नरी बडु
शुक्रवार, चैत्र ८, २०७५
618

बैतडीले चार–चार पटक समग्र देशको नेतृत्व गरिसकेको छ । यति मात्र होइन, देशमा जहानियाँ राणाशासकको अन्त्यका लागि बलि दिएका चार सपूतमध्ये एक सपूतको बलि चढाएको जिल्ला हो— बैतडी । एसियाकै पहिलो महिला मन्त्री बन्ने ठाउँ पनि यही हो । तर, बैतडी जिल्ला विकासमा विगतदेखि नै उपेक्षित बन्दै आएको छ । २०४९ सालमा त्रिपुरासुन्दरी गाविसको अध्यक्ष रहेका नगर प्रमुख नरेन्द्रसिंह थापा २०५४ सालमा दशरथ नगरका उपमेयर थिए । सरल स्वभावका थापा ४० वर्षयता राजनीतिमै क्रियाशील छन् । हाल उनी बैतडी कांग्रेसका सभापति पनि हुन् । साढे तीन वर्षअघि कृषि विकास बैंकको ३० हजार ऋण तिर्न नसक्दा घर लिलामीको सूचना आएपछि साथीभाइले चन्दा उठाएर तिरेपछि उनी ऋणमुक्त भएका थिए । देश पुनर्संरचनामा गएपछि ४ नगरपालिका र ६ गाउँपालिका गरी १० वटा स्थानीय तहमा विभाजन भएको जिल्लामा जनअपेक्षाअनुसार काम नभएको गुनासो छ । सोही स्थानीय तहमध्येको एक हो— दशरथ चन्द नगरपालिका । वीर सहिद दशरथ चन्दको नामले नामकरण गरिएको जिल्लाकै पुरानो नगरपालिकाका रूपमा चिनिने यस नगरपालिकामा विगतमा त्यस्ता कुनै महत्वपूर्ण योजना सञ्चालन भएनन् । नगरपालिका घोषणा भएको धेरै समय भए पनि जनताले भने विकासको खासै आभास गर्न पाएनन् । पुरानो तर विकासका दृष्टिले उपेक्षित यस नगरपालिकाका जनप्रतिनिधिहरू पछिल्लो समय भने नगरको विकासमा क्रियाशील छन् । सोही सन्दर्भमा दशरथ चन्द नगरपालिकाको विकास, सम्भावना र अवसर, चुनौती, जनअपेक्षा, नगरको योजनालगायतका विषयमा नगर प्रमुख नरेन्द्रसिंह थापासँग कारोबारकर्मी नरी बडुले गरेको कुराकानीको सार :

तपाईं आफ्नो राजनीतिक यात्रालाई कसरी सम्झनुहुन्छ ?
अब राजनीतिक यात्राको कुरा गर्ने हो भने विगतमा भोगेका अनेकन दुःख तथा कुटाइ–पिटाइको झलझल्ती याद आउँछ । म २०३६ सालदेखि राजनीतिमा प्रवेश गरेको हुँ । पहिलेदेखि नै नेपाली कांग्रेसप्रति आस्था भए पनि जब मैले एसएलसी पास गरेर अध्ययनका लागि काठमाडौँ गएँ, २०३६ सालमा त्यहाँ मैले विद्यार्थी राजनीतिबाट राजनीति सुरु गरेको हुँ । त्यहाँ अस्पताल काण्डमा मलगायतका केही साथीले कुटाइ खायौँ र हामीलाई बन्दी पनि बनाइयो । त्यहाँ पढ्ने वातावरण नभएपछि मैले भारतबाट आईए पास गरे । २०४६ सालको जनआन्दोलनमा बैतडीमै बसेर आन्दोलन गरियो । त्यस बेला पनि अनेक किसमका दुःख भोग्नुप-यो । २०४९ सालमा त्रिपुरासुन्दरी गाउँसभा सभापति हुँदा म त्रिपुरा तत्कालीन सुन्दरी गाविसको अध्यक्ष पनि भएँ । त्यसपछि मलाई पार्टीको जिम्मेवारीका साथै जनताको जिम्मेवारी पनि थपियो । २०५४ सालमा पार्टीको नगर सभापति हुँदा दशरथ चन्द नगरपालिकाको उपमेयर पदमा पनि निर्वाचित भइयो । त्यसपछि दुई कार्यकाल पार्टीको नगर सभापति भएर काम गरियो । विगत तीन वर्षदेखि नेपाली कांग्रेस बैतडीको पार्टी सभापति भएर पनि काम गरिरहेको छु भने गएको स्थानीय तह निर्वाचनमा यहाँका प्रिय जनताले मलाई यस दशरथ चन्द नगरपालिकाको प्रमुख पदमा पनि विजयी गराए । विगतदेखि नै जनताका हरेक दुःख–पीडाहरूसँग लड्दै–भिड्दै राजनीति गरिरहेको छु । मेरो चाहना पनि छ— म देश र जनताकै पक्षमा निरन्तर लागिरहूँ ।

तपाईंमा जनताले विभिन्न आशा देखेका थिए, अहिले स्थानीय सरकार प्रमुखका रूपमा चुनाव जितेर आइसकेपछि जनअपेक्षाअनुसारका के–कति काम गर्नुभयो ?
मप्रति आशा भएरै मेरा प्रिय दाजुभाइ तथा दिदीबहिनीहरूले मलाई स्थानीय सरकारको प्रमुखका रूपमा चुन्नुभयो । जनताका अपेक्षा धेरै छन् । जिल्ला सदरमुकामको मुटुमा रहेको दशरथ चन्द नगरपालिका देशका ५८ वटा पुराना नगरपालिकामध्येको एक हो । स्थानीय तहको पुनर्संरचनापछि यहाँ साबिकका, दुर्गा भवानी, देहीमाण्डौ, गुरुखोला, ग्वाल्लेक, नागार्जुन र दुर्गास्थान गाबिस थपिएर बृहत् नगरपालिका बनेको छ ।
नागरिकस्तरबाट सडकको माग नै पहिलो प्राथमिकतामा आउने गरेको छ । यातायातबाट वञ्चित रहेका गाउँबाट सडकको माग आउनु पनि स्वाभाविक हो । जनचाहनाअनुसार नै गत आव र चालू आवमा नगरपालिकाका वडा नं. १, २, ३, ९, ७, १० र ११ मा ८० किलोमिटर सडक निर्माण भएको छ । सडक पुगेपछि त्यहाँ स्थानीयवासी खुसी भएका छन् । मैले निर्वाचनका क्रममा घरदैलो गर्न जाँदा पनि जनताको पहिलो माग नै गाउँमा सडक पुग्नुपर्ने हुन्थ्यो, सोहीअनुसार सडकलाई प्रमुख प्राथमिकतामा राखिएको छ र अन्य खानेपानी समस्या भएका क्षेत्रमा खानेपानी योजना निर्माण, पीसीसी बाटो र सिँचाइलाई पनि प्राथमिकतामा राखेर काम भइरहेको छ । गर्न बाँकी पनि थुप्रै काम छन्, हामी आएको धेरै पनि भएको छैन । जनताका मागअनुसारका अन्य धेरै काम आगामी दिनमा निरन्तर गर्ने योजना पनि छ ।

सहिद दशरथ चन्दको साख राख्न पनि दशरथ चन्द नगरपालिकाले धेरै काम गर्नुपर्ने देखिन्छ, के छ तपाईंको योजना ?
ठीक भन्नुभयो । प्रजातान्त्रिक आन्दोलनका धरोहर, देश र जनताका लागि जीवन बलि चढाउने ज्येष्ठ सहिद दशरथ चन्द पनि यसै नगरपालिकामा जन्मेका हुन् र उनकै नामबाट नामकरण गरिएको यो नगरपालिकाले सहिद दशरथ चन्दको साख राख्नकै लागि भए पनि अरूभन्दा धेरै काम गर्नुपर्नेछ । हामीले पनि दशरथ चन्दको भावनालाई अंगीकार गरेर राजनीतिक यात्रा सुरु गरेका हौं । जनअपेक्षाअनुसार काम गर्नु, कुनै जात, धर्म, भाषा र वर्ग नभनी जनताप्रति उत्तरदायी भएर काम गर्नु नै दशरथ चन्दको पनि उद्देश्य थियो भन्ने बुझेका छौँ र सोही अनुसार हामी पनि यहाँको विकास निर्माणमा लागेका छौँ । नगरक्षेत्र भित्र रहेको जातीय विभेद र छूवाछुत पनि अन्त्य गर्नका लागि हामीले विभिन्न कार्यक्रम चलाइरहेका छौँ । दशरथ चन्दको उद्देश्य र भावनाअनुसार नै हामी काम गर्नेछौं ।

नगरपालिकाको आर्थिक विकासका लागि कस्ता योजनाहरूलाई प्राथमिकतामा राख्नुभएको छ ?
नगरपालिकाको आर्थिक उन्नति पनि जरुरी छ । हामीले विशेष गरी नगरक्षेत्रभित्र रहेका युवाहरूलाई व्यवसायमा जोड्न विभिन्न किसिमका कार्यक्रम सञ्चालन गरिरहेका छौँ । हरेक वडामा सडक पुगेपछि मात्रै त्यहाँको अन्य विकास गर्न सम्भव हुने भएकाले हामीले हरेक वडामा सडकको अभियान चलाएका थियौँ, जुन अहिले पूरा हुने अवस्थामा छ । त्यसपछि हामी हरेक वडाका युवाहरूलाई उद्यमशीलतामा जोड्नका लागि कार्यक्रम ल्याउँछौँ । कुनै व्यवसाय गर्ने युवाहरूलाई अनुदान दिने र अनुदानका लागि अन्य निकायमा सिफारिस गर्ने पनि गरेका छौँ । नगरपालिकाभित्र रहेका विभिन्न धार्मिक एवं पुरातातात्विक तत्व हरूलाई पनि संरक्षण एवं संवद्र्धन गर्नुका साथै तिनको प्रचारप्रसार गरी यस नगरपालिकामा पर्यटकहरू भित्र्याउने किसिमका कार्यक्रमहरू पनि छन् । यो नगरपालिका भारतसँग जोडिएको र भारतका हजारौँ दर्शनार्थी आउने त्रिपुरासुन्दरी र जगन्नाथ मन्दिर पनि यसै नगरपालिकामा भएकाले हामीले त्यस ठाउँमा पर्यटकहरू भित्र्याउने र त्यसबाट यहाँको आर्थिक विकासमा टेवा पु-याउने पनि विश्वास लिएका छौँ, साथै नेपाल–भारत सीमा–नाका जुलाघाटमा पक्की मोटरेबल पुलका लागि पनि माथिल्ला सरकारहरूसँग आग्रह गरिरहेका छौँ, जसका कारण यहाँको व्यापार–व्यवसाय बढ्नुका साथै पर्यटक आवागमनमा निकै सहयोग गर्नेछ ।

विकास बजेट खर्चको अवस्था के छ तपाईंको नगरपालिकामा ?
यो नगरपालिका विभिन्न व्यापारिक केन्द्रसँग प्रत्यक्ष जोडिएको हुँदा यहाँ खर्चका लागि गा-हो छैन । चालू आर्थिक वर्षको बजेट पनि हामीले सबै सकिसकेका छौँ, अब अन्तिम चरणको अनुगमनको काम भइरहेको छ । तर, बजेटको अभाव हुने गरको छ । धेरैजसो स्थानीय तहले बजेट खर्च गर्न नसकेको गुनासो आउने गरेको छ, तर हामीकहाँ थोरै बजेट आएको हो कि जस्तो लाग्छ । अब हामीसँग बजेट नभएकै कारण काम रोकिने अवस्था छ । बजेट खर्चका लागि समस्या छैन, तर बजेट पर्याप्त नहुँदाचाहिँ समस्या छ ।

विकास–निर्माणका कुरा गर्दा मेसिनकै बढी प्रयोग हुने गरेको जनगुनासो आउने गरेको छ । मेसिनको प्रयोगले स्थानीय मजदुरको रोजगारी खोसिएको जनगुनासो आउने गरेको छ । यहाँको भनाइ के छ ?
जनस्तरबाट छिटो सडक चाहियो भन्ने माग आउँछ । सडक छिटो पु-याउन मेसिनको प्रयोग नगरी सम्भव छैन । यसका बाबजुद पनि हामीले सडकको वाल र नाली निर्माण गर्दा स्थानीय मजदुरकै प्रयोग गर्नुपर्ने नीति अख्तियार गरेका छौं । मेन सडक मेसिनबाट खनिए पनि साना सडक र बाटोहरू जनस्तरबाटै निर्माण गर्ने योजनाका लागि पनि छलफल भइरहेको छ । गाउँमा सडक पुगेपछि स्थानीयलाई अब आधुनिक खेती सुरु गर्न प्रेरणा दिइरहेका छौं । गाउँमा जाने गाडी फर्केर आउँदा गाडी रित्तै आउनु भएन । एक मुठा धनियाँ, हरियो साग र तरकारी, दाललगायत गाडीमा केही न केही हालेर पठाउनुप-यो । गाउँमा सडक पुगेपछि आयात–निर्यात बढाउन स्थानीय उत्पादनलाई जोड दिनुपर्छ भनिरहेका छौं ।

जनप्रतिनिधिले विकास बजेटमा भ्रष्टाचार गर्ने गरेको र आफूनिकटका नेता–कार्यकर्तालाई पोस्ने गरी योजना बन्ने गरेको नागरिकको गुनासो छ । यसमा तपाईंको भनाइ के छ ?
यो सत्य होइन । नगरपालिकामा आएर सिधै योजना माग्ने र बजेट देऊ भन्ने केही गलत तत्व ले लगाएको आरोप मात्रै हो । योजना निर्माण गर्ने विभिन्न चरण हुन्छन् । वडा भेलादेखि जनसहभागितामा योजना छनोट हुन्छन् । त्यो प्रक्रियाबाट नआएर सिधैं व्यक्तिगत योजना माग्नेहरूले गलत हल्ला गरेका हुन् । विगतमा हुने भागबन्डाका आधारमा योजना लाने र गुणस्तरीय काम नगरी कमिसन खाने व्यक्तिहरूले अहिले त्यो गर्न पाएका छैनन्, त्यसैले हल्ला चलाउँछन् । तर, म आफू र मेरो नगरपालिकाको टिमलाई अनियमितिताका कुनै काममा संलग्न भएको पाइएमा हदैसम्मको कारबाही गर्न र भोग्न पनि रत्तिभर पछि हट्ने छैन ।

नगरपालिकाले कृषिमा देखिने गरी कुनै नमुना काम गरेको छ ?
राम्रो प्रश्न गर्नुभयो । निश्चिय नै हामीले कृषिमा एउटा होइन, तमाम नमुना काम गरेका छौं । दशरथ चन्द नगरपालिकाको वडा नं. ७ मा हामीले ४ हेक्टर बाँझो जग्गालाई उपयोगमा ल्याउन त्यसलाई घेरबार गरेर ५ हजार ओखरका बोट लगाउन सहयोग गरेका छौं । त्यहाँ ओखरसँगै कागती र डाले घाँस लगाउने पनि कुरा छ । ‘एक वडा एक नमुना कृषि’ कसरी बनाउन सकिन्छ भन्ने विषयमा नगरपालिकाले रणनीति बनाउँदै छ ।
नगरपालिकाभित्रका जर्ग गाउँ, शेरालगायत विभिन्न तरकारी पकेट क्षेत्रमा सडक पु-याएर तरकारी उत्पादन र ढुवानीलाई सहज बनाउने काम सुरु भएको छ ।

जनतालाई प्रत्यक्ष राहत हुने खालका अन्य के–कस्ता कार्यक्रम छन् नगरपालिकासित ?
नगरपालिकाले ‘दशरथ चन्द ग्रामीण विकास’ कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रमले व्यवस्थित ग्रामीण विकासलाई प्राथमिकता दिएको छ । सडक निर्माण गर्दा पानीका मुहानलाई समेत ध्यान दिनुपर्नेछ । शिक्षा, स्वास्थ्यबाट कोही नागरिक वञ्चित नहुन् भनेर सो अनुसारका पूर्वाधार निर्माण गरिरहेका छौं । शिक्षालाई व्यवस्थित गरेर गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षामा मात्रै नगरपालिकाले ५५ लाख रुपियाँ विनियोजित गरेको छ ।

गरिब, विपन्न र असहायका लागि नगरपालिकाबाट के–कस्ता राहतका कार्यक्रम भएका छन् ?
नगरपालिकाले भर्खरै वडा नं. १० मा सहाराविहीन पाँच जना बालबालिकालाई कपडा, आर्थिक सहयोग र जीर्ण रहेको घर मर्मत गरेर बालबालिकालाई स्कुल पढ्ने व्यवस्था मिलाएका छौं । नगरपालिकाभित्रका कुनै पनि नागरिकले गरिबीकै कारण स्कुल पढ्न नसक्ने अवस्थाको अन्त्य गर्ने गरी काम गरिरहेका छौं । समग्रमा नागरिकको मौलिक हक सुरक्षित हुने गरी विकासका काम गरिरहेका छौं ।

स्थानीय सरकार सञ्चालन गर्दा नगरपालिकासित के कस्ता चुनौती छन् ?
स्थानीय सरकार सञ्चालन गर्दा कर्मचारी अभाव देखिएको छ । नगरपालिकाका सबै वडा कार्यालयमा अझै सचिवको दरबन्दी पूरा हुन सकेको छैन । नगरपालिकामा न्यायिक समिति गठन गर्ने भनिए पनि कानुनी रूपमा सहयोग गर्ने कर्मचारीको दरबन्दी छैन । न्यायिक समितिले के–कसरी काम गर्ने भन्ने विषयमा अन्योल छ । सानोतिनो निवेदन लिएर अन्यायमा परेको भनेर नागरिकहरू निवेदन लिएर आउने गरेका छन् । न्यायसम्बन्धी मुद्दा छिनोफानो गर्न नगरपालिकालाई चुनौती देखिएको छ ।

दशरथ चन्द नगरपालिका भारतसित सीमा जोडिएको छ । नजिकै महाकाली र चमेलिया नदी छ । महाकाली करिडोर पनि दशरथ चन्द नगरपालिका भएरै गइरहेको छ । जिल्लाका प्रसिद्ध धार्मिक स्थल पनि दशरथ चन्द नगरपालिकाभित्रै छन् । तर, नगरपालिकामा चहलपहल देखिँदैन, किन होला ?
स्थानीय तहको पुनर्संरचनापछि जिल्ला सदरमुकाम खारेजजस्तै भएको छ । १४ भन्दा बढी सरकारी कार्यालय खारेज भएका छन् । सदरमुकाममा हुने काम सबै स्थानीय तहमा हुन थालेपछि मान्छेको आवतजावत निश्चित रूपमा घटेको छ । तर, दशरथ चन्द नगरपालिकाले छोटो समयमै व्यवस्थित सहरीकरणको योजना ल्याएको छ । बसाइँसराइ रोक्न व्यवस्थित विकास चाहिन्छ । शिक्षा, स्वास्थ्य र रोजगारीका अवसर सिर्जन गर्न सके नगरपालिका र जिल्ला सदरमुकामको मुटुमा चहलपहल बढ्न सक्छ । बैतडी सदरमुकाममा ५० शय्याको अस्पताल बन्दैछ । त्यहाँ ६ जना विशेषज्ञ डाक्टरको दरबन्दी हुनेबित्तिकै चहलपहल बढ्न सक्छ । त्यसैगरी दशरथ चन्द नगरपालिकामा रहेको जगन्नाथ बहुमुखी क्याम्पसलाई व्यवस्थित गर्ने कुरा आएको छ । शिक्षा क्षेत्रमा विभिन्न विधाको पढाइ सुरु गर्न नगरपालिकाले सक्दो सहयोग गर्छ ।

नगरपालिकाको मुख्य आन्तरिक आयस्रोत के हो ? जसले नगरपालिको आन्तरिक आयमा प्रत्यक्ष सहयोग गरेको छ ?
नगरपालिकासित महाकाली र चमेलिया नदी छ । त्यहाँबाट जलविहारको सम्भावना छ । पर्यटक भित्र्याउन सकिने सम्भावना छ । त्यसका साथै बालुवा र गिट्टीमा निश्चित कर लगाउने कुरा छ । भारतसित जोडिएको झुलाघाट सीमा–नाका छ । त्यहाँको व्यापार–व्यवसायलाई व्यवस्थित बनाएर निश्चित कर लगाउन सकिन्छ । जिल्लाकै प्रसिद्ध धार्मिक स्थलहरू यहाँ छन् । ग्वाल्लेक संरक्षित वन क्षेत्र यहाँ छ । ग्वाल्लेकमा ५० भन्दा बढी जडीबुटी छन् । यी सबैको समुचित उपयोग गरेर नागरिक र नगरपालिका दुवैलाई समृद्ध बनाउन सकिन्छ ।

समाजमा अझै पनि जातीय तथा लैंगिक विभेद कायमै छ । नगरपालिकाबाट यस्ता विभेद, कुरीति हटाउन के–कस्ता कार्यक्रम सञ्चालन भइरहेका छन् ?
निश्चित रूपमा अहिले पनि समाजमा केही विभेद तथा कुरीति बाँकी छन् । ती कुरीति नगरपालिकाले एकैपटक हटाउन सक्दैन । यस्ता कुरीति हटाउन नगरपालिकाले दलित, महिला र जनजाति संगठनहरूसित समन्वय गरेर आवश्यक बजेटको व्यवस्था गरी सचेतनाका कार्यक्रम सञ्चालन भएका छन् ।

नगरपालिकाबाट गर्न नसकिएका के–कति कामका लागि प्रदेश र संघीय सरकारलाई गुहार्नुभएको छ ?
मुख्य कुरा त कर्मचारी अभाव नै हो । त्यसका अतिरिक्त नगरपालिका बजेट थोरै आएको छ । ६० प्रतिशत बजेट कर्मरचारीको तलबभत्तामै खर्च हुन्छ । बाँकी ४० प्रतिशत विकासे बजेटले जनताले माग गरेअनुसारका सबै योजना दिन सकेका छैनौं । त्यसकारण बजेटका लागि संघ र प्रदेश सरकारलाई गुहार मागेका छौं । जनअपेक्षाअनुसार कम्तीमा पनि दशरथ चन्द नगरपालिकामा विकासका लागि मात्रै ५० करोड बजेट आयो भने केही गर्न सकिन्छ । अहिले जनस्तरबाट नेपाल–भारत सीमा–नाका जुलाघाटमा मोटरेबल पुलको कुरा उठिरहेकाले त्यसका लागि पनि हामीले संघ सरकारसँग आग्रह योजना बनाएका छौँ । यदि जुलाघाटमा मोटरेबल पुल बन्ने हो पनि यहाँका व्यापारिक, पर्यटकीय र अन्य विभिन्न क्षेत्रमा विकास हुने स्थानीयबाट आवाज पनि उठिरहेको छ ।

नगरपालिकाको सुशासनबारे नागरिकबाट बेला–बेला राजनीतिक आस्थाका भरमा कार्यकतालाई बजेट बाँडेको गुनासो आउने गरेको छ । यो विषयमा तपाईंको भनाइ के छ ?
नगरपालिकाले अहिलेसम्म तीन पटक सार्वजनिक सुनुवाइ गरेको छ । सुशासन, पारदर्शिता र जवाफदेहिता बढाउन नगरपालिकाले डिजिटल सूचना पाटी राखेको छ । त्यहाँ प्रत्येक दिन सम्पादन भएका काम र आगामी दिनमा गरिने कामका बारेमा जानकारी राखेका छौं ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा पनि हामीले प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रमुखलगायतका व्यक्तिलाई आमन्त्रित गरेर कार्यक्रम गर्दा त्यस्तो गम्भीर प्रश्न आएका छैनन् । व्यक्तिगत रूपमा हामीले कसैलाई बजेट बाँडेका छैनौं । बरु मैले आफ्नो तलबभत्ताबाट गरिब, विपन्न र उपचार खर्च नभएर अस्पताल जान नसकेका व्यक्तिलाई आर्थिक सहयोग गरेको छु । केही व्यक्ति सिधै योजना पनि माग्न आउँछन् । प्रक्रियाअनुसार आउन भन्दा त्यस्तो आरोप लगाएका हुन् । आमनागरिकको कुनै गुनासो छैन ।

जनअपेक्षाअनुसार काम गरेर समृद्ध नगरपालिका बनाउछौँ भन्नुभयो, त्यसका लागि तपाईंका विशेष योजना के छन् त ?
मुख्य कुरा, रोजगारी सिर्जना गर्ने योजना बनाएको छु । पाँच वर्षसम्म दशरथ चन्द नगरपालिकालाई समृद्धिको बाटोमा कसरी लैजान सकिन्छ भन्ने विषयमा नगर कार्यपालिकामा विशेष छलफल र बहस गरिरहेका छौं । जनतासँग प्रत्यक्ष भेटघाटका क्रममा पनि उनीहरूका आवश्यकताका बारेमा नै सोच्ने गरेको छु । जनताबाट आएका मागहरूलाई प्राथमिकीकरण गरी कार्यान्वयनका पाटोमा लान म र मेरो टिम प्रतिबद्ध छ । यसमा कर्मचारी, नागरिक समाज र जनप्रतिनिधि सबैले शुद्ध र पवित्र मनले जनभावनालाई शिरोधार्य गरेर काम गरे अवश्य पनि समृद्ध नगरपालिका बन्ने आशा लिएका छौं ।