कारोबार संवाददाता
शुक्रवार, श्रावण १७, २०७६
473

नेपालको व्यापार घाटा बर्सेनि बढ्दो छ । एक दशकको अवधिमा नेपालको व्यापार घाटा ३०० प्रतिशतले बढेको छ । निर्यातजन्य उद्योगहरू बन्द हुँदै जानु र उत्पादन बढाउने कार्य नहुँदा व्यापार घाटाको ग्राफ बढेको हो ।
आर्थिक वर्ष ०६७-६८ मा ३ अर्ब २७ करोड ५१ लाख रुपैयाँ बराबर रहेको व्यापार घाटा गत आवमा १३ खर्ब २१ अर्ब ४२ करोड रुपैयाँ पुगेको भन्सार विभागले उल्लेख गरेको छ । गत वर्षको व्यापार घाटा कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ३८ प्रतिशतभन्दा बढी रह्यो । जुन अघिल्लो वर्ष जीडीपीको ३६ प्रतिशतको हाराहारीमा थियो । नेपालको अर्थतन्त्रमा रेमिट्यान्सको प्रभाव छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको पहिलो ११ महिनामा ८ खर्ब रुपैयाँ रेमिट्यान्सवापत भित्रिएको भने सेवा आयबाट आर्जन भएको ६८ अर्ब र निर्यातबाट प्राप्त ९७ अर्ब १० करोड रुपैयाँ जोड्दा पनि कुल व्यापार घाटाको बिल भुक्तानी गर्न नपुग्ने देखिन्छ ।
नेपालले गत वर्ष १ सय ५७ वटा देशसँग व्यापार गरेकोमा १ सय ३४ वटा देशसँगको व्यापारमा घाटा छ । तथापि, न्यून परिमाणमा व्यापार हुने अन्य २३ मुलुकसँग भने नेपालको व्यापार नाफा नै देखिन्छ । अफगानिस्तानदेखि न्यूक्यालेडोनियासँगको व्यापार नाफा देखिन्छ । यस्तै अन्य देशमा आर्मेनिया, काजकस्तान, यमन, बाहमाज, बर्मुडा, अल्जेरिया, पनामा, रुवाण्डा, मौरिसस, न्यू क्यालेडोनिया, माल्दिभ्स, मोनाको, सुडान, गिनीलगायत छन् । उता, भन्सार विभागका अनुसार गएको वर्ष पनि नेपालको सबैभन्दा धेरै व्यापार घाटा भारतसँग देखियो । गतवर्ष नेपालले भारतबाट ९ खर्ब १७ अर्ब ९२ करोड रुपैयाँको वस्तु तथा सेवा आयात गरेको छ । तर, निर्यात भने जम्मा ६२ अर्ब रुपैयाँको मात्रै भएको छ । छिमेकी मुलुक भारतमा नेपालको आयात र निर्यात दुवै सबैभन्दा धेरै हुने गर्छ । बर्सेनि बढेको व्यापार घाटाले संविधान लक्षित समृद्धि हासिलमा प्रभावित पर्न सक्छ । यसै सन्दर्भमा केन्द्रित रहेर विराटनगर, हेटौंडा र वीरगन्जस्थित कारोबारकर्मीहरूले केही सरोकारवालासँग गरेको कुराकानीको सम्पादित अंश : 
निर्यातमूलक उद्योगलाई उत्पादनमा प्रोत्साहन र सहुलियत दिनुपर्छ
अनिल रुंगटा
उद्योगी, जगदम्बा इन्टरप्राइजेज
अहिले १३ खर्बभन्दा बढीको व्यापारघाटा देखिएको छ । यो मुलुकको अर्थतन्त्रका लागि निकै चिन्ताको विषय हो । यसरी बढिरहेको व्यापारघाटा कम गर्नका लागि निजी क्षेत्रलाई हातेमालो गरेर अगाडि बढे मात्रै व्यापारघाटा कम हुने सम्भावना छ । तर, सरकारले अनावश्यक कर लगाएर झन्झट सिर्जना गरेको छ । यसले कदापि पनि व्यापारघाटा घट्दैन । व्यापारघाटा कम गर्नका लागि उत्पादन बढाउने र निर्यातको सुदृढीकरण गर्नुपर्छ । निर्यातयोग्य वस्तुलाई भण्डारण गर्ने, धेरै महँगो र विलासिताका सामान आयातमा अंकुश लगाएर केही हदसम्म व्यापारघाटा कम हुन सक्ला ! तर, त्यो दीर्घकालीन समाधान भने होइन । भएका स्वदेशी उद्योगलाई उत्पादनमूलक बनाउने । कृषि उद्योगलाई प्राथमिकतामा राखेर सहुलियत दिने र यहाँका स्वदेशी उद्योगहरूको हकमा संरक्षण र प्रोत्साहन गर्ने, तयारी वस्तुमा लाग्ने भन्सार शुल्क बढाएर आयातमा प्रतिस्थापन गर्दै जाने हो भने पनि व्यापारघाटा कम गर्न सकिन्छ ।
नेपालमा सबैभन्दा बढी निर्यात गरेर व्यापारघाटा कम गर्न सक्ने सम्भावना भनेको विद्युत् हो । त्यसपछि जडिबुटी र सीमाक्षेत्रमा क्लिंकरको पनि निर्यात गरियो भने निर्यातको सम्भावना देखिन्छ । विद्युत् निर्यात गर्नका लागि नेपाल अब योग्य होला भन्ने अपेक्षा छ । जडिबुटी, जलविद्युत् र स्वदेशमा उत्पादित अन्य सामग्रीको पनि निर्यातको सम्भावना छ । सिमेन्ट र क्लिंकरको सीमाक्षेत्रमा अलिकति सहुलियत गरेर भए पनि निर्यात गर्ने प्रयास गर्नुुपर्छ । क्लिंकरमा अब हामी आत्मनिर्भर भइसक्यौं, अब सीमाक्षेत्रका भारतीय सिमेन्ट उद्योगमा बजारीकरणको आवश्यकता छ । राज्यले पनि त्यसका लागि केही सहुलियत दिनुपर्छ ।
कुनै पनि नीतिलाई कार्यान्वयन गर्नका लागि आर्थिक सुधार आवश्यक छ । यसमा राज्यको ठोस नीति निर्माण हुनुपर्छ । अहिले निजी क्षेत्र हच्किएको छ । व्यापार–व्यवसायको क्षेत्रमा विभिन्न किसिमका कर तथा नियम लगाएर व्यवसायीलाई दु:ख दिइरहेको छ । ठूला–ठूला उद्योगमात्र होइन, साना उद्योगलाई पनि अनावश्यक कर नीतिले निरुत्साहित गरेको छ । यसले नेपालको व्यापार व्यवसाय बढ्नुको सट्टा कम हँुदै जान्छ । देशमा व्यवसाय भए पनि आयातमुखी व्यवसाय बढी हुन्छ । यसले आयात बढाउन सहयोग पुग्छ । जुन वस्तु यहाँ उत्पादन हुँदैन त्यस्ता वस्तुहरू मात्रै आयात गर्ने र यहाँ उत्पादन हुनसक्ने र उत्पादन गर्न सक्ने वस्तुहरू भने यहीं उत्पादन गर्न उद्योगहरूलाई प्रोत्साहित गर्नुपर्छ ।
विद्युत्, क्लिंकर तथा जडिबुटी निर्यातका लागि सरकारले नै सहजीकरण गरेर सहुलियत दिई निर्यातमा कुनै किसिमका अवरोध छन् भने त्यसलाई हटाउनुपर्छ । कृषिमा हामी शतप्रतिशतको आयातमै निर्भर छौं । यसमा पनि उत्पादनमूलक उद्योगलाई वृद्धि गर्नुपर्छ । स्वदेशी उत्पादनलाई बढाउँदै गयौं भने आयात कम हुन्छ । आयात कम भयो भने स्वाभाविक रूपमा व्यापारघाटा पनि कम हुन्छ ।
निजी क्षेत्रले राज्यको अर्थतन्त्रको विकासमा महŒवपूर्ण भूमिका खेलेको छ । तर, राज्य सधैं निजी क्षेत्रलाई गलत दृष्टिले हेर्ने गर्छ । यसले निजी क्षेत्रलाई जहिले पनि सशंकित पारिरहेको छ । उत्पादनमूलक उद्योगमा मजदुरको समस्या हुनेगर्छ । निर्यातमूलक उद्योगलाई सरकारले सहुलियत दिएर भए पनि संरक्षण गर्नुपर्छ, जसले नेपालको व्यापारघाटा कम गर्न सहयोग पुग्छ ।
प्रस्तुति : नीरज पीठाकोटे


सरकारसँग दृढ इच्छाशक्ति र परिणामुखी योजना हुनुपर्छ
भीम घिमिरे
अध्यक्ष, उद्योग संगठन मोरङ
मुलुकको व्यापारघाटा कहालीलाग्दो अवस्थामा पुगेको छ । हरेक वर्ष यसरी नै व्यापारघाटा बढ्दै जाने हो भने मुलुक आर्थिक रूपमा असफल हुन्छ । यदि नेपाली युवाले विदेशबाट कमाएर नपठाउने हो भने मुलुक चल्न निकै गाह्रो थियो । अहिले मुलुक रेमिट्यान्सबाट चलिरहेको छ । अब व्यापारघाटा घटाउनेतर्फ सरकारले ध्यान दिनुपर्छ । व्यापारघाटा घटाउन पहिले स्वदेशी उत्पादन बढाउनुपर्छ । विदेशी उत्पादनको आयातलाई निरुत्साहित गर्न स्वदेशी उत्पादन बढाउनुको विकल्प छैन । आजभन्दा २५–३० वर्षअघि यस क्षेत्रबाट चामल, दाल, कपडालगायतका सामानहरू निर्यात हुन्थ्यो । हरेक दिन पेट्रोलियम पदार्थको आयात बढिरहेको छ ।
व्यापारघाटा बढाउने सबैभन्दा बढी भूमिका पेट्रोलियम पदार्थको छ । १३ खर्ब २१ अर्ब व्यापारघाटा पुगेको छ । पेट्रोलियम पदार्थको आयात घटाएर त्यसको वैकल्पिक प्रयोग सोच्नुपर्छ । पेट्रोलियम पदार्थलाई विस्थापित गर्ने उयायको खोजी गरिनुपर्छ । त्यस्तै कृषिलाई आधुनिकीकरण गरेर औद्योगीकरण गर्नुपर्छ । किसानलाई सुविधा दिएर कृषिको उत्पादन बढाएर मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउनुपर्छ । खाद्यान्न खरिदमा मात्रै ५१ अर्बभन्दा बढी बाहिरिएको छ गत आर्थिक वर्ष । कृषकलाई सहुलियत दिएर कृषिको उत्पादन वृद्धि गर्नुपर्छ ताकि अहिले आयात भइरहेको चामल, दाल, तरकारी, फलफूललाई स्वदेशी उत्पादनले विस्थापित गरोस् ।
अर्को व्यापारघाटा कम गर्ने क्षेत्र भनेको पर्यटन पनि हो । पर्यटन क्षेत्रको विकास गरेर विदेशी पर्यटक भिœयाएर विदेशी मुद्रा बढीभन्दा बढी आर्जन गरेको खण्डमा व्यापारघाटा कम हुने देखिन्छ । नेपाल ऊर्जाको प्रचुर सम्भावना भएको मुलुक हो । अहिलेसम्म ऊर्जाबाट हामीले लाभ लिन सकेका छैनौं । विद्युत् उत्पादन गरेर विदेशीलाई बेच्न सकियो भने व्यापारघाटा कम गर्न सकिन्छ । हामीसँग कति धेरै सम्भावना छन् । तर, त्यसको सही रूपमा अझैसम्म पनि सदुपयोग गर्न सकेका छैनौं ।
दक्ष जनशक्ति नेपालमा छैनन् । विदेशी मुलुकबाट दक्ष जनशक्ति ल्याउनुपर्छ । नेपालमै दक्ष जनशक्ति उत्पादन गरेर विदेशी दक्ष जनशक्ति विस्थापित गर्नुपर्छ । दक्ष जनशक्तिमार्फत पनि नेपाली मुद्रा विदेसिने क्रम बढेको छ । विलासिताका सामानको प्रयोगले पनि व्यापारघाटा बढाइरहेको छ । विलासिताका सामानको प्रयोगलाई सरकारले निरुत्साहित गर्नुपर्छ । शिक्षा र स्वास्थ्यमार्फत पनि व्यापारघाटा कम गर्न सक्छौं हामी । डाक्टर, इन्जिनियरलगायतका दक्ष जनशक्ति उत्पादन गर्ने प्रविधियुक्त विश्वविद्यालय, मेडिकल कलेज, अस्पताल खोल्न सकेमा पनि व्यापारघाटा केही हदसम्म कम गर्न सकिन्छ ।
अहिले धेरै नेपाली विद्यार्थी विदेश पढ्न गइरहेका छन् । यसरी प्रविधियुक्त र रोजगारमूलक शिक्षा दिन सकेमा नेपाली विद्यार्थी विदेश पढ्न जाने क्रम रोकिनेछ अनि विदेशबाट समेत नेपालमा पढ्न आउनेछन्, जसले विदेशी मुद्रा भित्रिनेछ ।
विदेशी विद्यार्थी ल्याउने कलेज र विश्वविद्यालय सञ्चालन गर्न निश्चित मापदण्ड तोकेर खोल्न दिनुपर्छ । अहिले शिक्षा र स्वास्थ्य क्षेत्रमा रहेको सिन्डिकेट हटाउनुपर्छ । स्वदेशी कच्चापदार्थ प्रयोग गरेर उत्पादन गर्ने उत्पादनमूलक उद्योगलाई संरक्षण गर्नुपर्छ सरकारले, ताकि विदेशी वस्तुसँग उसले प्रतिस्पर्धा गर्न सकोस् ।
स्वदेशी कच्चापदार्थ प्रयोग गरेर निर्यातमूलक उद्योगहरूलाई पनि सरकारले विशेष सुविधा दिनुपर्छ । यसले गर्दा नेपालको किसानको सामानको यहीं खपत हुन्छ । रोजगारी सिर्जना हुन्छ । यी सबै कुरालाई ख्याल गर्ने हो भने स्विट्जरल्यान्ड, दक्षिण कोरिया, मलेसियालगायतका मुलुकको तुलनामा नेपालले छिट्टै आर्थिक उन्नति गर्छ । यसका लागि सरकारको इच्छाशक्ति बलियो हुनुपर्छ । योजना, नीति र कार्यक्रमहरू परिणाममुखी बनाएर सरकार दृढ इच्छाशक्ति लिएर अगाडि बढ्यो भने यो सम्भव छ ।
यदि दृढ इच्छाशक्ति र कार्यान्वयनमुखी योजना लिएर सरकार अगाडि बढ्यो भने ‘समृद्ध नेपाल सुखी नेपाली, ५ लाख युवालाई रोजगारी’ भन्ने जुन राष्ट्रिय नारा छ त्यसले सार्थकता प्राप्त गर्न सक्छ । यदि सरकारले कार्यान्वयन पक्षलाई बेवास्ता ग¥यो र ध्यान दिएन भने सरकारको जुन सपना छ त्यो दिवास्वप्ना मात्रै हुनेछ । तसर्थ सरकार गम्भीर भएर परिणाममुखी योजना लिएर अगाडि बढ्नु जरुरी छ । जसले गर्दा यी सबै समस्याको निरूपण गर्दै समृद्ध नेपाल बनाउन सक्षम हुनेछ । व्यापार कम गर्न निजी क्षेत्र पनि इमानदार भएर सरकारलाई सघाउन तयार छ ।प्रस्तुति : मीनकुमार नवोदित


कच्चा पदार्थ आयात कर घटाइनुपर्छ
नवराज अर्याल
अध्यक्ष, उद्योग संघ मकवानपुर
नेपालमा बर्सेनि व्यापारघाटा बढ्दै जानुमा राज्य नै बढी जिम्मेवार छ । राज्यले कच्चा पदार्थ आयातमा लगाउने करको दर घटाउँदै तयार वस्तु आयातमा लाग्ने कर बढाएमा स्वत: नेपालमा उत्पादन बढ्छ र नेपाली उद्योगले उत्पादन गरेका वस्तुले पनि अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्नसक्छ । अहिले कच्चा पदार्थ आयातमा सरकारले २८ प्रतिशतसम्म कर लगाउँछ, तयारी वस्तु आयात गर्दा १३ प्रतिशत मात्र कर छ । अनि हामीले बाहिरबाट कच्चा पदार्थ ल्याएर नेपालमा उत्पादन गर्दा कसरी विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्छौं ? निर्यात गर्दा लाग्ने करमा पनि विशेष छुट दिनुपर्छ । नेपालमा औद्योगिक वातावरण तयार गर्न सरकारले धेरै तिरबाट सोच्नुपर्छ ।
भारतकै उदाहरण हेर्ने हो भने अहिले उद्योगलाई १५ वर्षसम्म कर छुटको व्यवस्था गरेको छ । साथै, ३ देखि ५ प्रतिशत ब्याजदरमा सहज ऋण पनि उपलब्ध गराएको छ । हामीले यहाँ १२ देखि १५ प्रतिशत घटीमा ऋण पाउँदैनौं । करको दर बढाइएको छ । यसो हुँदा हामीले गर्ने उत्पादनको लागत धेरै पर्न जान्छ । हामीले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसक्दा सामान निर्यात हुँदैन, अनि आयात बढेको बढ्यै, निर्यात घटेको घट्यै भइरहन्छ । यही अवस्था रहने हो भने व्यापारघाटा बर्सेनि बढ्दै जान्छ ।
हाम्रो उत्पादनको लागत बढ्नुमा श्रम ऐन पनि दोषी छ । उत्पादन र उत्पादकत्वलाई ध्यान नदिई श्रम ऐन बनाइँदा हाम्रो उत्पादनको लागत बढी हुने गरेको छ । हामीले वर्षमा ३ सय दिन उत्पादन गर्ने लक्ष्य राख्दा बन्द, हड्ताल, बिदालगायत गरी करिब २ सय दिन पनि उद्योग चल्न पाउँदैन । अनि हाम्रो उत्पादनको लागत त बढ्ने नै भयो । सरकारले औद्योगिक क्रान्तिको कुरा गरिरहँदा यी सबै समस्याको समाधान नगरी हामी लक्ष्यमा पुग्न सक्दैनौं । सरकारले विशेषगरी निर्यातजन्य उद्योगहरूलाई प्रोत्साहन गर्न सक्नुपर्छ । उद्योगको संख्या थपेर मात्र हुँदैन, तिनीहरूलाई दिने सुविधा पनि थप्नुपर्छ ।

प्रस्तुति : केशव समर्पण

 

सातामा धेरै पढिएको