यादव हुमागाई
सोमवार, मंसिर ३, २०७५
532

नेपालमा बिमा कम्पनीहरूको संख्या बढे पनि बिमाको पहुँच विस्तार भने खासै वृद्धि भएको छैन । जोखिम व्यवस्थापनका लागि उपयुक्त औजारका रूपमा लिइने बिमामा करिब ११ प्रतिशत नेपालीको मात्र पहुँच छ । आममानिससम्म बिमाको महत्व र आवश्यकताबारे चेतना पुराउन नसक्दा थोरै व्यक्तिले मात्र बिमा गरेको बताउँछन् प्रभु इस्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सञ्चित बज्राचार्य । आमसर्वसाधारणमा आफ्ना आधारभूत आवश्यकता पूरा भएपछि मात्र बिमा गर्ने भन्ने सोचाइ नै गलत रहेको भन्दै यसलाई परिवर्तन गर्नुपर्ने उनले आवश्यकता औंल्याए । बैंकमार्फत ऋण लिएर गर्ने व्यवसायलगायत अनिवार्य गरिएका ठाउँमा मात्र बिमा भएको भन्दै बढी जोखिम भएका क्षेत्रमा निश्चित समयसम्म बिमा अनिवार्य गर्नुपर्ने उनको सुझाव छ । प्राथमिक तहदेखि नै औपचारिक रूपमा बिमा विषय पढाउनुपर्ने र हरेक कार्यक्रममा विमाको महत्व र आवश्यकताबारे चर्चा गरेमा भविष्यमा बिमा नगरी व्यवसाय नै सुरु नगर्ने अवस्था आउने उनी बताउँछन् । प्रस्तुत छ, उनीसँग नेपालको बिमाको अवस्था, चुनौती र बिमाको पहुँच बढाउने उपायबारे कारोबारकर्मी यादव हुमागाईंले गरेको कुराकानीको सार :

बिमासम्बन्धी विधेयक संसद्मा छलफलका क्रममा छ । यसमा प्रस्ताव गरिएका व्यवस्थालाई कसरी विश्लेषण गर्नुहुन्छ ?
बिमा विधेयेकको मस्यौदा सरसर्ती हेरेको हो, जसमा पहिला चल्दै आएको व्यवस्थामा समसामयिक परिवर्तन गर्न खोजिएको छ । कुनै पनि ऐन परिवर्तन गर्दा समयसापेक्ष रूपमा कारबाहीको व्यवस्था गर्नुपर्छ । मस्यौदामा बिमा दाबी भुक्तानी नगर्दा वा गलत भुक्तानी दिने कम्पनी वा सर्भेयर र कर्मचारीलाई कडा कारबाहीको व्यवस्था प्रस्ताव गरिएको छ ।

गल्ती गर्नेलाई कारबाहीको व्यवस्था गर्दा मान्छे आफ्नो कामप्रति सचेत हुन्छ र आफ्नो दायित्व सचेत भएर निर्वाह गर्छ । त्यो आवश्यक पनि छ ।

तर, कारबाहीको व्यवस्था सान्दर्भिक हुनुपर्छ, ताकी कारबाहीको व्यवस्था बढी राख्दा काम गर्ने व्यक्ति नतर्सियोस् । यसैगरी बिमितलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने आवश्यकता देखिएको छ । कसैले गलत दाबी गरेको छ भने उसलाई पनि कारबाहीको दायरामा ल्याउने व्यवस्थामा राख्न आवश्यक छ ।

बिमा सर्भेयरहरूले त कारबाहीको व्यवस्था बढी भयो भनेर आन्दोलन नै गरिरहेका छन् नि ?
सानो गल्तीमा पनि ठूलो कारबाहीको व्यवस्था ठीक होइन । कहिलेकाहीं राम्रो गर्न खोज्दा खोज्दै नराम्रो पनि हुन जान्छ । कुनै पनि क्षेत्रमा अनुशासनको पालना त गराउनुपर्छ ।

तर, अनुशासन पालना गराउनका लागि तर्साउने व्यवस्था राख्नु उपयुक्त हुदैन । त्यसैले समय सान्दर्भिक बनाउनुपर्छ भनेको हो ।

एउटा सर्भेयरले एउटा मात्र कम्पनीको काम गर्न पाउने व्यवस्थाको पनि विरोध भइरहेको छ । यो कत्तिको व्यावहारिक होला ?
एउटा सर्भेयरले एउटा कम्पनीमा काम गर्न पाउने/नपाउने भन्दा पनि काम गर्नका लागि दक्ष जनशक्ति हुनुपर्छ भन्ने मुख्य विषय हो । यसका लागि सम्बन्धित विषयमा विशेषज्ञता हासिल गरेकै हुनुपर्छ । एउटा व्यक्तिले एउटा मात्र कम्पनीको काम गर्ने व्यवस्था लागू गर्नुभन्दा अघि हामीकहाँ दक्ष जनशक्ति कति छन् भन्ने विषयमा पनि विचार पुराउनुपर्छ । अहिलेको अवस्थामा सर्भेयरहरू हेर्दा रोजेरै दक्ष जनशक्ति पठाउन सकिने अवस्था भने छैन ।

बजारमा नयाँ बिमा कम्पनी थपिएका छन्, बिमाबारे आम मानिसको चासो पनि बढेको छ । तर, बिमा गर्नेहरूको संख्या खासै बढ्न नसक्नुको कारण के हो ?

अरू देशको तुलनामा बिमाको पहुँचमा हामी धेरै पछि छौं । बिमाको पहुँच बढाउनका लागि पहिलो कुरा त आम जनमानसले यसको महत्व बुझ्नुपर्छ ।

अझै पनि जनमानसमा बिमा पहिलो आवश्यकता हो भन्ने बुझाउन सकिएको छैन । सरसर्ती हेर्दा बिमा गर्नेको संख्या त बढेको छ, तर उल्लेख्य प्रतिशतमा वृद्धि भएको छैन । संख्या बढेपछि केही प्रतिशतले बढेको छ । तर, संख्या जसरी बढेको छ बिमा पनि त्यही आधारमा प्रतिशतमा बढ्नुपथ्र्यो । तर, प्रतिशतमा बढ्न सकेको छैन । त्यसैले बिमाको पहुँच व्यापक रूपमा विस्तार हुन नसकेको अवस्था हामीले स्वीकार गर्नुपर्छ ।

बिमाको पहुँच बढाउनका लागि केले रोकिरहेको छ ?
हामीकहाँ बिमाको ब्याख्या नै गलत तरिकाबाट भइरहेको छ । मानिसको आधारभूत आवश्यकता पूरा भएपछि मात्र बचतबाट बिमा गर्ने भन्ने सोच नै गलत हो । मानिसको जीवनस्तर उकास्नका लागि उसको आर्थिक पक्ष नै बलियो बनाउनुपर्छ । मानिसको आर्थिक पक्ष बलियो बनाउनका लागि बिमा पहिलो आवश्यकता हो । जस्तै एउटा व्यक्ति जीवनभर दु:ख गरेर आर्थिक अवस्था सुधार गर्नका लागि घर बनाएको हुन्छ । भोलि भूकम्प, आगलागी, बाढीपहिरोलगायतका प्राकृतिक प्रकोपका कारण त्यसमा क्षति हुन सक्छ । त्यो बेला उसको सम्पत्ति रक्षा गर्नका लागि के गर्ने ? आज १ करोडको घर बनाए, त्यो क्षति भएको अवस्थामा फेरि घर बनाउन त्यति नै लाग्यो भने पनि उसको २ करोडको क्षति हुन्छ । त्यो अवस्थामा उसलाई जोगाउनका लागि बिमा गर्नुपर्छ । त्यसैले बिमा पनि आधारभूत आवश्यकता भएन र !
जोखिमको सम्भावना नभए त संसारमा बिमा उत्पत्ति नै हुँदैनथ्यो नि ! १ करोड घरको बिमा गर्नका लागि एकै करोड प्रिमियम तिर्नुपर्ने पनि होइन । घर बनाउनुसँगै बिमा पनि जरुरी छ भनेर बुझाउनु जरुरी छ । यस्तै हामी मोटरसाइकल वा सवारी चढ्छौं, दिनहुँ दुर्घटना भइरहेका छौं । यस्तो भवितव्य हु्ने क्षतिबाट जोगाउनका लागि त बिमा आवश्यक छ नि !

बिमा जोखिमको अवस्थामा आर्थिक दायित्व लिने कम्पनी हो । सर्वप्रथम सर्वसाधारणलाई बिमा गराउनका लागि उत्साहित गराउनका लागि बिमा शिक्षामा नै जोड दिनुपर्छ ।

विश्वविद्यालयमा मात्र एकैपटक बिमा शिक्षाबारे पढाएर पुग्दैन । प्राथमिक तहदेखि नै बिमा शिक्षा लागू गर्नुपर्छ ।

सर्वसाधारणलाई बिमाबारे कसरी बुझाउने त ?
कुनै कम्पनीले बिमाबारे प्रचारप्रसारका कार्यक्रम गर्यो भने आफ्ना लागि मात्र गरेजस्तो देखिन्छ । त्यसो भन्दैमा कम्पनीहरूले प्रचारप्रसार नगर्ने त होइन, गरेकै छन् । तर, यसका लागि पहिलो आवश्यकता भनेकै शिक्षा हो । औपचारिक शिक्षा प्रारम्भिक तहदेखि नै आवश्यक छ । हामीले प्रारम्भिक तहमा सिकेको एबीसीडी या कखगघ बिर्सदैनौं, त्यही शब्द जोडेर बोल्न/लेख्न सक्ने भएका छौं । त्यसैगरी बिमाको महत्व र आवश्यकताबारे प्रारम्भिक तहबाट नै बुझाउनुपर्छ । यसलाई प्रचारप्रसार गर्न आम सञ्चारमाध्यमको पनि महत्व हुन्छ । आमसञ्चारमाध्यममार्फत बिमाको महत्व र आवश्यकतालाई जनमानससम्म पुराउनुपर्छ ।

सरकारले वित्तीय साक्षरताको अभियान नै सञ्चालन गरिरहेको छ, तर पनि बिमा किन भइरहेको छैन ?
वित्तीय साक्षरताका कार्यक्रम धेरै भएको छ, जसले गर्दा गाउँ–गाउँसम्म बिमाबारे कुरा गरेको सुनिन्छ । तर, बिमा भइरहेको छैन ।

आजको दिनमा मैले बुझेअनुसार र अनुभवका आधारमा भन्ने हो भने सर्वसाधारणले बिमालाई अनावश्यक खर्चका रूपमा लिएका छन् ।

ठूलो आयोजना बन्दैछ या ठूलो लगानीमा घर बनाउँदै हुनुहुन्छ, कुनै व्यवसाय सुरु गर्दै हुनुहुन्छ या सम्पत्ति जोड्दै हुनुहुन्छ, तर सानो रकम पनि बिमाका लागि छुट्याउँदैनौं । भोलि सानो कारणले क्षति भयो भने त्यो लगानी फेरी कसरी जुटाउने भन्ने विषयमा सोचेकै छैनौं । यस विषयमा सचेत गराउन सबै मिलेर लाग्नुपर्छ । प्राथमिक तहदेखि नै औपचारिक शिक्षामा बिमा पढाउनुपर्छ । सबै कार्यक्रममा बिमाको चर्चा हुनुपर्छ । सर्वसाधारणलाई जागरूक गराउन निश्चित समय लाग्छ, तर आजकै दिनदेखि लाग्ने हो भने अब आउने पिँढीले बिमा नगरी कुनै काम गर्दैन ।

बिमाको पहुँच बढाउनकै लागि कम्पनीहरूलाई जिल्ला–जिल्ला छुट्याएर गाउँमा पुराइएको छ, तर पनि बिमा किन भइरहेको छैन ?
सबैले आज बिमा गरेपछि भोलि के फाइदा हुन्छ भनेर तौलिरहेका छन् । बिमाबाट प्रत्यक्ष के फाइदा हुन्छ भनेर सोचिरहेका छन् । सहरमा त अझै यस्तै अवस्था छ भने गाउँको अवस्था त के होला !

सरकारले कृषि बिमाको प्रिमियममा ७५ प्रतिशत अनुदान दिँदा पनि आकर्षित गराउन नसक्नुको कारण के हो ?
कम्पनीहरूले आफ्नो क्षमताले भ्याएसम्म प्रयास गरिरहेका छन् । केही हदसम्म बिमा पनि भएकै छ । तर, जुन मात्रामा हुनुपर्ने हुन नसकेको हो । यसको कारण पनि आमसर्वसाधारणले बिमाको महत्व बुझ्न सकेका छैनन् । हामीले पनि बुझाउन सकेका छैनौं ।

नेपालमा निर्जीवन बिमा कम्पनीहरूको कारोबारको अधिकांश हिस्सा मोटर बिमामा मात्र छ । यसबाहेकका क्षेत्रमा बिमा व्यवसाय विस्तार कसरी गर्न सकिएला ?
हामी कुनै एउटै विषयमा मात्र केन्द्रित हुनु हुदैन । व्यवसाय विविधीकरण गर्नुपर्छ । त्यसका लागि प्रयास पनि गरिरहेकै छौं । तर, उल्लेख्य सफलता प्राप्त भइरहेको छैन ।
बिमाको क्षेत्र यो भन्ने नै छैन । हरेक जोखिममा बिमा आवश्यक छ ।

सबै क्षेत्रमा बिमा विस्तार गर्नका लागि बिमा नभईकन कुनै कामको थालनी हुने अवस्था नै हुनु हुन्न । अत्यावश्यक क्षेत्रमा अनिवार्य रूपमा बिमा लागू गर्नुपर्छ ।

जस्तो कसैले घर बनाउँदै छ भने नक्सा पास हुनकै लागि अनिवार्य रूपमा बिमा गर्नुपर्ने व्यवस्था लागू गर्नैपर्छ । बैंक ऋण गरेर व्यवसाय गर्दा बिमा अनिवार्य छ तर, आफ्नै पुँजीले व्यवसाय गर्दा बिमा गर्ने प्रचलन एकदमै कम छ । त्यसैले केही समयसम्म बिमा अनिवार्य गर्नुपर्छ । केही समयपछि मानिसहरूले आफै बुझ्दै जान्छन् र बिमा हुन्छ । जोखिमको समयमा सुरक्षाका लागि बिमा आवश्यक छ । यसबाट सरकारलाई पनि आर्थिक दायित्वबाट मुक्त गराउँछ ।

बिमा कम्पनीहरूले दाबी भुक्तानी दिने समयमा अनेक झमेला गर्ने भएकाले पनि सर्वसाधारण बिमाप्रति निरुत्साहित भएको आरोप पनि छ नि ?
कुनै कालखण्डमा कसले के गर्यो भन्ने विषय अलग हो, तर आजको दिनमा प्रविधिको जमानामा कसैले कसैलाई झुक्याउन सक्दैन । बिमा दाबी ढिलो हुने, अनावश्यक झन्झट दिने भन्ने हुदैन । बिमा दाबी प्रमाणित भएपछि कुनै पनि कोणबाट ढिला वा भुक्तानी नदिने भन्ने हुँदैन ।

कहिलेकाहीं नक्कली दाबी पर्ने र त्यसको कम्पनीहरूले छानबिन गरेर मात्र भुक्तानी दिने भएकाले ढिला हुँदा यसको गलत प्रचार भएको छ ।

सबै नेपालीलाई समेट्नका लागि सरकारले लघुबिमा योजना ल्याए पनि कम्पनीहरूले यसलाई प्राथमिकता नदिएका हुन् ?
लघुबिमा योजना पहिले भन्दा केही हदसम्म विस्तार हुँदैछ । समग्रमा सबै बिमा योजना सुस्त रहेका बेला एउटा मात्र बढेन भन्नु गलत हो । यसका लागि हामीलाई टार्गेट पनि दिइएको छ । सबै कम्पनीलाई सजिलो होस् भनेर पुल बनाएर काम गरिरहेका छौं । आमसर्वसाधारण सबैले बिमाबारे बुझ्न थालेपछि यो टार्गेट आफै पूरा हुन्छ ।

लघु बिमालेख सानो आकारको हुने र धेरै प्रिमियम नआउने भएकाले कम्पनीहरूले चासो नदिएका हुन् कि ?
हाम्रो लागि प्रिमियम रकम कति आउँछ भन्ने कुरामा महत्व हुँदैन । १० या २० रुपैयाँ आओस् उत्तिकै महत्व दिन्छौं ।

बिमा कम्पनीहरूलाई २० प्रतिशत पुनर्बिमा नेपालमै गर्नुपर्ने व्यवस्थाको विरोध भयो नि ?
सरकारबाट यो निर्देशन आउनुभन्दा अघि पनि कम्पनीहरूले आफ्नै हिसाबले नेपाल पुनर्बिमा कम्पनीमा पुनर्बिमा गरिरहेका थिए । यति नै दिनुपर्छ भनेर अहिले मात्र आएको हो । यो विवाद गर्नुपर्ने विषय हो जस्तो लाग्दैन ।

नेपाल पुनर्बिमा कम्पनीले दिने कमिसन दर कम भएको भन्ने सुनिन्छ नि ?
यो हुन सक्छ, तर छलफल गरेर मिलाउने विषय हो । हामीले आफ्नै देशको कम्पनीलाई बलियो बनाउँदा राम्रो हो । बिमा कम्पनीले जता गरे पनि पुनर्बिमा त गर्नैपर्छ भने आफ्नै देशमा गर्नु राम्रो हो ।

बिमा समितिले पुँजी नपुराउने कम्पनीलाई फोर्स मर्जरमा लैजाने भनेको छ । यसको आवश्यकता कत्तिको देख्नुहुन्छ ?

कम्पनीहरूले समयसापेक्ष रूपमा पुँजी बढाउनैपर्छ । प्रभु इस्योरेन्सले नियमनकारी निकायले तोकेको पुँजी पुराइसकेको छ ।

अरुको बारेमा म टिप्पणी गर्दिनँ, तर बजारमा जति धेरै प्रतिस्पर्धा हुन्छ, ग्राहकले फाइदा लिन्छ । जनतालाई फाइदा हुन्छ ।

समितिले संस्थागत सुशासन निर्देशिका संशोधन गरी सिइओको योग्यता घटाएको विषयमा पनि आलोचना भइरहेको छ नि ?
सिइओको कम्पनीको मुख्य व्यक्ति भएकाले ऊ योग्य हुनुपर्छ । त्यसैले शैक्षिक योग्यता स्नातकोत्तर राखेको भए उपयुक्त हुन्थ्यो ।

प्रभु इस्योरेन्सका आगामी योजना के छन् ?
कम्पनीको व्यवसाय विस्तार सोचेजस्तो नभए पनि विस्तारै बढेकै छ । हामी सकेसम्म जनतालाई सुविधा दिनमै केन्द्रित छौं । अनलाइन पोलेसी, मोबाइल एप्सको व्यवस्था गरेका छौं, जसबाट बिमा पोलेसीबारे सबै जानकारी लिन सक्छन् । यस्तै ग्राहकको गाडी लामो दूरीमा बीचमा बिग्रिएमा उसले हामीलाई सम्पर्क गरेको खण्डमा हामीले सोही स्थानमा मेकानिक उपलब्ध गराइदिने सेवा पनि सुरु गरेका छौं ।