भुवन पौडेल
सोमवार, चैत्र ११, २०७५
972

सेयर लगानीकर्ताबाट धितोपत्र व्यवसायी बनेका कोहिनूर इन्भेस्टेमेन्ट एन्ड सेयक्युरिटीका प्रबन्ध निर्देशक भरत रानाभाटले पछिल्लो समयमा स्टक ब्रोकर एसोसिएसनको नेतृत्वसमेत सम्हालेका छन् । सेयर ब्रोकरको व्यवसायमा आउनु अघि पर्यटन व्यवसायी रहेका रानाभाट शैक्षिक रूपमा वाणिज्यशास्त्रमा स्नातकोत्तर हासिल गरेका छन् । अध्ययनका लागि शंकरदेव क्याम्पस जाने क्रममा सेयर बजारमा लागेका रानाभाट विगत आठ वर्षदेखि कोहिनूर इनभेस्टमेन्ट एन्ड सेयक्युरिटिजको प्रबन्ध निर्देशकमा छन् । पछिल्लो समयमा पुँजीबजारको नियाम निकाय धितोपत्र बोर्डको विरुद्धमा आन्दोलन गरेका धितोपत्र व्यवसायीहरूलाई बचाउने काम पनि बोर्डकै रहेको रानाभाट बताउँछन् । ब्रोकरको संख्या बढाएर मात्र गुणस्तर नबढ्ने उनको तर्क छ । धितोपत्र ब्रोकरहरू पनि सक्षम भएकाले सेयर कारोबारका अतिरिक्त अन्य काम पनि दिएर हेर्न बोर्डलाई उनले चुनौती नै दिए । बैंकलाई ब्रोकर लाइसेन्स दिने भएकाले ब्रोकर आत्तिएको नभई भएका धितोपत्र ब्रोकरको कार्यक्षेत्र विस्तारलाई नरोक्न मात्र आग्रह गरेको उनले बताए । बैंकलाई ब्रोकर लाइसेन्सको सन्दर्भमा ब्रोकर कम्पनी मात्र नभई लगानीकर्ता तथा विशेषज्ञले पनि तत्काल दिने सन्दर्भमा सोच्नुपर्ने भनिरहेको उनी बताउँछन् । ब्रोकर नयाँ थप्ने भन्दा पनि अहिले भइरहेका पनि धेरै भएको बताउने रानाभाटसँग एसोसिएसनको बोर्डप्रतिको असन्तुष्टि तथा समग्र धितोपत्र व्यवसायका विषयमा कारोबारकर्मी भुवन पौडेलले गरेको कुराकानीको सार :

पुँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डकै विरोधमा स्टक ब्रोकर आन्दोलन गर्ने तयारीमा थिए, अहिले कुरा मिलेको हो ?
हामी धितोपत्र व्यवसायीका एजेन्डाहरू समयअनुसार आइराख्छन् । ती एजेन्डा लिएर जाने भनेको नियामक निकाय धितोपत्र बोर्डमा नै हो । एजेन्डाका प्रकृति फरक हुन सक्छन् । हामीले उठाउने एजेन्डा भनेको धितोपत्र बजारका समस्याकै बारेमा हो । आगामी दिनमा अहिले भएका नभई फरक हुन सक्छन् । विगतमा सेयरको कारोबार प्रणाली अनलाइन नहुँदा अनलाइन चाहियो भनेर गएका थियौं । अहिले अनलाइन प्रणाली आइसकेपछि धितोपत्र दलाल पनि ब्रान्चलेस प्रणालीमा जानुप-यो भन्ने हो । त्यसका लागि सब ब्रोकर वा एजेन्टमार्फत काम गर्न सकिने व्यवस्था हुन सक्छ । बजारको विकास र विस्तारसँगै समस्याहरू पनि आइरहने भएकाले आगामी दिनमा पनि हामीले यस्ता एजेन्डाहरू धितोपत्र बोर्डसामु राख्ने नै छौं । ब्रोकरले समान्यभन्दा समान्य कामका लागि पनि धितोपत्र बोर्डबाटै स्वीकृति लिनुपर्छ । त्यसैले हामी जाने भनेकै धितोपत्र बोर्ड हो । त्यति मात्र नभई बजारका समस्याको समाधानका लागि आवश्यक नीति तथा कार्यक्रम कार्यान्वयनको माध्यम पनि बोर्ड नै हो । त्यतिमात्र नभई बोर्ड ब्रोकर कम्पनीको अभिभावकसमेत भएकाले हाम्रा गुनासाहरू राख्ने पनि त्यही हो ।

धितोपत्र बोर्डले पुँजीबजारको विकासका नाममा जे पनि गर्ने व्यवहार अपनाएको आरोप छ । तर, बोर्डले बजार व्यवस्थित गर्नका लागि नियमन त गर्नुप-यो नि होइन र ?
यसलाई बोर्ड तथा ब्रोकर दुवैको पक्षवाट हेर्न सकिन्छ । ब्रोकरलाई आफ्ना माग बोर्डले पूरा गरेन भन्ने होला । नियामक निकाय भएको नाताले बोर्डले पनि नियामकको भूमिका निर्वाह गरिरहेको छु भन्ने हुन सक्छ । धितोपत्र बोर्डले तत्कालै भन्दा पनि ऐन–नियम सबै मिलाएर धितोपत्र व्यवसायीका माग सम्बोधन गर्नुपर्छ भन्ने होला । ब्रोकरले सेयरको खरिद–बिक्री मात्र गरेर बस्छौं । तर, केन्द्रीय निक्षेप सेवा आइसकेपछि हामीले डीपीको पनि काम गर्न थालेका छौं । पछिल्लो समयमा मार्जिन ल्यान्डिङको काम गर्ने प्रक्रिया पनि सुरु भएको छ । त्यसपछि हामीले नै उठाएको प्रोप्राइटर ट्रेडिङको काम हो । त्यसमा पनि धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) सकारात्मक देखिएका छन् । अहिलेको नेप्सेको टे«डिङ सिस्टममा त्यो काम पनि गर्न मिल्ने भएको छ । त्यसका साथै हामीले धितोपत्र दलाल कम्पनीको कार्यक्षेत्र विस्तारको कुरा पनि उठाएका छौं । धितोपत्र बजार अनलाइन प्रणालीमा गइसकेपछि पहिलेको जस्तो लग–इनको समस्या नभएको हुनाले सब ब्रोकर तथा एजेन्टमार्फत कारोबार गर्न सकिने व्यवस्था हुनुपर्छ भन्ने छ । त्यसका लागि पनि नियामक निकाय सकारात्मक नै देखिएको भन्ने सुनेको छु ।

धितोपत्र बोर्डले अहिलेका दलाल व्यवसायीहरूबाट दोस्रो बजार विस्तारको सम्भावना छैन भनेको सुनिन्छ नि ?
यो कुरा पूर्ण रूपमा गलत हो । अहिले हामी नियामक निकायले तोकेको वा अन्तर्राष्ट्रिय समुदायमा अभ्यास रहेका काम गर्न सक्छौं, त्यसका लागि तयार छौं । त्यतिमात्र नभई ब्रोकरले नयाँ काम के गर्न सक्छन् भन्ने खोजी पनि गरिरहेका छौं । बोर्डले हामीलाई परीक्षण नै नगरी ब्रोकरले सक्दैनन् भन्ने कुरा कसरी सही हुन सक्छ । सेयर बजारको विकास र विस्तासँगै ब्रोकर पनि जोडिएर आउँछन् । त्यसैले आजका मितिसम्म काम गरिरहेका ब्रोकर कसरी अयोग्य हुन सक्छन् ? हामीले धितोपत्र बोर्डले जारी गरेका ऐन, नियम र निर्देशनको पूर्ण पालना गरी काम गर्दै आएका छौं । बोर्ड हामीलाई परीक्षण गरेर सकेनौं भनेर मात्र अन्य विकल्प खोज्दा उपयुक्त हुन्छ ।

पछिल्लो समयमा वाणिज्य बैंकलाई ब्रोकरको अनुमति दिने भएपछि धितोपत्र दलालहरू अताल्लिएर आन्दोलन गरेका हुन् भनिन्छ नि ?
यो नितान्त गलत हो । बैंकलाई ब्रोकर लाइसेन्स दिँदै गर्दा हामी आत्तिएको भन्ने पटक्कै होइन । तर, बैंकलाई ब्रोकरको काम गर्ने अनुमति दिँदै गर्दा आजको भोलि नै काम सुरु गरिहाल्ने त होइनन् । अहिले धितोपत्र बजारमा आवश्यक पूर्वाधार तयार भइसकेको अवस्था छ । नेपाल स्टक एक्सेचन्ज (नेप्से) को कारोबार प्रणाली पनि अनलाइन भएकाले ब्रोकरको कार्यक्षेत्र विस्तारलाई नरोक्न मात्र आग्रह गरेका हौं । अहिले ब्रोकरलाई कार्यक्षेत्र विस्तार रोकेर बैंकलाई अनुमति दिँदा बजार विस्तार भइहाल्ने तथा समस्या समाधान हुने पनि होइन । बैंकलाई ब्रोकर लाइसेन्सको सन्दर्भमा ब्रोकर कम्पनी मात्र नभई लगानीकर्ता तथा विषेशज्ञहरूले पनि सोच्नुपर्ने भनिरहेको अवस्था छ । पहिले धितोपत्र बजारकै मान्छेले पनि बैंकलाई ब्रोकर लाइसेन्स दिएपछि बैंकका हरेक शाखाबाट सेयर कारोबार हुन्छ भन्ने थियो । तर, व्यवहारमा त्यो रहेनछ । बैंकको सहायक कम्पनीले धितोपत्र ब्रोकरको काम गर्ने रहेछ । बैंकको सहायक कम्पनी र अहिलेका ब्रोकर कम्पनीमा के फरक छ ? केही वाणिज्य बैंकले सहायक कम्पनीमार्फत ब्रोकर कम्पनी सञ्चालन गर्दैमा बजार विस्तार हुन्छ भन्ने कुरा हामीले स्वीकार गर्न मिल्दैन । ब्रोकरको अनुमति कस्ता संस्थालाई दिने भन्ने धितोपत्र बोर्डको कुरा हो । तर, बजारको आकारलाई पनि हेर्नुपर्छ । हाल सञ्चालनमा रहेका ५० धितोपत्र ब्रोकर कम्पनीलाई पनि लाइसेन्स दिएको धितोपत्र बोर्डले नै हो । त्यसैले हाल सञ्चालनमा रहेको धितोपत्र कम्पनीलाई जोगाउने काम पनि धितोपत्र बोर्डकै हो । धितोपत्र बोर्ड आफैंले अनुमति दिएका संस्थाहरू बजारमा टिक्न सकेका छन् वा छैनन् पनि हेर्नुपर्छ । ब्रोकर कम्पनीलाई बजारमा टिकिराख्नका लागि सेयर करोबारका अतिरिक्त अन्य के काम गर्न दिइएको छ ? हालका ब्रोकरले गर्न नसक्ने काम भनेर परीक्षण पनि गरिएको छैन । त्यसैले बैंकले ब्रोकर कम्पनी सञ्चालन गर्दैमा बजारको विस्तार र विकास हुन्छ नै भन्ने के छ ? बैंकको सहायक कम्पनीले भन्दा अवश्य पनि धितोपत्र दलाल कम्पनीले नै राम्रो काम गर्छन् । यस विषयमा धितोपत्र बोर्डले सोच्नुपर्ने देखिन्छ ।

तपाईं एउटा धितोपत्र दलाल व्यवसायी मात्र नभई धितोपत्र दलाल व्यवसायीको छाता संगठन स्टक ब्रोकर एसोसिएसनको अध्यक्ष पनि हुनुहुन्छ । हाम्रो धितोपत्र बजारको आकार अनुसार धितोपत्र दलालको संख्या कति हुनुपर्ने हो ?
पछिल्लो तीन वर्षको धितोपत्र बजारलाई हेर्दा धेरै ब्रोकर कम्पनी नोक्सानमा चलिरहेका छन् । बजारमा धितोपत्र व्यवसायी भएर प्रवेश गरेको आठ वर्षको अवधिमा मेरो अनुभव भन्नुपर्दा करिब दुई वर्षजति आम्दानी गर्ने हो । त्यसपछिमा तीन–चार वर्ष त्यसैले चल्नुपर्ने अवस्था छ । धितोपत्र कारोबारको बिजनेस भनेको सधैं भैरहने हुँदो रहेनछ । अन्य बिजनेस भनेको समयक्रमअनुसार बढ्दै जान्छ । अहिलेको समयमा धितोपत्र ब्रोकरको संख्याभन्दा पनि गुणस्तर सुधार गर्न ध्यान दिनुपर्ने देखिन्छ । यस विषयमा धितोपत्र बोर्डलाई पनि आग्रह गरिरहेका छौं । संख्यात्मक रूपमा बजारको आकारअनुसार ५० ब्रोकर कम्पनी पनि धेरै नै हो कि ? अन्तर्राष्ट्रिय अभ्यासलाई पनि हेर्नुपर्छ । हाम्रो भन्दा ठूला पुँजीबजारमा पनि धितोपत्र दलालको संख्या यति छैनन् । तर, ती ब्रोकर कम्पनी गुणस्तरीय हुन्छन् । ती ब्रोकर कम्पनीले सेयर कारोबार, मार्जिन ल्यान्डिङ, प्रोप्राइटर, डिलरलगायतका काम गरेका हुन्छन् ।
अहिले हामी पुँजी तथा पूर्वाधारका हिसाबले कमजोर हुन सक्छौं । तर, पुँजी बढाउने तथा पूर्वाधार तयार गर्ने सन्दर्भमा धितोपत्र दलाल कम्पनीहरू तयार छन् । विगतको तुलनामा अहिलेका धितोपत्र दलाल कम्पनी धेरै सक्षम र सबल भएका छन् । तर, गर्न सकेन वा सक्दैनन् भन्नु जायज होइन । संख्यात्मक रूपमा हेर्दा ५० ब्रोकर कम्पनी धेरै नै भन्ने लाग्छ । त्यसका लागि हाम्रो बैंकिङ इन्डस्ट्रीलाई हेर्दा हुन्छ । बैंकको पनि संख्या बढाएर अर्थतन्त्रका लागि राम्रो हुन्थ्यो भने आज किन घटाएको ? त्यसैले हाम्रो बजारको हितका लागि भन्ने हो भने अहिलेका ५० ब्रोकर कम्पनी पनि धेरै हुन ।

नियामक निकायले धितोपत्र ब्रोकर बचाउने हो, बजार पछाडि पर्ने भएकाले समग्र बजारको विकास गर्नका लागि बैंकलाई ब्रोकर लाइसेन्स दिन लागेको भन्ने कुराले ब्रोकर बजारको हिस्सा होइन जस्तो देखियो । ब्रोकरलाई बजारको हिस्सा मानिँदैन र ?
यो कुराले बजार भनेको के हो भन्ने विषयमा चर्चा गर्नुपर्ने अवस्था देखियो । बजार भनेको लगानीकर्ता, ब्रोकर, नेपाल स्टक एक्सचेन्ज, धितोपत्र बोर्ड, सरकारलगायत सबैको समिश्रण नै बजार हो । यीमध्ये कुनै पनि एक पक्ष कमजोर हुँदा समग्र बजार नै कमजोर हुन्छ । नेप्सेले सुरु गरेको अनलाइन कारोबार प्रणाली अन्तर्राष्ट्रिय स्तरको भने जस्तो काम गरेको भए समग्र बजारमा त्यसको प्रभाव हुन्थ्यो । नेप्सेको कारोबार प्रणालीमा केही समस्या देखिए । त्यो समग्र बजारको समस्याका रूपमा देखा परेको छ । यो समस्या लगानीकर्ता वा धितोपत्र दलाल कम्पनीको त होइन । तर, समस्याको सिकार समग्र बजार भयो । त्यसैले धितोपत्र दलाल कम्पनी पनि पुँजीबजारको हिस्सा हो । धितोपत्र ब्रोकर कम्पनी पनि सक्षम र संस्थागत तथा पूर्वाधार सम्पन्न हुँदैनन् तबसम्म बजार बजार पनि कमजोर हुन्छ । ब्रोकर कमजोर छन् भनेर भन्ने हो भने समग्र बजार नै कमजोर छ भन्ने स्पष्ट हुन्छ । त्यसैले नियामक निकायले कमजोर छन् भन्नु भन्दा पनि कसरी सक्षम बनाउने भन्ने तर्फ लाग्नु उपयुक्त हुन्छ ।

अहिलेको कारोबार प्रणाली अन्तर्राष्ट्रियस्तरको भनेको भए पनि बारम्बार समस्या देखिइरहेका छन् । यसलाई तपाईंहरूले कसरी लिनुभएको छ ?
धितोपत्र ब्रोकर भएको नाताले अहिलेको कारोबार प्रणालीमा देखिएका समस्या र त्यसको समाधानका लागि सुझाव दिइ नै रहेका छौं । अहिलेको कारोबार प्रणाली ल्याएको नेप्सेले हो । नेप्सेले दिएको प्ल्याटफर्म प्रयोग गरेर ब्रोकरले कारोबार गर्ने हो । हामीले काम गर्ने क्रममा आएका समस्याहरू नेप्सेलाई भनेका छौं । तीमध्ये धेरैजसो समाधान पनि भएका छन् । अहिलेको कारोबार प्रणाली विदेशी कुनै पनि बजारमा प्रयोग भएको हुन्थ्यो भने समस्या कम आउँथे होला । अन्तर्राष्ट्रिय मापदण्डअनुसारको भने पनि यो कारोबार प्रणाली अन्य कुनै एक्सचेन्जले चलाएको होइन । नेप्सेले आफ्नो आवश्यकता अनुसार सिस्टम बनाएको हो । त्यसैले पनि सामान्य समस्याहरू आउनु स्वाभाविक हो, तर पनि विगतको भन्दा राम्रो भएको छ । त्यसैले काम गर्ने क्रममा देखिएका समस्या समाधान गर्दै जाँदा समस्याहरू नदोहोरिएलान् भन्ने छ । बजारका सम्पूर्ण पक्षले चाहेको भनेको कारोबार प्रणालीमा कुनै पनि समस्या नआओस् भन्ने हो । पुँजीबजारको कारोबार प्रणालीमा समस्या आएर एक मिनेट कारोबार नहँुदा पनि धेरै नोक्सान हुने भएकाले संवेदनशील रूपमा लिएर समस्याहरू समाधान गरेर अघि बढ्नुपर्छ ।

नियामक निकायविरुद्ध आन्दोलन नै गर्ने चेतावनीसमेत ब्रोकर एसोसिएसनले दिएको छ । धितोपत्र बोर्डबाट तपाईंहरूले चाहेको के हो त ?
हामीले चाहेको अहिलेको मुख्य कुरा भनेको नेप्सेको नयाँ कारोबार प्रणालीअनुसार धितोपत्र ब्रोकरले पनि कार्यक्षेत्र विस्तार गर्न पाउनुप-यो भन्ने हो । नियामकले अन्तर्राष्ट्रिय स्ट्यान्डर्डको पुँजीबजारको कल्पना गर्छ भने हामी पनि अन्तर्राष्ट्रिय स्ट्यान्डर्डको ब्रोकर कम्पनीको परिकल्पना गर्छौं । धितोपत्र दलाल कम्पनीले सेयरको कारोबार गरेर मात्र बस्ने होइन । पछिल्लो समयमा धितोपत्र ब्रोकरले निक्षेप सदस्याको पनि काम गरेका छन् । यस सन्दर्भमा बैंक र ब्रोकरले दिएको निक्षेप सदस्याको सेवालाई तुलना गरे हुन्छ । हामीले गर्ने काम नै पुँजीबजारसँग जोडिएको हुनाले बैंकको तुलनामा हामीले प्रदान गरेको पिडी सेवा प्रभावकारी छ । त्यसका साथै पछिल्लो समयमा मार्जिन ल्यान्डिङको काम गर्ने प्रक्रिया पनि सुरु भएको छ । ब्रोकरले लगानी व्यवस्थापकको काम पनि गर्न पाउनुपर्छ भन्ने हो । तुलनात्मक रूपमा लगानी व्यवस्थापकको ज्ञान ब्रोकरलाई धेरै हुन्छ । ब्रोकर कम्पनीले एडभाइजरी सेवासमेत दिन पाउनुपर्छ । त्यसका अतिरिक्त प्रोप्राइटर टे«डिङको पनि गर्न दिएको खण्डमा अन्तर्राष्ट्रियस्तरको ब्रोकर कम्पनी सम्भव हुन्छ ।

ब्रोकर कम्पनीले २ करोड चुक्ता पुँजी लिएर २० करोड चुक्ता पुँजी भएको मर्चेन्ट बैंकिङको व्यवसायको माग गर्नुभएको रहेछ । यो त जायज भएन होइन र ?
अहिले मर्चेन्ट बैंकरले गरिरहेको काम भनेको ब्रोकरले गर्न पाउनुपर्ने र गर्नुपर्ने काम हो । कम्पनीको चुक्ता पुँजीको सन्दर्भमा हामी खुला छौं । हिजो धितोपत्र बोर्डले २० लाख चुक्ता पुँजी बढाएर २ करोड बनाउन भन्यो । ब्रोकर कम्पनीले त्यो पनि पु-याए । त्यसका साथै मार्जिन ल्यान्डिङका लागि ५ करोड नेटवर्थ भनेको छ । त्यसमा नेवर्थको सीमा पु-याउने काम गर्छन् भने नपु-याउनेले गर्दैनन् । अहिले हेर्दा पनि आधाभन्दा धेरै ब्रोकरले नेटवर्थ ५ करोड पु-याएका छन् । केही दिनमा सबैले पूरा गर्छन् । हामीले ५ करोडको नेटवर्थ सबै काम देऊ भनेको होइन । कामअनुसारको चुक्ता पुँजीनिर्धारण गरेको खण्डमा सक्नेले गर्छन्, नसक्नेले गर्दैनन् । कम्पनीमा लगानी गरेको क्यापिटलको प्रतिफलत त चाहियो नि । पुँजी वृद्धि गरेर काम बढेन भने त अर्थ रहेन । ब्रोकर कम्पनी पुँजी बढाउन तयार छन् । तर, पुँजी बढाएको अनुसार काम गर्न पाउनुपर्छ ।

तपाईंले भनेअनुसार त धितोपत्र बोर्डले ब्रोकर बिजनेसलाई अन्डर भ्यालुड गरेको देखियो नि ?
अवश्य पनि धितोपत्र बोर्डले ब्रोकर कम्पनीलाई अन्डरभ्यालुड गरेको देखिन्छ । २०५१ सालमा सुरु भएका ३२ ब्रोकरमध्ये अहिले पनि २३ सञ्चालनमा छन् । ती कम्पनीमा अधिकांश सञ्चालक चार्टर्ड एकाउन्टेन्ट्स थिए । आजको दिनमा पनि सिए भनेपछि क्षमतावान् भन्ने बुझिन्छ भने आजभन्दा २५ वर्षअघि कस्तो थियो होला ? दोस्रो चरणमा थपिएका ब्रोकर कम्पनीको पनि प्रमुख र सेकेन्ड म्यान पनि सिए पृष्ठभूमि भएका तथा विश्व विद्यालयका उत्कृष्ट विद्यार्थीहरू छन् । कमजोर भनेका पनि राम्रो प्रतिशत हासिल गरेर स्नातकोत्तर गरेका छन् । जनशक्तिको सन्दर्भमा ब्रोकर कम्पनीसँग बजारका क्रिम भनेका व्यक्तिहरू छन् । त्यसका साथै धितोपत्र बोर्डले तोकेको पुँजी पनि पु-याएकै छौं । त्यसैले ब्रोकर कम्पनी पूर्ण रूपमा सक्षम छन् । यसलाई धितोपत्र बोर्डले नजरअन्दाज गर्नु हुँदैन ।

नेपालको पुँजीबजारमा धितोपत्र दलाल नै लगानीकर्ता तथा कारोबारी छन् भन्छन् । बजार कता लैजाने भन्ने ब्रोकरहरूको हातमा छ भनिन्छ, के यो वास्तविक हो ?
अन्तर्राष्ट्रिय अभ्यासको कुरा गर्नुहुन्छ भने हाम्रो बजारमा ब्रोकरको केही पनि हात देखिँदैन । भारतको सन्दर्भमा कुरा गर्दा ब्रोकरले गर्ने कारोबार भनेको सम्पूर्ण लगानीकर्ताले गर्ने भन्दा धेरै हुन्छ । हामीले पनि त्यसको माग गरिरहेको छौं । प्रोप्राइटर टे«डिङ भनेको त्यही हो । बजारमा सेयर किनबेच गरेर नाफा कमाउनु भन्दा पनि ब्रोकरको आम्दानी मुख्य स्रोत भनेको सेयर खरिद–बिक्री गराए पाउने कमिसन हो । धितोपत्र ब्रोकरले कारोबार गर्न पाउँदा भोलुम बढाएर शुल्क धेरै आर्जन गर्ने वातावरण पनि हुन्छ । त्यसले नेप्से, धितोपत्र बोर्ड तथा सरकारलाई पनि आम्दानी बढ्थ्यो, ब्रोकर पनि राम्रो चल्थे ।
ब्रोकरले चलाएका छन् भन्ने सन्दर्भमा कुरा गर्दा हामीले हरेक दिन गर्ने र जानेको काम नै सेयरको किनबेच हो । जुन क्षेत्रको सीप तथा ज्ञान छ त्यही क्षेत्रमा गर्ने न हो । हामीले अहिले सेयरमा लगानी गर्दा आफ्नै कम्पनी प्रयोग गर्न पाउँदैनौं । त्यो अप्ठ्यारो भयो भनेका छौं । त्यसले नियामकलाई नियमन गर्न पनि सहज हुन्छ । पहिले ब्रोकर आफैंले लगानीकर्ताको सेयर खरिद बिक्री गराउनुपथ्र्यो । अब त्यो अवस्था पनि छैन । अब लगानीकर्ता आफैंले पनि खरिद–बिक्री आदेश दिन सक्छन् । अहिले लगइनको पनि समस्या छैन । पछिल्लो समयमा धितोपत्र बोर्ड पनि प्रोप्राइटर टे«डिङमा सकारात्मक नै देखिएको छ । ब्रोकरले गरेको कारोबारको रिपोर्ट धितोपत्र बोर्ड र नेप्सेमा बुझाउने व्यवस्था गरेर काम गर्न दिँदा समस्या देखिँदैन । ब्रोकरले बदमासी गर्छन् भनेर नदिने भनीएको हो भने यसले त्यो समस्या पनि हल गर्छ । यो काम गर्दा बजारमा चलखेल हुन्छ भन्ने पनि हुँदैन । म आफैंले कारोबार गर्ने भए पनि कर्मचारीको संख्या बढाएर लगानीकर्तालाई सेवा दिन सक्छु । सेयर कारोबार गरेर नाफा लिने भए ब्रोकर छोडेर लगानीकर्ताको रूपमा भैहाल्छ नि । बजारलाई खुला नै छोड्नुपर्छ ।

सेयर बजारका लागि विकास विस्तार भनिरहे पनि सर्ट सेल, डिबेन्चर मार्केटलगायतका बजारलाई चलायमान बनाउने प्रडक्टको विषयमा ध्यान दिइएको देखिँदैन नि ?
अहिले हामीले डिबेन्चर मार्केटको कुरा पनि उठाएका छौं । पुँजीबजारमा सहज कारोबार हुने र लगानीकर्तालाई सचेत गराउन सकेको खण्डमा डिबेन्चर मार्केट पनि ठूलो छ । बजारको भोलुम बढाउनका लागि सर्टललाई पनि सुरु गर्नुपर्छ । बजारको आकार वढाउने त्यस्ता प्रडक्टहरूलाई सञ्चालन गर्नुपर्छ । लगानीकर्तालाई पनि छनोटको अवसर हुुनुपर्छ । अहिले बजार घट्दो क्रममा भएकाले कारोबार रकम धेरै न्यून छ । बजार बढ्दा कारोबार रकम पनि उच्च गतिमा बढेको हुन्छ । यस्तो प्रक्रियाले लगानीकर्ताले बढ्दा वा घट्दा दुवै अवस्थामा लाभ लिन सक्दैन । त्यसैले पनि बजारको आकार बढाउने प्रडक्टहरू खुला रूपमा छोड्दा राम्रो हुन्छ । बैंकिङ प्रणालीका ब्याजदर १२ देखि १३ सम्म हुँदा पनि समान्य मान्ने लगानीकर्तालाई सुसूचित गरेर डिबेन्चर मार्केट सञ्चालन गर्नु आवश्यक छ ।

पुँजीबजारका सबै काम गर्न तयार छौं भनिरहँदा बजारको अहिलेको अवस्थालाई कसरी विश्लेषण गर्नुभएको छ ?
पुँजीबजार अहिले पनि प्रारम्भीक चरणमै छ भन्दा फरक पर्दैन । बजारमा भर्खर मात्र अनलाइन कारोबार प्रणाली आएको छ । नीतिगत रूपमा भन्नुपर्दा पनि बजारलाई सपोर्ट गर्ने धरै व्यवस्था लागु हुने चरणमा रहेका छन् । विगतमा व्यक्तिगत लगानीकर्ताले धानेको बजार अहिले सामूहिक लगानी कोषदेखि संस्थागत लगानीकर्ता धेरै छन् । त्यसका साथै लगानीकर्ताले लगानीको निर्णय आफैं गर्न सक्ने भएका छन् । त्यसका साथै सेयर किन्न र बिक्री गर्नका लागि दलाललाई अनुरोध गर्नुपर्ने समय समाप्त भएको छ । विदेशी लगानीकर्ता ल्याउने कानुनी व्यवस्था पनि भएको छ । त्यसैले पनि पुँजीबजारको भविष्य छ । बजार घट्नु र बढ्नु भनेको समान्य हो । तर, अहिले लगानी सुरु गर्नु उपयुक्त हुन्छ । त्यसैले समग्र बजार विकासका लागि सबैले आफूले सकेको काम गर्नुपर्छ । बजारको एक पक्षले गरेको कुरा अर्को पक्षले नकारात्मक रूपमा नबुझी बजार सुधारका लागि प्रयाग गरेको खण्डमा बजारको विकास टाढा छैन ।