कारोबार संवाददाता
शुक्रवार, बैशाख ६, २०७६
630

एकले एकपटक होइन, सयौंले सयौं पटक, आजबाट होइन, वर्षौं अघिदेखि भन्दै आएका छन्— सुदूरपश्चिमको समृद्धिको पाँच आधार कृषि, पर्यटन, जलस्रोत, पूर्वाधार र जडीबुटी हुन् । उता सुन्दर सुदूरपश्चिमको बयान गरिसाध्य छैन । सुदूरपश्चिम प्रदेशलाई प्रकृतिले नै सुन्दरताको आशीर्वाद र सम्भावनाको वरदान दिएको छ । विगतमा विकास भनिए पनि संघीयतामा समृद्धि भन्न थालिएको छ । विकास-समृद्धि संसारभर निरन्तर चलिरहन्छ । सुदूरपश्चिममा हिजो गरेनौं, गर्न सकिएन भन्ने लघुताभास र दोषारोपणभन्दा पनि अब प्रदेशको समुचित, समन्यायिक र सर्वाङ्गीण विकासमा संघ, प्रदेश र स्थानीय तहबाट कुनै पनि कसर बाँकी नराख्ने गरी कदम चाल्नुपर्छ । यसका लागि स्पष्ट सोच, लक्ष्य र दृष्टिकोणको आवश्यकता छ । जति लगानी आवश्यक परे पनि लगाउन सक्ने खुबीका साथ काम गर्नुपर्छ । आवश्यकता र नागरिकको अपेक्षा पनि यही छ । सुदूरपश्चिमले नेपाललाई समृद्ध मुलुकका रूपमा चिनाउने ल्याकत राख्छ । प्रदेशको प्राकृतिक स्रोतलाई उपयोग गर्न सके अरू प्रदेशको दाँजोमा यसले चाँडो समृद्धि चुम्ने स्थानीय विश्वास गर्छन् । उनीहरूले सडक र हवाई कनेक्टिभिटी भरपुर विकास गर्नुपर्ने माग गरेका छन् । पूर्वाधारमा राज्यको लगानी भएपछि निजी क्षेत्रको लगानी पनि बढ्दै जान्छ । प्रदेशमा अहिले स्थानीय ससानादेखि ठूला स्वदेशी एवम् बाह्य लगानीकर्ताको खाँचो छ । प्रदेशका ९ जिल्लामध्ये कैलाली र कञ्चनपुरचाहिँ तराईमा पर्छन् । पूर्वपश्चिम राजमार्गमा पर्ने यी दुई जिल्ला पहाडी क्षेत्रको तुलनामा विकसित पनि छन् । दुई जिल्लाको कृषि उत्पादनले प्रदेशलाई धान्छ । यस प्रदेशको जनसंख्या करिब २६ लाख छ । यहाँका युवा सानो कामका लागि न्यून तलबमा भारत भासिएका छन् । यसलाई रोक्न आवश्यक छ । देशको कुल गार्हस्थ्य उत्पादनमा यस प्रदेशको योगदान १ सय ९० अर्ब रुपैयाँबराबर छ । यो ६.३ प्रतिशत हुन आउँछ । यसैगरी यस प्रदेशमा प्रतिव्यक्ति आय ६ सय ६० अमेरिकी डलर छ । कुल विद्युत् उत्पादन क्षमताको एकतिहाइ क्षमता सुदूरपश्चिम प्रदेशमा रहेको छ । नेपाल सरकारले आगामी वर्षको बजेटको तयारी थालिरहेको सन्दर्भमा यस प्रदेशको समग्र विकासमा बजेट वृद्धि गर्नुपर्ने आवश्यकता देखिएको छ । प्रदेशको विकास र लगानीको क्षेत्र, माग, आवश्यकता, सम्भावना र चुनौतीमा केन्द्रित रही कारोबारका जिल्ला संवाददाताहरूले केही जिल्लाका उद्योग वाणिज्य संघका अध्यक्षहरूसँग गरेको कुराकानीको सार :

दार्चुला जलविद्युत्को हब
मंगलसिंह ठगुन्ना
अध्यक्ष, दार्चुला उद्योग वाणिज्य संघ
दार्चुला नेपाल, भारत र चीन जोड्ने त्रिदेशीय सीमा नाका भएको जिल्ला हो । लगानीको सम्भावनाको प्रचुर सम्भावना रहे पनि हालसम्म जिल्लाका बहुआयामिक विकास हुन सकेको छैन । जिल्लाको विकासका लागि यहाँ विभिन्न अवसर र चुनौती छन् । समग्र सुदूरपश्चिमको विकासका लागि दार्चुला जिल्लाको विकासको खाँचो अहिलेको अवस्था हो ।
यस क्षेत्रमा लगानीका विभिन्न अवसर भए पनि हालसम्म जिल्लाको विकासका लागि कुनै पक्षबाट पनि खासै लगानी गरिएको छैन । जिल्लामा रहेको सबैभन्दा बढी सम्भावनाका रूपमा जलविद्युत्को पछिल्ला दशकमा विकास भएको पाइन्छ । चमेलिया, अपि, अपर चमेलिया, मकरीगाड, माथिल्लो नौगाडलगायतका जलविद्युत् आयोजनाहरू निर्माण भएपछि जलविद्युत्को विकासले गति लिएको छ ।
जलविद्युत्को हबका रूपमा जिल्लाको विकास गर्नका लागि नेपाल सरकारको लगानीको ३० किलोबाट क्षमताको चमेलिया जलविद्युत् निर्माण सम्पन्न भएको छ । यसबाहेक निजी क्षेत्रको लगानीमा देशकै सबैभन्दा छिटो निर्माण सम्पन्न भएको ८.५ किलोवाटको अपि हाइड्रोपावर कम्पनी निर्माण सम्पन्न भइसकेको छ । लगत्तै माथिल्लो नौगाड हाइड्रोपावर, अपर चमेलिया, मकरीगाड जलविद्युत् आयोजनाहरू निर्माणाधीन अवस्थामा छन् । यसबाहेक दार्चुला जिल्लाका अन्य साना लघुजलविद्युत् आयोजनाहरू जोडेर दार्चुला जिल्लाबाट झन्डै सय किलोवाट विद्युत् उत्पादन हुनेछ । जिल्लाको लगानीको पहिलो अवसरका रूपमा जलविद्युत्लाई लिन सकिन्छ ।
लगानीको अवसरका रूपमा यस क्षेत्रको पर्यटनले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्छ । देशकै सातौँ धामका रूपमा परिचित मालिकार्जुन धामलगायत जिल्लामा रहेका हुनैनाथ, लटिनाथ, भगवतीलगायतका धार्मिक स्थलहरू, ऐतिहासिक उकु भग्नावशेष, जिल्लाका चार–पाँच ठाउँमा रहेका तातोपानी, अपि हिमाल, अपिनाम्पा संरक्षण, सिद्धटोपी, ब्रह्मदह, पासुदह, सुर्माभवानी सीमसार क्षेत्र, तथा जिल्लाको संस्कृतिका रूपमा रहेको व्याँसी सौका समुदायको संस्कृति तथा लेकम, दुहुँ, मार्मा र व्याँसको संस्कृतिजस्ता सांस्कृतिक रीतिरिवाज एवं पर्यटकीय स्थलहरू पनि जिल्लामा रहेका छन् । पर्यटनलाई आर्थिक समृद्धिसँग जोडेर होमस्टे, अपि पदमार्ग, अपि बेसक्याम्प, तथा अपिनाम्पा संरक्षण क्षेत्रको अवलोकन र यहाँको सांस्कृतिक सम्पदाहरूको विकासका लागि पनि लगानी गर्न सके जिल्लाको विकास हुने अवस्था छ ।
दार्चुला जिल्ला तराई, पहाड र हिमाल तिनै किसिमको हावापानी भएको जिल्ला हो । यहाँ सबै किसिमको हावापानी पाइन्छ । साथै, यहाँ कृषिमा पनि प्रचुर सम्भावनाहरू छन् । योभन्दा पहिले दार्चुलाको कृषिको विकासका लागि मकै जोन, आलु जोन, स्याउ जोन, ओखर र सुन्तला जोनका रूपमा कृषि र फलफूल खेतीमा केही लगानी भएको छ ।
दार्चुला जिल्लामा फलफूल खेतीतर्फ हाल जिल्लाका पाँचवटा गाउँपालिकालाई समेटेर स्याउ जोन कार्यक्रम लागू भएको छ । त्यसैगरी सुन्तला र ओखर खेतीका लागि दार्चुला जिल्ला निकै सम्भावना भएको क्षेत्र हो । त्यसबाहेक आलु, फापर, राज्मा खेती पनि प्रशस्त मात्रामा फल्ने गरेको छ । कृषिलाई पनि जिल्लाको लगानीको अवसरका रूपमा लिन सकिन्छ ।
यसबाहेक दार्चुला जिल्लामा विभिन्न किसिमका बहुमूल्य जडीबुटी पाइन्छन् । यार्सागुम्बा, चिराइतो, दालचिनी, पाँचऔले, रातोच्याउ, सेतोच्याउ, सतुवा, बनलसुन, कटुकीलगायतका बहुमूल्य जडीबुटी यहाँ प्रशस्त रूपमा पाइन्छन् । यसबाहेक जिल्लामा अल्लो उद्योग निकै फस्टाउँदो रूपमा रहेको छ । दार्चुला जिल्लाको अल्लोबाट बनेका विभिन्न लुगाकपडा देश तथा विदेशसम्मको बजारमा पुगेका छन् । दार्चुला कृषिसँगै पशुपालनका लागि पनि उत्तिकै सम्भावना बोकेको जिल्ला हो । खानीहरू पनि प्रशस्तै छन् ।
दार्चुला जिल्लामा रहेको लगानीको अवसरलाई सरकार, जनता र लगानीकर्ता यी तीनै पक्षले निश्चित क्षेत्रको लगानीका लागि कार्ययोजनासहित लगानी सुरक्षित हुने किसिमले काम गर्नु अहिलेको आवश्यकता हो । यसका लागि संघीय नेपालको अहिलेको संरचनाअनुसार स्थानीय, प्रदेश र संघीय सरकारको नीति र लगानीकर्ताहरूका बीचमा मैत्रीपूर्ण भावको सिर्जना गरी जिल्लाको विकासका लागि यहाँका लिडरहरूले पनि चासो दिने हो भने सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्ला नेपालकै नमुना जिल्लाका रूपमा विकास हुन धेरै समय लाग्दैन । यसका लागि सरकारको ठोस नीति र लगानीकर्ताको लगानीको सुरक्षाको ग्यारेन्टी हुने हो भने दार्चुला एक त्रिदेशीय व्यापारिक नाकाका रूपमा विस्तार हुनेछ र यो जिल्लाले नेपालको राजस्व वृद्धि गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।
प्रस्तुति - कृष्णसिंह धामी


जैतुन खेती प्रवद्र्धनमा लगानी कुर्दै बाजुरा
देवबहादुर रोकाया
अध्यक्ष, उद्योग वाणिज्य संघ, बाजुरा
समग्र जिल्लाका सम्भावनाहरू कृषि क्षेत्र, जडीबुटी, पर्यटन, जलविद्युत् र विभिन्न उत्पादन जस्तै मसला उद्योग, नेपाली हाते कागज, सिस्नु उद्योग, निगालो उद्योग फर्निचर उद्योगहरू पर्छन् । कृषिअन्तर्गत स्याउ उत्पादनमा सुदूरपश्चिम प्रदेशकै एक मात्र जिल्ला पर्छ । बूढीनन्दा नगरपालिकाको ९ र १० नम्बर वडाहरू र स्वामी कार्तिक पनि निकै सम्भावनायुक्त क्षेत्र रहेका छन् । हाल उत्पादन समेत भइरहको छ ।
बाजुरा जिल्लामा आलु खेती, लसुन, सुन्तला, गाजर, प्याज र सिमी खेतीको पर्याप्त उत्पादन छ । जडीबुटीअन्तर्गत चिराइतो, सुगन्धवाल, नेपाली कागज लोक्ता फर्निचर, बूढीगंगा नदीमा विद्युत् उत्पादन, कर्णाली नदीमा ¥याफ्टिङको समेत सम्भावना रहेको छ । यहाँ उत्पादन भइरहेको जैतुनको पानीको निकै महत्व छ ।
बाजुरामा पर्यटन क्षेत्र बडिमालिका, बूढीनन्दा, नाटेश्वरी, छेडेदह, कालाजग्रा, गौमुल, तलिगोठीलगायतका क्षेत्र पर्छन् । यस्तै विभिन्न प्राकृतिक खनिज पदार्थ चुनढुंगा, फलामखानीलगायत छन् ।
माथि उल्लिखित क्षेत्रमा लगानी भएमा तीव्र रूपमा पलायन भइरहेको युवा जनशक्तिसमेत आकर्षित गर्न सकिनेछ । साथै, स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना भई स्थानीय स्तरमै रोजगारी प्राप्त हुने र आय आर्जनमा वृद्धि भई गरिबी न्यूनीकरणमा सहयोग पुग्ने निश्चित देखिन्छ । माथिका सम्भावित क्षेत्रमा लगानी भए उद्यमी–व्यवसायीहरू समेत उत्साहित रहने र बजारीकरणका लागि व्यवसायीहरूको सञ्जालसमेत राम्रो र प्रभावकारी हुनेछ, जसले गर्दा मुख्य रूपमा किसान, उद्यमी, व्यवसायी, सरोकारवालाहरूलाई फाइदा पुगी अन्ततोगत्व समग्र जिल्ला र राज्यलाई नै फाइदा पुग्न गई देशको समृद्धि यात्रामा सहयोग पुग्ने देखिन्छ ।
जैतुनमा हामीले पनि एक गाउँ एक उत्पादन कार्यक्रम आर्थिक वर्ष २०७१–०७३ तीन आर्थिक वर्षसम्म कोल्टी, बाधु र मार्तडीमा नर्सरी तथा हाईब्रेट कलमी रोपण क्षेत्रमा कार्य गरेका छौँ । बाजुरालाई सरकारले जैतुन जोनका रूपमा घोषण गरेको छ । यसमा पर्याप्त लगानी हुने हो भने यसबाटै समृद्धि हासिल गर्न सकिन्छ ।
फेरि हामीले सार्वजनिक, निजी, साझेदारी कार्यक्रम सञ्चालनका लागि कृषि उद्यम केन्द्र, नेपाल उद्योग वाणिज्य महासंघमा प्रस्तावना पठाएका छौँ । अब हामी तुरुन्तै आगामी वैशाख २० गतेदेखि २६ गतेसम्म महोत्सव आयोजनाको तयारीमा छौँ; जहाँ कृषि, जडीबुटी, विभिन्न सांस्कृतिक स्थानीय उत्पादनको सहज बजारीकरण, पहुँच विस्तार र निकासीयोग्य वस्तुहरूको पहिचान प्रवद्र्धन विभिन्न पर्यटकीय स्थलका फोटो प्रदर्शनीबाट सरकारको ध्यान केन्दित गराई पर्यटन गन्तव्य स्थलका रूपमा स्थापित गरी रोजगारीका अवसर सिर्जना गर्र्ने कार्य गर्दैछौँ । पर्यटन विकासका लागि विभिन्न पटक पर्यटन मन्त्रालय पर्यटन बोर्डका विभिन्न व्यक्तिसँग छलफल गरेका छौँ । बाजुरामा एक पर्यटन समिति पनि गठन छ ।
विभिन्न कृषि, जडीबुटी, पर्यटन, जलविद्युत् र यातायातजस्ता महत्वपूर्ण शीर्षक छनोट गरी सुदूरपश्चिममा लगानी सम्मेलन गरिनुपर्छ । एउटै शीर्षकमा आएको बजेट एकद्वार प्रणालीबाट लागू हुनुपर्छ । दिगोपनका लागि लक्ष्य लिनुपर्छ । पाइल प्रोजेक्टका रूपमा अगाडि बढ्नुपर्छ जस्तो लाग्छ । मुख्य यातायातमा जोड दिनुपर्छ । तराई–पहाडको दूरी छोट्याउनुपर्छ, जहाँ र–मेटेरियलको कुरा सहज बजारीकरणका लागि यो अनिवार्य आवश्यकता हो । संसारको जुन देश विकसित छ त्यो देश रोड यातायातको कुरासँग जोडिएको हुन्छ । बल्ल अनि विद्युत् उत्पादनको कुरा, जडीबुटी प्रशोधन, मेसिन प्रविधि जडानको कुरा, आधुनिक कृषिप्रणालीको कुरा अनि उत्पादन र सजिलै बजारसँग पहुँच हुन्छ ।
हामी निजी क्षेत्र पहिलेदेखि नै सरकारसँग तीनखम्बे अर्थ नीतिअन्तर्गत निजी क्षेत्र एक खम्बा हो भन्दै आएका छौँ । त्यसैले सरकार तथा निजी क्षेत्र बराबर आधा–आधा सार्वजनिक–निजी अवधारणाअनुरूप अगाडि बढ्नुपर्छ । निजी क्षेत्रलाई लगानी गर्ने वातावरणका लागि नियम–कानुन झन्झटिलो हुनु भएन । दोहोरो आयकर, मूल्य अभिवृद्धि कर, भन्सार करलगायत निकासीका कुरामा प्रोत्साहन दिनुपर्छ । हामी निजी क्षेत्र पनि न्यूनतम १०-१५ प्रतिशत कमाइको हिस्सा सरकार तथा समाजसेवामा खर्च गर्न हिचकिचाउनु हुँदैन भन्ने मेरो धारणा हो ।
प्रस्तुति - होम साउद


लाखौं धार्मिक पर्यटक भित्र्याउन सकिन्छ
नरबहादुर चन्द
अध्यक्ष, बैतडी उद्योग वाणिज्य संघ
सुदूरपश्चिम प्रदेश धार्मिक पर्यटनका हिसाबले महत्वपूर्ण मानिन्छ । त्यसमा पनि बैतडी जिल्ला धार्मिक पर्यटनको प्रचुर सम्भावना बोकेको क्षेत्र हो । भारतसँग सीमा जोडिएको र भारतको उत्तराखण्ड र यहाँको संस्कृति मेल खान्छ । भारतीय भक्तजनहरूले पूजा गर्ने मन्दिरहरू पनि बैतडी जिल्लामा छन् । बैतडीको त्रिपुरासुन्दरी मन्दिरलाई त भारतीयले कुल देवताका रूपमा पूजा गर्ने गर्छन् । यहाँका शक्तिपीठहरूमा पूजा गर्ने समयमा ३–४ लाखको संख्यामा भक्तजनहरू बैतडी आउने गर्छन् तर उनीहरूको बास र यातायातमा हामीले गुणस्तर दिन सकेका छैनौं, जसका कारण उनीहरू आफू नेपाल आउँदा अप्ठ्यारो भएको गुनासो गर्छन् ।
नेपाल–भारत सीमा नाका जुलाघाटनमा मोटरेबल पुलका लागि वर्षौंदेखि आवाज उठे पनि राज्यले अझैसम्म ध्यान दिएको छैन । जुलाघाट नाकामा मोटरेबल पुल बन्ने हो भने दैनिक डेढ–दुई हजार भारतीय पर्यटक नेपाल आउनेमा दुईमत छैन । उनीहरूको पूजा–आजा र इष्टमित्र समेत बैतडीमा छन्, तर पनि उनीहरूलाई सहज तरिकाले बैतडी आउने वातावरण छैन, आफ्नो सवारी साधन पारि नै छाडी यहाँ आउनुपर्ने उनीहरूको बाध्यता छ । जुलाघाटमा मोटरेबल पुल बन्दा पर्यटकको मात्रै होइन, अन्य थुप्रै कुराको विकास गर्न सकिन्छ । यदि जुलाघाटमा मोटरेबल पुल बन्ने हो भने यहाँ लगानीका लागि पनि राम्रो वातावरण सिर्जना हुने कुरामा शंका छैन । नेपाल सरकारले अग्रेजहरूको पालामा बनेको झोलुङ्गे पुलसमेत अहिलेसम्म पुनर्निर्र्माण गर्न नसकेको कुरा भन्न बाध्य छु । जाबो एउटा ८–१० करोडमा हुने मोटरेबल पुल निर्माणका लागि यतिका वर्षसम्म आवाज उठाइरहनुपर्ने ? हामीले उक्त नाकामा मोटरेबल पुल बनाउन सक्यौं भने मलाई लाग्छ, यहाँ लगानी गर्नेहरूको पनि कमी हुन्न । कुनै ठूलो कलकारखाना नै खोल्नुपर्छ भन्ने छैन । हाम्रो यहाँ भएका घरेलु उत्पादनहरूलाई समेत हामीले बजारीकरण गर्न सक्छौँ । सानोबाटै हो— सुरुवात गर्ने । निजी क्षेत्रसँगको सहकार्य पनि उत्तिकै जरुरी छ ।
सरकारको नीति तथा कार्यक्रममा निजी क्षेत्रसँगको सहकार्यले महत्व पाउने भए पनि व्यवहारमा निजी क्षेत्रलाई सरकारले संरक्षण गर्न सकेको छैन । स्थानीय तह भइसकेपछि गाउँमै थुप्रै सम्भावना बढेका छन्, तर कागजमा बनेका सम्भावना र नीतिले खासै फरक पार्दैन, त्यसका लागि व्यक्तिमा इच्छाशक्ति हुनु आवश्यक छ । गाउँमा थुप्रो बजेट गएको छ, तर त्यसको संरक्षण र व्यवस्थित परिचालन हुन सकेको छैन । कार्यकर्ता पाल्ने भाँडोका रूपमा योजनालाई दिइन्छ अनि कसरी हुन्छ त समृद्धि ? यहाँको मुख्य समस्या बेरोजगारी पनि हो । राजगारीको अभावले यहाँका अधिकांश युवा छिमेकी भारत र अन्य खाडी मुलुकमा जान्छन्, हुन त यो देशभरिको समस्या हो, तर पनि बैतडीका प्राय- युवा भारतमा न्यून ज्यालामा कठिन काम गर्न बाध्य छन् । कुनै समय पश्चिम सेती र पञ्चेश्वरले ल्याएको खुसी अब खुसी रहेन । यहाँ हाइड्रोपावरमा पनि लगानी गर्न सकिन्छ । महाकाली, चमेलिया, सुनैयालगायतका थुप्रै नदी छन् तर तिनीहरूको व्यवस्थित प्रयोग हुन सकेको छैन ।
पश्चिम सेती परियोजनाको हल्ला पनि हल्लामै सीमित भो । समग्रमा भन्नुपर्दा लाखौंको संख्यामा बैतडीका धार्मिक क्षेत्रमा दर्शन गर्न आउने धार्मिक पर्यटकलाई सहज तरिकाले आवतजावत र बस्ने–खाने सुविधा मिलाउनुपर्छ र सरकारले निजी क्षेत्रसँग मिलेर बैतडी जिल्लामा साना–साना उद्योगहरूलाई पनि विकास गर्ने खालका कार्यक्रम ल्याउनुपर्छ । छिमेकी भारतका थुप्रै व्यपारीले पनि यहाँ लगानी गर्न गर्न सक्छन् तर त्यस्तो वातावरण सिर्जना हुनुप¥यो । यहाँको पर्यटकीय, व्यापारिक, औद्योगिक र अन्य थुप्रै क्षेत्रको विकासका लागि नेपाल–भारत सीमा नाका जुलाघाटमा मोटरेबल पुल बन्नु जरुरी ठान्छु ।
प्रस्तुति - नरी बडु


डडेलधुरामा कृषि र पर्यटनको सम्भावना
लोकराज भट्ट
अध्यक्ष, डडेलधुरा उद्योग वाणिज्य संघ
डडेलधुरा समृद्धिका लागि धेरै सम्भावना भएको जिल्ला हो । यस क्षेत्रको पर्यटकलाई मात्रै हेर्ने भने शक्तिपीठका रूपमा रहेको उग्रतारा मन्दिर, जय बाबा घटाल मन्दिर, अमरगढी किल्ला अजयमेरु कोट, आलिताल रहेको डडेलधुरा जिल्लामा धेरै सम्भावना रहेको छ । अनि व्यापारिक दृष्टकोणले सुदूरपश्चिमको पहाडी जिल्लाको केन्द्रबिन्दुमा रहेकाले यसको विकास गर्नुपर्छ । यहाँको कृषि र पर्यटनको विकासमा थप ध्यान दिनुपर्छ ।
राज्यले जे आर्थिक समृद्धिको नीति लिएको छ त्यसमा डडेलधुरा उद्योग वाणिज्य संघ आफूलाई समाहित गर्न चाहन्छ र त्यो समाहित गरेर यस क्षेत्रको आर्थिक समृद्धिसँगै यो मुलुकको समृद्धिमा डडेलधुराका उद्योगी–व्यापारीलाई जोड्ने काममा म निरन्तर लागि पर्छु । जिल्लामा एउटा सिटी कम्प्लेक्स बनाउन सकिन्छ । ठूला व्यापारीसँग समन्वय गरी अगाडि बढ्नुपर्छ । हामीले जिल्लाको विकासका लागि स्थानिय तह, प्रदेश सरकारसँग बहस पनि चलाउनुपर्छ । डडेलधुराको आर्थिक विकास र समृद्धिका लागि हामी समस्या पहिचान गरेर अघि बढ्नुपर्छ ।
प्रस्तुति - हरिश चन्द