कारोबार संवाददाता
मंगलबार, असार १०, २०७६
453

गत सातादेखि स्थानीय बजारमा सुनको मूल्य लगातार उकालो लाग्दै आएको छ । अमेरिका र इरानबीचको द्वन्द्वका कारण सुनको मूल्य अकासिएको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रत्यक्ष असर स्थानीय बजारमा पर्न गएको छ । सुनको मूल्य एक्कासि बढेपछि त्यसको प्रत्यक्ष असर आमउपभोक्तामा परेको छ । बिहेको लगनको सिजन सुरु भएकाले बजारमा सुनको माग धेरै हुनेगर्छ, तर अहिले सुनको मूल्य तोलामा दुई हजार बढेपछि सुन खरिद गर्ने उपभोक्तालाई प्रत्यक्ष असर परेको छ । सुनको मूल्य बढेर प्रतितोला ६५ हजार रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो । सधैंजसो ग्राहकको भीडभाड हुने न्युरोडका सुन पसल यतिबेला सुनसान अवस्थामा छन् । सुनको मूल्य अत्यधिक बढेपछि सुन किन्ने ग्राहक घट्दै गएकाले कारोबार अत्यन्त कम भएको व्यवसायीहरूको भनाइ छ । लगनको सिजनमा दैनिक ३० देखि ४० किलो सुन कारोबार हुने गरेकोमा अहिले मूल्य बढेकाले दैनिक १० देखि १२ किलोमा सीमित रहेको व्यवसायीहरू बताउँछन् । सुनको मूल्य बढेपछि बजारमा नयाँ गहना किन्नेभन्दा पनि पुराना गहना बेच्ने ग्राहकको भीड धेरै छ ।
अमेरिका र इरानबीच भएको द्वन्द्वका कारण सुनको मूल्य अकासिएको हो । अमेरिका र चीनबीचको व्यापारयुद्धको प्रभाव सुनमा पनि परेको छ । अमेरिकाले चीनका विभिन्न कम्पनीलाई कालोसूचीमा राखेसँगै मोबाइल कम्पनी हुवावेको व्यापारमा समेत ठूलो असर परेको छ ।
भारत र अमेरिकाबीच पछिल्लो समय भएको व्यापारिक तनावको असर पनि सुनको भाउमा परेको हो । अमेरिकाले भारतीय सामानमा कर बढाउने निर्णय र भारतको पनि अमेरिकी सामानमा कर बढाउने निर्णयको असर सुनमा परेको देखिन्छ ।
आन्तरिक रूपमा आर्थिक वर्ष ०७६-७७ का लागि प्रस्तुत बजेटले सुन आयातमा प्रतितोला १ हजार रुपैयाँले वृद्धि गरेसँगै सुनको भाउ बढेको हो । व्यवसायीहरूका अनुसार चीन र अमेरिकाको व्यापारयुद्धले सुन बजारमा प्रभावित भएको छ । इरान र अमेरिकाबीच भएको तनावले पनि लगानीकर्ताहरू सुरक्षित स्थान खोज्न थालेका छन् ।
बिहे तथा मुख्य चाडपर्वको सिजनमा बजारमा दैनिक ४० किलोसम्म सुन बिक्री हुने गरेको सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ । पछिल्लो एक सातादेखि सुनको मूल्य निरन्तर उकालो लाग्दै आएको छ । अमेरिका र इरानबीच भएको द्वन्द्वका कारण लगानीकर्ताहरू सुनमा लगानी गर्न आकर्षित भएकाले क्रमिक रूपमा बढ्दै गएको छ । सुनको मूल्य अझै बढ्ने विज्ञहरूले अनुमान गरेका छन् । ऐतिहासिक रूपमा सुनको मूल्य उच्च भए पनि त्यसको प्रत्यक्ष असर के पर्छ, बजारको अवस्था के छ, आगामी दिनमा मूल्य बढ्ने सम्भावना कति छ भनेर सरोकारवालासँग गरिएको कुराकानीको सार :

सुनको मूल्य अहिलेसम्मकै उच्च
तेजरत्न शाक्य
पूर्वअध्यक्ष
नेपाल सुन–चाँदी व्यवसायी महासंघ
बजारमा सुनको मूल्य बढ्नुको मुख्य कारण अमेरिका र इरानबीच भएको द्वन्द्व हो । अमेरिकाले इरानमा सेना पठाएपछि सुनको मूल्य प्रतितोला ६४ हजार पुग्यो र फेरि इरानले अमेरिकी ड्रोनलाई छेप्यास्त्र प्रहार गरेर ध्वस्त पारेपछि पुनः सुनको मूल्य बढेर तोलामा ६५ हजार रुपैयाँ पुग्यो । अब फेरि अमेरिकाले कारबाही गर्ने भनेको छ । इरान र अमेरिकाबीच द्वन्द्व चर्कने संकेत देखिएको छ, जसका कारण सुनको मूल्य अझ बढ्ने अनुमान गरिन्छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेर अहिले प्रतिऔंस १ हजार ४ सय ५ डलर पुगेको छ । अझै बढेर सुनको मूल्य प्रतिऔंस १ हजार ५ सयसम्म पुग्ने देखिन्छ । यही अनुसार मूल्य बढ्दै गयो भने बजारमा सुनको मूल्य तोलामा ७० हजार रुपैयाँको हाराहारीमा पुग्ने अनुमान गरिन्छ । सुनको मूल्य तोलामा बढेर ६५ हजार पुगेपछि बजारमा सुनको कारोबार सुनसान जस्तै छ । अहिले दैनिक १० देखि १२ किलोमात्र सुन बिक्री हुने गरेको छ । यसभन्दा अघि असार महिनामा दैनिक ४० देखि ४५ किलोसम्म सुनको कारोबार हुने गरेको थियो । सुनको मूल्य बढेसँगै उपभोक्ता र व्यवसायी दुवैलाई प्रत्यक्ष असर पारेको छ । उपभोक्तालाई मूल्य बढेपछि थोरै सुन किनेर काम चलाउनुपरेको छ भने व्यवसायीलाई कारोबार नै कम भएपछि प्रत्यक्ष असर परिरहेको छ । अहिले त व्यवसायी धैर्यधारण गरेर बसेका छन् । लामो समयसम्म मूल्य बढेको बढ्यै भयो भने व्यवसायीलाई व्यवसाय सञ्चालन गर्न नै कठिन हुने देखिन्छ । मूल्य बढेपछि पुराना गहना बिक्री गर्ने ग्राहक बढी आएका छन् । सामान स्टक भयो भने व्यवसायीलाई फाइदा हुनेगर्छ, तर कारोबार नै कम भएपछि त्यति धेरै फाइदा हुँदैन । बरु कम मूल्य भएर बिक्री बढ्यो भने व्यवसायीलाई फाइदा हुन्छ तर मूल्य बढेर बिक्री बढेन भने व्यवसायीलाई फाइदा हुँदैन । उपभोक्ताले पुरानो सामान बिक्री गर्दा ज्याला, जर्ती कटौती गरिने भएकाले नोक्सान हुनेगर्छ । मूल्य बढ्दा नोक्सान पनि धेरै हुनेगर्छ । सुनको गुणस्तरमा अहिले सुधार भइरहेको छ । ज्याला जर्ती कटौती गर्दा गहनामा १५ प्रतिशत जति नोक्सान हुने हुँदा मूल्य बढेर बिक्री गर्दा फाइदा हुन्छ भन्ने त्यति हुँदैन । सामान्य अवस्थामा बजारमा दैनिक ३० देखि ४० किलो सुन आवश्यक पर्छ भनेर हामीले माग गरिरहेका छौं । राष्ट्र बैंकले दैनिक २० किलो सुन वितरण गर्नेगर्छ । अहिले मूल्य बढेकाले कारोबार कम हुँदा बजारमा समस्या छैन, तर अन्य समयमा जुन परिणाम अपुग हुनेगर्छ । सुनको मूल्य बढ्ने क्रम निरन्तर रह्यो भने व्यापार गर्नेले व्यवसाय नै छोडनुपर्ने हुन्छ । गहनाको खपत पनि कम हुन्छ । मानिसहरू नक्कली गहनाप्रति आकर्षित हुन्छन् । उपभोक्ता, व्यवसायीलाई सुनको मूल्य वृद्धिले प्रत्यक्ष असर पार्ने गर्छ ।

अस्वाभाविक सुनको मूल्य बढ्दा उपभोक्तालाई प्रत्यक्ष असर
प्रेमलाल महर्जन
अध्यक्ष
राष्ट्रिय उपभोक्ता मञ्च नेपाल
गत सातादेखि स्थानीय बजारमा सुनको मूल्य अस्वाभाविक रूपमा बढेपछि त्यसको प्रत्यक्ष असर आमउपभोक्तालाई पर्न गएको छ । सुनको मूल्य वृद्धिसँगै आर्थिक अवस्था कमजोर हुने सर्वसाधारणलाई प्रत्यक्ष असर पर्न गएको छ । अन्तर्राष्ट्रिय बजार हङकङमा प्रति १० ग्राम ३ हजार २ सय ९०.४० हङकङ डलर, संयुक्त अरब इमिरेट्स (दुबई) को बजारमा १ हजार ६ सय ५३ दिराम, भारतीय बजारमा ३४ हजार १ सय ८० भारुमा बिक्री भइरहेको पाइएको छ ।
नेपालको सुनको बजारमा यसले रेकर्ड ब्रेक गरी मूल्य बढेको छ । एक्कासि सुनको मूल्य बढेर प्रतितोला ६५ हजार रुपैयाँ पुगेपछि दैनिक २५ देखि ३० किलोसम्मको कारोबार हुने सुनको माग घटेको छ । बढी मूल्य पाउने आशामा पुराना सुन बेच्न जाने उपभोक्ताको भीडभाड लाग्न गरेको छ ।
सुनको मूल्य बढ्नुको मुख्य कारणका रूपमा इरानले युरेनियम प्रशोधन केन्द्र पुनः सञ्चालन गरेको, इरानमाथि अमेरिकाले आर्थिक नाकाबन्दी अझै कडा गरेको, इरानले जापान र अमेरिकी मालवाहक जहाज र अमेरिकी सैन्य ड्रोनमाथिको हमलालगायतको विवादले उब्जेको संयुक्त राज्य अमेरिका र इरानबीचको तनाव रहेको छ । अन्तर्राष्ट्रिय लगानीकर्ताहरूले पेट्रोलियम पदार्थलगायतका अन्य क्षेत्रमा आर्थिक लगानी गर्नुको बदला सुन खरिदमा जोड दिएकाले एक्कासि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेको पाइयो ।
मुलुकमा सुन–चाँदी तथा गरगहनाको आपूर्ति व्यवस्थापन, मूल्य, परिमाण तथा गुणस्तर निर्धारण विगतमा सुन–चाँदी व्यवसायीहरू आफैंले गर्दै आएको भए तापनि विगत एक दशकभन्दा अगाडिबाट नेपाल राष्ट्र बैंकले बैंंकहरूमार्फत सुन–चाँदीको आपूर्ति व्यवस्थापन गर्दै आएको भए तापनि गुणस्तर तथा मूल्यको हकमा अहिले पनि नेपाल सुन–चाँदी व्यवसायी महासंघले निर्धारण गर्दै आएको छ ।
उपभोक्ता संरक्षण ऐन, २०७५ मा कुनै पनि वस्तु तथा सेवाको गुणस्तर, परिमाण तथा मूल्य पारदर्शी रूपमा आमउपभोक्ताले देख्ने, बुझ्ने र चित्त बुझाउन सकिने अवस्थामा राख्नुपर्ने व्यवस्था छ । सुन चाँदी तथा यसका गरगहनाको हकमा व्यवसायीहरूले धेरै पटक सरकारलाई नीति–नियम बनाइदेऊ, हामी नीति–नियमभित्र बसेर प्रतिस्पर्धात्मक रूपमा बजार व्यवस्थापन गर्छाैं भन्दासमेत नेपाल सरकारले नीति–नियम बनाउन चासो नदेखाउँदा बजार व्यवस्थित बन्न सकेको छैन । अहिलेको बजारमा सुन–चाँदी तथा सुन–चाँदीको गरगहनाबिना कुनै प्रतिस्पर्धा, ठोस आधारबिना नै अस्वाभाविक रूपमा मूल्यवृद्धि भएको भन्न सकिने प्रबल आधारहरू रहेका छन् ।
पुराना गहना बिक्री गर्दा जर्ती ज्याला कटाउने हुँदा उपभोक्तालाई प्रत्यक्ष असर पर्छ । सुनको मूल्य बढेका बेला सुनमा मिसावट, ठगी बढी हुने हुँदा सरकारले अनुगमन नियमन गर्नुपर्छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा लगातार मूल्य बढ्दै गएकाले त्यसको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा पर्न गएको छ ।

मूल्य बढ्दा सुनको कारोबार न्यून
मणिरत्न शाक्य
पूर्वअध्यक्ष
नेपाल सुन–चाँदी व्यवसायी महासंघ
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि त्यसको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा पर्न गएको छ । मूल्य बढेपछि स्थानीय बजारमा सुनको कारोबार नै न्यून छ । बिहेको लगन भए पनि मूल्य बढेकाले कारोबार भने बढ्न सकेको छैन । तोलामा २ हजार रुपैयाँ मूल्य बढेपछि ग्राहक र व्यवसायी दुवैलाई मर्का परेको छ । सञ्चित भएको सामानलाई व्यवसायीले नाफामा बिक्री गर्ने गर्छन् । मूल्य बढेका बेला बढेको र घटेको बेला व्यवसायीले घटेकै मूल्यमा बिक्री गर्ने हुँदा बजारमा उपभोक्तालाई प्रत्यक्ष असर पर्ने क्रियाकलाप हुँदैन । सुनको मूल्य बढ्दा व्यवसायीसँगै उपभोक्तालाई प्रत्यक्ष असर पर्छ । अन्तर्राष्ट्रिय बजारको अवस्था हेर्दा अझै पनि सुनको मूल्य बढ्ने देखिन्छ । मूल्य बढेकाले पुराना गहना बिक्री गर्ने बढी आउन थालेको छ । पुरानो सुन बिक्री गर्दा मूल्य बढेकाले कभर गर्ने हुँदा उपभोक्तालाई खासै असर पर्दैन । लामो समयसम्म सुनको मूल्य बढिरहने हो भने बजारलाई नकारात्मक असर पर्न जान्छ । सुनको मूल्य लगातार बढ्दै गयो भने बजारमा नकारात्मक असर पर्छ । हामीलाई बजार मूल्य बढ्नुभन्दा पनि स्थिर रहे फाइदा हुन्छ ।
६२ हजार रुपैयाँ सुन हुँदा ग्राहकले अर्डर गरेको छ, अहिले मूल्य बढेर ६५ हजार पुगेको छ । अर्डरकै मूल्यमा सुन बिक्री गर्नुपर्ने हुँदा व्यवसायीलाई घाटा हुन्छ । सुनको मूल्य वृद्धिबाट उपभोक्तासँगै व्यवसायीलाई दोब्बर–तेब्बर घाटा हुने गर्छ । सुनको खपत घट्न थालेपछि थप समस्या देखिन्छ । बैंकमा पहिला पनि सुन बिक्री भएन, यति किलो सुन थन्कियो भन्ने थियो । लगातार मूल्य बढ्यो भने बजारमा बिक्री कम हुँदा बैंकमा सुन थन्किने पनि हुन्छ । बजारमा सुनको अभाव रहँदैन । व्यवसायीले बैंकमार्फत दैनिक २० किलो सुन पाउँछ । २० किलो सुन मुलुकभर रहेको व्यवसायीलाई वितरण हुनेगर्छ ।

मूल्य बढेपछि पुराना गहना बेच्नेको भीड
सुनको मूल्य लगातार उकालो लागेसँगै स्थानीय बजारमा नयाँ गहना किन्ने भन्दा पनि पुराना गहना बेच्नेको भीड लागेको छ ।
गत शुक्रबार सुनको मूल्य बढेर प्रतितोला ६५ हजार पुगेपछि बजारमा नयाँ गहना किन्ने भन्दा पनि बेच्ने ग्राहकको भीड लागेको हो । अमेरिका र इरानबीच भएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । साताको पहिलो दिन आइतबार पनि तोलामा ६५ हजार रुपैयाँ कायम छ । मूल्य बढेको बेला पुराना गहना बिक्री गर्दा फाइदा हुने भन्दै उपभोक्ताले पुराना गहना बेचन थालेका छन् । बानेश्वरकी पार्वती अधिकारीले मूल्य बढेका बेला बेच्दा फाइदा हुने भएकाले पुरानो दुई तोला सुन बिक्री गरेको बताइन् । उनी मात्र नभएर धेरैले पुराना गहना बिक्री गर्न थालेका छन् ।
गत बुधबारदेखि लगातार सुनको मूल्य उकालो लाग्दै आएको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार बढेकाले त्यसको प्रत्यक्ष असर स्थानीय बजारमा पर्न गएको हो ।
बुधबारदेखि लगातार दैनिक हजार रुपैयाँ सुनको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेका कारण नेपाली बजार प्रभावित भएको हो । शुक्रबार सुनको मूल्य प्रतिऔंस १ हजार ४ सय ५ अमेरिकी डलर कायम भएको छ । अमेरिका र चीनबीचको व्यापारिक द्वन्द्वका कारण पनि लगानीकर्ता सुनतर्फ आकर्षित भएका हुन् । सुनको मूल्य अझ बढ्ने विज्ञहरूले अनुमान गरेका थिए । यसअघि अमेरिका र इरानबीच चलिरहेको आणविक विवादले समेत सुनको सञ्चय गर्न थालेकाले मूल्य बढेको हो । सुनको मूल्य बढेपछि बिक्रीमा भने कमी आएको छ । महासंघका अनुसार दैनिक २० किलो सुन बिक्री हुने गरेकोमा अहिले घटेको छ । मूल्य बढेपछि किन्ने होइन, बिक्री गर्न आउने बढेको व्यवसायीको भनाइ छ । बजारमा सुनको कारोबार नै ठप्प जस्तो छ । सधैंजसो भीडभाड हुने न्युरोडका सुन पसल यतिबेला सुनसानजस्तै छन् ।
यसअघि २०७० भदौ १२ गते सुनको मूल्य तोलामै ऐतिहासिक ३ हजार ४ सय रुपैयाँले बढेर मूल्य ६३ हजार ३ सय पुगेको थियो । मूल्य घटबढ हुँदै २०७५ फागुन ८ गते पुनः ६३ हजार ३ सय रुपैयाँ भएको थियो ।