कारोबार संवाददाता
बिहिवार, श्रावण १६, २०७६
410

देशको आयात निर्यात व्यापारको अवस्था दिनप्रतिदिन विकराल बन्दै गएको छ । निर्यातको तुलनामा आयातदर बढ्दै जानुले देशको अर्थतन्त्र खतराजनक अवस्थातर्फ धकेलिएको सहज अनुभूति गर्न सकिन्छ । आर्थिक वर्ष ०७५-७६ मा १४ खर्ब १८ अर्ब रुपैयाँको आयात भएको छ भने ९७ अर्ब रुपैयाँको मात्रै निर्यात भएको छ । आव ०७४-७५ मा १२ खर्ब ४५ अर्बको आयात भएको थियो । आयात उच्च रूपमा बढेपछि व्यापारघाटा चुलिएको हो । पछिल्लो एक दशकलाई हेर्ने हो भने देशको व्यापारघाटा तीन सय प्रतिशतले बढेको छ । यो इतिहासकै बढी व्यापारघाटा हो । देशले बाह्य व्यापारका क्षेत्रमा प्रभावकारी उपाय अवलम्बन गर्न नसक्दा व्यापारघाटा बढ्दै गएको छ । निर्यात प्रवद्र्धनले अपेक्षित गति लिन नसकेपछि अनियन्त्रित आयातले व्यापार घाटा तीव्र वृद्धि भइरहेको छ । निर्यात र आयात बीचका ग्याप बढ्दै गएको अहिलेको अवस्थामा सरोकारवाला पक्षसँग कारोबारले गरेको कुराकानी :

लजिस्टिक कष्ट घटाउँदै लैजानुपर्र्छ
प्रकाशसिंह कार्की
अध्यक्ष, नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन
व्यापारघाटा बढ्दै जानुको मुख्य कारणमध्ये पूर्वाधारको कमी एक हो । पूर्वाधारको कमीले गर्दा नै अहिले आयात निर्यातको लजिस्टिक कष्ट बढेको छ । सरकारले एकातर्फ सुखी नेपाली र समृद्ध नेपालको नारा अगाडि सारेको छ भने अर्काेतर्फ व्यापारघाटाले त्यसको विपरीत संकेत गरिसकेको छ । व्यापारघाटा १३ खर्ब २१ अर्ब पुगेपछि पनि हाम्रो ध्यान जान सकेन भने राष्ट्र झनझन व्यापार घाटाको चपेटामा पर्दै जान्छ । आयात प्रतिस्थापन गर्दै निर्यातमा जोड दिने समय आएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आव ०७५-७६ मा नेपालको ब्यापारघाटा साढे १ खर्बले बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार आव ०७४-७५ मा नेपालको कुल व्यापार घाटा ११ खर्ब ६३ अर्ब रुपैयाँ रहेको थियो तर, गत आवमा आइपुग्दा सो व्यापारघाटा डेढ खर्बले बढ्दै १३ खर्ब २१ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ । नेपाली उत्पादनलाई विश्वव्यापी गराउन सकेमात्र व्यापार सन्तुलन गर्न सकिन्छ । निर्यात व्यापार वृद्धिका लागि कार्गो व्यवसायीको महत्वपूर्ण भूमिका छ । समग्र कार्गो व्यवसायको विस्तारका लागि यससँग सम्बन्धित ऐन, कानुन परिमार्जन गर्न आग्रह गर्दै कार्गोमैत्री पूर्वाधार विकासमा जोड दिनुपर्छ । व्यापार सहजीकरण गर्न हामी तयार छौं । नेपाल भारतमाथि निर्भर छ भन्ने प्रष्टै छ । ह्यान्डलिङ, क्लियरिङ र फरवाडिङ समयमै हुँदा खर्च बढेको छ । समय खपत बढी हुँदा लागत घट्न सकेको छैन । बन्दरगाहमा हुने समस्याले डिटेन्सन र ड्यामेज चार्ज धेरै तिर्नुपर्छ । संसारभर प्रोसेसिङको समय घटाइए पनि हामीलाई जहिलै बढाइन्छ । अर्को कुरा भारतले हरेक कुरामा चार्ज लगाउँछ । ट्यारिफ र ननट्यारिफ बाधकलाई सरलीकृत गर्नसके केही मात्रामा भए पनि हाम्रो प्रतिस्पर्धात्मक क्षमता बढ्थ्यो । क्यारेन्टाइन्ट र खाद्यवस्तुमा पनि समस्या छ । आयातमा परीक्षण कम र निर्यातमा बढी छ । परीक्षणमा समय बढेपछि स्वाभाविकै लागत बढ्छ । यसलाई घटाउन नेपाली खाद्य प्रयोगशालाले मान्यता पाउनुपर्छ । तर, भारतीयहरू हाम्रो प्रयोगशालालाई विश्वास गर्दैनन् । यसैगरी सवारीजन्य सामग्री र पर्यटन उद्योगका अन्य सामानमा पनि नेपालले लगानी धेरै गर्नुपरेको छ । भारतका लागि नेपाल इमान्दार बजार हो । यसले त्यहाँको अर्थतन्त्रलाई टेवा पु-याएको छ । वर्षौंदेखि हुलाकी राजमार्ग र रेलमार्गको कुरा भएको छ तर कार्यान्वयन हुँदैन । हामीसँग व्यापारघाटा कम गर्ने दीर्घकालीन नीति पनि छैन । नेपाल भूपरिवेष्ठित मुलुक भएका कारण पेट्रोलियम पदार्थमा भएको उच्च आयातले व्यापार घाटा बढाएको हो ।

निर्यात बढाउने प्याकेज ल्याउनुपर्छ
चण्डिप्रसाद अर्याल
अध्यक्ष, नेपाल तयारी पोशाक उद्योग संघ
देशको व्यापारघाटा अब सानो प्रयासले न्यूनीकरण हुने अवस्थामा छैन । हामीले निर्यात बढाउन सकेनौं तर आयातको दर भने अत्यधिक बढ्यो । आयात र निर्यात बीचको खाडल निकै बढिसक्यो । अब सरकारका बजेट तथा कार्यक्रम निर्यात प्रवद्र्धन गरिन्छ भनेर आउँदा हामी मख्ख पर्नसक्ने अवस्था छैन । यदि सरकारले निर्यात बढाउने इच्छा राखेको हो भने प्याकेज बनाएर व्यवसायीसँग सहकार्य गर्नुपर्छ । विदेशी मुलुकको अभ्यास पनि हेर्नुपर्ने जरुरी छ । हाम्रो प्रतिस्पर्धा अन्तर्राष्ट्रिय बजारमा हो भने यहाँका उद्योगीलाई पनि सोही अनुसारको सेवा सुविधा दिनुपर्छ । लगानीका लागि उत्साहित गर्ने सरकारका कार्यक्रम आउनपर्ने थियो तर त्यो हुन सकेन । जति पनि नेपाली उद्योग छन् अधिकांशले कच्चा पदार्थ भारत तथा तेस्रो मुलुकबाट आयात गर्छन् । कच्चा पदार्थ आयात गरेर उद्योग चलाउनुमा खासै प्रगति गर्न सकिन्न । त्यसैले सरकारले वर्षमा कम्तीमा एउटा वस्तुको कच्चा पदार्थ नेपालमै आत्मनिर्भर बन्ने गरी बजेट र कार्यक्रम ल्याउनुपर्छ । विदेशीलाई नेपालमा लगानीको वातावरण बनेको प्रत्याभूति दिनका लागि पहिले स्वदेशकै उद्योगी व्यवसायीमा आत्मविश्वास बढ्नु जरुरी छ ।
लामो समयदेखि निर्यातमा नगद अनुदान माग गर्दै आएका छौं । हामीले धेरै भनिरहेका पनि छैनौ छिमेकी मुलुकसँग प्रतिस्पर्धा गर्नसक्ने अवस्था गरिदिन मात्रै माग गरेका हौं । हामीले जुन राष्ट्रसँग व्यापार गर्दैछौँ ति राष्ट्रसँग १० देखि १५ प्रतिशतसम्म महंगो भएका छौं । प्रतिस्पर्धामा महंगोमा सामान कसैले किन्दैन त्यसका लागि सरकारले प्रतिस्पर्धी बनाउनका लागि पनि नगद अनुदान दिनुपर्छ । अर्काेतर्फ सरकारले कार्यक्रम बनाउँदा सरोकारवाला निकायस्ँंग छलफल गर्नुपर्छ । सरकारले ल्याउने कार्यक्रमका विषयमा उद्योगी व्यवसायी सहभागी हुनसके भने सरकारका प्रतिनिधिभन्दा वास्तविक समस्या उद्योगीलाई हुन्छ । सरकारले निर्यात प्रवद्र्धन गर्ने मात्रै भनेको छ तर निर्यात प्रवद्र्धन गर्नका लागि समाधानका उपाय भने ल्याउन सकेको छैन । अन्तर्राष्ट्रिय बजारमा हुने मेला, सभा सम्मेलनमा भाग लिन र बजारीकरणका लागि कुल निर्यातको १ प्रतिशत रकम छुट्याउन माग गरेका छौं । देशको करिब ६५ प्रतिशतको व्यापार साझेदारी रहेको भारतसँगको मात्र व्यापारघाटा ८ खर्ब ५५ अर्ब रुपैयाँ नाघेको छ । गत वर्ष भारतबाट ९ खर्ब १८ अर्ब रुपैयाँ बराबरको आयात गरेकोमा नेपालबाट मुस्किलले ६२ अर्ब ७३ करोड रुपैयाँ बराबरको मात्र निर्यात भएको छ । भारतमा निर्यातका थप आधार खोज्न जरुरी छ । त्यसका लागि सरकारले प्याकेजमा सुविधा ल्याउनुपर्छ व्यवसायीहरू उत्पादन बढाउन र लगानी बढाउन तयार छन् ।

सबै मन्त्रालयको फोकस उत्पादन र निर्यात बढाउने हुनपर्छ ।
पुरुषोत्तम ओझा
पूर्वसचिव एवं व्यापार विज्ञ
राष्ट्रका लागि व्यापारघाटा सबैभन्दा ठूलो चुनौतीका रूपमा अगाडि आएको छ । आयात ठूलो मात्रामा बढ्दा निर्यात झिनो दरमा बढेको छ । व्यापार घाटालाई व्यवस्थित गर्न विशेष अभियानसहितको कार्यक्रम आउनुपर्छ । खास खास उत्पादन र निकासीलाई जोड दिँदै योजनाहरू प्रभावकारी ढंगबाट ल्याइनुपर्छ । योजना आएरमात्रै भएन त्यसको प्रभावकारी कार्यान्वन हुनु जरुरी छ । नेपाललाई कृषि प्रधान देश भनिन्छ, तर खाद्यान्न आयात बढेको बढ्यै छ । यस्ता सामग्रीमा आत्मनिर्भर बनाउन कृषक सरोकारवाला लक्षित कार्यक्रम ल्याउनु जरुरी छ । मन्त्रालयहरूको समन्वय अभावले पनि उत्पादन बढ्न सकेको छैन । त्यसैले विभिन्न मन्त्रालयको समन्वयमा प्रभावकारिता ल्याउनुपर्छ । सबै मन्त्रालयको फोकस उत्पादन र निर्यात बढाउने हुनपर्छ । भारतसँगको व्यापार घाटा बर्सेनि बढ्दो छ । व्यापारघाटा कम गर्न निकासी बढाउनुको विकल्प छैन । भारतीय बजारमा नेपाली वस्तु प्रवेश गर्दा धेरै अवरोध छन् । भन्सार शुल्क नलागे पनि गैरभन्सार अवरोध धेरै हुँदा निकासी बढ्न नसकेको हो । कृषि, अप्रशोधित सामग्री, प्राकृतिक सामग्री निकासी हुँदा मूल्य निकै कम पर्छ । हामीले परिमाण धेरै हुने तर मूल्य कम पर्ने सामग्री निर्यात गर्दै आएका छौं । निर्यात बढाउनका लागि नेपालमा औद्योगिकीकरण बढाउनु जरुरी छ । उत्पादनमूलक उद्योगहरूको क्षमता विस्तार र लगानी वृद्धि अहिलेको आवश्यकता हो । जुस, स्टिल सामग्री लगायतका कृषि सामग्री नेपालबाट भारत निकासी हुन्छन् । निकासीमा स्वदेशी उद्योगमात्र नभएर नेपालमा रहेका बहुराष्ट्रिय कम्पनीको योगदान ठूलो छ । हामीले उत्पादनमूलक क्षेत्रमात्र नभएर व्यापार घाटा कम गर्न सेवा व्यापारमा पनि ध्यान दिनुपर्छ । हाइड्रोपावर सबैभन्दा प्रचुर सम्भावना भएको क्षेत्र हो । बिजुली निकासी गरेर आम्दानी बढाउन सक्ने पर्याप्त आधार छन् । पछिल्लो एक दशकयता नेपालमा भारतीय पर्यटक आउने क्रम बढेको छ । यसलाई लक्षित गरी पर्यटनमा नयाँ रणनीति बनाउनुपर्छ । नेपाल आउने पर्यटकको समय बढाउने, तिनलाई दिइने सेवा सुविधा बढाउनेतर्फ ध्यान दिनसके पर्यटक आगमन बढाउन सकिन्छ । शिक्षा र स्वास्थ्य अर्काे सम्भावनाको क्षेत्र हो । पूर्वाधारको विकासका साथसाथै निर्यात व्यापारमा जोड दिनुपर्छ । समग्रमा गत वर्षको व्यापार घाटा देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ३८ प्रतिशतभन्दा बढी हो भने अघिल्लो वर्ष यो जीडीपीको ३६ प्रतिशतको हाराहारीमा थियो ।

२० वर्ष पुराना नीति फेरिए पर्यटनबाट व्यापारघाटा कम गर्न सकिन्छ
नवराज दाहाल
अध्यक्ष, टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल
नेपाल पर्यटकको सम्भावना बोकेको मुलुक हो । थोरै लगानी र छोटो समयमा नेपालको व्यापार घाटा कम गर्नका लागि पर्यटनबाट सम्भव छ । विश्वका मुलुकमा सबै किसिमका पर्यटकको सम्भावना बोकेको मुलुकमा नेपाल रहँदा रहँदै पनि हामीले प्रकृतिको सही सदुपयोग गर्दै पर्यटक उद्योगको विकास गर्न सकेका छैनौं । यसतर्फ सरकारको ध्यान केन्द्रित हुन जरुरी छ । नेपालको व्यापार घाटा कम गर्नका लागि कृषि, ऊर्जा र पर्यटनको विकासबाट मात्र सम्भव छ । नेपालको पर्यटन विकासका लागि हाल सरकारले ४ विषयमा सम्बोधन गर्नुपर्ने जरुरी छ । पहिलो भूकम्पबाट क्षतिग्रस्त सम्पदाको पुनर्निर्माण गर्नुपर्छ । सन् २०१५ मा गएको विनासकारी भूकम्पबाट क्षति पुगेका सांस्कृतिक सम्पदाको पुनर्निर्माण गर्न सरकारले जोड दिनुपर्छ । सुविधा सम्पन्न पदमार्ग विकास गर्दै, पर्यटकलाई सहजीकरण गर्ने वातावरण तयार गर्नुपर्छ । दोस्रो पूर्वाधारको विकासमा जोड दिनुपर्छ । नेपालमा पर्यटन ल्याउने वातावरण विकास गर्नका लागि पूर्वाधारमा जोड दिनुपर्छ । विमानस्थल निर्माण र भएका विमानस्थलको सुदृढीकरणमा जोड दिनुपर्छ । बाटो, पुल, होटल रेस्टुराँको विकासमा जोड दिएर लगानी गर्ने वातावरण सरकारले तयार गर्नुपर्छ । निजी, सरकारी, साझेदारीमा सरकारले पर्यटन क्षेत्रको विकासमा ध्यान दिन सकेको खण्डमा पर्यटनमा लगानी वृद्धि भएर जानुका साथै पर्यटनका लागि सहज वातावरण विकास गर्न सकिन्छ । साथै पर्यटनको सुविधाका लागि सवारी साधनको विकास गर्नुपर्छ सरकारले पर्यटन सवारीमा विशेष सुविधा प्रदान गर्नुपर्छ । सफा सुन्दर नेपालमा पर्यटनलाई आकर्षित गर्नका लागि पर्यटनमैत्री गन्तव्यको विकासमा पनि जोड दिनुपर्छ । जसबाट पर्यटकलाई धेरैभन्दा धेरै व्यस्त गराउन सकियोस् । हामीले त्यस्ता पर्यटन प्रडक्टमा ध्यान केन्द्रित गर्नु जरुरी छ । तेस्रो, पर्यटनमैत्री नीतिमा सुधार गरिनुपर्छ । सरकारले नेपालमा पर्यटन भित्र्याउने वातावरण विकासका लागि नयाँ पर्यटनमैत्री नीति तर्जुमा गर्नुपर्छ । हाल २० वर्ष पुराना नीतिबाट हामी पर्यटन क्षेत्रलाई चलायमान बनाइरहेका छौँ । राष्ट्रको उत्पादकत्व बढाउनका लागि पर्यटन सुरक्षा र पर्यटन सरोकारवाला निकायलाई सुरक्षाको प्रत्याभूति दिलाउन सकेको खण्डमा पर्यटन विकासमा सरकारले चाहेको आर्थिक समृद्धि हासिल गर्न सकिन्छ । चौथो, आन्तरिक र बाह्य बजार प्रवद्र्धनमा जोड दिनुपर्छ । सरकारले सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउँदै २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ, यसलाई सफल बनाउन आन्तरिक र बाह्य बजार प्रवद्र्धन गर्नुपर्छ । छिमेकी मुलुक भारत र चीनमा ठूलो मात्रामा पर्यटन छन् । सो क्षेत्रमा हाम्रो बजार प्रवद्र्धन गर्न आधुनिक डिजिटल बजार प्रवद्र्धन गर्नुपर्छ ।

सातामा धेरै पढिएको