छन् । देशका सम्भावना भएका ठाउँमा राज्यले पूर्वाधार निर्माण गर्नुप-यो, लगानीमैत्री वातावरण बनाउनुप-यो । स्वदेशमा उत्पादित वस्तुको बजारको ग्यारेन्टी राज्यले गर्न सक्नुपर्छ ।

पहिला राप्रपामा छाडेर कांग्रेसमा लाग्नुभयो, हाल सन्तुष्टि हुनुहुन्छ ?
पहिला जति समय राप्रपामा रहेँ, त्यतिबेला पार्टीको नियमअनुसार इमानदार सिपाहीको भूमिकामा रहेँ । पहिलो पार्टी छाडेर कांग्रेसमा आउँदा हाल कुनै आत्मग्लानी भएको छैन, सन्तुष्टि नै छ । कांग्रेस प्रवेशपछि व्यक्तिगत अनुभवसहितको मेरो निष्ठा मुलुकको निर्माणका लागि प्रजातान्त्रिक मूल्यमान्यता र मानवअधिकार, प्रेस स्वतन्त्रता र न्यायिक सर्वोच्चताका लागि आफ्नो निष्ठा, बुद्धिविवेकले भ्याएसम्म लाग्ने प्रण गरेको छु । कांग्रेसमा मेरो आफ्नो भूमिकाप्रति सन्तुष्ट नै छु ।

अन्त्यमा केही भन्नु छ कि ?
विकास निरन्तर चल्ने प्रक्रिया हो । विकासका योजनाहरू सफलीभूत पार्न निजी क्षेत्रको ठूलो हात हुन्छ । आज पनि ३५ लाख नेपाली युवा शक्तिले निजी क्षेत्रमा रोजगारी पाएका छन् । दुःख लाग्छ, उत्तिकै संख्यामा हाम्रा युवाशक्ति रोजगारीका लागि विदेश जानुपर्ने अवस्था छ । देशको व्यापार घाटाले देशलाई कंगाल बनाउँदै छ । स्थानीय, प्रदेश र केन्द्र सरकारको भूमिका बुझ्नु जरुरी छ । देशमा खाद्यसंकट परिआएको छ । युवाशक्ति पलायन हुनबाट रोक्न राज्यले ठोस नीति तथा कार्यक्रम ल्याउनु आवश्यक छ ।

सातामा धेरै पढिएको