मीनकुमार नवोदित
शुक्रवार, असार ६, २०७६
823

वि. सं २०६० मा मोरङ व्यापार संघको कार्यसमिति सदस्यका रूपमा प्रवेश गरेका प्रकाश मुन्दडा अध्यक्षमा निर्वाचित भएका छन् । कार्यसमिति सदस्य, प्रवक्ता, महासचिव, वरिष्ठ उपाध्यक्ष हुँदै मुन्दडा देशकै सबैभन्दा जेठो उद्योग वाणिज्य संघका रूपमा स्थापित व्यापार संघको नेतृत्वमा पुग्न सफल भएका हुन् । विराटनगरको प्रतिष्ठित औद्योगिक घराना देवेनरा समूहका निर्देशकसमेत रहेका मुन्दडाको उत्पादन र सेवामूलक दुवै क्षेत्रमा लगानी छ । युवा उद्योगीको छवि बनाएका मुन्दडाले अध्यक्ष हुनेबित्तिकै १९ बुँदे कार्ययोजना सार्वजनिक गरेका छन् । उद्योगी–व्यवसायीको हकहित र उनीहरूका समस्या समाधानमा आफू सधैं लागिपर्ने उनी बताउँछन् । तीनै तहको सरकार बने पनि मुलुकमा अझै लगानीको वातावरण बन्न नसकेको बताउने मुन्दडासित संघको भावी योजना, औद्योगिक समस्या, चुनौतीलगायतका विषयमा केन्द्रित रही कारोबारकर्मी मीनकुमार नवोदितले गरेको कुराकानीको सार :

मुलुककै सबैभन्दा जेठो उद्योग वाणिज्य संघका रूपमा स्थापित मोरङ व्यापार संघको अध्यक्ष बन्दा कस्तो महसुस भइरहेको छ ?
देशकै जेठो उद्योग वाणिज्य संघको नेतृत्वमा पुग्दा निकै नै हर्षित भएको छु । खुसीको सीमा छैन । आफूमा जिम्मेवारीसँगै चुनौती आएको महसुस गरिरहेको छु । आफूलाई कसरी बढी जिम्मेवार, गम्भीर र चिन्तित बनाउने भन्ने विषयमा चिन्तन र मनन गरिरहेको छु । कुनै पनि संस्थाको नेतृत्वमा पुग्नु ठूलो कुरा होइन । नेतृत्वमा पुगिसकेपछि कुशलतापूर्वक प्राप्त जिम्मेवारी बहन गर्नु ठूलो कुरा हो जस्तो लाग्छ मलाई । नेतृत्वमा पुग्दै गर्दा मेरो परिवार, पूर्वअध्यक्ष, अग्रजहरू, सहकर्मी साथीहरूसँगै सबै उद्योगी–व्यवसायीहरूलाई सम्झिरहेको छु ।

चुनौतीको कुरा गर्नुभयो, के देख्नुभएको छ चुनौती ?
अहिले नेपालमा तीन तहको सरकार छ । मुलुक संघीयतामा गएको छ । नेपालको सन्दर्भमा नयाँ अभ्यास भइरहेको छ । हामी लामो संक्रमणकालबाट बाहिर आए पनि मानसिक रूपमा संक्रमणबाट अझै बाहिर निस्कन सकेका छैनौं । विचार र काम गर्ने शैली पुरानै छ । व्यवस्था बदलिएर मात्रै विकास हुँदैन । हामीकहाँ २००७ साल यता नै धेरैवटा व्यवस्था बदलिसकेको छ । अहिले हामी लोकतान्त्रिक गणतन्त्रमा छौं । व्यवस्थासँगै मानिसका आनीबानी, सोच र विचारमा पनि परिवर्तन आउनुपर्छ । तब मात्रै देशको विकास हुन्छ । समयअनुसार हामी अपडेट हुनुपर्छ । यी सबै चुनौतीलाई चिर्न राज्य र उद्योगी–व्यवसायीबीचको सहकार्य आवश्यक छ । आफ्नो होइन, जनताको चाहनाअनुसार राज्य र उद्योगी–व्यवसायी अघि बढ्नुपर्छ । परम्परावादी चिन्तन, काम गर्ने शैलीबाट मुलुकलाई माथि उठाउन निकै चुनौती देख्छु, तर यति भनिरहँदा मुलुकभित्र प्रचुर सम्भावना छ । उद्योग र व्यवसाय क्षेत्रमा पनि प्रचुर सम्भावना छ । ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा सरकारले अघि सारेकाले नेपालमा अवसर पनि धेरै छ । पुरानो विचार, शैली र चिन्तनबाट समयअनुसार अपडेट गर्नु नै मुख्य चुनौती देख्छु म ।

व्यापार संघको इतिहासमै कार्यसमितिका सबै जना युवा हुनुहुन्छ, व्यापार संघमा सबै आलाकाँचा गए भन्ने सुनिन थालेको छ । यसमा के भन्नुहुन्छ ?
कार्यसमिति सदस्यका रूपमा म व्यापार संघमा २०६० सालमा प्रवेश गरेको हुँ । सदस्य हुँदै प्रवक्ता, महासचिव, वरिष्ठ उपाध्यक्षको जिम्मेवारी बहन गरिसकेको छु । हो, मोरङ व्यापार संघमा नेपालकै इतिहासमा ४२ वर्षभन्दा कम उमेर भएका व्यक्तिहरू अध्यक्षदेखि सदस्यसम्म भएका छौं । सायद नेपालका अन्य उद्योग वाणिज्य संघमा कार्यसमितिका अध्यक्षदेखि सदस्यसम्म यो उमेर समूहका छैनन् जस्तो लाग्छ । कार्यसमितिमा हामी सबै जना ४२ वर्षभन्दा कम उमेरका छौं । आलाकाँचा र अनुभवको कुरा सुनिन आएको छ । तर, म गर्वका साथ भन्छु टिमका सबै साथीहरू आफ्नो व्यावसायिक र औद्योगिक गु्रपको मुख्य डिसिजन मेकरहरू हुनुहुन्छ । उद्योग र व्यवसायका समस्यालाई नजिकबाट हरेक दिन हेरिरहेका छौं । राज्यले अंगीकार गरेका नीतिहरूलाई आत्मसात् गरेर अगाडि बढिरहेका छौं । नेपालको व्यावसायिक समस्यालाई अनुभवी उद्योगी–व्यवसायीहरू जसरी नै लिइरहेका छौं । सबै अनुभवको उच्चतम प्रयोग गर्दै युवाहरूको जोस र जाँगरबाट नेपालमा रहेको सुस्त गतिमा अगाडि बढ्ने मानसिकतालाई चिर्दै हाम्रो युवा कार्यसमिति नयाँ नेपालको निर्माणमा नयाँ विचार, तर्क, दृष्टिकोणका साथ अगाडि बढ्नेछ ।

व्यापार संघको इतिहासमै सबैभन्दा कम उमेरको अध्यक्ष हुनुभयो, भावी पुस्ताले सम्झन लायक के गर्नुहुन्छ ?
पद भन्ने कुरा भूतपूर्व हुने एउटा नियमित र स्वाभाविक प्रक्रिया हो । कुनै पनि व्यक्ति पदमा रहिरहन सक्दैन । पदको निश्चित समय र दायरा हुन्छ । पदमा रहेका बेला उद्योगी–व्यवसायीको हितमा काम गर्ने हो । म नामका लागि काम गर्ने परिपाटी र आचरणको विरोधी हुँ । आधुनिकीकरणमा प्रविधि अँगाल्ने सवालमा म अगाडि बढ्नेछु । संघको प्रत्येक खर्च उद्योगी र व्यवसायीको विकास, सुरक्षा र सामाजिक उत्थानका लागि लगाउनेछु । राम्रो काम आफैं देखिन्छ । मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा मुख्य गरी तीनवटा चुनौती देखेको छु । विद्युत् आपूर्ति गुणस्तरहीन छ । विशेषगरी कटहरी क्षेत्रमा विद्युत् आपूर्तिको अवस्था भयावह छ । भारतको मिरगञ्ज पुलको अवस्था जीर्ण छ । यही पुलबाट आयात निर्यात हुँदै आएको छ । यो पुल विगतमा भत्किँदा यो क्षेत्रका उद्योगी–व्यवसायीहरूले धेरै नै दुःख भोग्नुपरेको थियो । अहिले पनि त्यो पुल कतिबेला भत्किने हो भन्ने त्रास छ । उद्योगीहरू निदाउन सकिरहेका छैनन् । जीर्ण पुलकै कारण ढुवानीमा उद्योगीले कष्ट बेहोर्नुपरेको छ । पूर्वाधारको कमी अर्को समस्या हो । आइसीपी, रेल ट्रान्सपोर्टको कमीले औद्योगिक प्रतिस्पर्धी क्षमतामा ह्रास आएको छ । यसको निक्र्योलका लागि विशेष पहल सुरु भएको छ । व्यावसायिक क्षेत्रमा हाल भारतको सीमान्त बजार जोगबनी गुल्जार भएका कारण यी सबै अध्ययन गरी राज्यलाई न्यायोचित कर निर्धारण गर्न विशेष सुझावका लागि चाँडै नै छलफल गर्नेछु । स्वदेशी उत्पादन नै हाम्रो मुख्य आधार भन्ने कुरालाई आत्मसात् गरेर अगाडि बढ्ने योजना छ । उद्योगी–व्यवसायीका समस्या समाधान गर्दै सरकारले लिएको आर्थिक समृद्धिको लक्ष्य पूरा गराउन आ–आफ्नो ठाउँबाट लाग्नेछु । मेरो कार्यकालमा विगतको कार्यसमितिले अघि सारेका केही अपूर्ण काम रहेछन् भने त्यसलाई पूर्णता दिनेछु । संघको मुख्य काम उद्योगी–व्यवसायीको हकहित र समस्या समाधान गर्नु हो । त्यसमा सहजीकरण गर्नेछु । यसबाहेक सामाजिक उत्तरदायित्वका कामलाई अझै रचनात्मक र प्रभावकारी बनाउनेछु ।

व्यापार संघमा चुनाव निकै लागेको थियो, चुनावबाट पराजित पक्षलाई कसरी समेट्नुहुन्छ ?
व्यापार संघ भनेको नेपालमा प्रजातन्त्र स्थापना भएसँगै २००७ सालमा स्थापित संस्था हो । यो संस्थाले जहिले पनि प्रजातान्त्रिक प्रक्रियालाई अंगीकार गर्ने गरेको छ । नयाँ नेतृत्व छान्दा पनि सकेसम्म सहमति नत्र भने लोकतान्त्रिक विधि र प्रक्रियाबाट छान्ने गरेको छ । ३२ औं कार्यसमिति पनि लोकतान्त्रिक विधिबाट आएको छ । चुनावका क्रममा आफू विजयी हुन सबैले प्रयास गर्नु स्वाभाविक हो । स्वच्छ प्रतिस्पर्धाबाट हाम्रो टिम स्पष्ट बहुमतका साथ आएको छ । हामी खुसी छौं । उद्योगी र व्यवसायी साथीहरूको हितका लागि हामी एकजुट हुनुको विकल्प छैन । चुनावमा प्रतिस्पर्धा भयो । अब प्रतिस्पर्धाको भावनालाई हटाउनुपर्छ । सबै मिलेर संघलाई थप उचाइमा पु-याउनुपर्छ । सबैलाई साथमा लिएर अगाडि बढ्ने हाम्रो कर्तव्य र धर्मलाई आत्मसात् गर्दै आफ्ना क्रियाकलापबाट उहाँहरूलाई सन्तुष्ट बनाउनेछु ।

औद्योगिक क्षेत्रमा के–कस्ता समस्या देख्नुभएको छ ?
हिजो, आज र भोलि सधैंभरि औद्योगिक विकास गर्नु नै मोरङ व्यापार संघको मुख्य उद्देश्य हो । संघीय सरकारले बजेटमार्फत ८.५ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ । मुद्रास्फीतिलाई ६ प्रतिशतमा सीमित राख्ने भनेको छ । त्यसका लागि देशमा आपूर्ति प्रणाली सरल र सहज हुनुपर्छ । औद्योगिक वातावरण गतिशील हुनुपर्छ । त्यसैले राज्यको सोच औद्योगिक विकासमा रहेको हुँदा हाम्रा औद्योगिक करिडोरमा रहेका समस्यालाई सम्बोधन गराउन राज्यका विभिन्न निकायसँग सहकार्य गर्न सकिन्छ । मोरङ–सुनसरी औद्योगिक क्षेत्रको कुरा गर्नुहुन्छ भने थुप्रै समस्या छन् । तरलताको अभावका कारण बैंकबाट भनेजति सहज रूपमा ऋण पाउने अवस्था छैन । स्तरीय विद्युत् आपूर्ति, उद्योगलाई चाहिने आधारभूत पूर्वाधार पनि बन्न सकेको छैन । यो क्षेत्रमा हामीले वर्षाैंदेखि उठाउँदै आएको औद्योगिक ग्राम, प्रदर्शनीस्थलको निर्माण अझै हुन सकेको छैन । उद्योग र बजारसम्मको बाटोघाटो, कृषकले उत्पादन गरेका कृषिजन्य वस्तुको भण्डारणका लागि कोल्डस्टोर, बीउबिजन, पर्यटनका लागि प्रचारप्रसार अझै हुन सकेको देखिँदैन । जग्गाको अत्यधिक मूल्यवृद्धिका कारण नयाँ उद्योग स्थापना गर्ने अवस्था छैन । अत्यधिक मूल्यवृद्धिका कारण आफूसँग भएको पैसा जग्गा खरिदमै जान्छ । सरकारले विशेष आर्थिक क्षेत्र बनाएको खण्ड नयाँ उद्योगहरू आउने सम्भावना छ । तर, सरकारले विशेष आर्थिक क्षेत्रभित्र स्थापना हुने उद्योगले उत्पादनको ७० प्रतिशत निर्यात गर्नै पर्ने नीति बनाएको छ । यही नीतिका कारण भैरहवामा विशेष आर्थिक क्षेत्र अर्थात् सेजको अवधारणा असफल हुने अवस्थामा पुगेको छ । ७० प्रतिशतलाई २०–३० प्रतिशतमा झारियो भने सेजमा उद्योग स्थापना हुन सक्छन् । सेजमा सबै खाले उद्योग स्थापना गर्न दिनुपर्छ । यो क्षेत्रको समस्यालाई बुँदागत रूपमा भन्नुपर्दा गुणस्तरहीन विद्युत् आपूर्ति, बैंकको चर्को ब्याजदर, पूर्वाधारको कमी, तीनै तहको सरकारले लगाएको अनावश्यक करको भार, अवैध आयातलगायत हुन् भन्ने मलाई लाग्छ ।

बैंकको महँगो ब्याजदरको विषयलाई लिएर तपाईंहरूले ठूलै आन्दोलन गर्नुभएको थियो, अझै बैंकिङ समस्या छँदैछ कि समाधान भयो ?
हो, मोरङ व्यापार संघ र उद्योग संगठनले बैंकको चर्को ब्याजदरविरुद्ध आन्दोलन गरेको थियो । हाम्रो आन्दोलनपछि व्यापार संघसहित प्रधानमन्त्री केपी शर्मा ओली, सम्बन्धित मन्त्रालयका मन्त्री, राष्ट्र बैंक, नेपाल उद्योग वाणिज्य महासंघबीच छलफल भएको थियो । त्यसपछि केही माग सम्बोधन भयो । हामीले उठाएका माग सम्बोधन गर्न भन्दै सरकारले समिति नै गठन गरेको थियो । त्यसपछि पनि हामीले बैंकिङ क्षेत्रको सुधारका लागि मौद्रिक नीतिमार्फत आफ्ना विचारलाई स्थापित गर्न विभिन्न विषयमा राय सुझाव पठाएका छौं । ब्याजदर घटाउन संस्थागत फिस डिपोजिटमा दिइने उच्चतम् ब्याजदर ७ प्रतिशतभन्दा बढी नबनाउन कडा माग राखेका छौं । त्यसैगरी स्प्रिड दर ३ प्रतिशतमा झार्ने, २ वर्षसम्म घाटामा रहेका उद्योगहरू वाचालिस्टमा राख्ने, ५ प्रतिशत प्रोभिजन गर्ने प्रावधान खारेज गर्ने माग हाम्रो हो । औद्योगीकरणका लागि यी माग सम्बोधन गर्नुपर्छ । यी माग सम्बोधन नभएसम्म औद्योगीकरण हुन सक्दैन । हाल बजारमा तलरताको अभाव उच्च रहेकाले औद्योगीकरणमा गम्भीर समस्या छ । तरलताको समस्या हटाउन राज्यले विकास खर्च समयमै गर्नुपर्छ । विकास बजेट साउनदेखि नै खर्च गर्ने वाचा र मौद्रिक नीतिमा यो वर्ष सीसीडी रेसियो केही खुकुलो गरिदिने व्यवस्था मिलाउनुपर्छ । बैंकको रिक्स म्यानेजमेन्टका लागि राज्यले अरू बाटाहरू अपनाउनुपर्छ । उद्योगी–व्यवसायीहरू जति नै कराए पनि सरकारले अझैसम्म लगानीको वातावरण बनाउन सकेको छैन ।

अझै लगानीको वातावरण बन्न सकेन भन्नुहुन्छ, लगानीको वातावरण किन बनेन ?
लगानीका क्षेत्रहरू पर्यटन, ऊर्जा, कृषि, खनिज, उद्योग–व्यवसाय नै हुन् । देशमा पर्यटन, कृषि, ऊर्जा, खनिज सबैको प्रचुर सम्भावना छ । सम्भावनालाई अवसरमा बदल्नका लागि राज्य गम्भीर नभएको मैले देखिरहेको छु । केही महिना अगाडि सरकारले लगानी सम्मेलन गरेको थियो । सरकारले सम्मेलनलाई सफल मानेको छ । तर, वास्तविकतालाई जाँच्ने हो भने हामीसित रहेको लगानीको सम्भावनाको अनुपातमा आएको लगानी अत्यन्तै न्यून रहेको देखिन्छ । विकासको मेरुदण्डका रूपमा औद्योगिक क्षेत्रलाई लिने गरिन्छ । तर, औद्योगिक क्षेत्रमा जुन रूपमा लगानी थपिनुपर्ने हो त्यसअनुसार थपिन सकेको छैन । उत्पादनमूलक क्षेत्रमा लगानी नबढेसम्म रोजगारी सिर्जना र उत्पादन बढाउन सकिँदैन । तर, विडम्बना हालसम्म लगानी आकर्षित गर्ने विषयमा राज्य चुकेको छ ।

वैदेशिक लगानी भित्र्याउन सरकार लागिपरेको छ, नेपालको आर्थिक विकासमा वैदेशिक लगानी आवश्यक छ ?
२–३ सय करोड लगानीका लागि नेपाली उद्योगी–व्यवसायीको अनिवार्य सहभागिता हुनुपर्ने आवाज मोरङ व्यापार संघले विगतदेखि नै उठाउँदै आएको छ । हाल नेपालमा रहेका उद्योगका लागि हामी सक्षम छौं । सिमेन्टजस्तो ठूलो लगानी आवश्यक पर्ने अत्याधुनिक प्रविधियुक्त उद्योगमा समेत नेपाली उद्योगीले लगानी गरेका छन् । विदेशी लगानी ल्याउने हो भने कम्तीमा ५० प्रतिशत नेपालीको अनिवार्य गर्नुपर्छ । सरकारले स्वदेशी लगानी आकर्षित गर्ने नीति बनाउनुपर्छ । अझै पनि औद्योगिक वातावरण बन्न सकेको छैन । यदि वातावरण बन्ने हो भने थुप्रै लगानी आउन सक्छ । नेपालमा पुँजीको अभाव छैन । ठूला जलविद्युत् आयोजनाका लागि मात्रै विदेशी लगानी आवश्यक पर्छ । त्यस्तामा मात्रै वैदेशिक लगानी भित्र्याउँदा राम्रो हुन्छ । विद्युत् समस्या समाधान, भौतिक पूर्वाधारको विकास, बैंकिङ समस्याको हल, नीतिगत र कानुनी झन्झटको अन्त्य हुने हो भने उद्योगी–व्यवसायीहरू जति पनि लगानी गर्न तयार छन् ।