मनोरञ्जन शर्मा
शुक्रवार, असार २०, २०७६
694

राष्ट्रिय गौरवको आयोजना भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा पुगेको छ । विगत १ वर्षदेखि यो विमानस्थल निर्माण सम्पन्न गर्ने जिम्मेवारी ३२ वर्षीय युवा प्रवेश अधिकारीको काँधमा छ । तनहुँ जिल्लाको साविक रिस्ती गाउँ विकास समिति हाल ब्यास नगरपालिका स्थायी घर भएका अधिकारीले भारतको तमिलनाडुस्थित नेसनल इन्स्टिच्युट अफ टेक्नोलोजीबाट स्नातकोत्तर गरेका हुन् । उनले सरकारी सेवा सुरु गरेको करिब ५ वर्षमात्रै भएको छ । यसअघि विभिन्न सरकारी एवं निजी कलेजमा अध्यापन तथा परामर्श सेवा प्रदान गर्दै आएका अधिकारी गौतमबुद्ध विमानस्थल आयोजनामा प्राविधिकका रूपमा २०७४ फागुनबाट सेवा सुरु गरेका हुन् । हाल आयोजना प्रमुख रहेका अधिकारीसँग कारोबारकर्मी मनोरञ्जन शर्माले विमानस्थल निर्माणको प्रगति, यसले भविष्यमा पार्ने प्रभाव र समस्यालगायतका विषयमा केन्द्रित रही गरेको कुराकानीको सार :


राष्ट्रिय गौरवको आयोजना गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणकार्य कुन अवस्थामा पुगेको छ ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हाल आईसीबी–०१ तर्फको चिनियाँ कम्पनीले गरिरहेको सिभिल निर्र्माणतर्फका मुख्य संरचना तयार हुने अवस्थामा छन् । क्रमशः धावनमार्गमा विद्युत्, टर्मिनल भवनभित्रका विद्युतीय एवं अन्य उपकरण जडानका लागि पूर्वाधार तयार गर्ने र फिनिसिङसम्बन्धी कार्य अघि बढिरहेको छ । त्यस्तै आईसीबी–०२ तर्फ थाइल्यान्डको एरोथाई कम्पनीले सीएनएस-एटिमएसँग सम्बन्धित उपकरण तेस्रो देश अमेरिका, युरोपलगायतका देशमा अर्डर गरी त्यहाँ उत्पादन सुरु भएको अवस्था छ । तसर्थ, विमानस्थल निर्माणतर्फ हार्डवेयरसम्बन्धी काम अन्तिम चरण र सफ्टवेयरसम्बन्धी काम अघि बढिरहेको छ ।

निर्माण सम्पन्न हुने तिथि बारम्बारपछि धकेलिइरहेको छ, यसका कारण के के होलान् ?
निर्माण तिथिमिति बारम्बार सर्ने कुरा अवश्य नै राम्रो होइन । तथापि निर्माण कम्पनीको व्यवस्थापकीय कमजोरी, विभिन्न समयमा भएका बन्द–हड्ताल, नाकाबन्दी, निर्वाचन, भूकम्प एवं प्रतिकूल मौसमका कारणले समेत समयमै निर्माणकार्य सम्पन्न हुन नसकेको सबैलाई थाहा भएकै हो । त्यस्तै निर्माण सामग्रीहरू (नदीजन्य वस्तुलगायत) समयमै निर्माणस्थलमा ल्याउन नसक्दा निर्माणकार्य प्रभावित हुन पुग्यो । यस आयोजनाको सुरुको निर्माण सम्पन्न हुनुपर्ने अवधिमा जनवरी २०१५ बाट डिसेम्बर २०१७ को अवधिमा (करिब तीन वर्ष) एकतिहाइभन्दा कम काम हुनुले समेत आयोजना सम्पन्न हुने तिथिमिति सरेको अवस्था हो । अर्को कुरा, विमानस्थल सञ्चालनका लागि आईसीबी–०१ र आईसीबी–०२ ठेक्का सम्पन्न भई अन्य सर्टिफिकेसनसम्बन्धी कार्य पूरा हुनुपर्छ । आईसीबी–०२ ठेक्का आईसीबी–०१ तर्फको निर्माणकार्य सारभूत रूपमा सम्पन्न भएपछि मात्र अगाडि बढाउनुपर्छ, जसले गर्दा समेत केही थप समय लागेको हो ।

निर्माण सम्पन्न हुने अवधिमा तिथि पछि सर्दा लागत बढ्दैन र ?
निर्माण अवधि बढ्नु भनेको त्यो राष्ट्रका लागि घाटा हो । त्यो अप्रत्यक्ष रूपमा लागत बढेजस्तै हो । समयमै सम्पन्न भएको भए समयमै प्रतिफल आउँथ्यो । निर्माण अवधि बढ्दा त्यसबाट आउने प्रतिफल पाउन समय लाग्नु स्वाभाविक नै हो । यो राम्रो कुरा होइन, तर समयमा आयोजना सम्पन्न गर्न सबैको जिम्मेवारी छ । तथापि यस सम्झौताको म्याद थपका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट जे निर्णय भएको छ, त्यसअनुसार आयोजनाको लागत बढ्दैन ।

लागत नबढाउँदा निर्माण कम्पनीलाई मर्का पर्ला । उसले नोक्सानी असुल्न गुणस्तरहीन सामान निर्माणमा प्रयोग नगर्ला भन्न मिल्छ र ?
निर्माणकार्य समयमै सम्पन्न गर्ने मुख्य दायित्व निर्माण कम्पनीकौ हो । तथापि परामर्शदातृ संस्था, दातृनिकाय, स्थानीय निकाय, मन्त्रालयलगायत हामी सबैले आफ्नो जिम्मेवारी समयमा पूरा गरेनौं भने त्यसले निर्माणकार्य प्रभावित हुन्छ । आयोजना समयमा सम्पन्न नहुँदा निर्माण कम्पनीलाई मात्र होइन, हामीलाई समेत घाटा छ । आयोजना समयमा सम्पन्न नहुँदा हामीलाई पनि नोक्सानी छ । त्यसैले सामूहिक प्रयासबाट आयोजना समयमा सम्पन्न हुनसक्छ । जिम्मेवारीबाट पन्छिएर एकअर्कोबीच असमझदारी बनाएर आयोजना अगाडि बढ्न सक्दैन । जुन गुणस्तरको प्रश्न छ, हामीसँग निर्माणस्थलमा प्रयोगशाला छ । उक्त प्रयोगशालामा परीक्षण भएपछि मात्रै काम हुन्छ । यहाँ परीक्षण नहुने सामग्रीहरू परीक्षणका लागि काठमाडौं पठाउँछौं अनि बल्ल प्रयोग हुन्छ । निर्माणस्थलमा पनि प्राविधिकहरू, निर्माण कम्पनी र परामर्शदातृका तर्फबाट म्याटेरियल इन्जिनियर लगायतका विशिष्ट प्राविधकहरूको टोली खटिएको हुँदा गुणस्तर नभएका सामान प्रयोग होला भनेर सोच्न पनि सकिँदैन । गुणस्तरीय सामान प्रयोगमा हामी प्रतिबद्ध छौं ।

त्यसो भए तोकिएकै समयमा निर्माण सम्पन्न हुन्छ त ?
अब विमानस्थल तोकिएकै समयमा निर्माण सम्पन्न हुनुपर्छ । सबै कुरा हामीले योजना गरेअनुसार भएमा विमानस्थल डिसेम्बर २०१९ सम्ममा निर्माण सम्पन्न हुन्छ । तथापि तेस्रो मुलुकबाट आयात गर्ने उपकरणको हकमा उत्पादन, ढुवानी, भन्सारलगायतका काममा समय लाग्ने र समयमा उपकरण ल्याउन चुनौतीपूर्ण भने छ । उपकरणहरू समयमा ल्याएर जडान गर्न परीक्षण गर्न पनि केही समय लाग्छ । हामीलाई विश्वास छ, अब तोकिएकै समयमा निर्माणकार्य सम्पन्न हुन्छ । अहिले मौसमले पनि साथ दिएको छ ।

भौतिक हिसाबले अहिलेसम्म के कति काम सम्पन्न भयो र आर्थिक हिसाबले के कति रुपैयाँ निर्माण कम्पनीलाई भुक्तान भयो ?
यो विमानस्थलमा निर्माण सुरु भएदेखि अहिलेसम्म भौतिक प्रगति हेर्ने हो भने भौतिक संरचनातर्फ ७३ प्रतिशतभन्दा बढी सम्पन्न भएको छ । त्यसैगरी विद्युतीय तथा अन्य उपकरण जडान र पूर्वाधारतर्फको उल्लेख्य काम भएको छ । वित्तीय हिसाबमा हेर्दा प्रगति ५० प्रतिशत छ ।

विमानस्थलमा अहिले भइरहेका काम, सम्पन्न भएका काम र बाँकी रहेका कामहरू के के हुन् ?
विमानस्थलका मुख्य संरचनाहरू धावनमार्ग, ट्याक्सी वे, एप्रोन (जहाज पार्किङ स्थल) लगायतको सिभिल निर्माणतर्फको काम सम्पन्न भएको छ । धावनमार्गमा मार्किङको काम भइरहेको छ । टर्मिनल भवनको छानासम्बन्धी र रंगरोगनलगायतका अन्तिम काम बाँकी छन् । कन्ट्रोल टावरको अन्तिम तलासम्बन्धी काम भइरहेको छ । त्यसैगरी ल्यान्डसाइड कार पार्किङतर्फको काम बाँकी छ । उपकरण जडानतर्फका लागि आवश्यक पूर्वाधार तयारीको काम पनि अघि बढिरहेको छ ।

विमानस्थल निर्माण सम्पन्न भएलगत्तै तुरुन्तै उडान सम्भव हुन्छ त ?
विमानस्थल निर्माण भएसँगै अन्य प्रशासनिक र प्रमाणीकरणका कामहरू अगाडि बढ्छ । त्यसका लागि आवश्यक पूर्वतयारी एवं कागजातहरू राष्ट्रिय गौरव आयोजना निर्देशनालय सिनामंगलले तयारी गरिरहेको छ । उक्त प्रक्रिया पूरा भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले औपचारिक रूपमा उडानको मिति तय गर्छ ।

त्यसो भए अन्तर्राष्ट्रिय उडान कहिलेसम्म सम्भव होला त ?
अन्तर्राष्ट्रिय उडान कहिले सम्भव होला भन्नुभन्दा पनि पहिला निर्माण सम्पन्न हुनुप-यो । त्यसपछि प्रमाणीकरणका कुरा सकिनुप-यो । यो विषयमा आयोजना कार्यान्वयन एकाइभन्दा पनि राष्ट्रिय गौरव आयोजना, विमानस्थल आयोजना, निर्देशनालय र नेपाल नागरिक उड्डयन प्राधिकरण प्रधान कार्यालयसँग बढी सम्बन्धित विषय हो । तथापि हामी सम्पूर्णको प्रयास विमानस्थल सकेसम्म छिटो निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउनकै लागि केन्द्रित छौं ।
यस विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलको कुन वर्गमा राख्न सकिन्छ ?

यो विमानस्थल अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को ४ई क्याटोगरीको विमानस्थलको रूपमा राख्न सकिन्छ । यहाँ अन्तर्राष्ट्रिय उडान गर्ने बोइङ ७७७–२००, एअरबस ३३०–३०० सिरिजका जहाजसम्म सुरक्षित रूपमा उडान र अवतरण गर्न सक्छन् ।

अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक अन्य प्रशासनिक कामहरू, उडानरुट अनुमतिलगायतका काम के भएका छन् ? अन्तर्राष्ट्रिय कम्पनीले उडान अनुमतिका लागि निवेदन दिएका छन् कि छैनन् ?
अहिले हामीले गर्ने भनेको निर्माणसँग सम्बन्धित हो र, यो आयोजना कार्यान्वयन एकाइ हो । अन्य प्रशासनिक कामहरू, उडान अनुमतिलगायतका काम आयोजना निर्देशनालय-नागरिक उड्डयन प्राधिकरण प्रधान कार्यालयले अघि बढाइरहेको छ ।

जहाज पार्किङस्थल र नयाँ टर्मिनल भवन (टी २) निर्माणका लागि डिजाइन कन्सलटेन्ट नियुक्त गर्ने प्रक्रिया के भइरहेको छ ?
संरचनाका हिसाबले हालको टर्मिनल बिल्डिङले करिब ४–५ वर्षको आवश्यकता पूरा गर्ने देखिन्छ । तत्कालीन समयमा सीमित बजेटमा आयोजनाको डिजाइन भएकाले धावनमार्ग र ट्याक्सी वे एवं उपकरणहरूमा ध्यान दिएको देखिन्छ भने टर्मिनल भवन बढाउन पछि तुलनात्मक रूपमा सहज हुने भएकाले अहिले यो अवस्थाको निर्माण भएको देखिन्छ । तथापि नेपाल नागरिक उड्डयन प्राधिकरण, राष्ट्रिय गौरव आयोजनाले जहाज पार्किङस्थल र नयाँ टर्मिनल भवन (टी २) निर्माणका लागि डिजाइन कन्सलटेन्ट नियुक्त गर्ने प्रक्रिया अघि बढाइसकेको छ ।

यस विमानस्थलको भविश्य कस्तो देख्नु भएको छ ?
यसको भविश्य राम्रो छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवतरण गर्ने सम्पूर्ण जहाज यहाँ सुरक्षित रूपमा उडान अवतरण गर्न सक्छन् । पोखरा क्षेत्रीय विमानस्थल फोर डी क्याटागोरीको भएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछिको वैकल्पिक विमानस्थल यही नै हो । बाराको निजगढ सिमरामा बन्ने विमानस्थलका लागि केही समय लाग्ने देखिन्छ । त्यति बेलासम्म यो विमानस्थल निकै अघि बढिसकेको हुन्छ । गौतम बुद्धको जन्मस्थल लुम्बिनी नजिकै हुनु, पूर्व–पश्चिम राजमार्ग, नेपालको मध्यभागमा अवस्थित, नजिकै भैरहवा मुख्य नाका भएकाले समेत यो विमानस्थल धार्मिक, सांस्कृतिक, औद्योगिक एवं सामाजिक महत्व धेरै राख्छ र यो विमानस्थलले आर्थिक समृद्धिको बाटो खोल्न सक्ने देख्छु ।

विमानस्थल निर्माणका क्रममा अहिलेसम्म कति मुआब्जा वितरण भयो ? अब कति बाँकी छ ?
विमानस्थल निर्माणसँगसँगै निर्माणस्थलका क्रममा भएका स्थानीयका जग्गा अधिग्रहणको रकम भुक्तानी गर्ने कार्य पनि निकै चुनौतीपूर्ण रह्यो । करिब साढे २३ अर्ब सुरुको इस्टिमेटमा करिब २० अर्ब भुक्तानी भइसकेको छ । करिब २ हजार जनाले भुक्तानी लगिसक्नुभएको छ । अब करिब २ सयको हाराहारीमा सेवाग्राही बाँकी हुनुहुन्छ । उहाँहरूको जग्गा गाउँ ब्लक-घरबासमा भएकाले हाल सम्बन्धित निकायबाट पुर्जा वितरण भइरहेको र नक्सा हस्तान्तरणको प्रक्रियामा रहेको बुझेको छु । उहाँहरूको हातमा नक्सा र लालपुर्जा परिसकेपछि हामी भुक्तानी प्रक्रिया अगाडि बढाउँछौं । हामीसँग मुआब्जाका लागि आवश्यक सम्पूर्ण रकम निकासा आइसकेको छ ।

निर्माणका क्रममा के कस्ता अवरोध आए र यसलाई कसरी समाधान गर्नुभयो ?
निर्माणका क्रममा अवरोध आउनु स्वाभाविक नै हो । तथापि नेपाल नागरिक उड्डयन प्राधिकरणको यस आयोजनासँग सम्बन्धित टिम चुस्त छ । अवरोधक समस्याहरूको लिस्ट लामै बन्ला । तर, हामी सम्बन्धित निकायहरूसँग समन्वय गरी समस्या समाधान गर्दै अगाडि बढिरहेका छौं । यस आयोजनामा विशेषतः सम्बन्धित नेपाल सरकारका मन्त्रालय, दातृनिकाय, नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गतको राष्ट्रिय गौरव आयोजना सिनामंगल र निर्देशक इन्जिनियर प्रदीप अधिकारी सरको समन्वयबाटै अप्ठेरो परिस्थितिको यस आयोजना यस अवस्थासम्म आइपुगेको हो । निर्माण कम्पनीका सहायक कम्पनी-सप्लायर्सहरूको समेत ठूलो हात छ यो योजना अहिले यहाँसम्म आउनुमा ।

विमानस्थलका थप योजनाहरू के–के छन् ?
दुई अन्तर्राष्ट्रिय बोलपत्रबाहेक हामी अहिले कार्गो निर्माणको क्रममा जुटेका छौं । अब आउने वर्ष पेरिमिटर सडक, तारबारलगायतका काम एवं नदी तटबन्धको काम अघि बढ्छ । सम्बन्धित नयाँ टर्मिनल भवन निर्माण र जहाज पार्किङ क्षेत्र विस्तारका योजनाहरूसमेत अगाडि सर्छन् ।

अन्त्यमा केही भन्नु छ ?
विकास–निर्माणका काम समयमा सम्पन्न गर्नु हामी सबैको जिम्मेवारी हो । विकास–निर्माणले अवसरहरू सिर्जना गर्छ अनि देश समृद्ध बन्छ । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर अहिले दूरदर्शी निर्णय गर्नुपर्छ जस्तो लाग्छ । विकास निर्माणका लागि महत्वपूर्ण वस्तु निर्माण सामग्री नै हो । त्यसको उपलब्धता समयमा त्यो पनि सहज रूपमा भए निर्माणकार्य समयमै सम्पन्न हुन मद्दत गर्छ ।