भुवन पौडेल
सोमवार, असार १६, २०७६
1322

सञ्चालनमा आएको करिब डेढ वर्षको अवधिमा नै बिमा बजारमा आफूलाई सक्षम र सबल कम्पनीको रूपमा स्थापना गरेको सिटिजन्स लाइफ इन्स्योरेन्सको नेतृत्वमा पोषकराज पौडेल छन् । कम्पनी स्थापनादेखि नै सिटिजन्स लाइफको नेतृत्व लिएका पौडेलसँग १५ वर्ष मेट लाइफ इन्स्योरेन्स कम्पनीमा माथिल्लो तहमा रहेर काम गरेको अनुभव छ । बिमा क्षेत्रमा करिब १७ वर्ष बिताएका पौडेलसँग लेखापरीक्षण क्षेत्रको पनि ७ वर्षको अनुभव छ । शैक्षिक रूपमा व्यावसायिक प्रशासनमा स्नातकोत्तर गरेका पौडेलले अमेरिकाबाट फेलोसिप इन लाइफ इन्स्योरेन्स म्यानेजमेन्ट विषयमा एक वर्षको फेलोसिप र एसोसिएट्स गरेर अमेरिकी डिग्रीसमेत हासिल गरेका छन् । बिमा व्यवसायमा तालिम प्राप्त जनशक्ति उत्पादनका लागि काम गर्नुपर्ने अहिलेको आवश्यकता रहेको उनी बताउँछन् । बिमा क्षेत्रले जनशक्ति विकासका लागि केन्द्रित भएर काम गर्नुपर्ने आवश्यकता रहेको पौडेल बताउँछन् । बिमा क्षेत्रलाई पनि बैंकिङ सरह बनाउनका लागि सबैले संयुक्त रूपमा काम गर्नुपर्ने अवस्था रहेको उनको तर्क छ । अहिले पनि बिमा कम्पनीले जनविश्वासका लागि काम गर्नुपर्ने आवस्था रहेको औल्याउँदै उनले जनचेतनाका लागि समेत बिमा कम्पनीहरूले काम गर्नुपर्ने सुझाउँछन् । अहिले जीवन बिमा क्षेत्रमा देखिएको एक्च्यूअरी मूल्यांकनको समस्या आगामी केही वर्षमा समाधान हुने उनको भनाइ छ । बिमा कम्म्पनी ट्रस्टी भएको हुनाले देश विकासका लागि आवश्यक ठूलो फण्ड निर्माण गर्नमा बिमा कम्पनीहरूको भूमिका रहेको बताउने पौडेलसँग समग्र बिमा क्षेत्रका चुनौती र अवसरका साथै सिटिजन्स लाइफको योजनाका बारेमा कारोबारकर्मी भुवन पौडेलले गरेको कुराकानी :

पछिल्लो समयमा नयाँ बिमा कम्पनी पनि थपिएको छ, संख्या बढाएसँगै मर्जरका लागि नीतिसमेत लागू गरिएको अवस्था छ, यसलाई कसरी विश्लेषण गर्नु भएको छ ?
विगतका केही वर्षदेखि बिमा कम्पनीको अनुमतिका लागि बिमा समितिमा आवेदन दिएको अवस्था थियो । कम्पनी सञ्चालन गर्ने अनुमति मागेकालाई अनुमति दियो । त्यसले बिमा क्षेत्रको विस्तारमा मद्दत गरेको छ । बिमा कम्पनी सञ्चालन गर्नका लागि लगानी गर्ने लगानीकर्ताले पनि बिमा क्षेत्रमा अवसर देखेर नै कम्पनी खोलेका हुन् । त्यसअनुसार जीवन बिमाको क्षेत्रमा सञ्चालनमा आएका सबै कम्पनीले राम्रो बिजनेस गरेका पनि छन् । नेपालको बिमा बजारका लागि कति कम्पनी आवश्यक हो त ? त्यसका लागि अर्थतन्त्रको आकार र बजारको अवस्थालाई हेरर निर्धारण हुने कुरा हो । त्यसैले बिमा कम्पनी संख्या धेरै भएको महसुस हुने बित्तिकै मर्जर तथा एक्विजिसनमा जानसक्ने व्यवस्थाका लागि बिमा समितिले मर्जरसम्बन्धी निर्देशिका पनि ल्याइदिएको छ । कम्पनीको संस्था थपिने बित्तिकै मर्जरको विकल्प खुला हुनु हुदैँन न भन्ने होइन । कुनै कम्पनी मर्जरमा जान खोजेको खण्डमा कानुनी व्यवस्थालाई पर्खन नपरोस् । त्यसका लागि बिमा समितिले बाटो खुला गरिदिएको हो भन्ने लाग्छ । नियामक निकायले कुनै पनि नीति समयमा नै ल्याएको उयुक्त हुन्छ । बिमा समितिले नीति निर्माणको तहमा काम गर्ने भएकाले सबै नीति इनटक्ट हुनुपर्छ ।

बिमा कम्पनीहरूमा विगतदेखि नै संस्थागत सुशासनको समस्या देखिने गरेको स्पष्ट छ, सुशासन तथा जनशक्ति अभाव भोगिरहेको बिमा क्षेत्रमा कम्पनीको संख्या थपिँदा यो समस्या झनै बढ्ने सम्भावना पनि उत्तिकै छ । यसलाई कसरी हेर्नु भएको छ ?
सबैभन्दा पहिलो कुरा व्यावसायिकताको हो । बिमा क्षेत्रमा पेसाप्रतिको व्यावसायिकताको केही कमी भएको देखिन्छ । यो क्षेत्रमा दक्ष तथा अनुभवी जनशक्ति अभाव छ । त्यसले गर्दा पनि व्यावसायिकतामा कमी देखिएको हुनसक्छ । अझै पनि दक्ष जनशक्ति विकास गर्ने तथा हायर गर्ने विषयमा सुधार गर्नुपर्ने अवस्था छ । यो समस्या भनेको कुनै एउटा निश्चित समयपछि हुन्छ ।
आन्तरिक रूपमा सञ्चालन समस्याका कारण मर्जरमा जान खोजेका कम्पनीको विषयमा जानकारी भएन । तर, आजभन्दा एक वर्षअघि बिमा बजारमा कम्पनी चलाउन सकिन्छ भनेर सुरु गरेर एक वर्षको अवधिमा सम्भव नै छैन भन्ने अवस्था देख्नु पर्ने परिवर्तन केही भएको छैन । त्यसैले पनि कम्पनी सञ्चालन गरेको एक वर्षमै मर्जरमा जानुपर्ने कारण मैले देख्दिन । पछिल्लो समयमा क्रस होल्डिङ भएका बिमा कम्पनीको सन्दर्भमा हो । त्यसमा नियामकले कुनै ठोस नीति ल्याएको खण्डमा सोअनुसार गर्नुपर्ने भोलिको कुरा हो । आजको दिनमा जीवन बिमा कम्पनी सञ्चालनका लागि ठूलो चुनौती छैन ।

व्यावसायिक घरानामा एक क्षेत्रमा मात्र नभई बैंक, बिमा, मर्चेन्ट बैंकर, धितोपत्र दलाललगायतका सबै क्षेत्रमा लगानी गर्ने प्रचलन छ, यसले कम्पनीहरू फरक भए पनि सञ्चालन गर्ने मुख्य व्यक्ति एक हुने गरेको देखिन्छ । यसले आर्थिक क्षेत्रमा नै मिलोमतोको काम हुने सम्भावना झनै बढी देखियो । यसलाई कसरी हेर्नु भएको छ ?
यस विषयमा नियामक निकायमा चर्चा पनि सुरु भएको छ । त्यसका साथै केही नीति बनेर त्यसको कार्यान्वयन पनि भइसकेको अवस्था छ । कुनै पनि व्यवसायको सुरुका चरणमा देखिए पनि विस्तारै कम हुने क्रम पनि आउँछ । यसले बजारमा नकारात्मक असर गरेको विगतमा पनि हामीले देखेकै हो । त्यसैले अन्तर्राष्ट्रिय रूपमा अभ्यासमा आएका कुरा नेपालमा पनि सुरु गरिएको छ । सुरु सुरुका चरणमा ऐन, नियम तथा नीति र सचेतना नभएकाले विगतमा केही गलत अभ्यासहरू देखिए । तर, आगामी दिनमा नियामक निकायमा देखिएको तदारुकता तथा समय सापेक्ष नीतिका कारण दोहोरिने सम्भावना धेरै न्यून छ । यस्ता घटनाक्रम भनेको समयअनुसार आवश्यक नीति तथा नियमको व्यवस्था गरेर घटाउँदै जाने हो ।

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष ०७६-७७ का लागि मौद्रिक नीति निर्माणमा जुटेको छ । त्यसको प्रभाव प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा बिमा क्षेत्रमा पनि प्रभाव पर्ने भएकाले मौद्रिक नीति कस्तो आउने पर्ने देख्नुहुन्छ ?
बैंक बित्तीय संस्थामा देखिएको लगानीयोग्य रकम अभावका कारण समग्र अर्थतन्त्र पनि प्रभावित भएको छ । यसले आर्थिक विस्तारका लागि समेत असर गरेको देखिन्छ । त्यो असर बिमा कम्पनीहरूलाई पनि परेको छ । त्यस कारणले कर्जा लगानी योग्य रकमको समस्या समाधान गर्ने र स्रोत जुटाउने खालको मौद्रिक नीति ल्याउनु पर्ने देखिन्छ । आर्थिक क्रियाकलापसँग बिमा कम्पनी पनि जोडिने हो । बिमा पनि वित्तीय क्षेत्र हो । वित्तीय क्षेत्रको एउटा अंश भएको हुनाले केन्द्रीय बैंकको मैद्रिक नीति समग्र अर्थतन्त्र चलायमान हुने खालको हुनुपर्छ भन्ने हो । जसले बैंक वित्तीय क्षेत्रमा नभई बिमा तथा उद्योग, व्यापार पनि विस्तार गर्न मद्दत पुग्ने गरी मौद्रिक नीति ल्याउनु पर्ने देखिन्छ । यसले लाइफ इन्स्योरेन्सभन्दा पनि बढी ननलाइफमा धेरै असर गरेको देखिन्छ ।

बैंक र बिमाको सुरुवातसँगै भए पनि आजसम्म बिमा क्षेत्रले कर्मचारी तथा जनविश्वासको अभावबाट गुज्रिन परेको छ, यसका कारण के हुन् ?
बैंकको दैनिक जीवनमा आवश्यक हुने क्षेत्र भएको हुनाले पब्लिकसँग छिटो जोडिन पुग्यो । तर, बिमालाई सर्वसाधारणले मानवीय जीवनको आवश्यकीय प्रडक्टको रूपमा नहेरिएकाले पनि पछि परेको हो । बिमाको कारोबार ग्रामीण भेगमा पुग्नका लागि धेरै समय लाग्यो । बिमा प्राविधिक विषय भएकाले पनि विज्ञको कमी रह्यो । विस्तारै समय क्रमअनुसार बिमा क्षेत्रको पनि विस्तार र विकास भइरहेको छ । त्यतिमात्र नभई जोखिम न्यूनीकरणको माध्यमको रूपमा बिमालाई स्वीकार गर्न थालिएको छ । यसलाई पनि उपलब्धि मान्नुपर्छ । नेपालमात्र होइन विश्वभर नै बैंकिङ क्षेत्र स्थापना भए पनि त्यसलाई सपोर्ट गर्दै आउने भएकाले पनि बैंकिङको तुलनामा पछि परेको देखिएको हो ।

सामान्य भाषणमा भन्नु पर्दा बिमा कम्पनीले कागज बिक्री गरेर पैसा लिने हो, यो कत्तिको सहज छ ?
बिमा कम्पनीले प्रमिस वा इन्स्योरेन्स बिक्री गर्ने हो । तपाईंले आज बैंकमा १० लाख रुपैयाँ निक्षेप राखेको खण्डमा पनि कागज न पाउनु हुन्छ । बैंकले जसरी मागेको समयमा दिन्छु भनेर आफ्ना ग्राहकलाई विश्वास दिलाएको हुन्छ । त्यसैगरी बिमा कम्पनीले पनि ग्राहकलाई समस्या परेको बेलामा दिने विश्वास दिने हो । सबै क्षेत्रले विश्वासको रूपमा दिने प्रमाण कागज हो । त्यसैले बिमा पनि अनिवार्य र आवश्यकीय प्रडक्टको रूपमा बिमा नहुँदासम्म विश्वासमा केही कमी आउँछन् । जबसम्म सर्वसाधारण बिमाप्रति ह्याबिच्युअल हुन्छ, तब विश्वास पनि आफै सिर्जना हुन्छ । बिमामा सर्वसाधारणको सहभागिता पनि स्वतः बढ्छ ।
सर्वसाधारणले बिमाको महत्व नबुझेसम्म बिमा योजनामा खरिद गर्दैनन् । त्यसैले हामीले सर्वसाधारणलाई बिमाको महत्व बुझाएर बिमा योजना बिक्री गर्नुपर्ने अवस्था छ । यसमा बिमा कम्पनीले बिमा आवश्यक छ भनेर सचेत गराएको खण्डमा बिमा योजनाका कागज बिक्री गर्न गाह्रो छैन ।

पछिल्लो समयमा कुल जनसंख्याको २० प्रतिशत बिमाको पहुँचमा रहेको भनिएको छ । बिमाको पहुँच विस्तार भएकै हो त ?
बिमा समितिको तथ्यांकअनुसार बिमा पहुँचको अवस्था १८ देखि २० प्रतिशतको देखिए पनि बिमासम्बन्धी छलफल कुराकानी हुन थालेको अवस्था हो । भूकम्पपछि बिमाको महत्व केही बढेको छ भने सरकारले स्वास्थ्य बिमा सुरु गरेर गाउँगाउँमा बिमाका कुरा हुन थालेका छन् । त्यसपछि वैदेशिक रोजगारीमा जाने क्रमले हरेक गाउँमा एक व्यक्तिले वैदेशिक रोजगारीमा ज्यान गुमाएर उसको परिवारले बिमावापतको रकम पाएको हुँदा पनि बिमाको चेतना विस्तार भएको छ । सर्वसाधारणमा बढेको चेतनाले विस्तारै बिमा सर्वसाधारणको आवश्यकतामा परिणत हुने क्रममा छ । विमाको सर्वसाधारणको सहभागिता हरेक वर्ष २५ देखि ३० प्रतिशतका दरले बढेको पनि छ । यो भनेको हालको बिमा बजारको जनशक्ति र पूर्वाधारको आधारमा धेरै राम्रो हो ।

भूकम्पका कारण बिमा व्यवस्था विस्तार हुने अपेक्षा गरिए पनि सोअनुसार हुन सकेन नि । यसको कारण के हो ?
औसतमा भन्नु पर्दा सबै मान्छेले कुनै पनि घट्नाक्रमलाई चाँडो बिर्सन्छ । अहिले सर्वसाधारणले भूकम्पलाई बिर्सेका हुन् भुलेका होइनन् । त्यसलाई बिमा कम्पनीहरूले सर्वसाधारणलाई यस्तो संकट पनि आउन सक्छ भनेर सम्झाउने र बिमाप्रति आकर्षित गर्ने हो । भूकम्पपछि बिमा व्यवसाय बढेको छ । तर, यसको कारण भूकम्प नै हो भन्दा पनि कम्पनीहरूको संख्या पनि थपिएको छ । कम्पनीको संख्या थपिएपछि कम्पनीहरूले बिजनेस गर्ने कार्यक्षेत्र नयाँनयाँ खोज्दै गए । यसले गर्दा पनि बिमा व्यवसायमा वृद्धि भएको छ । सरकारले पनि बिमासम्बन्धी जनचेतना फैलाउन मद्दत गरेको छ । त्यसले गर्दा पनि व्यवसामा वृद्धि आएको हो । भूकम्पको डरले बिमा व्यवसाय बढेको हो भन्ने महसुस भएको छैन । त्यसैले सबै कम्पनीले आआफ्नो ठाउँबाट व्यवसाय विस्तार गर्ने क्रममा नयाँ व्यवसायको खोजीले पनि बढेको छ ।
अर्थतन्त्रमा बिमा क्षेत्रको ठूलो योगदान हुनेगर्छ । कुनै पनि व्यक्तिको बित्तीय अवस्थालाई स्थिरता प्रदान गरी अर्थतन्त्रलाई चलायमान बनाउने काम बिमाले गर्छ । कुनै व्यक्तिले अहिले गरेको मिहिनेत संकटको समयमा सदुपयोग गर्नका लागि बिमाले भूमिका खेल्छ । जसले गर्दा अर्थतन्त्रमा नकारात्मक असर पर्नबाट समेत जोगाउँछ । त्यसैले बिमाको ब्याकिङ नभई आर्थिक समृद्धि सम्भव छैन । बिमा क्षेत्र भनेको देश विकासका लागि आवश्यक पुँजी संकलन गर्ने माध्यमको रूपमा बुझ्न जरुरी छ । त्यसैले बिमा क्षेत्रलाई दिइने सहुलियत बढाएको खण्डमा सरकारलाई पनि सहयोग पुग्छ भन्ने कुरा हामीले पनि बुझाउन जरुरी छ ।

बिमा कम्पनी ठूला योजनामा लगानी गर्नका लागि आवश्यक रकम संकलन गर्ने माध्यमको रूपमा पनि हेरिन्छ, तर आजसम्म बिमा कम्पनीहरूले संकलन गरेको रकममार्फत कुनै योजना बनेको उदाहरण त छैन नि ?
विगतमा बिमा कम्पनीहरूले प्रत्यक्ष रूपमा योजनाहरूमा लगानी पाइने अवस्था थिएन । अहिले बल्ल आएर त्यो व्यवस्था गरिएको छ । बिमा समितिले नयाँ लगानी निर्देशिका २०७५ ल्याएको छ । त्यसअनुसार बिमा कम्पनीहरूले आयोजनाहरूमा लगानी गर्न पाउने व्यवस्था छ । यसले प्रोजेक्ट फाइनान्सिङको पनि व्यवस्था गरेको छ । यसमा कम्पनीहरूले पब्लिकको पैसालाई लगानी गरेर उपयुक्त प्रतिफल दिने गरी कम्पनीहरूले सम्भाव्यता अध्ययन गर्न सुरु गरेका छन् । आगामी दिनमा बिमा कम्पनीहरूले ठूला आयोजनाहरूमा लगानी गर्नेछन् ।
नयाँ कम्पनीले सर्वसाधारणलाई सचेत गराएर उपयुक्त वातावरण बनाएपछि बोनस दर देखाएर पुराना कम्पनी गएर पोलिसी बिक्री गर्ने गरेको भन्ने सुनिन्छ वास्तविकता के हो ?
प्रतिफललाई हेरेर कम्पनी तथा पोलिसी चयन गर्ने अधिकार ग्राहकको हो । तर, सबै बिमा व्यवसाय पुराना कम्पनीमा जान्छ भनेको भए नयाँ आएका कम्पनीले यो लेभलको व्यवसाय गर्न सक्दैनथे । त्यतिमात्र नभई केही ग्राहक पुराना कम्पनीमा गएका छन् भने केही ग्राहकले पुराना कम्पनीबाट नयाँमा पनि आएका छन् । आजको मितिमा ग्राहकले प्रतिफल मात्र खोज्ने भए बोनसदर धेरै हुने कम्पनीमा मात्र सबै ग्राहक हुनुपथ्र्यो । तर, पुराना कम्पनीमा पनि सबैको बोनसदर बराबर छैन । तर पनि उनीहरूले राम्रै व्यवसाय गरिरहेका छन् । त्यसैले बोनसमात्र बिमा व्यवसायको प्रमुख तत्व होइन । सिटिजन्स लाइफ इन्स्योरेन्सले घोषणा गरेको बोनस दर पुराना कम्पनी सञ्चालन भएको एक वर्षमा घोषणा गरेको भन्दा धेरै छ । यो कुरा हामीले ग्राहकलाई बुझाउँछौं ।
सिटिजन्स लाइफ अन्य जीवन बिमा कम्पनीभन्दा केके कुरामा फरक छ ?
आजको मितिमा सबैभन्दा धेरै बिक्री हुने भनेको सेवा हो । सेवालाई ग्राहकको घर दैलोसम्म पु¥याउन सक्नुपर्छ । गुणस्तरीय सेवासहित प्रडक्टमा फाइदा धेरै छ भने ग्राहक तिर्नका लागि तयार छन् । ग्राहकले खोजेको समयमा उपयुक्त र प्रभावकारी सेवा दिएको खण्डमा त्यो दीर्घकालीन पनि हुन्छ । बिमा कम्म्पनीले गुणस्तरीय सेवा र पोलिसी बिक्री गर्दा गरेको बाचा पूरा गरेको खण्डमा दीर्घकालीन हुन्छ । सिटिजन्स लाइफले यिनै कुरामा मुख्य फोकस छ । हामीले प्राविधिकमैत्री आधुनिक सेवा प्रदान गर्न जोड दिएका छौं । अहिले हामीले प्राविधिक क्षेत्रमा लगानी पनि गरेका छौं । त्यसका साथै सुरक्षा र फाउन्डेसन सिर्जना गर्नका लागि अहिले काम गरिरहेका छौं । हाम्रो मेरुदण्ड भनेको कर्मचारी र एजेन्ट नै हुन् । यसमा हामीले तालिम दिने तथा जनचेतना बढाउने विषयमा कुनै सम्झौता गरेका छैनौँ । त्यसका साथै योजनामा विविधता ल्याउने हो । हामीले अन्य कम्पनीले भन्दा डबल प्लस बोनस दिन्छौं । यो धेरै महंगो पनि छैन । यसमा हाम्रो विज्ञता पनि छ । हाम्रो व्यवस्थापनको समूह पनि सक्षम र अनुभवी भएको हुनाले पनि अन्यभन्दा फरक हुन सहज भएको हो । त्यसका साथै अभाव मानिएको एक्चुअरी भ्यालुएसको सन्दर्भमा पनि हामीले एकजना चार्टर्ड एकाउन्टेन्ट्स सही एक्चुअरीको विद्यार्थीसहित एक्चुअरीको काम पनि गर्दै आएका छौं । यसले वर्षको अन्त्यमा एक्चुअरी मूल्यांकन गर्न सहज हुन्छ । यो अन्य बिमा कम्पनी कसैले पनि गरेका छैनन् ।
सिटिजन्स लाइफको वित्तीय अवस्था कस्तो छ ?
हामी स्थापना हुँदा नै २५० करोड रुपैयाँ लिएर आएका हौं । बिमा समितिका अनुसार जीवन बिमा कम्पनीलाई २ अर्ब रुपैयाँमात्र चुक्ता पुँजी भए हुन्छ । हामीले प्रविधि तथा जनशक्तिमा लगानी गर्नुपर्छ भनेर पनि पुँजी धेरै लिएर आएको हो ।
चालू आवमा १२ देखि १५ करोड रुपैयाँसम्मको खुद नाफा हुने सम्भावना छ । हामी सञ्चालनमा आएका नयाँ कम्पनीमध्ये दोस्रो नम्बरमा छौं । त्यसका साथै व्यवसायका सन्दर्भमा पुराना कम्पनीभन्दा पनि अघि जाने क्रममा छौं ।
सिटिजन्स लाइफका नयाँ योजना के छन् ?
अहिले हामी एजेन्सीको लागि अटोमेसन सिस्टममा काम गरिरहेका छौं । यसमा डिजिटल पेमेन्टलगायतका कुराहरू छन् । त्यसका साथै विभिन्न नयाँ योजनामा काम गरिरहेका छौं । एकदुई वटा योजना बिमा समितिमा पेससमेत गरिसकेका छौं । हामीले क्षमतावान तथा तालिम प्राप्त जनशक्ति विकास गर्ने विषयमा केन्द्रित छौं ।