कारोबार संवाददाता
आइतवार, कार्तिक १२, २०७४
669

गैरआवासीय नेपाली संघको आठौं विश्व सम्मेलन शनिबार काठमाडौंमा सुरु भयो । दसैं र तिहारको बीचमा भएरहेको यो सम्मेलनले नयाँ कार्यसमिति चयनका साथै आगामी कार्ययोजनासमेत बनाउने छ । नयाँ कार्यसमितिमा चयन हुन चाहनेहरूले आ–आफ्नो उम्मेदवारी घोषणा गरिरहेका छन् । सन् २००३ मा सम्पन्न भएको गैरआवासीय नेपाली संघको पहिलो विश्व सम्मेलनदेखि नै सकृय भवन भट्ट २००३/४ मा जापान एनसीसी तदर्थ समितिका सदस्य, २००४/६ सम्म निर्वाचित सदस्य, २००६/८ सम्म निर्वाचित सदस्य, ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने मूल नाराका साथ २००८/१० सम्म जापान एनसीसीका अध्यक्ष, २०१०/११ सम्म जापान एनसीसीका सल्लाहकार, अन्तर्राष्ट्रिय परिषद्को एक कार्यकाल कोषाध्यक्ष र उपाध्यक्षको दोस्रो कार्यकालको अन्तिम चरणमा छन् । भट्टले अध्यक्ष पदको दावेदारी गर्दै आफू अध्यक्षमा निर्वाचित हुने विश्वास व्यक्त गरेका छन् । पछिल्लो समयमा ‘अतिथि देवो भवः’ अन्तर्गत नमस्ते अभियान मार्फत नेपालमा पर्यटक भिœयाउने तथा पर्यटकलाई नेपाल भ्रमणका लागि आकर्षित गर्नका लागि एकै पटक नेपालका प्रमुख शहर काठमाडौं, चितवन, पोखरा, लुम्बिनीमा उनले अभियान नै चलाए । उनकै नेतृत्वमा नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १ महिने सरसफाइ अभियान पनि सम्पन्न भएको थियो । अध्यक्ष शेष घलेको दुई कार्यकालमा सबैभन्दा नजिक बसेर सघाएकाले विश्वासका पात्र मानिने भट्ट जापानका एक सफल युवा व्यवसायी हुन् । उनको नेपालमा पनि पर्यटन, शिक्षा, सञ्चारलगायत विभिन्न क्षेत्रमा लगानी छ । एनसीसी सदस्य, अध्यक्ष हुँदै आईसीसीका अध्यक्षका दावेदार बन्ने उनी पहिलो एनआरएन हुन् । यसैसन्दर्भमा अध्यक्षका आकांक्षी हालका उपाध्यक्ष भवन भट्टसँग सम्मेलनको सन्दर्भमा रहेर कारोबारले गरेको कुराकानीको सार :

एनआरएनएको अध्यक्ष पदमा उठ्दै हुनुहुन्छ, यहाँको जित्ने आधार के हो ?
पहिलो मेरो आधार भनेको म एनआरएनएको अभियानको शुरुवातदेखि नै संलग्न छु । एनआरएनए स्थापना भएका सबै देश पुगेर सबै साथीहरूसँग परिचित छु । साथै, म नै यस्तो व्यक्ति हुँला जो एनसीसीको शुरुवात सदस्यदेखि अध्यक्ष हुँदै केन्द्रको कोषाध्यक्ष हुँदै दोस्रो कार्यकालको उपाध्यक्ष छु । यसकारण म अहिलेको अध्यक्षको अग्र्यानिक दाबेदार हुँ ।

हाम्रा अग्रज अध्यक्षहरूसँगसँगै काँधमा काँध मिलाएर काम गरेको अनुभव मसँग छ । उहाँहरूले जसरी काम गरेर जानुभयो त्यसबाट मैले धेरै सिक्ने मौका पाएको छु । यसैगरी, एनआरएनएमा मेरो मुख्यतः चार वटा एजेन्डा छन् । जुन मेरा जित्ने आधार पनि हुन् । पहिलो, मैले एनआरएनए भर्सन २ भनेको छु । अर्थात्, अब एनआरएनए ठूलो संस्था भयो । अब यसलाई नयाँ उचाइमा लैजान ‘नयाँ युगको सुरुवात ः सबै हात एक साथ’ भनेर महिला, युवालगायत सबैलाई समेटेर वृहत विस्तार गर्ने । दोस्रो, नेपालको अर्थतन्त्रमा एनआरएनएलाई जोड्ने गरि स्मार्ट एनआरएनए बनाउने ।

जस्तै, एनआरएनएले यथार्थपरक, मापनयोग्य, उपलब्धीमूलक तथा निश्चित समयतालिका तोकेर कार्यक्रम ल्याउने । त्यस्तै, तेस्रो भनेको सामूहिक लगानी संयन्त्र बनाउने । यस होल्डिङ कम्पनी मार्फत ब्यवसायिक समूहले लगानी गर्ने । जसमा सबै चाहना भएका एनआरएनले १००० देखि १००,००० सम्म प्रतिमहिना लगानी गर्नसक्ने छन् । यसले सबैमा सामूहिक लगानीको भावना पनि बढ्छ तथा सबैको ओनरसीप पनि हुन्छ । यस्तै, चौथो भनेको एनआरएन एकेडेमी स्थापना गर्ने । जसले नेपालभित्र आफ्नो सिप तथा ज्ञान अनुभव हस्तान्तरण गर्दछ । साथै नेपालले बाहिरका मुलुकसँग कसरी सहयोग बढाउने तथा लगानी बढाउने भन्ने काम सरकारसँग मिलेर गर्दछ । यी र यस्ता धेरै योजना तथा कार्यक्रम ल्याएर एनआरएनबाट नेपालले राखेका अपेक्षा पुरा गर्ने जस्ता कामका योजनाका कारण मलाई विश्वास छ कि एनआरएनएका मेरा साथीहरूले मलाई अध्यक्षमा चुन्नु हुने छ ।

भिजन ट्वान्टि–ट्वान्टि एन्ड वियोण्डमा विवाद छ भनिन्छ नि ? के हो यसको चुरो कुरा ?
एकदम राम्रो प्रश्न सोध्नुभयो । हामीले एउटा सानो गोठ बनाउँंदा पनि गाई कता राख्ने, कताबाट ल्याउने र गोबर कता फाल्ने भन्ने योजना बनाउँछौं । त्यस्तै एक चिया पसलेले पनि आफ्नो एउटा योजना बनाएको हुन्छ । मलाई लाग्छ भिजन २०२० एन्ड वियोण्ड पनि हाम्रो संगठनको भिजन हो । यसबारेमा सम्मेलनमा छलफल पनि हुनेछ । साथीभाईहरूको सल्लाह तथा सुझावलाई समेटेर यसलाई आगामी मार्गदर्शनको रूपमा लगिनेछ । 

एनआरएनएले भूकम्पपीडितका लागी एक हजार घर निर्माण गर्ने काम सुरु गरेको थियो, कहाँसम्म पुग्यो  ?
सत्य कुरा भन्नु पर्दा भूकम्पपछि नमुना घर बनाउने मेरै प्रस्ताव हो । यसलाई हाम्रा अध्यक्षज्यू, आईसीसी र एनसीसीलगायत सम्पूर्ण गैरआवासीय नेपालीले स्वीकार गर्नुभयो । गोरखाको लाप्राक दुई किसिमले महत्वपूर्ण छ । एक गोरखा भूकम्पको केन्द्रविन्दु नै भएकाले, अर्को गोरखा मेरो आफ्नै जन्मथलो हो । म धेरै धेरै आभारी छु हाम्रा अध्यक्ष डा. घलेज्यूप्रति र हृदयदेखि धन्यवाद दिन्छु म जन्मेको जिल्लालाई प्राथमिकता दिनुभएकोमा । अहिले लगभग ६० प्रतिशत काम सकिइसकेको छ । सम्भवतः यही अक्टोबरभित्रै केही घर हस्तान्तरण गर्छौं होला ।

हाम्रो लक्ष्य त के थियो भने यही अक्टोवर ११ को एनआरएनए डे को दिन सम्पूर्ण लाभग्राहीलाई घर हस्तान्तरण गर्ने । तर त्यहाँको मौसम अनि एकदम विकटता जस्ता कारणले यो सम्भव भएन । जस्तै यस्तो कठिनाई भयो कि काठमाडौंमा ८०० रूपैयाँमा पाइने सिमेन्ट त्यहाँ पुग्दा १६०० देखि २००० सम्म पुग्छ । काठमाडौंमा एक ट्रयाक्टर बालुवा ४००० मा पाइन्छ भने त्यहाँ १०,००० देखि १२,००० पर्छ । त्यस्तै काम गर्ने मान्छे पाउन पनि मुस्किल छ । हाम्रा अध्यक्षज्यूको लगन र मेहनतले गर्दा हामीलाई नेपाली सेनाले यसरी सघाइरहेका छन् र अरु भोलेन्टरहरूले पनि सघाइ रहनुभएका कारणले हामी यो अक्टोबरसम्म पूर्णरूपमा सक्छौं भन्न त सक्दैनौं, तर जति सक्छौं–सक्छौं । नसकेको कामलाई निरन्तरता दिएर लाभग्राहीलाई घर हस्तान्तरण गर्ने प्रयास गर्ने छौं । 

एनआरएनएको महत्वपूर्ण परियोजना मध्ये अर्को आफ्नै हेडक्वाटरप्रति पनि धेरैको चासो देखिएन नि ?
एनआरएनएको महत्वपूर्ण परियोजनामध्ये आफ्नै हेडक्वाटर म कोषाध्यक्ष हुँदा मैले नै ल्याएको योजना हो । हाम्रो हेडक्वाटरमा संस्थापक उपेन्द्र महतोदेखि वर्तमान अध्यक्षज्यू र हरेक एनआरएनको लगानी परेको छ ।

अब सबै जना शारिरीक रूपमा त्यहाँ गएर गर्न सक्ने र नसक्ने त सबैको आ–आफ्नै समस्यामा छ । तर अध्यक्ष डा. घले त्यसै गरी भवन निमार्ण तथा अमेरिकाज् संयोजक सोनाम लामाज्यू जसरी खटिइरहनुभएको छ, त्यसैगरी अरु एनआरएन साथीहरू पनि गएर हेर्ने अनि थोेरै भए पनि हौसला बढाउने बाहेक अरु त्यति धेरै गरी रहनुपर्दैन । तर त्यो भवन भनेको चाहि हामी सम्पूर्ण एनआरएनको सपना हो ।

र हामी सम्पूर्ण एनआरएनहरूले आफ्नो गच्छेअनुुसार आफूले सकेको आर्थिक सहयोग पनि गरेका छौं । म तपाईंलाई एकदम खुसीका साथ भन्न चाहन्छु यहि अक्टोबरभित्र एक तल्ला भए पनि पूरा गरेर उद्घाटन गरी आफ्नै हेडक्वाटरमा सर्ने छौं । 

शंखमूल पार्क निर्माणमा पनि सन्तोषजनक काम भइरहेको छैन नि किन ?
अब यस्तो कुरा ग¥यो भने आफ्नै देशको नियम कानुनकोे, राजनीतिको कुरा आउँछ । तर त्यहाँ समस्या अरु केही पनि होइन । राजनितीक हिसाबले दलहरूबीच सहमति नभएर हो । एउटा दलले एक चिजको माग गर्छ अर्को दलले फेरि अर्को । के छ भने नेपालका कानुन एवं नियममा विकासको क्रमलाई रोक्न एकदम सजिलो छ । तपाईं आफै पनि कोशिस गर्न सक्नुहुने छ । कुनै पनि एउटा परियोजना जसमा सार्वजनिक महत्वको विषय होस् त्यसमा गएर एउटा सानो मुद्दा दायर गरि दिनुभयो भने त्यसको निर्णय नहुन्जेल त्यो निर्माण कार्य गर्न पाईंदैन । त्यस्तै अर्को कुरा स्थानीय–स्थानीयबीच पनि समझदारी नभएका कारणले झन् समस्या अल्झिन्छ । नत्र भने हामी एनआरएनहरूका तर्फबाट कुनै कमी भएको छैन । हामीसँग प्राविधिक टोलीदेखि लिएर सबै कुरा तयार छन् ।

अनि साथीहरू एकदम खटिएर लाग्नुभएको छ । साना–साना कुराले गर्दा हाम्रो देशको कस्ता–कस्ता ठूलाठूला परियोजनाहरू त रोेकिएको छ भने यसमा ढिलो हुनुको प्रमुख कारण पनि त्यस्तै हो, अन्यथा केही पनि होइन ।

तपाईंले नेतृत्व गर्नुभएको अतिथि देवो भवः कार्यक्रम कत्तिको सफल भयो ? नेपालमा पर्यटक भित्राउन कहाँ–कहाँ के–के गर्नुभयो ? 
म एनआरएनमा आवद्ध हुनुपूर्व या गठन हुनुपूर्वदेखि अहिलेसम्म जापानमा छु । सन्  १९९७ मा म विद्यार्थीको रूपमा जापान छिरेको मान्छे हुँ । जुन दिनदेखि म जापान छिरें, त्यसै दिनबाट एकदम महत्वकासाथ हेरेको छु कि पर्यटक भनेको कति महत्वपूर्ण कुरा हो र पर्यटन उद्योग कति महत्वपूर्ण हो भनेर । मेरा जति पनि उद्योग व्यवसायहरू छन् प्रायः सबै पर्यटनसँग सम्बन्धित छन् ।

उदाहरणका लागी भन्छु मेरा जापानमा केही रेस्टुरेण्ट छन्, ती सबै पर्यटक लक्षित छन् । जापानमा रेसोर्ट छ, त्यो पनि पर्यटककै लागी लक्षित गरिएको हो । जस्तो म तपाईंलाई भन्न चाहन्छु, धुलिखेलको रिसोर्ट नेपालको पहिलो नमुना रिसोर्ट हो । त्यो पनि पर्यटककै लागी हो । यस्ता धेरै काम मैले व्यक्तिगत रूपमा लगानी गरेरै पनि पर्यटन प्रवद्र्धनलाई मूल उद्देश्य बनाएको छु । झन् एनआरएनले मलाई पर्यटन प्रवद्र्धनकै लागी अतिथि देवो भवः टास्कको चेयर बनाएको छ । हाम्रो देशमा बेच्न लायक भनेका दुई चिज छन् । एउटा पानी, जुन संसारको अन्य देशमा भन्दा बढी उपलब्ध छ र यसको दिन प्रतिदिन महत्व बढ्दै गइरहेको छ । यस्तै नेपालको अर्को मुख्य आयस्रोत भनेको पर्यटन हो । किनकी हामी नेपालीहरू हँसिला र आतिथ्यतामा असाध्यै उदार छांै । घरमा आएका पाहुनालाई भोकै सुताउनु हुँदैन र भोकै बसेर पनि खुवाउनुपर्छ भन्ने हाम्रो चलन छ ।

नेपाल एउटा यस्तो देश हो, जहाँ कुनै पनि देशका पर्यटक आउँदा पैसा हराउने वा अन्य समस्यामा परे भने पनि उनीहरू भोकै पर्दैनन् । यस्तो संसारको कुन चाहिँ देशमा पाउनुहुन्छ ? यसको अर्थ हो हामीले आतिथ्यतालाई ठूलो महत्व दिन्छौं । यी दुईटा मध्ये आतिथ्यतालाई केन्द्रविन्दुमा राखेर मैले नेपालमा नमस्ते अभियान सञ्चानल गरें । एकै पटक नेपालको चार प्रमुख पर्यटकीय क्षेत्रमा काठमाण्डौ, चितवन, लुम्बिनी, र पोखरामा हामीले यो अभियान सुरु ग-यौं । 

हामी एउटै सन्देश दिन चाहन्छौं कि हामीकहाँ आउने पाहुनालाई मीठो मुस्कानका साथ हात जोडेर नमस्ते गरौं । यसो गर्दा उसलाई परेको प्रभाव साथीहरूलाई भन्छ र अरु पर्यटक पनि भविष्यमा हाम्रो देश हेर्न आउँछन् । एउटा पर्यटक आउँदा ११ जनाको हाराहारीले रोजगारी पाउने विश्व पर्यटन संगठनको प्रतिवेदन छ । त्यसले नेपालमा रोजगारी सिर्जना गर्दछ र देशको आर्थिक वृृद्धिमा पनि ठूलो योगदान गर्दछ ।

त्यसैगरी पर्यटकहरू आउने हाम्रो देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल करिब करिब एक महिना लगाएर मैले एनआरएनएको नामबाट आफ्नै निजी रकम १७ लाख रूपैयाँ दिएर सरसफाई गर्ने अभियान शुरु गराएँ । एक महिनापछि आएको फरक तपाईंहरूलाई अवगत नै छ । पर्यटक भनेको हाम्रो देशको अर्थतन्त्रको मेरुदन्ड नै हो ।

पर्यटक आकर्षण गर्न जापानमा मनाइने जापान—नेपाल फेस्टिबल र नेपालमा पहिलो पटक मनाएको नेपाल—जापान फेस्टिबलले पनि पर्यटकहरूलाई आकर्षण गर्नुका साथै सस्ंकृति पनि आदान प्रदान गर्न मद्दत हुन्छ भनेर, त्यो पनि हामी आयोजना गरिरहेका छौं । 

वैदेशिक रोजगारीमा जानेहरूका लागी एनआरएनएले आपत्कालीन कोषको घोषणा त ग¥यो तर त्यसको कार्यान्वयन त्यत्तिको सफल देखिएन नि ?
तपाईंलाई बाहिरबाट हेर्दा त्यस्तो लाग्छ, तर त्यस्तो होइन । हाम्रा अध्यक्ष घलेज्यू जो अहिले आफ्नो दोस्रो कार्यकालको नेतृत्व गरि राख्नुभएको छ । उहाँकै पहिलो कार्यकालमा घोषणा भएको कोष हो यो । र यो कुरा उहाँको पालाभन्दा अघिदेखि नै उठेको हो र प्रयास पनि गरिरहेको हो र गरिरहेका छौं पनि । तर बीचमा के भइदियो भने भूकम्प गयो, हामीले आफ्नो सम्पूर्ण शक्ति श्रम त्यसमा लगायौं ।

यी यस्ता यावत कुराहरूले गर्दा त्यता तिर ध्यान नपुगेको मात्रै हो । यो भन्दा अगाडिको विश्वसम्मेलनको अगावै पनि हामीले श्रमग्राममा एउटा कार्यालय स्थापना गरेका छौं । जहाँ बैदेशिक रोजगारमा जान चाहनेहरूले त्यहाँका भाषा, नियम कानुनका बारेमा बुझ्न सक्छन् । यस कार्यालयमा वकिल र कर्मचारी हामीले खटाएका छौं । विस्तारै विस्तारै यसलाई बढाउँदै लैजाने छौ ।

म अध्यक्ष भइसकेपछि वर्तमान अध्यक्ष र अग्रजहरूले गर्नुभएका कामलाई अझ व्यापकता तथा निरन्तरता दिन चाहन्छु । आपतकालीन कोषलाई अझ व्यवहारिक बनाएर जीवन बिमा गराउने र त्यसको जिम्मा एनआरएनएले लिने कुनै संयन्त्र बनाउँछौं । कुनै पनि भवितव्य जस कसैलाई परोस् त्यसलाई सिस्टमले कभर गर्न सक्ने मैले एउटा द¥हो योजना ल्याउने तयारी गरेको छु ।

वैदेशिक रोजगारीमा गएका युवाबाट आएको रेमिट्यान्सले कति दिन देश धान्न सक्छ ? एनआरएनएले वैदेशिक रोजगारीमा जाने बाध्यताको अन्त्य गर्न सक्दैन ? 
यो विषयलाई म अलि गम्भीरतापूर्वक भन्न चाहन्छु । पहिलो कुरा रेमिट्यान्सले दीर्घकालसम्म देश चल्दैन त्यो पक्कै हो । त्यसमाथि खाडी मुलुकमा थोरै पैसा कमाउन जाने हाम्रा दाजुभाई–दिदीबहिनीहरूको कमाईले घरव्यवहार मात्रै टर्छ । एनआरएनए गठन नभइदिएको भए यो सोच पनि आउँदैन थियो होला । अहिले हामी १४ वर्ष पुरा गरी १५ वर्षमा प्रवेश गर्दैछौ । विश्वभर छरिएर रहेका हामी नेपाली मात्र होइन । नेपालमा बस्ने, नेपाल सरकार, कर्मचारी या नेपालीले पनि बैदेशिक रोजगारमा जानेहरूलाई कसरी राम्रो, सहज, व्यवस्थित र अझ पुँजी निर्माणमा लगाउन सकिन्छ त्यसमा छलफल गरौं । साथै नेपालमा एनआरएनले बढाउँदै लगेको लगानीले नेपालमा रोजगारी सिर्जना गरिरहेको पनि छ । अझ लगानी बढाउने र रोजगारी सिर्जना गर्ने अभियानकै लागी नै सामूहिक लगानी संयन्त्र बनाउन लागिएको छ । 

लगानीको कुरा गर्नुभयो । हालसम्म एनआरएनबाट उल्लेख्य लगानी आएन भन्ने गुनासो पनि छ नि ?
धेरैलाई त्यस्तो लाग्न सक्छ । तर, ५ वर्षअघि नेपाल आर्थिक पत्रकार समाजले ९ जिल्लामा गरेको अध्ययनले करिब ३० अर्बको लगानी देखाएको थियो । तर, हालसम्मको तथ्यांक हेर्दा करिब ३२ अर्ब त सम्झौता भएका जलविद्युत्मा नै आउने देखिन्छ । त्यसमध्ये पनि १२ अर्ब त लगानी नै भइसक्यो । त्यस्तै, होटलमा करिब २२ अर्ब लगानी भइरहेको छ । यसरी हेर्दा हाल कुल अर्थतन्त्रको ५ प्रतिशतको हाराहारीमा अर्थात १ खर्ब भन्दा बढी एनआरएनको नेपालमा लगानी देखिन्छ ।

संविधानमा गैरआवासीय नेपालीलाई नागरिकता दिने उल्लेख छ, के यो जरुरी छ ? यसले नेपाललाई के फाइदा हुन्छ ?
हामी आभारी छौं नेपाल सरकारसँग । किनकी कि सविधानमै गैरआवासीय नेपालीलाई नागरिकता दिने उल्लेख गरिएको छ । यो एकदम जरुरी पनि छ । म भवन भट्ट पहिलो पुस्ता हो विदेश जाने । यदि यो देशले आउन नदिएको खण्डमा लुकीछीपी भए पनि आउने कोशिस गर्छु र आउँछु पनि । त्यस्तै प¥यो भने विदेश नगइकन पनि यो देशमा अर्थोपार्जन गर्न सक्छु । किनकी म जन्मेको देश हो । मेरो बालापन यही मातृभूमीमा बित्यो, यहाँ मेरा पुर्खाले रगत पसिना बगाएका छन् । यो देश मेरो मन, मस्तिष्क र भावनामा छ । यहाँ मेरा बाबा–आमा हुनुहुन्छ । तर के म जस्तै मेरा भावी सन्तान भनौं या म पछिका मेरा पुस्ता नेपाल आउलान् त ? यो दुःख गर्न उनीहरू नेपाल आउँदैनन् । त्यसैले पहिलो कुरा नागरिकताको निरन्तरता पछिका पुस्ताका लागी अत्यन्त आवश्यक छ । ताकी उनीहरूको नेपालसँगको सम्बन्ध नटुटोस् र उनीहरूले विदेशमा सिकेको ज्ञान, सीप र पैसालाई नेपालको समृद्धिमा लगानी गर्न सकुन् । ताकी नेपालको आर्थिक, भौतिक, सामाजिकस्तर वृद्धि गर्न ठूलो मद्दत मिलोस् । नागरिकताको निरन्तरता दिएन भने पहिलो पुस्ताको एनआरएनसँग दोस्रो पुस्ताका एनआरएन नेपालीहरू जोे बाहिर हुर्किरहेका छन् उनीहरूको नेपालसँगको सम्बन्ध टुट्छ । 

पछिल्लो समय एनआरएनएभित्र विवाद बढेको र राजनीतिकरण, जातीयता जस्ता कुरा बढी हाबी भएको तर नेतृत्व मौन रहेको भन्ने टिकाटिप्पणी भएका छन् । यहाँ के भन्नुहुन्छ ?
हाम्रो संगठनभित्रको राजनीति भनेको आफ्नै देशलाई कसरी समृद्ध बनाउने भन्ने अभियानकै लागि हो । यसमा देश बाहिर बसेकाले हासिल गरेका ज्ञान, सिप, बुद्धि र पैसालाई कसरी नेपालकोे समृद्धिको बाटोमा लागी रहेको नेपालको अभियानमा सहभागी बनाउनुपर्छ भन्ने हाम्रो राजनीति हो । तर समग्ररूपमा एनआरएनएमा राजनीति पनि छैन, जातीयता पनि छैन । हाम्रो जात एनआरएन हो, हाम्रो राजनीति नेपालको समृद्धि हो । 

एनआरएन एनसीसीको जिम्मेवारी त धेरै देखियो तर आईसीसीका सदस्यहरूको जिम्मेवारी केही देखिएन ? के आईसीसी सदस्यहरू लेबी तिर्ने, बैठकमा खादा लगाउने र आसन ग्रहण गर्ने मात्रै हो ?
पक्कै पनि उहाँहरूको धेरै काम छ । एनसीसी सदस्यहरूको अनुपातमा आइसीसी सदस्यहरूको काम कम देखिन्छ । तर उहाँहरूलाई सकृय बनाउने योजना ल्याउन आवश्यक छ र म त्यसमा गृहकार्य गर्दैछु ।

यस विषयमा व्यापक छलफल गरेर कि आइसीसी सदस्यहरूले पनि एउटा कार्यकालमा एउटा कामकाको जिम्मा लिनुपर्ने र त्यो टाक्सलाई चाहिँ आफ्नो कार्यकालभित्र पूरा गर्नुपर्ने किसिमको वातावरण बनाउँदैछु । साथै एनसीसीलाई पनि कसरी आइसीसीसँग जोड्ने भनेर गृहकार्य गरिरहेको छु ।

एनआरएनएलाई सबैको साझा संस्था बनाउन के गर्नुपर्ला भन्ने ठान्नुहुन्छ ?
पहिलो कुरा एनआरएनए संस्था आफैंमा शुरु भएको एउटा साझा संगठनबाट हो । मेरो एउटा एजेन्डा नै सबैको साझा सबैको माझ भन्ने हो । यहाँ कुनै जात—भात, कुनै धर्म, कुनै भाषा, कुनै भेष, कुनै क्षेत्र न कुनै राजनीतिक पूर्वाग्रह छ । सम्भवतः दुनियाँमा यस्तो संगठन नै छैन होला । मात्र कुरा के हो भने हामीले गर्ने गतिविधी कति साझा छन् भन्ने हो । मेरो आफ्नै कार्यशैली छ, म साथीभाइहरूसँग सुझाव सल्लाह लिएर अगाडि बढ्छु, सुझावका लागी सधैं खुला छु । अरुको कार्यशैली फरक होला । हरेकको फरक फरक विचार छ, फरक फरक सोच छ, फरक फरक कार्यशैली छ तर यो साझा संगठन हो ।