गोपाल संग्रौला
आइतवार, श्रावण ५, २०७६
616

नेपालमा अन्तर्राष्ट्रिय शैक्षिक हब बनाउने योजनासहित बेलायतको डिग्री लिएर नेपाल प्रवेश गरेका चितवनका महेन्द्रराज कँडेल ब्रिटिस कलेजका कार्यकारी निर्देशक हुन् । १९९५ को दशकमा बेलायतको ग्रीनविच युनिभर्सिटीबाट सूचना प्रविधिमा डिग्री हासिल गरेर नेपालमा केही गर्नुपर्छ भन्ने सोचसहित नेपाल फर्किए । २०११ मा ब्रिटिस कलेजमा लगानी गरी अन्तर्राष्ट्रियस्तरको बेलायती डिग्री नेपालमा दिने लक्ष्यमा लागिरहेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए), यूकेको पूर्वअध्यक्ष एवं संरक्षकसमेत रहेका कँडेल लामो समय शिक्षाको गुणस्तर सुधार र नेपालको शैक्षिक प्रवद्र्धनमा लागिरहेका छन् । उनले नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक हब बनाउन सरकारलाई विभिन्न सुझाव दिँदै आइरहेका छन् । नयाँ नेपाल निर्माणमा गुणस्तरीय शिक्षा हासिल गरेका जनशक्ति उत्पादनपछि मात्र सम्भव हुने जनाउँदै उनी गुणस्तरीय शिक्षाको विकासमा लागेका छन् । नेपालमा निजी क्षेत्रको शैक्षिक अवस्था र गुणस्तरका विषयमा केन्द्रित रहेर कारोबारकर्मी गोपाल संग्रौलाले गरेको कुराकानीको सार :

ब्रिटिस कलेजको शैक्षिक गुणस्तर कस्तो छ ?
यसमा खास गरेर कलेजले दिने कुरा भनेको गुणस्तरीय शिक्षा नै हो । विश्व परिवेशअनुसारको गुणस्तरीय शिक्षा दिने कुरामा ब्रिटिस कलेजले सम्झौता गरेको छ । उच्च शिक्षाको कुरा गर्दा गुणस्तरीय शिक्षा दिन नसक्ने कलेज टिक्न सक्ने अवस्था नै छैन । यस विषयमा हामी व्यावसायिक र यसको विश्वनीयताका साथ शैक्षिक गुणस्तरमा कटिबद्ध छौं । दोसो कुराचाहिँ हामी ब्रिटिस शैक्षिक कार्यक्रमको सम्बन्धन भएका कारणले कलेजका हरेक कार्यक्रम निर्माण यूकेबाट हुन्छ । ब्रिटिसले आफ्नो विश्वविद्यालयमा जे पाठ्यक्रम लागू गरेका छन्, त्यही नै ब्रिटिस कलेजलाई दिने हुन् । त्यो पाठ्यक्रम हामीले सञ्चालन गर्ने हो । फ्याकल्टी चाहिँ ब्रिटिस युनिभर्सिटी र ब्रिटिस कलेजबीच प्रत्येक हप्ता भइरहेको हुन्छ । कोर्स कहाँ पुग्यो । नयाँ विद्यार्थीहरूको के भइरहेको छ । सम्पूर्ण कक्षा कसरी सञ्चालन भइरहेको छ । हरेक विषयवस्तुका बारेमा अनुभव र अभ्यास आदानप्रदान भइरहेको हुन्छ । ब्रिटिस युनिभर्सिटीमा अध्ययन गर्ने विद्यार्थीले के शैक्षिक सुविधा पाइरहेका हुन्छन्, त्यो सबै यहाँ उपलब्ध हुने गरेको छ । ब्रिटिस कलेजका कारण नेपाली विद्यार्थीले सोभैm बेलायतको शिक्षा नेपालमै बसेर लिन पाएका छन् । त्यसैले शैक्षिक गुणस्तरचाहिँ विद्यार्थी र अभिभावकको रुचि र सन्तुष्टिमा नै अघि बढाइरहेका छौं ।

नेपालमा बेलायतको डिग्री नभएर नै ब्रिटिस कलेजको स्थापना भएको हो ?
यसको स्थापनाको कुरा गर्दा हामी बेलायतमा बसेर ९-१० वर्षको बेलायती विश्वविद्यालयसँगको नजिक भएर काम गरिरहेको अवस्था थियो । बेलायतमा लामो समय बसेपछि नेपालमा केही गर्नुपर्छ भन्ने भावनाअनुसार नै केही गर्ने क्रममा ब्रिटिस कलेजको स्थापना गर्ने सोच आयो । त्यो भवनाअनुसार नेपाललाई कसरी जोड्ने र बुबाआमाको पनि विदेशमा गएर कति बसिरहने भन्ने थियो ।

सरकारले शिक्षा सामाजिक कार्यका रूपमा हेर्दै केही नीतिगत व्यवस्था पनि गर्दै गइरहेका बेला शिक्षा व्यवसाय वा सामाजिक कार्य के हो ?
शिक्षालाई दोहोरो रूपमा हेर्न सकिन्छ । शिक्षाको फाइदा पनि दोहोरो नै छ । एउटाचाहिँ शिक्षाबाट समाजले एक प्रकारको फाइदा पाउने भयो । यसैगरी लगानीकर्ताले पनि लगानीअनुसारको आर्थिक प्रतिफल पाउने भयो । तर, यसमा चाहिँ महŒवपूर्ण कुरा हुन्छ भने शिक्षा र लगानीलाई पनि सरकारले नियमित अनुगमन र मूल्यांकन गर्नु जरुरी छ । किनभने कलेजले वाचा गरेअनुसारको शैक्षिक कार्यक्रम र गुणस्तर दिएको छ कि छैन ? विद्यार्थीले तिरेको शुल्कअनुसार गुणस्तर पाएको छ कि छैन ? यस्ता विभिन्न विषयमा सरकारको चासो हुनुपर्छ । हाम्रो कलेजमा पो ब्रिटिस विश्वविद्यालयले मनिटरिङ गरिरहेको छ । तर, नेपाल सरकारले गरेको मनिटरिङ गरेको पुगेको छैन जस्तो लाग्छ ।

पछिल्लो समय नेपालको उच्च शिक्षा नाम र दामको पछाडि दौडिरहेको जस्तो देखिन्छ नि ?
यसमा मैले सबैलाई सामाजिक कार्य गर्न हिँडेको भीड नै हो चाहिँ भन्दिनँ । कलेज सञ्चालन गरेपछि सबै केही न केही आर्थिक मुनाफाको सोच हुन्छ । तर, केही संस्था आर्थिक रूपमा मात्र केन्द्रित भएर आउने संस्थालाई सरकारले एक निकाय स्थापना गरेर नियन्त्रण र नियमन गर्नुपर्छ जस्तो लाग्छ ।

ब्रिटिस कलेज गुणस्तरीय शिक्षा दिने संस्था हो भन्नुभयो ? गुणस्तरीय शिक्षा नै दिएको छ भन्ने आधार के छ ?
ब्रिटिस गुणस्तरलाई कसरी मूल्यांकन गरिन्छ भने ब्रिटिस युनिभर्सिटीको विद्यार्थी कति प्रतिशत पास भएको छ र ब्रिटिस कलेजको पास हुने औसत कति छ, त्यसको आधारमा आन्तरिक रूपमा मूल्यांकन हुँदै आएको छ । सम्पूर्ण रूपमा भन्नुपर्दा ब्रिटिस युनिभर्सिटीका विद्यार्थीले कति पाएका छन् र हाम्रा विद्यार्थीले कति ल्याएका छन् भने कुराका आधारमा हुने गरेका छ । यस आधारमा हामीले दिएको गुणस्तरमा ब्रिटिस युनिभर्सिटी खुसी भएको अवस्था छ । हामी उनीहरूभन्दा माथि नै छौं भन्ने उनीहरूको संकेत बुझिएको छ ।

ब्रिटिस युनिभर्सिटीको कोर्स भनिरहनुभएको छ । यस्ता कोर्स अन्य कलेजमा नभएर ब्रिटिस कलेजमा मात्र हो ?
विशेष गरेर काठमाडौंका अन्य केही कलेजले ब्रिटिस कोर्स नेपालमा नै सञ्चालन गरिरहेका छन् । ब्रिटिस पाठ्यक्रमअनुसार शैक्षिक कार्यक्रम संचालन गर्ने कलेजहरू पनि काठमाडौं छन् ।

यो कलेजमा कस्ता–कस्ता शैक्षिक कार्यक्रम सञ्चालन भइरहेका छन् ?
सबैभन्दा जुनियर कक्षाबाट सुरु गर्दा ब्रिटिस कलेजमा ए लेभलको कक्षा पनि सञ्चालन भइरहेको छ । ए लेभलचाहिँ ब्रिटिस मोडल कलेजले सञ्चालन गरिरहेको छ । यसैगरी बिजनेस डिम्याट, बीबीए, अन्डर ग्राजुएट, आईटी, मास्टर लेभलमा एमआईबीएम, एमबीएलगायतका कार्यक्रम छन् । त्यसैगरी प्रोफेसनल कार्यक्रमका रूपमा भारत र युरोपमा चलेको एसीसीए कार्यक्रम पनि सञ्चालनमा आइरहेको छ ।

यहाँबाट थप उच्च शिक्षाका लागि विदेश जाने इच्छुक विद्यार्थीका लागि के सहयोग हुने गरेको छ ?
हामीसँग डिग्री गरेको विद्यार्थीको आत्मविश्वासको तह र उनीहरूको नवप्रवर्तक ज्ञान विकास भएको हुन्छ । त्यो तहको कार्यक्रम वा कोर्स विद्यार्थीले कलेजमा अध्ययन गरेको हुन्छ । योचाहिँ ब्रिटिस युनिभर्सिटीको २-४ सय वर्ष अघिदेखिको अनुभवले बनाएको कोर्सचाहिँ आपैm कोर्सको उचाइ रहेको छ । त्यो विद्यार्थीचाहिँ विदेश नगई पनि आफ्नै देशमा राम्रो उद्यमी बन्न सक्ने क्षमता राख्न सक्छ । अर्को कुराचाहिँ अहिलेको नयाँ नेपालको सन्दर्भमा नेपाललाई आर्थिक रूपमा जसरी अगाडि बढाउने सपना रहेको छ । त्यहीअनुसारको जनशक्ति हुनुपर्ने अवस्था रहेको छ । हो, अहिलेसम्म यति जनशक्ति चाहिन्छ भनेर सरकारले तयारी नगरेको अवस्था हो । तर, हामीले र अन्य कलेजले ब्रिटिस कोर्स पढाएर मात्र सरकारले बनाउन लागेको नयाँ नेपालमा जनशक्ति पुग्ने देखिँदैन । त्यसका लागि सरकार संवेदनशिल भएर त्रिभुवन विश्वविद्यालयलाई पनि त्यो लेभलको पाठ्यक्रम बनाएर लैजानुपर्छ । यता त्यसैगरी अन्तर्राष्ट्रियस्तरको शिक्षालाई पनि प्रवद्र्धन ग¥यो भने नेपालका लागि आवश्यक पर्ने जनशक्ति खोज्न समय खेर फाल्नु पर्दैन । त्यसैले विद्यार्थी स्वदेशको शैक्षिक अनुभव र ज्ञानपछि विदेश जान पनि ढोका खुल्ने भयो । ब्रिटिस कलेजको विद्यार्थीलाई उनीहरूले हेर्ने दृष्टिकोण बेलायतको डिग्री हासिल गरेको नागरिकलाई जस्तै समान हुन्छ । त्यसैले यहाँ अध्ययन गर्ने विद्यार्थीलाई अन्तर्राष्ट्रियस्तरमा अध्ययन गर्ने अवसर प्राप्त गर्न सजिलो छ ।

ब्रिटिस कलेजमा कति नेपाली विद्यार्थीले बेलायतको शिक्षा लिइरहेका छन् ?
हाम्रो कलेजमा हाल सम्पूर्ण विद्यार्थीको संख्या १ हजार ५ सयको हाराहारीमा रहेका छन् । हाम्रो शैक्षिक गुणस्तर, पाठ्यक्रम र अन्य कार्यक्रमका हिसाबले विद्यार्थीको संख्या राम्रो छ । ब्रिटिस कलेजले पूर्वाधार र गुणस्तरमा जसरी खर्च गरेको छ, सोअनुसार विद्यार्थीको उपस्थिति पनि राम्रो छ ।

निजी कलेजको पूर्वाधार, शुल्क संरचना र अन्य हिसाबले धनी विद्यार्थीका लागि मात्र खुलेका हुन् जस्तो देखिन्छ, यसमा ब्रिटिस कलेज नेपालमा कुन वर्गका विद्यार्थीका लागि लक्षित छ ?
नेपालका मध्यम वर्गका नागरिकका छोरीछोरीले ब्रिटिस कलेज छनोट गरेको पाइएको छ । नेपालमा राम्रो भनेको के रहेछ भने यहाँ अभिभावक शिक्षामा पैसा खर्च गर्न डराउनु हुँदैन भन्ने सकारात्मक पक्ष छ । नेपाली अभिभावकले जे सोच राखेका त्यो राम्रो हो । हाम्रो कलेजमा मध्यम वर्गका विद्यार्थी धेरै रहेका छन् ।

ब्रिटिस एजुकेसन भन्नुभयो, त्यसो भने विदेशका विद्यार्थी पनि अध्ययनका लागि आउने गरेका छन् ? विदेशी विद्यार्थीको संख्या कति छ ?
काठमाडौंमा कलेज स्थापना गर्नुअघि अलिक ठूलो सोच लिएर आएका थियौं । नेपालमा अन्तर्राष्ट्रियस्तरको शैक्षिक हब बन्न सक्ने राम्रो सम्भावना छ । तर, सरकारले त्योअनुसारको नीतिगत र अन्य विषयमा सहजीकरण गर्न सकिरहेको छैन । नेपाललाई विदेशी राष्ट्रले हेर्ने धारणा सकारात्मक छ । काठमाडौंको मौसम पनि विदेशी विद्यार्थीका लागि राम्रो छ । तर हाम्रो सरकारले यस कुरालाई बुझ्न सकेको छैन । सरकारले नेपालमा निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय शैक्षिक हब स्थापना गर्न सहयोग गरेर त्यसबाट आएको करबाट सरकारी कलेज र युनिभर्सिटीलाई अनुदान दिएर गुणस्तर सुधार गर्नसक्छ । विदेशी विद्यार्थी ल्याउने मामिलामा कुरा गर्ने हो भने छिमेकी मुलुक भारतमा विदेशी विद्यार्थीले जति पढन चाहे पनि भिसा पाइरहन्छन् । नेपालमा यस्ता विद्यार्थीका लागि एक वर्षभन्दा बढीको भिसा दिने गरेको पाइँदैन । यसैगरी कुनै नयाँ काम गर्दा प्रक्रिया लामो हुने समस्या नेपालमा छ । यसैगरी भिसा प्रक्रिया पनि ज्यादै ढिलो छ । त्यसले हामीले साउथ एसियाको विद्यार्थी पढाउने भनेर सोचेर आएको तर व्यावहारिक रूपमा त्यो पूरा गर्न नसकेर नेपाली विद्यार्थीमा अल्झिएर बसिरहेका छौं ।
तर पनि हामीसँग अहिले चीन, भारत, कोरिया लगायतका देशका ४५ जनाको हाराहारीमा विद्यार्थी छन् । खासमा ब्रिटिस कलेज यति संख्याका विद्यार्थी मात्र भर्ना लिने सोचले नेपालको शैक्षिक क्षेत्रमा लगानी गर्न आएको थिएन । मलेसिया, अस्टे«लिया लगायतका देशले शिक्षाको माध्यमबाट अर्बौं आम्दानी गरिरहेका छन् । सरकारको नीति हेर्दा शिक्षा क्षेत्रलाई सानो र हलका रूपमा लिएको बुभ्mन सकिन्छ । अन्य कतिपय देशले शिक्षाको माध्यमबाट नै देशको अर्थतन्त्रको केही हिस्सा सञ्चालन गरिरहेका छन् । नेपाल विदेशी विद्यार्थी ल्याउने सम्बन्धमा धेरै चुकेको बुभ्mन सकिन्छ ।

नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक हब बनाउन सरकारले के गर्नुपर्छ ?
सरकारले नेपाललाई अन्तर्राष्ट्रिय हब बनाउन धेरै लगानी गर्नु पर्दैन । निजी क्षेत्रले त्यसमा सरकारलाई सहयोग गर्न सक्छन् । सरकारले नीतिगत व्यवस्था मिलाएर निजी कलेजलाई अनुमति दिने हो भने सम्भव छ । तर, सरकारले अन्तर्राष्ट्रिय हब बनाउँदा शैक्षिक गुणस्तरको भने अनुगमन र मूल्यांकन गर्नुपर्छ । विदेशी विद्यार्थीलाई दिने शिक्षा र कलेजको अनुगमन र मूल्यांकन गर्न सकिएन भने अन्तर्राष्ट्रिय शैक्षिक हब बनाएर र अनुमति दिएरमात्र हुँदैन । सरकारले अनुगमन गर्दा सम्बन्धन र कलेज छनोटमा ध्यान दिनुपर्छ ।

विद्यार्थीले डिग्री लिइसकेपछिको रोजगारी र अन्य इन्ट्रनसिप कार्यक्रम कस्तो छ ?
हामीले घोषित रूपमा जब प्लेसमेन्ट र इन्ट्रनसिप भनेर भनेका त छैनौं । तर, आवश्यकताअनुसार विद्यार्थीलाई त्यो सुविधा दिएका छौं । यदि कुनै विद्यार्थीले मेरो शिक्षाअनुसार यो क्षेत्रमा काम गर्न गरिरहेको छु भनेर भनेमा ब्रिटिसको वर्क प्लेसमेन्ट डिपार्टमेन्ट नै छ । त्यसले सहयोग गरिरहेको छ । अर्को राम्रो पक्ष के छ भने ब्रिटिस कलेजका विद्यार्थीलाई सूचना प्रविधि (आईटी) क्षेत्रमा पनि राम्रो ज्ञान छ भनेर रोजगारदाताले विश्वास लिएका छन् । यसैगरी विजनेस एजुकेसनको क्षेत्रमा पनि ब्रिटिस कलेजका विद्यार्थीको माग बजारमा धेरै छ ।

निजी कलेजको विकासका लागि सरकारले कस्तो नीति ल्याउनु राम्रो हुन्छ ?
सरकारको निजी शैक्षिक संस्थालाई गर्ने अनुगमन र मूल्यांकनको प्रणाली बलियो हुनुपर्छ । सरकारले निजी शैक्षिक संस्था भनेर त्यत्तिकै छोडनु हुँदैन, यसका विभिन्न पक्षको मूल्यांकन र अनुगमनलाई नियमित कडाइका साथ गर्नुपर्छ । सरकारले निजी कलेजले लिएका सम्बन्धनका विषयलाई नजिकबाट अध्ययन र मूल्यांकन गरेर कमी कमजोरी भए सोही अनुसारको नीतिगत प्रावधानहरू बनाउनुपर्छ । नेपालमा संस्था स्थापना गर्न वर्षौं लाग्ने गरेको छ ।

कलेजले थप गुणस्तर वृद्धिका लागि के गरिरहेको छ ?
हामीले नजिकबाट बोर्ड लेभलबाट कडाइ गरिरहेका छौं । गुणस्तर सुधार गर्न ब्रिटिस कलेजबाट राम्रो सहयोग र साथ पाएका छौं । ब्रिटिस कलेजका संकाय र शिक्षकलाई तल्लो तहदेखि नै अनुगमन तथा मूल्यांकन गर्दै थप गुणस्तर सुधारका योजना बनाइरहेका छौं । ब्रिटिस कलेजले अहिलेसम्म दिएको गुणस्तर र आमविद्यार्थीको विश्वास अझ बढ्ने गरी गुणस्तरका विषयमा ध्यान दिँदै आएका छौं ।

कानुनले तोकेअनुसार विद्यार्थीलाई दिने छात्रवृत्ति वितरणमा निजी कलेज पारदर्शी नभएको गुनासो छ नि । यसमा ब्रिटिस कलेजको चाहिँ कस्तो नीति छ ?
छात्रवृत्तिका विषयमा कुरा गर्दा शिक्षा मन्त्रालयको निर्देशिकाअनुसार रहेर काम गरिरहेका छौं । वर्षको एकपटक सरकारले त्यो पनि परीक्षण गर्दै आएको छ । हामीले सोहीअनुसार सरकारलाई जानकारी पठाइरहेका छौं । सरकारले छात्रवृत्ति दिने प्रक्रियाका बारेमा हामीसँग मागेको सबै विषयवस्तु पठाउने गरेका छौं ।

कलेजका दीर्घकालीन योजना के–के छन् ?
सरकारले नीति कसरी लगेको छ, त्यो थाहा भएन । तर, हाम्रो निजी विश्वविद्यालय संस्थापना गर्ने योजना छ । यो विश्वविद्यालयले विशेष गरेर दक्षिण एसियाका विद्यार्थीलाई लक्षित गर्ने योजना छ ।
यसैगरी ब्रिटिस कलेजले अन्तर्राष्ट्रिय कलेज भएको हुनाले यसलाई दुईवटा रूपमा अघि बढाएका छौं । एउटा, शिक्षा मन्त्रालयको नियम–कानुनमा बसेर नेपालमा ब्रिटिस कलेज सञ्चालन गरिरहेको छ । त्यसैगरी ब्रिटिस कलेजको नयाँ दुबईमा पनि सञ्चालन गर्ने गरी साइट प्लानको योजना भइरहेको छ । योजनाअनुसार काम भए सेप्टेम्बरबाट त्यहाँ भर्ना लिने योजना छ ।