कारोबार संवाददाता
बुधवार, जेठ १, २०७६
1077

हामीले फेर्ने सासमा प्रदूषित हावा छ । प्रदूषित पानी पिइरहेका छौं । एउटा स्वस्थ मानिसले औसत प्रतिमिनेट १२ पटकसम्म सास फेर्छ । त्यसक्रममा उसले लगभग ६ लिटर हावा प्रयोग गर्छ । विश्व स्वास्थ्य सगंठनले २०१६ मा वायु प्रदूषणसम्बन्धी गरेको एक अनुसन्धानले काठमाडौं उपत्यकामा ५ गुणाले वायु प्रदूषण बढेको देखाएको छ । विश्व स्वास्थ्य सगंठनको २०१६ मा गरेको पछिल्लो तथ्यांकअनुसार वायु प्रदूषणका कारण विभिन्न रोगबाट नेपालमा प्रत्येक वर्ष करिब १० हजार मानिसले ज्यान गुमाउने गरेको पाइएको छ । प्रदूषित हावाकै कारण सर्वसाधारणमा क्यान्सर तथा मुटुरोग बढिरहेको छ । नेपालको संविधानको धारा ३० को उपधारा १ मा प्रत्येक नागरिकले स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारको सुनिश्चितता गरेको छ । उपधारा २ मा भने वातावरणीय प्रदूषणका कारण पु¥याएको असरवापत पीडितलाई प्रदूषकबाट कानुनबमोजिम क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने प्रावधान छ । कानुनी प्रावधान कहिले होला कार्यान्वयन, त्यो भने हेर्न बाँकी नै छ । नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने आधिकार प्रत्याभूति गराउने निकाय कुन हो ? कहिले बाँच्न पाइला सफा वातावरणमा भन्ने आमजनमानसको प्रश्न छ । वायु प्रदूषणसम्बन्धी बनेको नीतिभन्दा नीति कार्यान्वयन गर्ने निकायको नियति खराब भएकाले समयमै प्रदूषण न्यूनीकरण गर्न चुनौती थपिएको बताउँछन्, वातावरणविद् भूषण तुलाधर । उनले विभिन्न समयमा वातावरण संरक्षणको पक्षमा वकालत गर्दै आएका छन् । स्पष्ट वक्ताका रूपमा परिचित तुलाधरले अमेरिकाको कोर्नेल विश्वविद्यालयबाट वातावरण इन्जिनिरिङ विषयमा स्नातक तथा स्नातकोत्तर गरेका छन् । हाल उनले स्वदेशमै रहेर वातावरण संरक्षणका विषयमा बुलन्द आवाज उठाउँदै आएका छन् । २५ वर्षभन्दा बढी वातावरण क्षेत्रमा सक्रिय तुलाधरसँग वातावरण प्रदूषणको अवस्था, असर, समाधानको उपायलगायतका विषयमा केन्द्रित रहेर कारोबारकर्मी प्रगति ढकालले गरेको कुराकानीको सार :

नेपालमा वातावरण प्रदूषणको अवस्था कस्तो छ ?
अहिले प्रदूषणको मात्रा बढेकोे छ । मुख्यतयाः तीव्र रूपमा सहरीकरण भएका कारण सहरी क्षेत्रमा प्रदूषण बढेको छ । जनसंख्या वृद्धिसँगै फोहोर पनि बढ्दै गयो । सहरी क्षेत्रमा वस्तुहरूको उपभोग पनि बढेको हुन्छ । पानी प्रयोगको मात्रा पनि बढिरहेको छ । अव्यवस्थित ढलका कारण प्रदूषण बढ्छ । गाउँमा प्रतिव्यक्ति ६० लिटर पानी आवश्यक हुन्छ भन्ने छ, सहरी क्षेत्रमा १ सय लिटर पानी आवश्यक पर्छ भनिन्छ । विकसित सहरमा त ४ सय लिटरसम्म पनि हुन्छ । पानी कन्जम्सनको मात्रासँग फोहोर पानी पनि बढ्ने भयो । वस्तुको उपभोग बढेसँगै फोहोरको प्रकार पनि बढ्छ । नकुहिने फोहोरहरू बढी हुन्छन् । हानिकारक फोहोरको मात्रा पनि बढ्न सक्छ ।
सहरी क्षेत्रमा विशेषगरी सवारी साधनका कारण वायु प्रदूषण बढ्न सक्छ । सहरवरपर स्थापना भएका उद्योगबाट पनि प्रदूषण बढेको छ । ग्रामीण क्षेत्रमा पहिलेदेखिको समस्या भनेको भान्छामा हुने प्रदूषण अहिलेसम्म पनि यथावत् रूपमा छ । यसले गर्दा विशेषगरी महिला तथा बालबालिकालाई बढी प्रभाव परिरहेको अवस्था छ । करिब ७० प्रतिशत भान्छामा दाउरा बालेर खाना पकाउने चलन अझै छ । परम्परागत चुलो नै प्रयोग गर्ने भएकाले ती भान्छामा अत्यधिक मात्रा प्रदूषण हुन्छ । ती प्रदूषणले ४÷५ घण्टा भान्छामा बस्ने महिलालाई बढी प्रभाव पार्छ । एउटा राम्रो पक्षचाहिँ दिसा–पिसाबबाट हुने प्रदूषण धेरै हदसम्म कम भएको छ । खुलामुक्त दिसा अभियान सुरु भएपछि सुधार हुँदै गयो । ९० प्रतिशतभन्दा बढी सर्वसाधारणको घरमा चर्पी भइसकेको अवस्था छ । प्रदूषण त मुख्यतयाः सहरी क्षेत्रमा बढेको छ । माटो प्रदूषण पनि बढिरहेको छ । धेरैजसो विषादी प्रयोगले गर्दा अम्लीयपनका साथै प्रदूषण बढ्दो छ । कृषिमा प्रयोग हुने विषादी तथा फोहोरका कारण पनि प्रदूषण बढेको हो । माटोमुनिको भूमिगत पानीको प्रदूषण पनि बढेको छ । कृषिमा धेरैजसो विषादी प्रयोग गर्नु हुँदैन भन्ने मानसिकता पनि आएको छ । भारतको सिक्किममा पनि पूर्णरूपमा अर्गानिक खेती गर्ने भन्ने कुरा आएको छ । भुटानले पनि अर्गानिकमा जाने भनेको छ । हाम्रै देशको सरकारी नीति हेर्ने हो भने पनि सकेसम्म प्राङ्गारिक खेतीमा लगानी गर्ने भनी हामी त्यसतर्फ उन्मुख छौं । तर, जति लगानी गर्नुपर्ने हो त्यति भएको देखिँदैन ।

प्रदूषणका मुख्य असर के–के हुन् ?
अहिले स्वास्थ्यका दृष्टिकोणले हेर्ने हो भने पनि नेपालीहरूको मृत्युको प्रमुख कारण भनेको नसर्ने रोग नै भएका छन् । क्यान्सर तथा मुटुका रोगहरू बढ्नु यस्ता रासायनिक तŒवहरूको प्रमुख भूमिका रहन्छ भन्ने पनि छ । अहिले चेतनाचाहिँ आएको छ । तर, जति हुनुपर्ने हो त्यतिचाहिँ हुन सकेको अवस्था छैन । पछिल्लो समय कृषिमा विषादी तथा रासायनिक मल प्रयोग नगरी प्राङ्गारिक मल प्रयोग गर्ने कार्यक्रम पनि आएका छन् । तरकारीमा हुने विषादी मापन गर्ने काम पनि सुरु भएको छ ।

वातावरणीय प्रदूषण नियन्त्रणका लागि सरकारले गरेका प्रयास पर्याप्त छन् ?
छैन । हरेक क्षेत्रमा सरकारले केही नगरेको त म भन्दिनँ । केही न केही गरेको छ, तर पर्याप्त छैन । अर्को भनेको छरिएर काम भइरहेको छ । दीर्घकालीन रूपमा कार्यक्रम नै बनाएर अगाडि बढ्न सकेको अवस्था छैन । वायु प्रदूषणको मापन होस्, फोहोरमैला व्यवस्थापनमा जति लगाम हुनुपर्ने हो त्यति हुन सकिरहेको छैन । अलिकति रणनीतिक हिसाबले लगानी गर्नुपर्ने हो त्यति भएको छैन । टुक्रे योजनाहरू भएको छ । दीर्घकालीन कार्यक्रममा पर्याप्त लगानी भएको छैन । फोहोरमैला व्यवस्थापनकै विषयमा निजी क्षेत्रसँग मिलेर काम गरौं भनेर प्रक्रिया पनि अगाडि बढिसकेको धेरै भयो । तर, त्यसलाई टुंगोमा पु¥याउनका लागि खासै केही भएन ।
वायु प्रदूषण नियन्त्रणका लागि कर लिने भनेर प्रतिलिटर पेट्रोल तथा डिजेलबाट ५० पैसाका दरले पैसा उठाएको १० वर्ष भइसकेको छ । तर, त्यो ५० पैसा वर्षको १ अर्बभन्दा बढी छ । तर त्यसलाई कसरी सदुपयोग गर्ने भनेर कुनै कार्यक्रम तय भएको छैन । बिजुली बस प्रवद्र्धन गर्ने भनेर एकातिर ३ सय बस ल्याउने भनेर भनिएको छ । मेरो विचारमा त्यसमा पनि पर्याप्त गृहकार्य हुन सकिरहेको अवस्था छैन । तर, त्यसका लागि आवश्यक पर्ने चार्ज स्टेसन कहाँ राख्ने ? त्यस्ता बसहरू कसरी ल्याउने ? भन्ने तयारी छैन । भएकै ट्रली बसहरू पनि थन्किएर बसेको अवस्था छ । सफा ट्याम्पुहरू कसरी बढाउने भनेर पनि लागिएन ।

अब सरकारले कसरी एक्सन लिनुपर्ला ?
सबैभन्दा बढी नियत क्लिअर चाहिन्छ । यदि काठमाडौंको वायु प्रदूषण नियन्त्रण गर्नु छ भने त्यसमा लागिपर्नुपर्छ । यो हाम्रो जनस्वास्थ्यसँग जोडिएको विषय हो । जनताको चासोको विषय हो । यो अर्थतन्त्रसँग पनि सम्बन्धित विषय हो । किनकि हामी पेट्रोल आयात गर्छौं । व्यापारघाटा पनि त्यसरी बढिरहेको छ । पर्यटनसँग पनि सम्बन्धित छ । त्यसमा लागौं भन्ने हो भने एउटा एक्सन प्लान बनाऔं न । योजना बनाएर नेपाल सरकारले अनुमोदन गरेर त्यसमा लगानी गर्ने हो भने अनि काम प्रभावकारी हुनसक्छ । योजना बनाएर थन्काइन्छ । हामी सबैले स्वामित्व लिन सक्ने खालको वा त्यो योजनालाई सरकारको सबै तवरबाट अथवा अपनत्व जनाएर चाहे क्याबिनेटमा लान पर्ने भए लाने । त्यसमै लगानी गर्नुपर्छ । यस्तो सोच विकास गरेर लगानी गर्नुपर्छ । जस्तै रिङरोडमा एकातिर हामी भन्छौं कि प्रदूषण बढी भयो, प्रदूषणको प्रमुख स्रोत भनेको पनि हाम्रा गाडीहरू हुन् भनेका छौं । अर्कातिर हामी भएको रिङरोडलाई आठ लेन बनायांै । सबै लेन गाडीलाई दियांै । भनेपछि त्यो दुईवटा सोच मिलेन नि । नीति कार्यान्वयन गर्ने दृढ इृच्छाशक्तिको अभाव देखियो ।

वातावरण संरक्षणमा लगानी बढाउनुपर्छ भन्नुभयो, तर प्रदूषण शुल्क खर्च हुन नसकिरहेका बेला लगानी बढाउनुपर्ने आवश्यकता रहन्छ र ?
लगानी भन्नाले आर्थिक लगानी मात्र होइन । समय पनि हो । वैदेशिक दाताको भरमात्रै परेर हुँदैन । आफ्नै लगानी चाहिन्छ अनि अपनत्व बढ्न सक्छ । वातावरण संरक्षणमा अझै पर्याप्त लगानी आवश्यक छ । लगानी पारदर्शी रूपमा खर्च गर्नुपर्छ ।

प्रदूषण मापन गर्ने तŒवहरू के के छन् ?
मापन गर्ने भनेर विभिन्न वायु प्रदूषणका मनिटोरिङ सिस्टम छन् । मापन गर्ने काम हुन्छ र तर पर्याप्त छैन । मापनबाट आएको तथ्यांक विश्लेषण गर्ने र जनातासामु पु¥याउने र आवश्यक योजना बनाउनुपर्छ । विश्वविद्यालयलाई समावेश गराउन सकिन्छ र त्यसको आधारमा योजनाहरू बनाउन सकिन्छ । वातावरण प्रदूषणका कारण मानिसमा कस्तो रोग लागिरहेको छ, कहाँ–कहाँ रोगीहरूको संख्या बढिरहेको छ । कुन उमेर समूह वा समुदायमा रोगहरू बढिरहेको छ ? कस्ता समस्याहरू छन् ? विश्लेषण गरेर कार्यक्रम बनाउन सकिएको छैन ।

प्रदूषण मापन भए पनि तथ्यांक वा सूचना सर्वसाधारणहरूले पाउन सकिरहेका छैनन् । संचारको ग्यापलाई कसरी संयोजन गर्ने ?
त्यो सूचना संकलन गर्ने, विश्लेषण गर्ने, बुझ्ने भाषामा वा नेपाली भाषामा बनाउनुपर्छ । वायु प्रदूषण मापन तीन तहबाट भइरहेको छ । एउटा सरकारी स्तरबाट भइरहेको छ । वातावरण विभागको वेबसाइटमा पाइन्छ भनिन्छ । तर, कतिपय बेलामा पाउन सकिन्छ, कतिपय बेलामा पाउन सकिन्न । अमेरिकी राजदूतावासले मनिटोरिङ गरिरहेको छ । उसले सफा हावा भन्ने एप्स बनाएको छ । एप्सबाट सबैले हेर्न सकिन्छ । तेस्रोचाहिँ नागरिकले नै गरिरहेका छन् ।

धूलोका कणमा प्रदूषणको मात्रा कति हुन्छ ?
अहिलेको धुलो वा धूवाँ, जुनमा पनि वायु प्रदूषणको मात्रा नाप्न सकिन्छ । हरेक दिनमा हरेक घण्टामा नै प्रदूषणको मात्रा फरक हुन्छ । हरेक ठाउँमा फरक हुन्छ । यति नै भन्न सकिँदैन । औसतमा उपत्यकामा विश्व स्वस्थ्य संगठनले तोकिदिएको मापदण्डभन्दा प्रदूषणको मात्रा ५ गुणा बढी छ भनेर हामी भन्न सक्छौं । बाहिर सबै क्षेत्रमा मापन गरिएको छैन । लुम्बिनीमा भर्खर–भर्खर सुरु भएको हो । लुम्बिनीमा पनि प्रदूषण बढिरहेको छ । लुम्बिनीमा पनि केही भारतबाट आएको छ । वरपर १२ वटा सिमेन्ट फ्याक्ट्री, ३२ वटा इँटाभट्टा छन् । त्यसबाट पनि प्रदूषण आएको छ । खेतबारीमा आगो लगाउँदा त्यसबाट पनि प्रदूषण हुन्छ ।
काठमाडौंमा पनि प्रदूषण इन्डियाबाट आउँछ । तर, बाह्य प्रदूषण वायुमण्डलको माथिल्लो भागमा बढी हुन्छ । काठमाडौंमा पश्चिमी वायु आउँछ । काठमाडौंबाट पश्चिमतिर लागेको डढेलोको धूवाँ पनि काठमाडौंतिर आउँछ । पश्चिममा उद्योगहरू छन् । काठमाडौंकै प्रदूषणका स्रोत र लुम्बिनी वरपर भएका कलकारखानाबाट निस्कने प्रदूषण नियन्त्रण गर्ने हो भने धेरै हदसम्म नियन्त्रण गर्न सक्छौं ।
सवारी साधन प्रदूषणको प्रमुख कारण हो । अहिले हामीले नाप्ने भनेको पीएम २.५ (२.५ माइक्रोनभन्दा मसिना कणहरू) हो । मसिना कणहरू हाम्रो शरीरको भित्रसम्म जान्छन् । मसिनो कण हावामा लामो समयसम्म तैरन्छ । सास फेर्दा छिर्ने सम्भावना बढी हुन्छ । मसिना कणहरू आगो बाल्दा बढी निस्कन्छ । डिजेल बाल्दा १ पीएमभन्दा मसिना कण धेरै निस्कन्छन् । जुन शरीरभित्रसम्म जान्छ । त्यो कणमा धेरै प्रकारका रसायन हुन सक्छन् । डिजेलको धूवाँमा भएको कासिनोजेनिक रसायनले क्यान्सर गराउँछ । बाटोमा हुने धुलोमा यस्ता कासिनोजेनिक रसायन कम हुन्छ । ठूला गाडी तथा जेनेटरमा बढी प्रयोग हुन्छ । साना गाडीमा डिजेल आवश्यक हुँदैन । बन्द नै गरिदिए हुन्छ । बिजुली बस महŒवपूर्ण हुन्छ । डिजेल विस्थापित गराउँछ । बिजुली बसमा लगानी गर्न आवश्यक छ । रेलबाट सामान ल्याउने विकल्प हेर्नुपर्छ भोलिका दिनमा ।

जलवायु परिवर्तन गराउनमा स्थानीय प्रदूषणको भूमिका बढी हुन्छ कि बाह्य प्रदूषणको ?
जलवायु परिवर्तन बाह्य प्रदूषणले गराउँछ, तर त्यसको प्रभाव हामीलाई बढी पर्छ । हामीसँग जलवायु परिवर्तनले निम्त्याउने प्राकृतिक प्रकोपबाट हुनसक्ने सम्भावित क्षति रोक्न सक्दैनौं । अनुकूलनको कार्यक्रम गर्न सक्ने क्षमता कम छ हामीसँग ।
प्रदूषण रोक्दा हामीलाई बढी फाइदा हुन्छ । स्वच्छ चुलो राख्ने । प्रदूषणले रोग पनि बढाउँदैन र विश्व जलावायु परिवर्तन कम गर्नका लागि सहयोग गर्छ । हामीलाई प्रदूषण पनि घटाउनु पनि छ । हामीले विद्युतीय सवारी साधनमा लगानी बढाउने हो भने दीर्घकालीन रूपमा हामीलाई पनि फाइदा हुन्छ र जलवायु परिवर्तन न्यूनीकरण गराउन सक्छौं ।
हामीले औद्योगीकरण बन्द गर भनेको होइन । तर त्यसमा आवश्यक पर्ने पेट्रोलियम पदार्थ आयात हुन्छ । करोडांै रकम बाहिर जान्छ । यसकारण विकल्प सोच्नुपर्छ । जस्तै इँटाभट्टाका लागि कोइला आवश्यक पर्छ, तर आयात हुन्छ । सुधारिएको इँटाभट्टा हुने हो भने प्रदूषण पनि कम हुन्छ र कोइला आयात पनि गर्नु पर्दैन ।
बिजुली बस किन्न सुरुमा महँगो छ । तर, डिजेलमा हुने खर्च पछि त बचाउन सकिन्छ । सरकारले कर छुटको व्यवस्था गर्नसक्छ । वातावरणमा लगानी गर्न पैसा पर्दैन । बिजुली यातायत तथा बिजुली चुलोमा लगानीमा पैसा परे पनि पछि फाइदा हुन्छ । हरित अर्थतन्त्रमा लाने हो भने फाइदा धेरै हुन्छ ।
अप्रत्यक्ष फाइदा धेरै छन् । जस्तै वातावरणीय प्रदूषणका कारण रोगीहरूको संख्या बढिरहेको छ । नियन्त्रण गर्ने हो भने त उपचारका क्रममा आवश्यक पर्ने खर्च बचाउन सकिन्छ नि ।

दिगो विकासको लक्ष्य पूरा गर्न वातावरण स्वच्छताको भूमिका कस्तो रहन्छ ?
दिगो विकासका लक्ष्यहरू १७ वटा छन् । धेरै लक्ष्य पूरा गर्न स्वच्छ वातावरणले भूमिका खेल्छ । स्वस्थ वातावरणसँग सम्बन्धित हो । वातावरण प्रदूषणका कारण धेरै मानिसमा क्यान्सरजस्ता डरलाग्दा रोगहरू लागिरहेका छन् । अर्को लक्ष्य भनेको ऊर्जासँग सम्बन्धित छ । हामी वैकल्पिक ऊर्जामा जाने भनिरहेका छौं । कतिपय ‘एसडीजी गोल’हरूसँग यसकोे प्रत्यक्ष सम्बन्ध र कतिपयसँग अप्रत्यक्ष भूमिका हुन्छ । वातावरणका मुद्दाहरू कृषि, स्वास्थ्य, ऊर्जा, यातायात लगायतसँग जोडिने भएकाले दिगो विकासका लक्ष्य पूरा गर्न वातावरणको ठूलो भूमिका हुन्छ ।

सरकारले थालेको विभिन्न अभियानजस्तै प्लास्टिक झोला प्रतिबन्ध त कहिले सवारी साधनको प्रदूषण मापनको कार्यक्रमले चर्चा बटुले, तर निन्तरता हुन सकेन । यहाँलाई के लाग्छ, सरकारको नीति कमजोर भएर हो या नियति नै खराब हो ?
नीति होइन, मलाई त नियति नै खराब लाग्छ । जस्तै बसकोे प्रदूषण सडकमा नै मन्त्री गएर नापियो, तर अहिले छैन । यसको नियत चर्चा पाउन सीमित भयो । सिस्टम बसालेर जाने हो भने गाह्रो त होइन नि । ग्रिन स्टिकरमा अनियमितता भन्ने कुराहरू पनि आएको छ । मापन गरेर अटोमेटिक प्रिन्ट गर्ने र त्यही टाँस्ने परिपाटी हुनुपर्छ । स्टिकर सरकारबाट मात्रै किन निजी क्षेत्रबाट पनि बाँड्न सकिन्छ नि । विदेशमा त्यही गरिन्छ । सरकारले नियमन बढाउनुपर्छ । सरकारले चेक गर्दा प्रभावकारी भएन ।
प्लास्टिकको झोला केही हदसम्म व्यवस्थापन भएको छ, तर अझै अनुगमन बढाउनुपर्छ । नियम बनाइयो भने उपभोक्ताले पनि प्रयोग गर्दैनन् । विकल्प तयारचाहिँ गर्नुपर्छ । नियम बनाएर कार्यान्वयन गर्नुपर्छ । समस्या सोचमा छ । नियतमा छ ।

आर्थिक समृद्धिका लागि वातावरणीय सुधार पनि जरुरी छ ?
हामी प्राकृतिक स्रोतमा धनी छौं । आफूसँग भएको स्रोतको सदुपयोग गरेर समृद्धि ल्याउन सकिन्छ । प्रकृतिमा आधारित पर्यटन विकास हुनसक्छ । ठूला संरचना हुँदैमा समृद्धि हुँदैन । विश्व हरित अर्थतन्त्रमा गइरहेको छ । आर्थिक समृद्धि र वातावरण संरक्षणलाई सँगै अगाडि बढाउनुपर्ने हुन्छ । रूख फाँडेर निजगढ एयरपोर्ट बनाइँदै छ । विकल्प हेर्नुपर्छ नि, जहाँ रूख कम पर्छ ।

विकास र वातावरणलाई एक–अर्काको विरोधी पनि भनिन्छ नि ?
विकास र वातावरण एकअर्काको विरोधी हुँदै होइन । को विकासविरोधी छ र ? नेपाली समृद्धि नहोस् भनेर कसले भनेको छ र ? आर्थिक विकास र वातावरणलाई सँगै लान सकिन्छ भन्ने कोस्टारिकाले प्रमाणित गरेको छ । न्युयोर्कमा साइकल लेन बनाएको छ । विकास अगाडि बढाउनुपर्छ । वातावरण र मानवमैत्री विकास हुनुपर्छ ।