यादव हुमागाई
सोमवार, बैशाख १६, २०७६
1626

रमेशकुमार भट्टराई
प्रमुख कार्यकारी अधिकृत, महालक्ष्मी लाइफ इन्स्योरेन्स
बिमा व्यवसायमा नयाँ कम्पनी थपिएसँगै बिमाको पहुँच १७ प्रतिशत पुगेको छ । नयाँ कम्पनीको प्रतिस्पर्धाले बिमाको पहुँच वृद्धि भए पनि बजारमा अस्वस्थ प्रतिस्पर्धा हुन थालेको र यसले समग्र बिमा व्यवसायलाई नै बदनाम गराउने जोखिम बढेको औंल्याउँछन् महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिृकत रमेशकुमार भट्टराई । सञ्चालक समिति हुँदै अभिकर्तासम्म बजार विस्तारका लागि दबाव भएकाले कम्पनीहरूले प्रुडेन्ट नर्मस् बिर्सेको र मिस सेलिङसमेत हुने गरेको उनको अनुभव छ । त्रिभुवन विश्वविद्यालयबाट एमबिए तथा बिएल गरेका भट्टराईले नेपाल बैंकबाट आफ्नो प्रोफेसनल क्यारियर सुरु गरेका थिए । बैंक छाडेपछि महालक्ष्मी फाइनान्स, नेपाल लाइफ, एसियन लाइफ इन्स्योरेन्स, महालक्ष्मी विकास बैंक हुँदै पुनः महालक्ष्मी लाइफ इन्स्योरेन्सको नेतृत्व सम्हाल्न थालेका उनीसँग जीवन बिमा व्यवसायको अवस्था, समस्या र सम्भावनाका साथै समग्र बिमा व्यवसायबारे कारोबारकर्मी यादव हुमागाईले गरेको कुराकानीको सार :

नयाँ कम्पनी स्थापना गरी व्यवसायको प्रचार–प्रसारका लागि देशभर डुलिरहनुभएको छ । बिमाबारेको बुझाइ कस्तो पाउनुभयो ?
बिमा व्यवसायमा नयाँ कम्पनीहरू थपिएपछि प्रतिस्पर्धाले कम्पनीहरू गाउँगाउँसम्म पुगेका छन् । नयाँ कम्पनीहरूले आफूलाई स्थापित गर्न र लगानीकर्तालाई प्रतिफल दिन गाउँगाउँसम्म व्यवसाय विस्तार गरेका छन्, जसले गर्दा बिमाप्रति आकर्षण र जनचेतना बढेको छ । तर, अझै पनि सर्वसाधारणले बिमालाई जोखिम बहन गर्नेभन्दा पनि लगानीका रूपमा लिएका छन् । बिमा भनेको लगानी होइन, यो अनिवार्य बचत गराउने र भोलि सम्भावित दुर्घटनाको जोखिम बहन गर्ने माध्यम हो । विकसित देशहरूमा मानिसहरू जोखिम बहनका लागि मात्र बिमा गर्छन् । हामीकहाँ भने लगानीका रूपमा बिमा गर्छन् । यसबाट उनीहरूको जोखिम कभर पनि भइरहेको छ । विकसित देशहरूमा राज्यले कर उठाएपछि सामाजिक सुरक्षाको जिम्मेवारी पनि लिएको हुन्छ । हामीकहाँ राज्यले कर उठाए पनि त्यो जिम्मेवारी नलिएको अवस्थामा त्यो जिम्मेवारी बिमा कम्पनीहरूले लिएका छन् । आज बिमा कम्पनीका अभिकर्ताहरू गाउँगाउँसम्म घरघरमा पुगेर बिमाप्रति काउन्सिलिङ गरिरहेका छन्, जसका कारण भोलि भैपरी आउने दुर्घटनाबाट परिवारलाई पर्ने आर्थिक भारबाट जोगाउन बिमा गर्नुपर्छ भन्ने सोचाइ विकास भइरहेको छ ।

सर्वसाधारणले जोखिम बहनका लागि बिमा गर्नुपर्छ भन्ने कहिले बुझ्लान् त ?
२०७२ सालको भुइँचालोमा साढे ९ हजार सर्वसाधारणको मृत्यु हुँदा ३ सय हाराहारीमा मात्र बिमा भएको पाइयो । त्यो घटनाबाट मानिसहरूले बिमा गर्नुपर्ने रहेछ भन्ने त सिके, तर सयमक्रमसँगै बिर्सिए । भर्खरै तराईमा आएको हुरीमा २६ जनाको मृत्यु भयो, तर एक जनाको पनि बिमा थिएन । हुनेखाने सभ्रान्त वर्गमा बिमा गर्नुपर्छ भन्ने सोच छ । तर, गाउँमा त अभिकर्ताकै दबाबमा बिमा भइरहेको छ । हिजोभन्दा पहुँच बढिरहेकै छ । स्वस्फूर्त रूपमा समय लाग्छ । त्यसका लागि बिमासम्बन्धी चेतना जगाउने कार्यक्रमका साथै आकर्षित गर्ने नीति पनि आवश्यक छ ।

प्राकृतिक विपत्तिपछि सरकारले लैजाने राहत प्याकेजमा बिमा समावेश हुँदैन । सरकारले बिमाको महŒव बोध नगरेको हो ?
सरकारले नबुझेको होइन, सरकारको प्राथमिकतामा बिमा छैन । जसरी सरकारले प्रत्येक पालिकामा बैंक पु¥याउनुपर्छ, हरेक नेपालीको बैंक खाता हुनुपर्छ भनेर अभियान सञ्चालन गरिरहेको छ, त्यसरी बिमा प्राथमिकतामा छैन । सरकारले स्वास्थ्य बिमा कार्यक्रम सुरु गर्दा मात्र बिमा गर्नुपर्छ भन्ने सन्देश गाउँगाउँसम्म पुगेको छ । निर्जीवन बिमाका केही क्षेत्रमा अनुदानका व्यवस्था र अनिवार्य प्रावधानले पनि बिमाको विस्तारमा सघाउ पु¥याएको छ ।

बिमालाई अनिवार्य गर्नुपर्छ भन्ने तपाईंको भनाइ हो ?
सबैको आर्थिक अवस्था समान नहुने भएकाले सरकारले अनिवार्य गर्न त सक्दैन । हिजोको दिनमा गाडीले मान्छे किच्दा बाटो बन्द हुन्थो । तेस्रो पक्ष बिमा अनिवार्य गरेपछि दुर्घटनामा मान्छे मर्दा बाटो बन्द भएको सुनिँदैन । त्यो बिमाको सकारात्मक पक्ष हो नि । एकैपटक सबैमा बिमा अनिवार्य गर्न सकिँदैन । तर, क्षेत्र हेरेर विस्तारै अनिवार्य गराउँदै जान सकिन्छ । एक–दुई पटक अनिवार्य गरेपछि मानिसले यसको महŒव बुझ्छ र बिमा गर्छ ।
यसबाहेक राज्यले बिमालाई प्रोत्साहन गर्ने गरी अनुदान र छुट पनि दिन सक्छ । अहिले जीवन बिमा गर्दा २५ हजारसम्म प्रिमियममा कर छुट छ । यसलाई १ लाख गर्न सके त्यो छुटको लोभमा पनि बिमाको पहुँच बढ्न सक्छ ।

जीवन बिमाका ‘ब्रान्ड एम्बेसडर’ मानिने अभिकर्ताको भूमिका प्रभावकारी नहुँदा सर्वसाधारणमा सही रूपमा बिमा पुग्न नसकेको आरोप छ नि ?
अहिले एसएलसी पास गरेको व्यक्ति अभिकर्ता भएर काम गर्न पाउने कानुनी व्यवस्था छ । कम्पनीहरूले एसएलसी पास भएका व्यक्तिलाई छोटो अवधिको तालिम दिएर बजारमा पठाउँछन् । अभिकर्ताहरू कमिसनकै लागि परिचालित भएको अवस्था छ । गुणस्तरीय र व्यावसायिक अभिकर्ता बजारमा नभएकाले बिमा क्षेत्रले चाहेजस्तो उपलब्धि दिन सकेको छैन । ‘पुस सेल’ का आधारमा ‘मिस सेलिङ’ भइरहेको छ । अभिकर्ताले जुन पोलिसीमा बढी कमिसन पाउँछन् त्यसैलाई अघि सारेको अवस्था छ ।

बैंकहरू पनि एजेन्सी बनेर बिमा पोलिसी बिक्री गरिरहेका छन् । उनीहरूको भूमिका पनि प्रभावकारी नभएको हो ? 
बैंकहरूले पनि प्रोडक्टका बारेमा नबुझी टार्गेट राखेर पोलिसी बिक्री गरिरहनुभएको छ । मैले बैंकहरूसँग सम्झौता गर्दा अभिकर्ताले भनेजस्तो भन्न पाउनुहुन्न तपाईंहरूसँग जनशक्ति छ, ग्राहकलाई आवश्यकताअनुसार बुझाएर मात्र बिमा पोलिसी बिक्री गर्नुपर्छ भनेको छु । २०–३० प्रतिशत कमिसनको लोभमा जथाभावी प्रोडक्ट बेच्दा भोलि बैंकिङ क्षेत्रलाई नै अप्ठ्यारो पर्छ । जब मान्छेले आफूले चाहेको भोलि पाउँदैन, त्यसले बिमासँगै बैंकिङ क्षेत्रमा पनि नकारात्मक असर पर्छ । गाउँगाउँको बैंकमा ग्राहकले आएर धर्ना दिने अवस्था आउन सक्छ ।
अहिले बैंक–इन्स्योरेन्स भने पनि एजेन्सी सम्झौता हो । बैंकहरूले कमिसनको लोभमा आफ्नो मुख्य काम छोडेर बिमातिर आकर्षित भएको अवस्था छ । अझै पनि बैंकहरूले बिमा पोलिसीका फिचरहरू नै नबुझी बिक्री गरिरहेका छन् । बैंकहरूबाट मिस सेलिङ भइरहेको छ । अभिकर्ता व्यक्तिगत भएकाले उसले फाइदा हेर्नु स्वाभाविक मान्न सकिएला । तर, बैंकहरूले त त्यसो गर्नुभएन नि ! बैंक फाइनान्ससियल एड्भाइजर भएकाले ग्राहकलाई उपयुक्त सल्लाह दिनुपर्छ, कमिसनको लोभमा मिस सेलिङ गर्नु हुँदैन ।

अभिकर्तालाई कसरी जिम्मेवार बनाउन सकिएला ?
एउटा अभिकर्ताले एकपटक बिमा पोलिसी बिक्री गरेपछि ऊ सक्रिय नभएको अवस्थामा पनि १० वर्षसम्म उसको खातामा कमिसन गइरहने कानुनी व्यवस्था छ । त्यो आफंैमा गलत हो । अभिकर्तालाई बिमा पोलिसी बिक्री गर्न मात्र नभई भोलि दाबी–भुक्तानी लिने प्रक्रियासम्म सहजीकरण गर्नका लागि कमिसन दिएको हो नि !
पहिलो र दोस्रो वर्ष राम्रो सर्भिस दिने अनि नयाँ ग्राहक खोज्न जाने तर पुरानालाई सेवा नदिने प्रवृत्ति गलत हो । यसमा बिमा समितिले सोच्नुपर्ने कुरा, कुनै अभिकर्ताले निरन्तर सेवा दिँदैन भने अभिकर्ताको कमिसन रोक्ने मेकानिजम बनाउन आवश्यक छ । आर्थिक हिसाबकिताब दण्डित गर्नु मात्र प्रभावकारी हुन्छ ।

अभिकर्ताको शैक्षिक योग्यता पनि बढाउनुपर्ने आवश्यकता हो ?
देशमा पर्याप्त रोजगारी नभएको अवस्थामा एसएलसी पासलाई लाइसेन्स दिनु गलत मान्दिनँ । तर, अभिकर्तालाई हामीले दिने तालिम प्रभावकारी बनाउन आवश्यक छ । मास्टर गर्नेले राम्रो गर्छ, एसएलसीले गर्दैन भन्ने होइन । मानिसको व्यक्तिगत इच्छाशक्ति र क्षमतामा पनि भर पर्ने कुरा हो । टेनिङको गुणस्तर विकास गर्न आवश्यक छ ।
प्रतिस्पर्धाका कारण अभिकर्ताको तालिम शुल्क त घटेको छ तर तालिमको गुणस्तर राम्रो छैन । आज बिमा क्षेत्रमा ४ लाख ७७ हजार अभिकर्ता छन् । त्यसमध्ये ५० प्रतिशत सक्रिय भए पनि साढे २ लाखले रोजगारी पाए । जसका कारण बिमाको पहुँच पनि बढेको छ । तर, यसलाई व्यवस्थित र व्यावसायिक बनाउन गुणस्तरीय तालिममा जोड दिन भने आवश्यक छ ।

नयाँ कम्पनी थपिएपछि अस्वस्थ प्रतिस्पर्धाकै कारण अभिकर्तालाई विदेशमा तालिम दिने, कर्मचारीलाई गाडी सुविधा दिने विषयमा बिमा समितिले कडाइ ग¥यो नि ?
कुनै पनि क्षेत्रमा विकासको चरणमा विकृति आउँछ । सुरुदेखि नै एकदमै राम्रो बनाउँछु भन्यो भने विकासको प्रक्रिया नै अवरुद्ध हुन्छ । त्यसैले सुरुमा दायरा फराकिलो बनाउनै पर्छ । हिजो राष्ट्र बैंकले बैंकहरूलाई सजिलो गरी लाइसेन्स नदिएको भए बैंकिङ पहुँच ६० प्रतिशत पुग्दैन थियो । तर, बढी लाइसेन्स दिँदा बैंकमा विकृति पनि देखिए । बिमामा पनि लाइसेन्स टाइट गर्दा बिमाको पहुँच ७ प्रतिशतमा खुम्चिएर बस्यो । कम्पनी थप्नेबित्तिकै पहुँच त बढ्यो । सबै कम्पनीलाई आफूलाई टिकाउन र स्थापित गराउन लागेकाले केही अस्वस्थ प्रतिस्पर्धा छ । पैसाको बलमा व्यापार ल्याउने विकृतिलाई हटाउन बिमा समितिले विदेश घुम्ने, गाडी सुविधा दिन रोक लगाएको हो ।
बिमा कम्पनीहरू प्रुडेन्ट नर्मसमा बसेका छैनन् । कर्पोरेट एजेन्सीहरूलाई कमिसनबाहेक १ रूपैयाँ पनि नदिनु भनेर बिमा समितिको लिखित निर्देशन छ । तर, कतिपय बिमा कम्पनीले बैंकका कर्मचारीलाई घुमाउरो पाराले पैसा दिने, विदेश भ्रमणको लोभ दिने गरेको सुनिएको छ । यी सबै गलत भइरहेको छ । व्यापार गुणस्तरीय हुनुप¥यो नि । आज बैंकबाट ऋण लिनका लागि जबरजस्त बिमा गरेको व्यक्तिले अर्को वर्ष किस्ता नै तिर्दैन र बिमा पोलिसी ल्याप्स हुन्छ । बैंकहरूका कारणले अब जीवन बिमामा ल्याप्सको मात्रा डरलाग्दोसँग बढ्ने खतरा छ । जीवन बिमा लामो अवधिको व्यवसाय हो । तर, यहाँ नयाँ–नयाँ मान्छे सिइओ भएका छन्, चार वर्षपछि म हुन्नँ, अहिले जसरी भए पनि व्यवसाय बढाऔं भन्ने मानसिकतामा काम भइरहेको छ । हिजो ह्वात्तै आएका बैंक पनि डुबे । आत्तिएर व्यापार बढाउन थाल्यो भने आफ्नो खुट्टामा आफैं बन्चरो हान्ने काम हो । नयाँ कम्पनीलाई लाइसेन्स दिएकाले केही अस्वस्थ प्रतिस्पर्धा भइरहेको छ । यसलाई समितिले बिस्तारै ट्र्याकमा ल्याउनुपर्छ ।

बिमाका संस्थापक लगानीकर्ताले व्यवस्थापनलाई व्यापार बढाउन अत्यधिक दबाब दिएको सुनिन्छ । वास्तविकता के हो ?
अहिले हामी जति कर्मचारी राख्छौं उनीहरूलाई कति व्यवसाय गर्न सक्छौं भनेर लिखित कमिटमेन्ट गछौं । मैले पनि गरिरहेको छु । तर, भर्खरै बिमामा आएको कर्मचारीलाई बढी टार्गेट र प्रेसरले दिएकाले अनइथिकल व्यापार ल्याउन ऊ बाध्य छ । बिमामा मिस सेलिङ भइरहेको छ ।
प्रमोटरले पाँच वर्ष मलाई नाफा चाहिँदैन, तिमीहरू प्रुडेन्ड नर्मसमा बसेर काम गर भन्न सके यो गलत प्रवृत्ती हट्छ । सबै प्रमोटरलाई पहिल्यै वर्ष राम्रो प्रतिफल चाहिएको छ । जबकि राम्रो चल्ने बिमा कम्पनीहरूबाट पाँच वर्ष नाफाको आशा नगरे पनि हुन्छ । बैंकका लगानीकर्ता बिमामा आएका छन् । बैंकको मुद्दती खाताबाट आउने ब्याजभन्दा बढी प्रतिफल त पाउनुप¥यो नि भन्ने बुझाइ छ, जसले गर्दा सिइओ दबाबमा छ, उसले पनि आफूमुनिका कर्मचारीलाई टार्गेट दिएर प्रेसरमा राख्छ । ब्रान्च म्यानेजरले अभिकर्तालाई दवाव दिन्छ । चेनमार्फत प्रेसर तलसम्म गएकाले अनहेल्दी कम्पिटिसन भइरहेको छ । समयक्रमसँगै यो व्यवस्थित हुन्छ ।

बिमा व्यवसायको नेचर नबुझी लगानी गरेकाले समस्या भएको हो ?
हामीकहाँ सेयर बजारलाई हेरेर लगानी गरिन्छ । हिजो जीवन बिमा कम्पनीको सेयर मूल्य ५–६ हजारसम्म पुग्यो । आज पनि बैंकहरूको भन्दा बिमा कम्पनीको मूल्य राम्रो छ । लगानीकर्ताले बिमाको बिजनेस नेचर नबुझी सेयर बजारलाई हेरेर लगानी गरेका छन् ।

लगानीकर्ताको स्वार्थकै कारण निर्देशिका परिवर्तन गरी घरजग्गामा लगानी गर्न समितिले छुट दियो । यसले जोखिम निम्त्याउँदैन त ?
नेपालमा पुरातनवादी सिस्टमले बैंकिङ क्षेत्र चल्यो, जसका कारण विश्वमा आएको आर्थिक मन्दीले विभिन्न देशमा बैंक डुब्दा नेपालमा केही भएन । कन्जरभेटिभ बैंकिङमा भएका हाम्रा बैंक सुरक्षित भए । बिमामा पनि बिमा शुल्कका रूपमा उठाएको रकम मुद्दति खाता, डेभलपमेन्ट बन्डलगायतका सुरक्षित क्षेत्रमा लगानी गरेकाले समस्या थिएन । अब नयाँ कम्पनीले रियल स्टेटलाई लगानीको आकर्षक क्षेत्रका रूपमा हेरेका छन् । निर्देशिकामा रियलस्टेटबाहेक कृषि पर्यटन क्षेत्रहरू पनि राखिएको छ । तर, लगानीसम्बन्धी निर्देशिका बनाउनुपथ्र्यो । नियामकले कम्पनीहरूलाई जति खुला छोड्छ उति नै नियमहरूले घेर्ने काम गरेन भने परिणाम नकारात्मक आउन पनि सक्छ । कन्जरभेटिभ सिस्टममा सबै बिमा कम्पनीहरू सुरक्षित थिए । नयाँ–नयाँ क्षेत्रमा लगानी गर्ने रूपमा जीवन बिमा कम्पनीहरू क्षमता विकास भएको छैन । स्वनियमन धेरै कम छ । केही हदसम्म समितिले काम गर्दैछ । सर्वसाधारणबाट २०–३० वर्षका लागि लिएको पैसालाई सञ्चालकले जथाभावी आफ्नो हितमा हुने गरी लगानी ग¥यो भने समस्या आउन सक्छ । यसका लागि बिमा समिति चनाखो हुन आवश्यक छ ।

बिमा समितिले क्रस होल्डिङ भएका कम्पनीलाई मर्जरमा लैजाने बताएको छ । यसको आवश्यकता कत्तिको देख्नुहुन्छ ? 
बिमामा क्रस होल्डिङको समस्या छ । नेपालमा जुन क्षेत्र फस्टायो त्यही क्षेत्रमा हाम फाल्ने प्रवृत्ति छ । एउटै व्यक्तिको तीन-चारवटा लाइफ इन्स्योरन्स पनि रहेका छन् । यस्तो हुँदा एक आपसमा मर्ज भएर काम गरे हुन्छ । भर्खरै लाइसेन्स दिएको हुँदा फोर्स गरेर मर्जरमा जाओ भन्न मिल्ने अवस्था छैन । किनकी उनीहरूको काम हेर्न नै बाँकी रहेको छ । १९ वटा कम्पनी देशका लागि धेरै नै हो । अहिले गाउँमा सेवा पुु¥याउनु पनि पर्ने भएकाले अहिलेलाई ठीक छ । कम्तिमा तीन वा पाँच वर्ष काम हेरेर उनीहरूले राम्रो काम गर्न सकेनन् भने मर्ज गराउनुको विकल्प नै छैन । जो टिक्न सक्छ त्यो बाँच्छ, जो सक्दैन त्यो विलय हुन्छ । अहिले क्रसहोल्डिङलाई लिएर मर्जर गराउनका लागि प्रेसर गरियो भने राम्रो सुरुवात हुन्छ ।

पुँजी पु¥याउन नसकेका कारणले मर्जर गर्ने अवस्था आउला ?
अहिले पनि केही बिमा कम्पनीको पुँजी पुगेको छैन । अहिले राइट सेयर जारी गरेर पनि पुँजी पु¥याइरहेका छन् । अहिले एकसय रूपैयाँ राइट सेयर किनेर कम्तिमा पनि एक वर्षमा दुई सयमा बेच्न पाएमा ५० प्रतिशत नाफा भयो त्यो भन्दा राम्रो लगानी अरुमा के मा छ र ? अहिले पनि हकप्रद सेयरमा लगानी गर्नेहरूको आकर्षण नै रहेको छ । त्यसैले पुँजी पु¥याउन गाह्रो हुँदैन ।

बजारमा नयाँ कम्पनीहरू थपिएपछि सेवा सुविधा विस्तार हुन्छ भन्ने जुन प्रकारको सोचाइ रहेको थियो सो अनुसारको काम भएको देख्नुभएको छ कि छैन ?
सोचाइअनुसारको काम देखिएको छ । हामी अलि पछि बजारमा आए पनि हामीले नेपालमा कोहीसँग पनि नभएको प्रोडक्ट बजारमा ल्याएका छौं । १५ वर्षमा दोव्बर हुने र लगानी फिर्ता योजना गरी हामीले दुईवटा प्रोडक्ट बजारमा ल्यायौं । हामीले प्रोडक्ट पनि सस्तो ल्याएका छौं ।
पहिले कपी पेष्ट प्रोडक्टहरू थिए अहिले हामी आफैंले इनोभेसन गरेर ल्याएका छौं र बिक्री पनि सोहीअनुसारले गरेका छौ । कष्ट कम गर्न र इनोभेसनका लागि महालक्ष्मी बिमा कम्पनीले अन्यलाई घच्घच्याएको छ । यो सबै कारणले बिमाको बजार १७ प्रतिशतमा पुगेको छ भने यसलाई पनि हामीले सकारात्मक मान्नुपर्छ ।

धेरै संघर्षपछि महालक्ष्मीले कारोबार सुरु गरेको छ । तपाईंले बिमा बजारमा देखेका सम्भावना के हुन् ?
नेपालमा जीवन बिमाको सम्भावना प्रसस्त छ । त्यो सम्भावनालाई हेरेर हामीले ल्याएका हौं । म बिमा बजारको पहिलो सिइओको रूपमा आएको थिएँ । यसअघि नेपाल लाइफ इन्स्योरेन्स र एसियन लाइफ इन्स्योरेन्सको प्रमुख भएर चलाएँ । त्यो अनुभवले मलाई के थाहा भयो भने जीवन बिमामा अत्यधिक सम्भावना छ भन्ने लागेर यो कम्पनी खोलेर आएको हो । आफ्नै कारणले डेढ वर्ष ढिला गरी बजारमा आइयो । सो समय धेरै अध्ययनहरू भए । यस क्षेत्रमा काम गर्न सकिन्छ भनेर विभिन्न कम्पनीबाट राम्रो मानिसहरू हायर गरेको थिएँ । हामीले यो आर्थिक वर्षमा ५० करोडको व्यापार गर्ने लक्ष्य राख्यौं । दुई वर्षमा नेपालको पछिल्लो १० वटा कम्पनीमा एक नम्बरमा आउने र पाँच वर्षमा सम्पूर्ण बिमा कम्पनीमा सर्वोत्कृष्ट हुने भिजन राखे । बोर्डको प्रेसरभन्दा पनि आफूले आफैंलाई प्रेसर दिए । ४० जिल्लामा तालिम दिइसकेका छौं, २२ वटा शाखा स्थापना गरिसकेका छौं । भिजनलाई वास्तविकतामा लैजाने गरी अघि बढेका छौं । असारभित्रमा ३४ वटा शाखा खोल्ने लक्ष्य राखेका छौं । आज पनि भोलि पनि बचत पनि सुरक्षा पनि हाम्रो नारा हो । व्यापार गर्ने भनेको एजेन्टले र उसलाई प्रमोट गर्ने पनि सोचिरहेका छौं । अब अभिकर्तालाई नै अन्डरराइटिड गर्ने जिम्मा दिने र ग्राहकलाई शाखामै आउनुपर्ने झन्झटबाट पनि मुक्त गर्ने सोचमा काम गरिरहेका छौं ।