कारोबार संवाददाता
बिहिवार, पुष २७, २०७४
702

सुनिल शाक्य
अध्यक्ष
पाटा नेपाल च्याप्टर

काठमाडौं गेस्ट हाउसबाट सेवाक्षेत्रमा लगानी सुरु गरेका शाक्यहरूको अहिले काठमाडौं ग्रुप अफ होटल समूहको नाममा झन्डै एक दर्जन होटल तथा रेस्टुराँ सञ्चालनमा छन् । पछिल्लो समय थप लगानी गर्ने सोचमा समेत ‘केजीएच’ ग्रुप रहेको छ । कर्ण शाक्यले सुरु गरेको लगानी अहिले उनका छोरा सुनिल शाक्यले सम्हाल्दै आएका छन् । विगतमा नेपाल वायुसेवा निगममा १० वर्षसम्म पाइलटको काम गरेका शाक्य अहिले पर्यटन क्षेत्रमा काम गर्दै आएका छन् । केही समयअघि मात्र एसिया प्यासिफिक (पाटा) नेपाल च्याप्टरका अध्यक्षमा निर्वाचित भएका शाक्य सन् २०३० सम्ममा नेपालमा ५० लाख पर्यटक भित्राउने सकिने दाबी गर्छन् । पूर्वाधारमा लगानी हुन नसक्नुले नै पर्यटक आगमनदर बढ्न नसकेको बताउने शाक्य राजनीतिक स्थिरतासँगै अब बन्ने सरकारले पूर्वाधार लगानीमा जोड दिनुपर्ने बताउँछन् । नेपालमा पर्यटन क्षेत्रको विकासमा अब निजी र सरकारी क्षेत्र मिलेर काम गरे मुलुकको आर्थिक समृद्धि नै पर्यटनबाट सम्भव भएको बताउने शाक्यसँग कारोबारका लागि केदार दाहाल र शिव बोहराले गरेको कुराकानीको सार ः

तपाईंहरूले सन् २०३० सम्ममा ५० लाख पर्यटक भिœयाउने महत्वकांक्षी लक्ष्य राख्नुभएको छ नि, पुग्छ ?
लक्ष्य भन्ने कुरा राखेपछि पूरा हुन्छ । एकातर्फ नेपाल अनेक अस्थिरताबाट अगाडि बढ्दै छ भने अर्कातिर सबैले पर्यटन क्षेत्रलाई चासो दिइरहेको अवस्था पनि छ । सन् १९९८ मा हामीले ५ लाख पर्यटक भिœयाउने लक्ष्य राखेका थियौं । सोही समयमा लक्ष्य राखेपछि पूर्वाधारहरू पनि धेरै तयार भएका थिए । पछि नेपालको पर्यटनमा खराब दिन सुरु भए । पुनः सन् २०११ मा नेपाल पर्यटन वर्ष भन्दै १० लाख पर्यटक भित्राउनेलक्ष्य राखेका थियौं, जुन बल्ल पूरा हुने तर्खरमा आएको छ । तर, सन् २०११ पछिको नेपालको अवस्था र अहिलेको अवस्थामा धेरै सुधार भएको छ । पर्यटनमा निजी क्षेत्रले धेरै पूर्वाधार खडा गरेको अवस्था छ । हामीले राखेको लक्ष्य पु¥याउन अहिले सन् २०१७ को वृद्धिदर जारी रहे सजिलै २०३० मा ५० लाख पर्यटक नेपाल आउनेछन् । तर, त्यसका लागि निजी क्षेत्र र सरकारले गर्नुपर्ने केही काम छन् । सरकारले विमानस्थल तथा सडक निर्माणमा जोड दिँदैै अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नु आवश्यक छ भने निजी क्षेत्रले, जुन अहिले होटल क्षेत्रमा लगानी गरिरहेका छन्, यसले निरन्तरता दिनु जरुरी छ । यसरी अगाडि बढ्न सके ५० लाख पर्यटक नेपालमा सजिलै भित्रिनेछन् ।

नेपालमा पर्यटक भित्रिन थालेको १ सय २० वर्ष हुँदा १० लाख पर्यटक नेपाल ल्याउन सकिएको छैन । तर, अबको १३ वर्षभित्रमा वार्षिक ५० लाख भन्दै हुनुहुन्छ, त्यसमा के योजना छ यसरी पुग्छ भन्ने ?
पछिल्लो समय भनेको भूकम्पका कारणले सन् २०१५ नेपालको पर्यटनमा खराब वर्ष रहेको थियो । सन् २०१६ र २०१७ को वृद्धिदर उच्च रहेको छ । अन्तर्राष्ट्रिय रूपमा हेर्ने हो भने वार्षिक १० देखि १२ प्रतिशतको वृद्धिदर राम्रो मानिन्छ । तर, नेपालमा सन् २०१७ मा २४ प्रतिशतको वृद्धिदर देखिएको छ । यसमा हामी सबैले केही मेहनत गर्न सक्यौं भने ३० प्रतिशतको वृद्धि हासिल गर्न सक्छौं । वार्षिक ३० प्रतिशतको वृद्धि भयो भने सजिलै ५० लाख पुग्नेछ । यसमा ३० प्रतिशत वृद्धि गर्न सहज त छैन । तर, हामीले गरेको अनुमानमा नेपालमा अब स्थिर सरकार बन्छ । नेपालमा अब द्रुत गतिमा पूर्वाधार तयार हुन्छन् । नेपालमा सन् २०२५ सम्ममा चीनबाट लुम्बिनीसम्म रेल गुड्छ, डाँडामा केवलकार बन्छन् भने पोखरा, भैरहवा र निगजढमा ठूला अन्तर्राष्ट्रिय विमानस्थल बन्छन् । त्यस्तैगरी काठमाडौं र तराई जोड्ने द्रुत मार्ग बन्छ भने अन्य स्थानहरूमा पनि ठूला सडक र चुस्त सहर हुने अनुमान गरिएको छ । यति पूर्वाधार तयार भयो भने ५० लाख पर्यटक भित्रिन्छन् भन्ने हाम्रो अनुमान हो ।

तपार्इंहरूलाई ५० लाख पर्यटक ल्याउने आशावादीचाहिँ केले बनायो ?
पर्यटन व्यवसाय नै आशाको क्षेत्र हो । जस्तोसुकै अप्ठेरो अवस्थामा पनि हामीले आशा राख्दै आएका छौं । पछिल्लो समयको आशा भनेको मुलुक संघीयतामा गएको छ, अब विकासका कामहरू अगाडि बढ्नेछन् । अर्कातर्फ भने भर्खरै मात्र तीन तहका चुनाव सम्पन्न भएर नयाँ सरकार आउने तयारीमा पुगेको छ । यसले नै मुख्य आशा दिएको हो ।

यसका लगि होटलहरू पनि आवश्यक पर्छन् । यसमा अहिले भइरहेको लगानीले धान्न सक्छ ?
नेपालमा अहिले सञ्चालनमा रहेका होटलहरूमा ३५ प्रतिशत अकुपेन्सी मात्र छ । त्यसमा अहिले अधिकांश होटलको लगानी घाटामै रहेको छ । नेपालमा कस्तो समस्या छ भने सिजनमा रुम नपुग्ने अफ सिजनमा होटल खाली हुने गरेको अवस्था छ । जे भए पनि अहिलेकै होटलको क्षमताले ५० लाख पर्यटक भने धान्न सक्दैन । त्यसका लागि अन्य ठूला होटलहरू थपिनु आवश्यक छ । होटलहरूमा नयाँ लगानी पनि आइरहेकाले होटलको क्षमता बढ्नेछ । अब होटलमा लगानी काठमाडौं मात्र होइन, देशका अन्य ठाउँमा पनि जानु आवश्यक छ । फाइदा हुने ठाउँमा होटलहरूमा निजी क्षेत्र आफैं जान्छन्, तर नयाँ गन्तव्यको विकासका लागि सरकारले केही सुविधा दिनु आवश्यक छ ।

यतिका कुरा भनिरहँदा पाटाले मात्रै योजना बनाएर लक्ष्य पूरा हुन्छ ?
पाटाको मात्रै योजना होइन । पाटा भनेको सबै निकायको केन्द्र हो । यहाँ नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम, पर्यटन विभाग सबैका प्रतिनिधिहरू छन् । पर्यटन क्षेत्रसँग सरोकार राख्ने सबै निकाय पाटामा आबद्ध छन् । यसले सरकारकै बडीहरूसँग छलफल गरेर लक्ष्य र योजना बनाएको हो ।

पर्यटनको विकास गर्न सरकार र निजी क्षेत्रमा केमा केन्द्रित हुनुपर्छ ?
पहिलो भनेको पूर्वाधार नै हो । यसमा अब सबैको ध्यान मात्रै जाने होइन, निर्माण हुनु पनि आवश्यक छ । अहिले पर्यटक रोक्ने काम त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएको छ, जसको धेरै पर्यटक ल्याउने क्षमता नै छैन । एयरलाइन्सहरू कति आउन खोजिरहेका छैन, तर हामी अनुमति दिन नसक्ने अवस्थामा पुगेको छ । जसका लागि विमानस्थलसँगै नेपाल वायुसेवा निगमले ठूला जहाजमार्फत ठूला पर्यटक बजारमा सीधा उडान हुनु आवश्यक छ । अहिले १ सयभन्दा बढी उडान लुक्लामा हुने गरेको छ । खै पूर्वाधार खडा गरेको ? नेपालमा खै ठूला एयरलाइन्सहरूले लामो दूरीबाट उडान गर्न सकेको ? पहिलो सर्त भनेको पूर्वाधार नै हो । चीनमा ६० वटा अन्तर्राष्ट्रिय विमानस्थल तयार हँुदैछन् । भारतमा २० वटा अन्तर्राष्ट्रिय एयरलाइन्स तयार हुँदैछन् ।

अबको हाम्रो पर्यटन बजार कुन हो ?
भिजन योजना भनेकै यसका लागि आवश्यक छ । त्यसैले त पहिले लक्ष्य राख्ने र लक्ष्यलाई कसरी पूरा गर्ने भन्ने योजना चाहिन्छ । अबको हाम्रो मुख्य ध्यान भनेको बुद्धिस्ट पर्यटक कसरी नेपाल ल्याउने भन्नेमा जानुपर्छ । विश्वका धेरै बुद्धिस्टहरू नेपाल आउन चाहन्छन् । त्यसैले उनीहरूलाई ल्याउने कार्यक्रम र नेपालमा पूर्वाधार आवश्यक पर्छ । नेपालमा थाइल्यान्ड, म्यानमार, चीन, कम्बोडियाबाट बुद्धिस्ट पर्यटक ल्याउन सकिन्छ । विश्वमा २४ प्रतिशत जनसंख्या बुद्धिस्ट छन् । यसका लागि चीन ठूला सहरमा हाम्रो सीधा उडान हुनु आवश्यक छ । त्यस्तैगरी भारतबाट हिन्दूहरूलाई ठूलो संख्यामा नेपाल ल्याउन सकिन्छ । भारतका मुख्य सहरमा हामीले सीधा उडान गर्नु आवश्यक छ । अहिलेको पर्यटक बजार भनेको एसिया नै हो । हाम्रा युरोपियन र अमेरिकन पर्यटक भनेका सदाबहार हुन्, जो नेपालको हिमाल हेर्न आउँछन् ।

अबको पर्यटन प्रवद्र्धनको फोकस कस्तो हुनु आवश्यक छ ? ब्रोसर बाँडेर त पर्यटक नेपाल आउँदैनन् ।
विश्वमा अहिले डिजिटल मार्केटिङ चलेको छ । हाम्रो फोकस त्यतैतर्फ हुनु आवश्यक छ । त्यसका लागि पाटा र नेपाल सरकार मिलेर हिमालयन ट्राभल मार्ट सञ्चालन गरेका थियौं, जसमा १ सयभन्दा बढी ब्लगर सम्मेलनसमेत भएको थियो, जसबाट नेपालका बारेमा सयौं ब्लगर लेखिएका छन् । आजभोलि घुम्ने पर्यटक भनेको सबै कुरा पहिले नै जानकारी लिएर आउने गर्छन्, जसका नेपाल पर्यटन बोर्डले पनि ट्विटर, फेसबुक, युट्युबलगायत सामाजिक सञ्जालदेखि चीन, भारतलगायतका टेलिभिजन अनलाइन पोर्टलहरूमा विज्ञापन गर्नु आवश्यक छ । त्यस्तैगरी गत वर्षका जस्तै मार्टहरू सञ्चालन हुनु आवश्यक छ । अबको युग भनेको डिजिटल मार्केटिङकै हो । एक क्लिकमा नेपालको कुन क्षेत्रका कस्तो भौगोलिक अवस्था छ ? कस्तो प्याकेज कुनले दिएको छ भन्ने सबै इन्टरनेटमार्फत जानकारी लिन्छन् । यसका लागि भनेको डिजिटल मार्केटिङ नै हो ।

हिमालयन क्षेत्रको प्रवद्र्धनका लागि नेपालसँगै अन्य हिमाली देशहरू जोड्नु आवश्यक छ भन्दै पाटा मार्टमा मुख्य नारा दिइएको थियो नि ?
हिमालयन क्षेत्रको प्रवेशद्वार भनेको नेपाल हो । नेपालबाट अन्य हिमाली देशहरू पाकिस्तान, भुटान, तिब्बत, चीनसहित जोडेर प्रवद्र्धनमा जानुपर्छ भनेर उक्त नारा दिइएको हो, जसले गर्दा नेपालसहित एसियाली क्षेत्रको पर्यटन प्रवद्र्धन हुन्छ भन्ने हाम्रो विश्वास हो । यसका लागि धेरै प्रक्रिया अगाडि बढेका छन् ।

पर्यटनका सम्भावनाहरूको कुरा गर्दा मुख्य पूर्वाधार विमानस्थलपछि एयरलाइन्स आउने गर्दछ । नेपालमा निजी क्षेत्रले अन्तर्राष्ट्रिय उडानमा किन लगानी गर्न सकेका छैनन् ?
नेपालको पर्यटन क्षेत्रको विकासका लागि विमानस्थलपछिको मुख्य पूर्वाधार एयरलाइन्स हो । नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल वायुसेवा निगमको मुख्य दायित्व हो, जसमा सरकारले गर्नुपर्ने संरक्षण लगानी गरेको छैन, जसका कारण आज ठूला गन्तव्यमा निगमको उडान हुन सकेको छैन । यसमा लगानी गर्न अब निजी क्षेत्रबाट पनि विगतदेखि नै प्रयासहरू भएका थिए । अहिले पनि केहीले प्रयास गरिरहेका छन् । एयरलाइन्सको लगानी भनेको मुख्य पुँजी नै हो । ठूलो पुँजी आवश्यक पर्ने र लगानी उठाउन अत्यन्त कठिन हुने क्षेत्र भएकाले पनि निजी क्षेत्रले छिटो लगानी नगर्ने क्षेत्र हो । नेपालमा मात्र होइन, विश्वभर नै एयरलाइन्स क्षेत्रमा धेरै निजी लगानी भएका छैनन् । भारतमा केही समय आक्रामक लगानी भएर आएको ‘किङ फिसर’ कै उदाहरण दिन सकिन्छ, जसका मालिक विजय माल्य अहिले लुकेर बेलायतमा बस्नुपर्ने बाध्यता छ । यस्ता उदाहरण धेरै छन् । नेपालमा पनि नेपाल एयरवेज, कस्मिक एयरलगायतले प्रयास गरेका हुन् । अहिले निजी क्षेत्रको लगानीमा हिमालय एयरलाइन्सले दुई वर्षदेखि उडान भर्दै आएको छ । एयरलाइन्स भनेको २ प्रतिशत नाफामा चलाउनुपर्ने व्यवसाय हो, तर लगानी अर्बौंको हुन्छ । त्यसैले नेपालमा निजी क्षेत्रको एयरलाइन्समा लगानी हुन नसकेको हो ।

तपाईं त पेसाले पाइलट पनि हुनुभएको थियो । नेपालमा जनशक्ति अभाव एयरलाइन्स क्षेत्रमा चर्को बन्दै गएको छ । समाधान गर्ने उपाय के छन् ?
एयरलाइन्स क्षेत्रमा नेपालमा मात्र होइन, विश्वभरका एयरलाइन्स क्षेत्रले जनशक्ति अभाव भोगिरहेका छन् । उक्त समस्याबाट नेपाल पनि मारमा परेको छ । जनशक्तिकै अभाव भए पनि हवाई सुरक्षादेखि अन्य विषयहरू आउने गर्छन् । नेपाललाई युरोपेली आयोगले अहिले पनि कालोसूचीमा राख्दै आएको छ । जनशक्ति उत्पादन भनेको छिनभरमा हुने कुरा होइन । नेपालमा एभिएसन स्कुल स्थापना हुन सकेको छैन । विगतमा १५ सय घण्टामा क्याप्टेन पाउने गरेका थिए भने अहिले जनशक्ति अभाव भएपछि ८ सय घण्टामै क्याप्टेन दिने गरिएको छ । यो सबै जनशक्ति अभावको कारण हो । नेपालमा अहिले अमेरिका, युरोपबाट १० हजार डलरसम्म दिएर पाइलट इन्जिनियरहरू ल्याइने गरिएको छ । नेपालमा मात्रै होइन, भारत, चीनमा पनि चरम अभाव छ ।

तपार्इंहरूको समूहले एयरलाइन्समा लगानी गर्ने कुनै सोच छैन ?
मैले अगाडि पनि भनें, लगानी गर्ने मन छ तर डर लाग्छ । मैले पनि १० वर्ष पाइलट पेसा गरेको थिएँ । विगतमा सांग्रिला एयर चलाएका हौं, तर सफल पार्न सकेनौं । ठूलो खर्च हुने भएकाले एयरलाइन्समा लगानी भनेको जोखिम नै हो । नेपालमा अब नयाँ विमानस्थलहरू आउँदैछन् । भारतमै पनि नयाँ विमानस्थलमा एयरलाइन्स कम्पनीहरूलाई विभिन्न छुट दिइएको हुन्छ । नेपालमा नयाँ विमानस्थल भैरहवा, पोखरामा नयाँ विमानस्थल खडा हुँदैै छन् । यसका लागि एयरलाइन्स कम्पनीहरूलाई छुट दिएर जानुपर्छ ।

आन्तरिक एयरलाइन्सहरूको पनि लगानी विस्तारमा प्रतिस्पर्धा बढ्दै गएको छ, स्थायित्व हुने देखिन्छ ?
विश्वमा अहिले सबैभन्दा महत्वपुर्ण भनेको समय हो । अहिले आजको दिनमा भैरहवा गएर त्यहाँ काम सकेर एकैदिन काठमाडौं आउन सक्छु । अहिले हवाई यात्रुको संख्या वार्षिक रूपमा व्यापक मात्रामा बढ्दै गएको छ । दिल्ली गएर एकै दिन फर्कने अवस्था आएको छ । नेपालमा अहिले बुद्ध, यति एयरलाइन्सले दशकौंदेखि राम्रो नाफा कमाइरहेका छन् । त्यस्तैगरी अहिले नयाँ एयरलाइन्सहरूमा पनि धेरै लगानी भइरहेका छन् । व्यवस्थापन राम्रो गर्न सक्नेहरूले एयरलाइन्स बिजनेस नेपालमा राम्रो हुँदै गएको छ । नेपालजस्तो ठाउँमा हवाई क्षेत्रको विकल्प नै छैन । अहिले हेलिकप्टर क्षेत्रमा लगानी गर्ने एयरलाइन्स कम्पनीले पनि राम्रो गर्दै गएका छन् । पहाडी तथा हिमाली क्षेत्रहरू, जहाँ सडकबाटो जान १० दिनसम्म लाग्ने ठाउँ छन्, त्यहाँ हेलिकप्टर नै विकल्प हो ।

लामो समयदेखि होटल क्षेत्रमा लगानी गर्दै आउनुभएको छ । अहिले लगानी विस्तारको कुनै योजना छैन ?
नेपालमा धेरै लामो समयदेखि होटल क्षेत्रमा लगानी गर्दै आएका छौं । काठमाडौं गेस्ट हाउसदेखि सुरु भएको व्यवसायमा अहिले लगानी विस्तारको क्रम जारी छ । विस्तार भनेको, अहिले भैरहवा र बूढानीलकण्ठमा रहेको पार्क भिलेजलाई निकट भविष्यमै पाँचतारेमा विस्तार गर्ने योजना भने बनाएका छौं । अर्कातर्फ भने हाम्रो भनेको गुणस्तरमै ध्यान दिने हो ।