कारोबार संवाददाता
सोमवार, चैत्र ४, २०७५
1275

जीवन बिमा व्यवसाय गर्ने कम्पनीहरूको संख्या १९ पुगेसँगै बजार तातेको छ । कम्पनीको विस्तारसँगै बिमाको पहुँच १७ प्रतिशत पुगेको तथ्यांक पनि सार्वजनिक भएको छ । बिमा कम्पनीहरूको संख्या वृद्धि भएसँगै नियामक निकाय बिमा समितिले लगानी निर्देशिका संशोधन गरी लगानीको दायरा वृद्धि गरेको छ, जसका कारण अब बिमा कम्पनीहरूले घरजग्गाका साथै कृषि, पर्यटन, पूर्वाधारलगायतका क्षेत्रमा पनि लगानी गर्ने बाटो पनि खुला भएको छ । लगानीको दायरा वृद्धि गर्ने समितिको निर्णय जीवन बिमा व्यवसायमा कोसेढुंगा हुने ज्योति लाइफ इस्योरेन्सका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्री बताउँछन् । यसले बिमा उद्योगमा भएको पुँजी देश विकासमा लगानी गर्न सकिने भएको र यसैअनुसार कम्पनीहरूले क्षमता विकास गर्नुपर्ने उनको भनाइ छ । बिमाको विस्तारका लागि सचेतना बढाउनुका साथै सरकारले करमा दिएको सहुलियतलाई वृद्धि गर्नुपर्ने उनको सुझाव छ । बिमा पहुँच विस्तारको सकारात्मक तथ्यांक आइरहेका बेला कम्पनीहरूबीचको प्रतिस्पर्धाका साथै समग्र बिमा व्यवसायबारे कारोबारकर्मी यादव हुमागाईंले गरेको कुराकानीको सार :

बिमा समितिले हालै लगानी निर्देशिका परिवर्तन गरी लगानीको दायरा बढाएको छ । यसले बिमा व्यवसायमा कस्तो असर पर्ला ?
जीवन बिमा व्यवसायका लागि यो ऐतिहासिक उपलब्धि नै भन्दा हुन्छ । एउटा किसिमले लगानी गरिरहेको बजारमा एकै पटक ठूलो पुँजी बोकेर नौवटा कम्पनी आए । त्यो पैसा कि बैंकमा थुप्रियो या त सेयर बजारमा मात्र गयो । इस्योरेन्स कम्पनीले देशको विकासमा के भूमिका खेल्यो भन्दा उत्तर दिने ठाउँ थिएन । त्यसले बिमा समितिले गरेको लगानी निर्देशिका परिवर्तन सकारात्मक कदम हो । यसले टेक्निकल रिजर्भका आधारमा विभिन्न ठाउँमा लगानी गर्ने बाटो खुला गरिदिएको छ । घरजग्गाका साथै कृषि, पर्यटन, भौतिक पूर्वाधारसम्बन्धी आयोजनाहरूमा पनि लगानी गर्न पाउने भएका छन् । हाम्रो पुँजी अब बैंकमार्फत मात्र नभई देश विकासमा लागि आफैं कुनै प्रोजेक्टको विकास गर्न सक्ने बाटो खुला गरिदिएको छ ।

अवसरसँगै जोखिम पनि त आउला नि ?
घरजग्गामा लगानी गर्न पाउने भनेपछि सबै लगानी घरजग्गामा मात्र गर्ने भनिएको त छैन । टेक्निकल रिजर्भको ५ प्रतिशत मात्र गर्न पाउने भनिएको छ । बिमा कम्पनीहरूलाई आफ्नो लगानीका क्षेत्रहरू विविधीकरण गर्ने हिसाबले नै निर्देशिका आएको छ । कम्पनीलाई क्षमताअनुसार लगानी गर भनिएको छ । अब कम्पनीहरूले त्यसका लागि क्षमता पनि विकास गर्नुपर्ने भएको छ । निर्देशिकाअनुसार लगानी गर्नका लागि बिमा कम्पनीहरूले आफ्नो लगानी नीतिका साथै क्षमता पनि विकास गर्न आवश्यक छ ।

बिमा समितिले बिमाको पहुँच १७ प्रतिशत पुगेको सार्वजनिक गरेको छ । यसलाई कसरी विश्लेषण गर्नुहुन्छ ?
बिमा पहुँचको प्रतिशत त बढेको छ । तर, केकोे प्रतिशत बढ्यो भन्ने दृष्टिकोणबाट पनि हेर्न जरुरी छ । आजभोलि १६–१७ प्रतिशत सर्वसाधारण बिमित भएको सार्वजनिक भएको छ । कुल जनसंख्यालाई बिमालेखको संख्याले भाग गरेर निकालिएको हो । बुझेका व्यक्ति एउटै मात्र बिमा लेख किनेर मात्र सन्तुष्ट भएर बस्दैन । उसले आफ्नो आवश्यकताअनुसार एकभन्दा बढी बिमालेख खरिद गरेको हुन सक्छ । त्यसैले दोहोरो गणना भएको छ कि भनेर केही बिमालेखको संख्या घटाएको पनि हुन्छ भने वैदेशिक रोजगारीमा जानेले खरिद गरेको म्यादी जीवन बिमालेख जोडिएको हुँदैन, साथै जसले निर्जीवनबाट सम्पत्ति बिमा लेख खरिद गरेको छ, त्यसलाई पनि समेटिएको हँुदैन । यो तथ्यांक जीवन बिमाको कुलको कुल बिक्रीका आधारमा निकालिएको हो । त्यो हेर्दा आजको दिनमा १६–१७ प्रतिशतको पहुँच देखिएको छ ।
हामी पनि ६ महिनाको व्यवसाय वृद्धिलाई हेरेर उत्साहित छौं । पहिलेको तुलनामा सर्वसाधारणमा बिमाप्रति सचेतना पनि बढेको छ । मानिसहरू बिमाप्रति सकारात्मक भइरहेको अवस्था छ । हिजो बिमा गरे के पाइन्छ र ? दावी भुक्तानी लिन झमेला हुन्छ भनेर नकारात्मक सोचाइ राख्नेहरूमा बिमाप्रतिको धारणा परिवर्तन भएको पाइन्छ ।

बिमाको पहुँच बढाउनका लागि अनिवार्य गर्नुपर्छ भन्ने तर्क पनि छ नि ?
निर्जीवन बिमा व्यवसायका केही क्षेत्र अनिवार्य नै छ । गाडीको ब्लु बुक नवीकरण र कर तिर्न तेस्रो पक्ष बिमा गरेकै हुनैपर्छ । यसैगरी बैंकमा धितो राख्नका लागि पनि बिमा अनिवार्य छ । मूल्य भएको सम्पत्तिको बिमा अनिवार्य भए पनि अमूल्य जीवन बिमा भने अनिवार्य गर्ने ढंगले सोचिएको छैन । जीवन बिमा अनिवार्यभन्दा पनि सकारात्मक बनाउनुपर्छ । गएको आर्थिक वर्षसम्म २० हजार रुपैयाँसम्म बिमा प्रिमियम तिर्दा आयकर छुट पाउँथे भने गत आवदेखि २५ हजार पु-याइएको छ । अहिले औसत बिमा पोलिसीको आकार नै ५ लाख पुगेको छ । त्यसका लागि वार्षिक ३५ देखि ४० हजार प्रिमियम तिरिरहेका छन् । त्यसैले २५ हजार छुटले सर्वसाधारणलाई त्यति आकर्षित गर्न सकेको छैन । यसलाई वृद्धि गर्न सके बिमाको पहुँच बढ्छ । नेपालमा सर्वसाधारणले बिमाबाट सुरक्षाका साथै प्रतिफल पनि खोजिरहेका छन् । इस्योरेन्सलाई सुरक्षाभन्दा पनि लगानीका रूपमा बुझेका छौं । भोलि म दुर्घटनामा परे या बिरामी हुँदा कसरी सुरक्षित हुने भन्दा पनि १५ वर्षमा के पाउँछु ? २० वर्षमा के पाउँछु भन्नेमै छ ।

इस्योरेन्सबारे तपार्इंहरूले बुझाएकै त्यही छ त ?
गएका दिनमा पुराना कम्पनीहरूले त्यसरी बुझाएका हुन् । अब त्यसमा सुधार हँुदैछ । सर्वसाधारणमा बिमाप्रतिको बुझाइ पनि फराकिलो बन्दै गएको छ ।

बजार नयाँ कम्पनी थपिएपछि अस्वस्थ प्रतिस्पर्धा बढेको गुनासो छ नि ?
आजको दिनमा एकदमै राम्रोसँग बिमा व्यवसाय विस्तार भइरहेको छ भनेर भन्न सक्दिनँ । कम्पनीहरूबीच प्रतिस्पर्धा छ । नौवटा कम्पनीले एक किसिमले व्यवसाय गरिरहेको बजारमा १० वटा कम्पनी थपिएपछि प्रतिस्पर्धा त हुन्छ नै । तर, यो प्रतिस्पर्धाले बिमाको विस्तार र विकास राम्रै भएको छ । नयाँ–नयाँ पोलिसी आएको छ भने व्यवसाय विस्तार भएको छ । गाउँगाउँसम्म शाखा विस्तार पनि भएको छ । बिमा समितिले पनि विभिन्न निर्देशिकामार्फत यसलाई व्यवस्थित गर्ने काम गरिरहेकै छ ।

कम्पनीको प्रतिस्पर्धाकै कारण अभिकर्ता र कर्मचारीलाई दिने सुविधामा समितिले कडाइ गरेको छ, यसको असर कस्तो पर्ला ?
बिमा समितिले कुनै निर्देशन जारी गरेपछि त्यसलाई पूर्ण रूपमा कार्र्यान्वयन गर्नु हाम्रो जिम्मेवारी हो । एजेन्टलाई इन्सेटिभ दिने वर्षौंदेखि चलिआएको चलन हो । कम्पनीहरूले आफ्ना अभिकर्ताहरूलाई यसरी नै परिचालन गर्दै आएका थिए । यसलाई रोक लगाउँदा केही न केही असर त पर्छ । यसलाई केही स्पष्ट तथा खुकुलो बनाउने विषयमा सुझाव पनि दिएका छौं । हरेक पटक अनुमति लिन जाने भन्दा पनि के गर्न पाउने र के गर्न नपाउने विषयमा निर्देशनमा स्पष्ट व्यवस्था गर्न सुझाव दिएका छौं । यसबारे समितिबाट पनि सकारात्मक जवाफ पाएका छौं ।
कम्पनीहरूले कर्मचारीलाई आकर्षित गर्नका लागि गाडीको मात्र कुरा गर्न थाले भनेर यो निर्देशन जारी भएको देखिन्छ । अस्वस्थ प्रतिस्पर्धालाई रोक्न खोजेको होला । पुराना कम्पनीहरूले फाइदा लिइसकेका छन् । हामीलाई अलिकति गा-हो होला । तर, सबै कुरा कम्पनीले दिने आर्थिक सुविधामा मात्र केन्द्रित हुँदैन । कति साथीहरू संस्थाले काम गर्ने तरिका, उनीहरूलाई दिने सम्मानका साथै कम्पनीको बिमा पोलिसीका आधारमा पनि हामीकहाँ आउनुभएको अवस्था छ ।

नीति निर्देशन जारी गर्ने समिति र कम्पनीहरूबीच कत्तिको छलफल भएको छ ?
छलफल हुने वातावरण बढ्दै गएको छ । हिजो दुवै बिमा व्यवसायको एउटै छाता संगठन थियो । अहिले जीवन र निर्जीवनको छुट्टाछुट्टै भएको छ । यसलाई हामी व्यवस्थित बनाएर अगाडि बढ्दैछौं । यसबाट बिमा समितिलाई नीति बनाउनका लागि सुझाव दिन पनि राम्रो प्लाटफर्म बन्छ । सबै उद्योगका व्यक्ति बसेर एकमुस्ट रूपमा समितिका नीति नियममा आवाज उठाउन सक्छौं । समितिले नीति निर्माण गर्ने क्रममा छलफल गर्ने वातावरण बन्छ । अहिले वैदेशिक रोजगारीको पुल बनाउनका लागि समेत एसोसिएसन भएकाले सजिलो भयो ।

बिमाको पहुँच बढाउन के गर्नुपर्छ ?
यसमा मुख्य कुरा सचेतना नै हो । सर्वसाधारणमा सचेतना बढेपछि बिमा गर्नेहरूको संख्या बढ्छ । यसका लागि सरकार पनि सकारात्मक हुन जरुरी छ । सरकारले बिमा कम्पनीलाई पार्टनरका रूपमा हेर्नुपर्छ । सरकारले बेहोर्दै आएको कतिपय जोखिम बिमा कम्पनीलाई हस्तान्तरण गर्न सक्छ ।
अहिलेसम्म सरकारले बिमालाई वित्तीय संस्थाका रूपमा हेरिरहेको छ । तर, हामी सर्वसाधारणलाई वित्तीय जोखिममा सुरक्षा दिने र अझ माथि लैजाने भूमिका हुन्छौं । बिमा भनेको आर्थिक स्तरमात्र वृद्धि गर्नेतिर नभएर आर्थिक संकटबाट बचाउने र तल झर्न नदिने पनि हो । तर, उद्देश्यअनुरूप परिचालन नभएजस्तो लाग्छ ।

बैंक र इन्स्योरेन्सबीच बैंकास्योरेन्सको सम्झौता गर्ने माहौल बढिरहेको छ, यो फेसन मात्र हो कि ?
केही–केही बैंकले चाहिँ बैंकास्योरेन्स सम्झौता मात्र गरेका छन्, इन्स्योरेन्सका लागि जुन प्रकारको फोकस, प्लानिङ र प्राथमिकता हुनुपर्ने हो सो भएको छैन । तर, केही बैंकले भने बैंकास्योरेन्सलाई राम्रोसँग बुझेर परिचालन गरेका छन् । मुख्यतया बैंकहरूले कर्जा दिँदा इन्स्योरेन्स गराउने गरिरहेका छन् जुन ठीक पनि हो । यदि कर्जा लिने मानिसलाई केही भएको खण्डमा परिवारलाई भार पर्दैन । यसले गर्दा तीन पक्षलाई नै राम्रो हुन्छ । बैंकलाई कमिसन, पोलिसी होल्डरको बिमा र बिमा कम्पनीलाई बिजनेस आउँछ । बैंकास्योरेन्सबाट सबैलाई नै ‘विन–विन’ को अवस्था आएको छ । तर, केही बैंकले भने सही तवरले बैंकास्योरेन्स गरेका छैनन् । उही फेसनका रूपमा अरूले ग-यो हामी पनि गरौं न भनेर मात्र पनि गरेका छन् । बिमाको छुट्टै डेक्स राखेर, कर्मचारीहरू खटाएर काम गर्ने बैंक थोरै छन् । धेरैले बुझेका छैनन् । सम्झौता गरे पनि सबै काम इन्स्योरेन्स कम्पनीले गर्छ भन्ने सोच पनि हुन सक्छ । तर, ६० प्रतिशत काम त बैंककै हो । उनीहरूका ग्राहकलाई बिमा कम्पनीले सेवा दिने हो । हामीले उनीहरूलाई ग्राहक दिने होइन । बाँकी ४० प्रतिशत काम मात्र बिमा कम्पनीको हो । के–के सेवा सुविधा छन् र के छैनन् भन्ने कुरा मात्र हो । धेरै बैंकले उल्टो तवरले बुझेका छन् ।

कम्पनीहरूले कमिसन बेसमा अभिकर्ता राख्ने र उनीहरूले पनि कमीसनकै लागि बिमा गराउने गरेका छन् । यसले वास्तविक बिमा भएको छैन भनिन्छ नि ?
बिमाको नियमअनुसार कम्तीमा पनि १८ घण्टाको ट्रेनिङ अभिकर्ताहरूलाई दिनैपर्ने हुन्छ । त्यसमा पोलिसी बिक्री गर्नेदेखि लिएर पोलिसीको प्रकृतिलगायतका टेक्निकल कुराहरू समावेश हुन्छन् । त्यसपछि उनीहरू बजारमा गएर व्यवसाय ल्याउने हो । अहिलेका अभिकर्ताहरूले पहिले बिमा गराऔं, पछि जे पर्ला–पर्ला भन्ने प्रकारको छ जस्तो लाग्दैन । अभिकर्ताहरूले बुझेका छन् कि मैले गरेको बिमा कम्पनीले कार्यान्वयन गरेन भने मलाई कठिन हुन्छ भन्ने बुझेका छन् । मानिसहरू धेरै नै सजग छन् र के बोल्न हुने, के बोल्न नहुने भन्नेबारे बुझेर मात्र बोल्छन् । तैपनि कोही–कोहीले आफ्नो स्वार्थ पनि हेर्ने गरेका होलान् ।
हामीले अभिकर्ताहरूलाई समय–समयमा तालिम दिइरहेका छौं । अहिले बिमा अभिकर्ताहरू पनि व्यावसायिक भएका छन् । पहिले–पहिले अभिकर्ताको सम्बन्धका कारण मात्र बिमा आउँथ्यो भने अहिले अभिकर्ताहरू व्यावसायिक भएर काम गरिरहेका छन् । अहिले अभिकर्ताहरू व्यावसायिक नेटवर्क बनाउनतिर लागेका छन् । स्तर वृद्धि भइरहेको छ ।

कम्पनीहरूले बिनाट्रेनिङ अभिकर्ताको लाइसेन्स दिएको भन्ने पनि सुनिन्छ नि ?
हामीकहाँ त्यस्तो हँुदैन । त्यो भनेको समयको बर्बादी हो । बुझेको अभिकर्ताहरूलाई त काम गर्न कठिन भएको अवस्थामा बुझ्दै नबुझेको अभिकर्ताले बजारमा गएर के मार्केटिङ गर्छ ? अहिले सर्वसाधारणमा बिमाको चेतना बढेको छ । अहिले प्रश्न गर्ने क्षमता सबैमा छ । जोसँग बिमाका बारेमा बुझाउने क्षमता नै छैन उसले बिमा गर्ने भनेको त समयको बर्बाद मात्र हो । यस्तो भएकै छैन त म कसरी भनौं, तर ज्योति लाइफले यस्तो गरेको छैन ।

बिमा कम्पनीको शाखा विस्तारको अनुपातमा क्षेत्रगत रूपमा व्यवसाय विस्तारको अवस्था कस्तो छ ?
पहिले जब नौवटा मात्र लाइफ इन्स्योरेन्स बिमा कम्पनी थिए, त्यतिबेला हरेक ३५ हजार नेपालीलाई एउटा बिमा कम्पनीको शाखाले सेवा दिन्थ्यो । त्यतिबेला बिमा ७ प्रतिशतमा सीमित हुनुको कारण सोही हो । अहिले नयाँ कम्पनीहरू आक्रामक रूपमा आए भने पुराना कम्पनीहरूलाई पनि आक्रामक रूपमा बजारमा उत्रन कर लाग्यो । सम्पूर्ण बिमा बजारमा नै बिमा कम्पनीका शाखाहरू बढेका छन् । अहिले २१ सय शाखा छन् । कम्पनीहरू पनि ग्रामीण भेगमा गइरहेका छन् । उनीहरू सेवामुखी पनि भएका छन् । बिमाको आवश्यकता भनेको दुर्गम क्षेत्रमै हो । बैंक तथा सहकारीहरूले पनि एजेन्सी लिएर काम गरिरहेकाले हामीलाई केही सहज भएको छ । बिमा कम्पनीको भन्दा बैंकहरूको सञ्जाल ठूलो छ, जसले गर्दा वित्तीय साक्षरता बढेकाले बुझाउन पनि सहज भएको छ ।

कम्पनी बढेपछि बिमा पोलिसीहरू नयाँ आएनन् भन्ने आरोप छ नि ?
नयाँ कम्पनीहरू आएपछि नयाँ–नयाँ प्रोडक्टहरू आएका छन् । जस्तै घातक रोगविरुद्ध दिने सुरक्षाको व्यवस्था ज्योति लाइफले नै सुरु ग-यो । अहिले सबै कम्पनीले नै ल्याएका छन् । अरू प्रोडक्डहरूमा पनि हामीले फरक ल्याएका छौं । बिमा कम्पनीहरूले भने बिल्कुलै फरक प्रोडक्टहरू ल्याउन सकिँदैन । नयाँ प्रोडक्ट ल्याउँदा एक्चुरीकोमा गएर ठीक छ-छैन भन्ने अनुसन्धान गरेर त्यसपछि बिमा समितिबाट रिभ्यु भएपछि मात्र पोडक्ट आउने हो । बिमामा धेरै कुरा परिवर्तन गर्ने ठाउँ छैन । आउने दिनमा इनोभेसन हुँदै गर्छ बिमा बजारमा । न्यून आयस्रोत भएकाहरूलाई पनि समेट्ने गरी बिमा पोलिसी ल्याइनुपर्छ भन्ने छ । अहिले बिमा समितिको निर्देशन अनुसार जारी गरेको पोलिसीको १० प्रतिशत लघुबिमामा जानका लागि अनिवार्यसमेत गरेको छ । सेवामुखी र लघुबिमातिर पनि हामीले फोकस भएर काम गर्न लागेका छौं ।

नयाँ कम्पनीहरूलाई व्यवसाय विस्तार गर्नका लागि सञ्चालक समितिको दबाब धेरै भएकाले बिमामा कर्मचारी टिक्दैनन् भनिन्छ । तपाईंले कस्तो महसुस गर्नुभएको छ ?
हामी बजारमा उपस्थिति देखाउनका लागि मात्र आएको भने होइन । बजारमा प्रतिस्पर्धाका लागि नै आएका हौं । लगानीकर्ताको धेरै लगानी भएको छ भने प्राथमिक सेयर पनि जारी गर्नुपर्ने अवस्था छ । जीवन बिमा भनेको लामो समयको व्यवसाय हो । एकपटकको व्यवसाय मात्र नभएर त्यसको नवीकरणलगायतका पाटोबाट पनि हेर्नुपर्ने हुन्छ । पहिलो वर्षको मात्र हेरेर हँुदैन । ज्योति लाइफको हकमा भने बिमा क्षेत्रमा जीवन बिताइसकेका मानिसहरू भएका कारण बोर्डले सबै कुरा बुझेकाले सहज नै छ, धान्नै नसक्ने अवस्था भने छैन । बिजनेस क्वालिटीको गर्नुपर्छ, क्वान्टिटीमा मात्र हैन भन्ने बुझेको छ ।

कम्पनीका योजनाहरू के–के छन् ?
यस वर्षको लक्ष्यअनुसार नै व्यवसाय वृद्धि भएको छ । यो महिनासम्म ४५ करोडको बिजनेस भएको छ । अहिलेसम्म २० हजार पोलिसी गएका छन् । अहिलेसम्म कम्पनीले कर्मचारी, अभिकर्ता, कार्यालयहरूलगायतका सम्पूर्ण पूर्वाधार बनाइसकेको छ । कर्मचारीहरू इन्स्योरेन्स कम्पनीबाट नआएकाले उनीहरूको योग्यता बढाउनतर्फ पनि लागिरहेका छौं । वास्तविक रूपमा बिजनेस गर्न सक्ने बनाउने लक्ष्य कम्पनीको छ । नयाँ प्रोडक्टहरू पनि बजारमा ल्याउँदै छ, जसले ज्योति लाइफलाई राम्रो माइलेज दिन सक्छ । ब्रान्ड भ्यालु पनि बढाउनेतर्फ लागिरहेका छौं । क्वान्टिटीका साथै क्वालिटीमा ध्यान दिएर इथिकल बिजनेस गर्ने ज्योतिको मुख्य उद्देश्य हो ।