कारोबार संवाददाता
शुक्रवार, बैशाख २७, २०७६
889

लोकेन्द्र विष्ट
पूर्वमन्त्री
वि.सं. २०३५ देखि नै विद्यार्थी राजनीतिमा जोडिँदै राजनीतिक आन्दोलनकै क्रममा तीन कालमा चार जेल जीवन बिताएका पूर्वमन्त्री लोकेन्द्र विष्ट अहिले एकाएक राजनीति छाडेर कृषि पेसामा लागेका छन् । वि.सं २०२१ मा रुकुम जिल्लाको धौलावाङमा जन्मिएका विष्टले मुसिकोट, खलंगाको विद्यालयबाट एसएलसीसम्म अध्ययन पूरा गरेका छन् । विष्ट तत्कालीन नेकपा माओवादीको राप्ती क्षेत्रीय ब्युरोको सदस्य हुँदै वि.सं २०५१ मा केन्द्रीय सदस्य हुँदै काभ्रेको कामीडाँडा बैठकपछि पोलिटब्यूरो सदस्य बन्न पुगेका थिए । शान्ति प्रक्रियापछि वि.सं. २०६३ को अन्तरिम विधायकमा माओवादीका ७७ सांसदमध्येमा मनोनीत सांसद बनेका विष्ट झलनाथ खनालको नेतृत्वमा बनेको सरकारमा वि.सं २०६७ सालमा जम्मा १३ दिन स्वास्थ्यमन्त्री बने । त्यसपछि डा. बाबुराम भट्टराई नेतृत्वमा वि.सं. २०६८ मा गठन भएको सरकारमा ६ महिना पर्यटनमन्त्री पनि बने । वि.सं. २०५१ मा केन्द्रीय कमिटीमा नेतृत्व गर्दा रुकुममै गिरफ्तार भएका विष्ट लगातार ७ वर्ष जेल परे । जेलमुक्त भएको केही समयमै फेरि उनलाई गिरफ्तार गरियो । पछि तत्कालीन माओवादीले नेपाली कांग्रेसका नेता मुक्तिप्रसाद सुवेदीलाई अपहरण ग¥यो । उनै सुवेदीसँगको प्रिज्नल एक्सचेन्जअन्तर्गत उनी छुटे । त्यसपछि उनलाई भारतको पटनाबाट भारतीय प्रहरीले पक्राउ गरी कम्तीमा साढे दुई वर्ष पटना जेल र नजिकैको बक्सर जेलमा थुनियो । त्यसपछि मुलुकमा शान्ति प्रक्रिया सुरु भएपछि वि.सं. २०६३ मा रिहा भए । माओवादीको सक्रिय राजनीति गर्दै मन्त्रीसमेत बनेर अहिले साधारण कृषकको पेसामा रहेका विष्टसँग कारोबारकर्मी अमरराज आचार्यले कुराकानीको सार ः

यति लामो राजनीतिक इतिहास बोकेर मन्त्रीसमेत भइसकेको मान्छे किन अहिले चटक्क राजनीति छाड्नुभयो त ? फेरि राजनीतिमा फर्कने विचार छैन ?
राजनीतिबाट मेरो स्वेच्छिक अवकाश हो, बिट मारेको होइन । ढुक्क हुनुस्, अब म राजनीतिमा फर्कन्न । सक्रिय राजनीति गर्ने भनेको बढीमा दुई कार्यकाल हो । सक्रिय राजनीतिमा करिब ६० वर्षभन्दा माथि जानु हुँदैन भन्ने मेरो मान्यता हो । विदेशको राजनीति पनि तपाईंले हेर्नुभो भने त्यहाँ पनि आजीवन राजनीति गर्ने कुनै राजनीतिज्ञ छैनन् । तर, यहाँ त ज्ञानेन्द्रियहरूले काम गर्न छाडे पनि राजनीति नछाड्ने प्रवृत्ति छ । यो लोकतान्त्रिक अभ्यासको सुखद पक्ष होइन । कसले कति समयसम्म राजनीति गर्ने भन्ने कुरा माओवादी पार्टीको रोल्पाको दुम्ला बैठकमा जारी एक्काइसौं शताब्दीको जनवाद कार्यपत्रमा पनि स्पष्ट रूपमा उल्लेख भएको कुरा हो ।

तपाईंले राजनीति छाड्नुको कारण पार्टी नेतृत्वप्रतिको असन्तुष्टि पनि हो कि ?
मैले भनिसकें नि, राजनीति आजीवन पेसा होइन । तर, यहाँ राजनीतिलाई एउटा पेसा बनाइँदै छ, जुन एकदमै गलत प्रवृत्ति हो । अहिलेको अवस्था भन्नुहुन्छ भने कुनै पनि राजनीतिक पार्टीमा संस्थागत नेतृत्वको विकास हुन सकेको छैन । ‘एस म्यान’ हरूको झुन्ड हरेक पार्टीमा हावी भएको छ । यसले क्वालिटी अफ लिडरसिपको विकास हुन सकेको छैन । वर्तमान राजनीतिज्ञमा पारदर्शिता र जवाफदेहिता केही पनि देखिँदैन । छलकपटको राजनीति व्याप्त छ । अहिले राजनीतिको अपराधीकरण र अपराधको राजनीतीकरण भएको छ । हेर्नुस्, अहिले मुलुकमा अर्बौंको भ्रष्टाचार, त्यसैको उपज हो । वाइडबडी काण्डदेखि सुनकाण्ड हुँदै अहिले खुला मञ्चसमेत बिक्री भइसकेका समाचारहरू आइरहेका छन् । खोइ त सुशासन, खोइ त जवाफदेहिता ? हरेक पार्टीमा गुट–उपगुट र मसिना झुन्डले पार्टीलाई नै अत्यन्तै कमजोर बनाएको अवस्था छ । यस्तो अवस्थामा राजनीतिमा झुन्डिरहनुको कुनै अर्थ देखिनँ । अहिले साधारण किसान भएर खेतबारीमा छु ।

यति धेरै समय राजनीतिमा समर्पित हुनुभयो, तपाईंको विचारमा क्रान्ति पूरा भएकै हो त ?
अहँ, पूरा भएको छैन । अहिलेसम्मका क्रान्तिले आंशिक उपलब्धिहरू मात्रै हासिल भएका छन् । मुख्य रूपमा भन्नुपर्दा हालसम्मको क्रान्तिले मूलभूत रूपमा पाँचवटा उपलब्धि मात्र हासिल हुन सके । गणतन्त्रको स्थापना, संघीयता, धर्म निरपेक्षता, समानुपातिक समावेशिता र राजनीतिक जनचेतनाको जागृति मात्रै भएको छ । त्यसबाहेक अन्य कुनै पनि उपलब्धि क्रान्तिले दिन सकेको छैन ।

यसको मतलव फेरि अर्को क्रान्ति आवश्यक छ भन्नुभएको हो ?
हो, क्रान्ति अधुरो भएको छ । जनताका जे अपेक्षाहरू थिए, ती अझै पूरा हुन सकेका छैनन् । फेरि अर्को क्रान्तिले ती आवश्यकताहरूको परिपूर्ति गर्ने छ । तर, अब तत्कालै फेरि अर्को सशस्त्र क्रान्ति हुन्छ जस्तो मलाई लाग्दैन । अर्को क्रान्ति गर्न यो हाम्रो पुस्ताका नेताहरू सबै समाप्त भइसकेको हुनुपर्छ । भावी पुस्ताले आफ्नो आवश्यकता महसुस गरी कस्तो क्रान्ति गर्ने भन्ने मार्ग त्यही बेला कोर्नेछन् । मलाइ लाग्छ, तीन÷चार दशकपछि फेरि यो अधुरो क्रान्तिलाई पूरा गर्ने अर्को क्रान्ति हुन सक्छ ।

एकपटक मन्त्री भइसकेका राजनीतिक व्यक्तिहरूको आर्थिक स्टाटस अझै पनि मन्त्री बन्दाको समयभन्दा कमजोर देखिंदैन । स्रोत नभएरै पनि नेताहरूले खर्च गरिरहेका छन्, तर तपाईं राजनीति छाडेर कृषिक्षेत्रलाई रोज्दै हुनुहुन्छ ?
हो, सबै नेताको आर्थिक स्रोत क्लियर हुनुपर्छ, तर त्यो अवस्था देखिएन । मन्त्री हुँदा जस्तो सेवा–सुविधामा थिए, त्यसपछि नेता÷कार्यकर्ता बन्दा पनि त्यो सेवा–सुविधामा कमी आएको देखिँदैन । कहाँबाट जुट्छ आर्थिक स्रोत ? यो सबैको विचारणीय विषय हो । तर, सबै राजनीतिक दलका नेताहरू यो विषयमा गम्भीर छैनन् । सम्पत्ति विवरण मागियो भने आफू शून्य भएको देखाउँछन् । सम्पत्तिजति सबै श्रीमतीको नाममा हुन्छ, कहाँबाट कमाइन् श्रीमतीले ? यो विषयमा नेताहरू कहिल्यै गम्भीर बनेनन् । यसले पनि मुलुकमा राजनेताहरूलाई हेर्ने दृष्टिकोण नकारात्मक भएको छ ।

पार्टीमा यति धेरै समय लगानी गरेको मान्छे तथा दुई पटक सरकारको मन्त्री भइसकेको तपाईंले चटक्क राजनीति छाड्दा घरपरिवार र अन्य इष्टमित्रबाट कुनै प्रश्न आएन ?
अहँ, मलाई त्यस्तो प्रकारको प्रश्न कुनै पनि तह र तप्काबाट आएको छैन । परिवारमा पनि सुरुमा केही बहस भएको थियो, तर अहिले ठीकै गरिस् भन्ने अनुभूति भएको छ । मैले यसो गरिरहँदा मलाई ९९ प्रतिशतले राम्रो भनेका छन् । यो परिवेशमा राजनीति छाडेर यो पेसामा आउँदा मलाई कुनै आत्मग्लानिसमेत भएको छैन, मन चंगा भएको छ ।

राजनीतिबाट स्वेच्छिक अवकाश लिनुभो, के गर्दै हुनुहुन्छ अहिले ?
तपाईले देखिहाल्नुभो । म यसअघि कालोधानको खेतीमा थिएँ, अहिले बिजौरीमा केही जग्गा लिएर ड्र्यागन फ्रुटको खेतीमा छु । दुई–चार जना साथी मिलेर यो खेती सुरु गरेका छौं । नयाँ काम गर्ने सोचसँगै अनुकरणीय पेसा गर्ने चाहनाले पनि यो पेसा रोजेका हुँ । तुलसीपुर उपमहानगरपालिका वडा १८, बिजौरीमा ६६ कट्ठा जग्गा भाडामा लिएर यो खेती सुरु गरेका छौं । अहिले बिरुवा रोप्दैछौं । अबको दुई वर्षमा यसले फल दिनेछ । त्यस बेलासम्म हाम्रो कम्तीमा २ करोड रुपैयाँसम्म लगानी पुग्नेछ । यो हामीले ऋणमा काम गरिरहेका छौं, तर राज्यबाट पाएको सहुलियत ऋण भने होइन । अब थप लगानी आवश्यक प¥यो भने त्यसतर्फ पनि पहल गर्ने सोंचमा छौं ।

के हो ड्रयागन फ्रुट ? बताइदिनुस् न ?
यो नेपालका लागि नयाँ कृषि अभ्यास हो । किनकि यो फलफूलको मुख्य बजार यहाँभन्दा पनि चाइना, भियतनाम र थाइल्यान्डमा बढी छ । स्वास्थ्यवद्र्धक एवं मानव शरीरमा धेरै प्रकारका रोगसँग प्रतिरोध गर्न सक्ने क्षमता भएको यो फल जुनसुकै खालका दीर्घरोगीहरूका लागि पनि उपयुक्त हुन्छ । सुगर, उच्च रक्तचाप, युरिक एसिड, थाइराइडलगायतका बिरामीले पनि यो फल उपभोग गर्न सक्छन् । सामान्यतः यसको मूल्य ठाउँ हेरेर ६ सय रुपैयाँ प्रतिकिलोदेखि १ हजार रुपैयाँ प्रतिकिलोसम्म पर्छ । उत्पादन भएपछि बजार खोजी गर्ने योजना बनाएका छौं । ऊष्ण जलवायुमा राम्रो फल दिने नेचर भएको यो प्रजातिले बिजौरीको जमिनमा पनि राम्रै सप्रने हामीले अपेक्षा गरेका छौं । धेरै समय मैले यो विषयमा अध्ययन र अनुसन्धान गरेपछि यहाँ १५ वर्षका लागि जग्गा भाडामा लिएर यो खेती सुरु गरेका छौं ।

लगानी कहिलेसम्म उठाउने सोच बनाउनुभएको छ ?
यो बिरुवाले फल दिनै कम्तीमा दुई वर्ष लाग्छ । तेस्रो वर्षदेखि सामान्य लगानी उठाउन सुरु गर्ने हो । हाम्रो अनुमानअनुसार पहिलो पञ्चवर्षीय योजनामा हामी कमाउन सुरु गर्नेछौं । दोस्रो पञ्चवर्षीय योजनामा हाम्रो करिब–करिब लगानी उठ्नेछ । त्यसपछि मुनाफाको कुरा हो । त्यो पछि कस्तो फल दिन्छ भन्नेमा भर पर्छ । मुनाफाको कुरा पछि मात्रै थाहा हुनेछ । यद्यपि घाटा हुने सम्भावना धेरै नहोला ।

किन यही पेसा छान्नुभयो त ?
म नयाँ काम गर्न चाहन्थें, त्यसैले यही बिजौरीकै थानागाउँमा कालो धान रोपेको थिएँ । त्यसको पनि बजार राम्रो भएको छ । अघिल्लो वर्ष २ सय मुरी कालो धान फलेको थियो । सबै बिक्री भइसकेको छ । काठमाडांैमा त्यसको अझ धेरै माग थियो । अत्यन्तै पौष्टिक यो धानको चामललाई अन्य चामलमा मिसाएर खाए मात्र सहजै रूपमा पचाउन सकिन्छ । न्युट्रेसन धेरै भएकाले यसको मूल्य पनि अन्य धानको चामलभन्दा निकै बढी छ । देख्दा धान उस्तै देखिए पनि चामल यसको कालो हुन्छ ।
अहिले ड्र्यागन फ्रुटको खेतीमा लागेको छु । यो यहाँका लागि व्यावसायिक रूपमा गरिएको नौलो खेती पनि हो । धेरै जानकारी लिएपछि मात्र मैले यो पेसा सुरु गरेको हुँ, ताकि मेरो पेसाले वैदेशिक रोजगारीमा जाने युवाहरूका लागि पनि अनुकरणीय बन्न सकोस् । अन्य युवाहरूले पनि सानोतिनो कमाइका लागि खाडी मुलुक छिर्न नपरोस् । अर्को कुरा, यसलाई चाहेका सरकारका विभिन्न तहले पनि स्याम्प्लिङ गर्न सकोस् भन्ने हो । किनकि मुलुकलाई कृषिबाट समृद्ध बनाउन सकिन्छ, त्यसैले यो नमुना बन्न सकोस् भन्ने मेरो चाहना हो, तर राज्यले कृषिलाई प्राथमिकता दिन सकेको छैन । राज्यको स्पष्ट कृषि नीतिसमेत छैन । राज्यले कृषिक्षेत्रमा दिने अनुदानसमेत वास्तविक कृषकहरूले उपयोग गर्न सकेका छैनन् । यसतर्फ राज्यले ध्यान दिएर अनुदानको सदुपयोग गर्नु जरुरी छ । कृषिबाटै देशको समृद्धि हासिल गर्ने सकिनेछ ।