मनिषा चम्लागाईँ
शुक्रवार, असार २७, २०७६
773

उपलब्ध स्रोत र साधनको समुचित उपयोग गर्न सके प्रदेश १ अन्य प्रदेशको तुलनामा अब्बल बन्ने देखिन्छ । कृषि, पर्यटन, उद्योग, जलस्रोत नै समृद्ध प्रदेश–१ निर्माणका मुख्य आधार हुन् । पूर्वी नेपालका १४ जिल्ला समेटिएको यो प्रदेशमा तराई, पहाड र हिमाली क्षेत्र छन् । कृषिको आधुनिकीकरण, जलस्रोतको समुचित उपयोग, औद्योगिक क्षेत्रको विकास र पर्यटन विकासमा ध्यान दिन सक्ने हो भने यो प्रदेश मुलुककै नमुना बन्ने देखिन्छ । यसका लागि प्रदेश सरकारले बनाएका नीति तथा कार्यक्रमको कार्यान्वयन महत्वपूर्ण रहेको सम्बद्ध क्षेत्रका जानकारको भनाइ छ ।
कृषि उत्पादनको प्रमुख क्षेत्र, औद्योगिक विकासको उद्गम स्थल, पर्यटन, विद्युत्को प्रचुर सम्भावनालगायत अनेक विशेषता बोकेको प्रदेश १ समृद्धिको आधार रहेको क्षेत्र हो । कृषिमा आधुनिकीकरण गर्न सके झापा, मोरङ र सुनसरीले नै प्रदेशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन सक्नेछ । प्रदेश १ मा पर्यटनको अपार सम्भावना छ । ४५ लाख जनसंख्या रहेको प्रदेश १ ले कुल गार्हस्थ्य उत्पादनमा ५ खर्ब १९ अर्ब ६४ करोड ६५ लाखको योगदान पु-याएको छ । यो तथ्यांक कुल गार्हस्थ्य उत्पादनको १५ प्रतिशत हो । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४२ अर्ब २० करोड ४ लाख १२ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरिसकेको छ । बजेटमार्फत स्वच्छ, सुखी र समन्नुत प्रदेश बनाउने लक्ष्य प्रदेश सरकारले राखेको छ । यस प्रदेशमा तराई, पहाड र हिमाल सबै क्षेत्र सडक सञ्जाल पुगिसकेको छ । प्रदेशको समृद्धिमा लगानीकर्ताको खाँचोे रहेको प्रदेशवासीको बुझाइ छ ।
प्रदेश १ को व्यापार विस्तारमा पूर्व, उत्तर र दक्षिणमा नाका रहेका छन् । उत्तर चीनको नाका किमाथांका, ओलाङचुङगोला तथा पूर्वमा काँकडभिट्टा, पशुपतिनगर र दक्षिणमा जोगवनी, भन्टाबारी, भद्रपुर मुख्य नाका हुन् । भौगोलिक विकटताका कारणले उत्तरी नाकामा उल्लेख्य कारोबार हुन नसके पनि पूर्व र दक्षिणका नाका चालू छन् । यस प्रदेशमा १३ वटा विमानस्थल छन् । मोरङको विराटनगर, झापाको भद्रपुर, ताप्लेजुङको सुकेटार, भोजपुरको टक्सार, संखुवासभाको तुम्लिङटार, खोटाङका लामिडाँडा, खाँडीडाँडा र खामखर्क, सोलुखुम्बुको नाम्चे र इलामको सुकिलुम्बा विमानस्थल छन् । विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउने तयारी भइरहेको छ । समृद्ध प्रदेश निर्माणका आधार कृषि, पर्यटन, उद्योग र जलस्रोत नै देखिन्छन् । कृषि, पर्यटन, उद्योग र जलस्रोतको माध्यमबाट समृद्ध प्रदेश निर्माण कसरी गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर सम्बन्धित क्षेत्रका सरोकारवालासँग कारोबारकर्मी मनीषा चम्लागाईंले गरेको कुराकानीको सार :
कृषिमार्फत समृद्ध प्रदेश
इन्द्रबहादुर आङ्बो
आर्थिक मामिला तथा योजनामन्त्री, प्रदेश १
प्रदेश १ को समृद्धिको मुख्य आधार कृषि हो । तराई र पहाडी क्षेत्रमा उत्पादन हुने धान, मकै, हिमाली भेगमा उत्पादन हुने कोदो, गहुँ, फापर र नगदेबालीअन्तर्गत चिया, अलैंची, अदुवा प्रदेश १ का प्रमुख कृषि उत्पादन हुन् । कृषि उत्पादनको ४० प्रतिशत हिस्सा प्रदेश १ ले ओगटेको छ ।
समग्र कृषिक्षेत्रका लागि प्रदेश सरकारले ४ अर्ब र सिँचाइका लागि ३ अर्ब रुपैयाँ छुट्याएको छ । आगामी ५ वर्षभित्र प्रदेशलाई अण्डा, माछा र मासुमा आत्मनिर्भर बनाउने लक्ष्य छ । त्यस्तै सुनसरीको तरहरामा धूलो दूध उत्पादनका लागि १५ करोड रुपैयाँ विनियोजन गरिएको छ । विराटनगरको दुग्ध वितरण केन्द्रको स्तरोन्नतिका लागि चालू आर्थिक वर्षमा नै ५ करोड रुपैयाँ सहयोग गरिसकेका छौँ । केन्द्रले कम्तीमा पाँच वर्ष प्रदेशमा उत्पादन हुने दूध खरिद गर्ने वचन दिएको छ । अब किसानले उत्पादन गरेको दूध सडकमा पोख्नु पर्दैन । दुग्ध सहकारीका रूपका सञ्चालित सहकारीलाई २६ करोड रुपैयाँ अनुदान उपलब्ध गराउने निर्णय गरेका छौँ ।
धान सुपरजोन घोषणा भएको झापामा उत्पादित धानको बजारीकरणमा देखिएको समस्यालाई मध्यनजर गरेर धान भण्डारण केन्द्र निर्माण गरिनेछ, जहाँ भण्डारण गरिएको धानको बजारीकरणमा समस्या भए सरकारले खरिद गर्नेछ । कृषिमा आधुनिकीकरण गर्दै उत्पादन बढाउने र बजारीकरण गर्ने प्रदेशको लक्ष्य हो । निर्यातजन्य कृषि उत्पादनको वृद्धि र गुणस्तर कायाम गर्नेछौँ । देशकै प्रमुख साथै प्रदेश १ को मुख्य आम्दानीको स्रोत चियाको ल्याबसहित ‘टि टेस्टिङ’ केन्द्र इलाममा निर्माण गर्ने योजना बनाइएको छ । यसले चियाको गुणस्तर वृद्धि गर्नेछ । यसको अध्ययनका लागि ५ करोड रुपैयाँ बजेट विनियोजन भइसकेको छ । थप आवश्यक बजेट विनियोजन गरिनेछ । चियाको अक्सन केन्द्र निर्माण, अदुवा भण्डारण केन्द्र निर्माण, तरकारी भण्डारणका लागि चिस्यान केन्द्र निर्माण यसै वर्ष प्रदेश सरकारले गर्नेछ । साथै यी नगदेबालीको उत्पादकत्वमा वृद्धि गर्दै व्यवसायीकरणमा जोड दिने कार्यक्रम ल्याएका छौँ । सरकारले कृषिमा अनुदान उपलब्ध गराए पनि लक्षित किसान माझ अनुदान नपुग्ने आरोप आउने गरेको छ । यसतर्फ पनि प्रदेश सरकार सचेत छ । कृषि पर्यटन प्रवद्र्धनका लागि हिमाली भेगमा उत्पादन हुने कोदो, फापर, लट्टे, चिनो, जौ र उवाजस्ता हिमालयन खाद्यान्नको उत्पादनमा प्रोत्साहन गर्नेछौँ । प्रदेश १ को विकासकोे हिसाबले हेर्ने हो भने कृषि पहिलो प्राथमिकता नै हो ।

औद्योगिक विकास र समृद्ध समाज निर्माणमा जलविद्युत्
डा. सुवर्णदास श्रेष्ठ
प्रमुख कार्यकारी अधिकृत, सानिमामाई हाइड्रोपावर कम्पनी
प्रदेश १ जलस्रोतका हिसाबले धनी प्रदेश हो । यहाँ पहाडी भेगमा ठूलठूला नदीनालाहरू छन् । प्रदेश १ भएर बग्ने तमोर, कोसी, अरुण, बरुणलगायतका नदी जलस्रोतका मुख्य स्रोत हुन् । प्रदेश १ को जलविद्युत् क्षमता २० हजार मेगावाट छ । यो कुल मेगावाटको ३० प्रतिशत बढी हुन आउँछ ।
यहाँका नदी–खोला उपयोग गरेर प्रशस्त जलविद्युत् उत्पादन गर्न सकिने अवस्था छ । अरुण नदीमा ९ सय मेगावाट बराबरका आयोजनाहरू निर्माणाधीन अवस्थामा छन् । तमोर जलाशययुक्त ४ सय ६२ मेगावाटको आयोजना सर्वेक्षण भएको छ । तमोरमा नै अन्य ५ सयभन्दा बढी मेगावाटका आयोजना पनि निर्माणाधीन अवस्थामा छन् । पाँचथरको कावेली ‘बी’–१ मा २५ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणको चरणमा छ । कावेलीमा ५ सय मेगावाटका आयोजना सर्वेक्षण भइसकेको छ । पाँचथरकै तल्लोे हेवाखोला २२.२ मेगावाटको जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा छ । पाँचथरको कावेली ‘ए’ ३५ मेगावाटको जलविद्युत् आयोजना निर्माणकार्य भइरहेको छ । जलविद्युत् उत्पादनको लामो इतिहास भए पनि जलविद्युत्मा निजी क्षेत्रको इतिहास भने लामो छैन । ०५६÷५७ देखि निजी क्षेत्रले लगानी सुरु गरेको जलविद्युत् उत्पादनले छोटो समयमा फड्को मार्न सफल भएको मान्नैपर्छ ।
औद्योगिक विकास र समृद्ध समाजका लागि ऊर्जा अत्यावश्यक भइसकेको छ । समृद्ध प्रदेश १ का लागि अहिलेको विद्युत् उत्पादनले पुग्दैन । हरेक नागरिकले खाना पकाउन, पानी तान्न, पंखा चलाउनदेखि लिएर व्यावसायिक महल सञ्चालन, उद्योगधन्दा सञ्चालन गर्न विद्युत् नै खपत गर्न पाउनुपर्छ । सर्वेक्षण गरिएका आयोजना सञ्चालनमा ल्याउन सके प्रदेश १ वासीलाई पूर्णरूपमा आत्मनिर्भर बनाउन सक्छ । प्रसारणलाइनको विस्तार गरेर छिमेकी देशलाई विद्युत् बिक्री गर्ने अवस्थामा पुग्न आवश्यक छ । खपत हुने बिजुलीबाट बाँकी रहेको बिक्री गरी आम्दानी गर्न सकिने अवस्था प्रदेश १ मा छ । प्रदेश सरकारले निजी क्षेत्रलाई उत्पादनमा प्रोत्साहन भने गर्दै आइरहेको छ । तर, लगानीकर्तालाई कर, भन्सारको दररेटमा छुट गरेर थप प्रोत्साहन दिनु आवश्यक छ, जसले स्वदेशमा उत्पादित विद्युत्को खपत गर्न पाए इन्धन खरिदमा बाहिरिने गरेको ठूलो धनराशि बच्न सक्छ ।

स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न सक्नुपर्छ
राजेन्द्र राउत
उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ, प्रदेश १
प्रदेश १ औद्योगिक विकासको उद्गमस्थल मानिन्छ । नेपालकै सबैभन्दा पहिलो उद्योगका रूपमा चिनिने विराटनगर जुट मिल सञ्चालनमा छ । यो प्रदेश औद्योगिक–व्यापारिक दृष्टिले महत्वपूर्ण प्रदेश हो । यस प्रदेशमा ‘सुनसरी, मोरङ औद्योगिक कोरिडोर’ स्थापना भएको छ । औद्योगिक हिसाबले पनि अग्रणी यस प्रदेशमा आर्थिक विकासको प्रशस्त सम्भावना छ ।
प्रदेश १ साना–ठूला गरी ६ सयभन्दा बढी उद्योग सञ्चालनमा छन् । यसले प्रदेश १ लाई विशेष आर्थिक क्षेत्र बनाएर व्यापारिक केन्द्रका रूपमा विकास गर्न आवश्यक छ । प्रदेश सरकारले आर्थिक वर्ष ०७६÷७७ मा उद्योग वाणिज्य आपूर्तितर्फ ४७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यसले हामीजस्ता उद्योगीलाई सहयोग प्रदान गर्ने पक्का देखिन्छ । गत वर्षकै नीति तथा कार्यक्रममार्फत आयातलाई निरुत्साहित र उत्पादन क्षेत्रलाई प्रोत्साहन गर्ने भनिए पनि व्यावहारिक हुनसकेको छैन । हरेक वर्ष यस प्रकारका महत्वपूर्ण विषय कागजमा मात्र सीमित हुने गरेकाले यसतर्फ सरकारले ध्यान दिन सक्नुपर्छ ।
तेस्रो मुलुकबाट उद्योगीले आयात गर्नैपर्ने कच्चापदार्थ, पेट्रोलियम पदार्थको भन्सार दररेटमा छुट गर्नुपर्छ । यहाँ उत्पादित कच्चापदार्थको बजारीकरणका लागि बंगलादेश, भुटान र भारतको कलकता, सिलगुडीलगायतका बजारको पहिचान गर्न आवश्यक नीति बनाउनुपर्छ । पछिल्लो समय ‘लोडसेडिङ’ पनि कम हुन्छ, यसले उद्योेगीलाई उद्योग सञ्चालनमा फाइदा पु-याएकै छ । यो राम्रो पक्ष हो । यस प्रदेशमा फलाम, सिमेन्ट, जस्तापाता, स्पिनिङ मिल, भेनियर प्लाइउड, चाउचाउ, जुस, मसला उद्योग, पानी, चामल प्र्रशोधन उद्योग, दूध डेरीलगायतका उद्योग सञ्चालनमा छन् । झापाको बिर्तामोडमा प्रमुख कार्यालय रहेको सहारा नेपाल तथा बचत ऋण सहकारी संस्थाको सहकार्यमा प्रदेशले स्थापना गर्न लागेको दूध पाउडर उद्योग र मह उद्योगले यस प्रदेशमा उत्पादित दूध र महले राम्रो बजार पाउने देखिन्छ । इलाम, पाँचथर, तेह्रथुम, उदयपुर, धनकुटा, भोजपुरलगायत जिल्लामा उत्पादित दूधलाई ढुवानी गरेर दूध पाउडर बनाउन सकिन्छ । यस्ता उद्योगमा गरिएको लगानीले अन्य उद्योगीलाई समेत लगानी गर्न थप प्रोत्साहन गर्छ । हिमाली भेगमा जडिबुटीको पर्याप्त स्रोत भएकाले यसमा आधारित उद्योगको सम्भावना पनि छ । यस प्रकारका उद्योग सञ्चालन गर्न सके प्रदेश १ का उद्योगले थप नयाँ पहिचान पाउनेछन् । प्रदेशले सेवामूलक उद्योग स्थापनाका लागि करमा छुट दिए सेवामूलक उद्योग स्थापनातर्फ लगानी बढ्न सक्छ ।

प्राकृतिक सम्पदाको स्तरोन्नति आवश्यक
एलिना मगर
पर्यटन प्रवद्र्धन समिति सदस्य, प्रदेश १
पर्यटकीय हिसाबले प्रदेश १ सम्पन्न प्रदेश हो । पर्यटक रमाउने, खुसी हुने स्थान नै पर्यटकीय क्षेत्र हुन् । पहाडी इलाकामा सगरमाथादेखि कञ्चनजंघासम्मका हिमशृंखला रहेका छन् । प्रदेशको पर्यटन विकासका लागि एकीकृत पर्यटन व्यवस्थापन तथा विकाससम्बन्धी गुरुयोजना बनाएर अघि बढ्नुपर्छ । प्रदेश १ मा पर्यटकीय क्षेत्रमा प्रशस्त सम्भावना छन् । विस्तार र प्रचारप्रसार प्रमुख समस्या हो ।
प्रदेशले सुनसरीको चतरा क्षेत्रलाई कुम्भ क्षेत्र घोषणा गरी धार्मिक पर्यटनको प्रवद्र्धन गर्न बजेट विनियोजन गरेको छ । यो राम्रो पक्ष हो । तर, पछिल्लो समय प्रत्येक स्थानीय तहमा पर्यटकीय क्षेत्र बनाउने भन्दै पार्क निर्माणमा गरिने करोडौँ लगानीले समस्या निम्त्याउँछ जस्तो मलाई लाग्छ । मानवनिर्मित पर्यटकीय स्थलभन्दा प्रकृतिनिर्मित पर्यटकीय स्थलको स्तरोन्नति आवश्यक छ । मोरङको पथरीशनिश्चरेमा बहुजातीय संग्रहालय निर्माण, धरानलाई चलचित्र नगरीलगायत क्षेत्रमा छुट्याइएको बजेट भने आवश्यक छ । प्राकृतिक स्रोत तथा मौलिकतालाई सदुपयोग गर्न सके यसमा पर्यटक आकर्षित हुने साथै आम्दानीसमेत लिन सकिनेछ । झापा, इलाम, धनकुटा र तेह्रथुमलगायतका जिल्लामा उत्पादित नगदेबाली चिया, अलैंचीको पर्यटन प्याकेज बनाउन सके कृषि पर्यटनको विकास हुने साथै दोहोरो नाफा हुन्छ भन्ने कुरामा म विश्वस्त छु । -याफ्टिङका लागि नदी, क्यानोइङ खेलका लागि झर्ना आवश्यक मात्रामा रहेका छन् । रक क्लाइम्बिङ, बन्जिजम्पिङ, माउन्टेन म्याराथनजस्ता साहसिक खेलको विकास गर्ने सम्भावना यस क्षेत्रमा मनग्य छन्, जसले बाह्य पर्यटकलाई समेत आकर्षण गर्छ ।
पूर्वमा रहेका पर्याप्त पर्यटकीय क्षेत्रले नै यस प्रदेशको पर्यटनको राम्रो सम्भावना रहेको पुष्टि गर्छ । विश्वको सर्वोच्च शिखर सगरमाथादेखि नेपालकै होचो स्थान झापाको केचना पनि प्रदेश १ मा नै छन् । ८ हजार मिटरमाथिका मकालु, कन्चनजंघा र कुम्भकर्ण, अन्नपूर्ण हिमाल पर्यटकका लागि गन्तव्य स्थल हुन् । कञ्चनजंघा संरक्षण क्षेत्र, सगरमाथा राष्ट्रिय निकुञ्ज, कोसीटप्पु वन्यजन्तु आरक्ष, मकालु बरुण राष्ट्रिय निकुञ्ज क्षेत्रको उपयोग गरी अधिकतम लाभ लिन सक्ने अवस्था छ । कञ्चनजंघा क्षेत्रमा अझै पनि सहज रूपमा रुटको निर्माण नहुनु दुःखद पाटो हो । प्रदेशले गरेको लगानीले मात्र यहाँको विकास सम्भव देखिन्न । यस प्रकारका क्षेत्रमा निजी लगानीकर्ता खोज्नु आवश्यक छ । इलामको सन्दकपुर, कन्याम, श्रीअन्तु, पाँचथर र ताप्लेजुङको सिमानामा रहेको तिम्बु पोखरी, पुरातात्विक महत्व बोकेको झापाको धार्मिक तथा ऐतिहासिक स्थल किच्चकबधलगायतका प्रसिद्ध क्षेत्र यसै प्रदेशमा छन् । यस्तै इलामको माइपोखरी, संखुवासभाको सभापोखरी, भोजपुरको साल्पा पोखरीजस्ता अत्यन्तै माथिल्लो भेगमा रहेका रमणीय पोखरी तथा तालले पनि यहाँको सौन्दर्यता बढाएका छन् ।
धार्मिक क्षेत्रहरूले पनि यस प्रदेशको पर्यटनलाई विकासमा सहयोग गर्छ । पूर्वको पाथीभरा, उत्तर–पश्चिममा रहेको हलेसी महादेव, बराहक्षेत्र, पिण्डेश्वरीजस्ता तीर्थस्थल पनि हाम्रा आम्दानीका स्रोत हुन् । भारतमा हिन्दू धर्मावलम्बी धेरै रहेकाले यी धार्मिक क्षेत्रको मुख्य बजार भारत हो । जैविक विविधता यहाँको अर्को विशेषता हो, यसलाई कायम गर्न सके पर्यटक बढ्ने सम्भावना छ । तराईमा रहका धेरै सिमसार क्षेत्रले पर्यावरणको सुरक्षामा थप सहयोग प्रदान गरेका छन् । यसर्थ पर्यटनको विकास गर्न सके १ नम्बर प्रदेश समृद्ध बन्ने निष्कर्षमा जो–कोही पुग्न सक्छ । पर्यटन व्यवसायीले पनि मेहनत र जाँगरका साथ काम गर्ने हो भने विश्वका मानिसको रोजाइमा नेपालको १ नम्बर प्रदेश पर्नेछ ।