कारोबार संवाददाता
शुक्रवार, आश्विन २६, २०७५
485

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा शुक्रबारदेखि आइतबारसम्म विज्ञ सम्मेलन र विधानसभाको आयोजना हुदैछ । विदेशमा रहेर विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका नेपाली र नेपालप्रति चासो राख्ने विदेशी विज्ञहरूसँग नेपालमा अध्ययन, अनुसन्धान तथा विकासमा संलग्न विश्वविद्यालय, अनुसन्धान केन्द्र तथा व्यावसायिक संस्थालाई जोड्ने अभिप्रायले आयोजना गर्न लागिएको सम्मेलनका सन्दर्भमा सम्मेलन संयोजक डा. हेमराज शर्मासँग गरिएको कुराकानीको सार :

विज्ञ सम्मेलनको अवधारणा के हो ?
खास के हो भने आजसम्म विदेशमा हामीले कमाएको पुँजी मात्रै नेपाल भित्रिरहेको छ, तर अबका दिनमा पुँजी मात्रै होइन, विदेशमा जति पनि नेपाली दाजुभाइ, दिदीबहिनीहरू हुनुहुन्छ, उहाँहरूले सिकेको ज्ञान, सीप र अनुभवलाई पनि नेपालको समृद्धिका लागि उपभोग गर्नुपर्छ भन्ने महसुस भएरै यो सम्मेलनको आयोजन गर्न लागेका हौँ । गैरआवासीय नेपाली संघले यही अवधारणा अँगालेर अघि बढेको पनि १५ वर्ष भइसक्यो, तर अब यो अवधारणालाई वास्तवमै कार्यान्वयन गर्नुपर्छ भन्ने लागेरै यो सम्मेलनको अवधारणा ल्याइएको हो । यस अवधिमा पुँजी भित्र्याउने विषयमा राष्ट्रले नीतिगत निर्णय लिएको छ र यसले परिणाम दिन थालेको पनि छ । विदेशमा नेपाली दाजुभाइ–दिदीबहिनीले कमाएको ज्ञान र सीप पनि कसरी भित्र्याउने र यसका लागि राष्ट्रले कस्तो नीति लिने भन्ने विषयमा ठोस बहस सुरु हुन सकेको छैन । यो सम्मेलनमार्फत सोही बहसको सुरुवात गर्न चाहेका पनि हौँ । सम्मेलनमा नेपाल सरकारको पनि साझेदारी हुने भएकाले पक्कै पनि ठोस निष्कर्षमा पुग्नेमा हामी आशावादी छौँ ।

यस सम्मेलनको उद्देश्य के हो ?

विदेशमा बसेर नेपाली दाजुभाइ–दिदीबहिनीले सिकेका ज्ञान, सीप र प्रविधिको नेपाल सुहाउँदो प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा ठोस निष्कर्ष निकाल्ने र सोहीअनुसारको नीति निर्माणमा सरकारको ध्यानाकर्षण गराउने हाम्रो उद्देश्य हो ।

नेपालमा विद्यमान नीति के–कस्ता छन्, विश्वमा के–कस्ता नीति अभ्यासमा छन् र तिनीहरूलाई नेपालको परिपे्रक्ष्यमा कसरी सान्दर्भिक बनाउने भन्नेमा हाम्रो जोड रहनेछ । राष्ट्रले कल्पना गरेको ‘समृद्ध नेपाल’ निर्माणका लागि दक्ष गैरआवासीय नेपालीहरूको पहिचान गर्दै उनीहरूको ज्ञान र सीपलाई कसरी सदुपयोग गर्न सकिन्छ भन्नेबारे पनि सम्मेलन केन्द्रित रहनेछ । अझ भनौं, हामी यही सम्मेलनमार्फत समृद्ध नेपाल निर्माणका लागि आवश्यक जनशक्तिदेखि ज्ञान र सीप हामीसँग पर्याप्त छ कि छैन भन्ने विषयलाई पनि प्रस्ट पार्न चाहन्छौँ र ‘समृद्ध नेपाल’ बनाउन इँटा थप्न चाहन्छौँ ।

नेपालमा यसअघि पुँजी मात्रै लगानी गर्दै आएकोमा यसपालि यो नयाँ सोचको विकास कसरी भयो र ज्ञान र सीप भित्र्याउनेतर्फ ध्यान गयो ?

गैरआवासीय नेपालीहरू जसरी आर्थिक रूपमा सबल हुने बाटोमा छन्, ज्ञान, सीप र प्रविधिको क्षेत्रमा पनि त्यति नै सक्षम छन् ।

नाम चलेका अन्तर्राष्ट्रिय विश्वविद्यालय, अनुसन्धान केन्द्रदेखि लिएर सरकारको नीतिगत तहमा काम गरेका थुप्रै गैरआवासीय नेपाली छन् । वैदेशिक रोजगारीमा जानेहरू पनि विकसित देशको सीप र प्रविधिमा पोख्त भइसकेका छन् । उनीहरूले आफूले सिकेको सीपलाई नेपालका लागि सदुपयोग गर्न चाहन्छन् । नेपाल सरकार र एनआरएनले उनीहरूका लागि उपयुक्त वातावरण बनाउनुपर्छ भन्ने सोचका साथ यो सम्मेलन आयोजना गर्न लागिएको हो । त्यसका लागि यो सम्मेलन कोसेढुङ्गा हुने अपेक्षा गरेका छौँ ।

सम्मेलनमा के–कस्ता विषयवस्तु समेटिनेछन् ? कुन–कुन क्षेत्रलाई जोड दिइनेछ ?
पहिलो दिन साझाको उद्घाटन र दोस्रो दिन चारवटा प्लेनरी सत्र आयोजना हुनेछ । पहिले सत्रमा नेपालको विज्ञान तथा प्रविधिको नीति, प्राविधिक जनशक्तिको अवस्थालगायत विषयमा छलफल हुनेछ । दोस्रो सत्रमा ज्ञानमा आधारित आर्थिक विकास र देशले लिने आर्थिक विकासको बाटोका बारेमा छलफल हुनेछ । तेस्रो सत्रमा नेपाललाई उपयुक्त हुने नयाँ प्रविधिको सम्भावना र यस क्षेत्रमा लगानी विषयमा छलफल हुनेछ । साथै, नेपालको विकासको नीति निर्माणमा डायस्पोराको कस्तो भूमिका हुन्छ भन्ने विषयमा केन्द्रित सत्रहरू पनि समावेश गरिनेछ । दोस्रो दिन कृषि, स्वास्थ्य, शिक्षा, भौतिक विकास तथा इन्जिनियरिङ, वैकल्पिक ऊर्जा, विज्ञान तथा प्रविधि, जोखिम न्यूनीकरण, वातावरणीय प्रदूषणदेखि लिएर फाइनान्सियल रिफर्म, सामाजिक सुरक्षालगायतका समानान्तर सत्रहरू रहनेछन् । तेस्रो दिनको कार्यक्रममा आमन्त्रितको मात्र सहभागिता हुनेछ, त्यहाँ हामीले सम्मेलनको समीक्षा, निष्कर्ष र भविष्यको रणनीति तयार गर्नेछौँ । सोही दिन नेपाल सरकारका विभिन्न निकाय र विज्ञहरूबीच पनि छलफल र परामर्श हुनेछ ।

यी विषय सर्वसाधारणको सरोकारसँग कसरी जोडिएका छन् ?
सम्मेलनका सबै विषय आम जनजिविकासँग जोडिएका छन् । यसका साथै सरकारका विकासका प्राथमिकता परेका विषय पनि छन् । जस्तो भनौँ, कृषि उत्पादन र ऊर्जामा स्व–निर्भरता, सुरक्षित खाद्यपदार्थ, वातारवणीय प्रदूषण न्यूनीकरण, व्यवस्थित सहरको विकास, पूर्वाधार विकास, जलविद्युत्, व्यावसायिक शिक्षा, स्वास्थ्य शिक्षा, संघीयतामा शिक्षाको मोडल आदि थुप्रै विषयमा यस सम्मेलनमा छलफल हुनेछ । नेपालमा कृषिजन्य पदार्थ र जडीबुटीको प्रशोधन तथा व्यावसायिक विधिका लागि इनोभेसन को–क्रिएसन सेन्टर खोली उद्यमशीलता कसरी विकास गर्न सकिन्छ भन्नेबारे छलफल गर्ने छुट्टै सत्रको आयोजना गरेका छौँ ।

यति धेरै विषय समेटेर परिणाममुखी होला त सम्मेलन ?
सम्मेलनका विषयहरू अलि फराकिला भए भन्ने गुनासो हामीले सुन्दै आएका छौँ, तर यस्तो खालको सम्मेलन पहिलो पटक हुन लागेकाले सबै क्षेत्रका मानिसको सहभागिता होस् भन्ने चाहन्छौँ ।

बाहिर बस्ने नेपालीको ज्ञानको भण्डार के हो भन्नेबारे पहिचान पनि भइसकेको छैन । यस सम्मेलनबाट उनीहरूको स्किल डाइरेक्ट्री बनाउनेछौ ताकी राष्ट्रले आवश्यकताअनुसार उनीहरूलाई सदुपयोग गर्न सकोस् ।

साथै सम्मेलन प्रत्येक दुई वर्षमा गर्ने पूर्वघोषित निर्णयअनुसार भविष्यमा नेपाल सरकारको प्राथमिकतामा रहेका निश्चित विषयमा मात्र केन्द्रित रहेर आयोजना गर्ने भन्ने योजना छ ।

सम्मेलनमा क–कसको सहभागिता रहनेछ ?
नेपालभित्र र बाहिर कार्यरत विज्ञहरू, नेपालका बारेमा चासो राख्ने विदेशी विज्ञहरू, नेपाल सरकारका नीति–निर्माता, स्वतन्त्र बुद्धिजीवी, नेपालको निजी क्षेत्र, नेपालस्थित कूटनीतिज्ञलगायत सबै क्षेत्रका विज्ञको सम्मेलनमा सहभागिता रहनेछ । ‘रिसर्च एन्ड डेभलपमेन्ट’ सँग जोडिएका विज्ञ, अनुसन्धान संस्था र विश्व विद्यालयका विज्ञहरूलाई हामीले आमन्त्रण गरेका छौँ । साथै यो सम्मेलन सर्वसाधारणका लागि पनि खुला गरिएको छ । यद्यपि व्यवस्थापनका लागि केही प्रवेश शुल्क तोकेका छौँ ।

सम्मेलनमा सहभागी हुने विज्ञलाई कसरी परिभाषित गर्नुहुन्छ ?
ज्ञान, सीप र प्रविधिका क्षेत्रमा अनुभव भएका अथवा सो क्षेत्रमा नयाँ विचार दिन सक्ने दक्ष, प्राज्ञिक सबै खालका व्यक्तित्व सम्मेलनमा आउनुहुनेछ । सम्मेलनमा सहभागी हुन विश्वविद्यालयबाट डिग्री नै लिनुपर्छ भन्ने छैन । नेपालका लागि उपयोग हुने विदेशमा सिकेको जुनसुकै सीपबारे दख्खल राख्ने व्यक्ति नै उपस्थित हुने हो । सम्मेलनमा निजी क्षेत्रबाट पनि सहभागिता रहनेछ, किनभने ज्ञान, सीप र प्रविधिलाई आर्थिक लगानीबाट अलग राख्न सकिँदैन, यी एकअर्काका परिपूरक हुन् ।

सम्मेलनमा कार्यपत्रहरू कसरी छनोट गर्नुभएको छ, कति जनाको सहभागिता रहन्छ ?
नेपालभित्र र बाहिरका विज्ञहरूको एउटा कार्यक्रम कमिटी बनाएका छौँ । यही कार्यक्रम कमिटीले छनोट गरेका विज्ञहरूको केही कार्यपत्र छन् भने खुला रूपमा पनि शोधपत्र मागेका छौँ । यी कार्यपत्रहरूको रिभ्यु प्रोग्राम कमिटीले गर्छ र छनोट गर्छ । हामीलाई करिब १ सय ५० कार्यपत्र प्राप्त भएका छन् भने थप ५० जना प्यानलिस्ट हुनुहुनेछ । अन्य सहभागीसहित करिब ४ सय जनाले भाग लिनेछन् ।

सम्मेलनमा विदेशीहरू पनि सहभागिता छ कि छैन ?
अवश्य हुन्छ, नेपालका बारे अध्ययन–अनुसन्धान गरेका विदेशीहरू पनि यस सम्मेलनमा सहभागी हुनेछन् । खासगरी हामी जस्तै परिवेश भएका तर छोटो समयमा विकासको फड्को मारेका देशका विज्ञहरूको अनुभव हाम्रा लागि प्रभावकारी हुन सक्छन् भनेरै उनीहरूलाई पनि सहभागी गराउन लागिएको हो । जस्तै दिल्ली मेट्रोको इन्जिनियरलाई हामीले निमन्त्रणा गरेका छौँ । उहाँका अनुभव काठमाडौंमा मेट्रो रेल निर्माणमा सहयोगी बन्न सक्छ । युनेस्कोका विज्ञान तथा प्रविधि नीतिसम्बन्धी विज्ञको पनि सहभगिता रहनेछ ।

भारत, इटाली, अमेरिका, क्यानडा, अस्ट्रेलियालगायतका देशबाट करिब १० जना विदेशी विज्ञले सम्मेलनमा भाग लिनेछन् ।

नेपाल सरकारसँग सहकार्य गरिँदैछ भनेपछि त यस सम्मेलनबाट नेपालको नीति–निर्माणमा पनि केही टेवा पुग्न सक्ला ?
पक्कै पनि हाम्रो अपेक्षा पनि त्यही हो । यो सम्मेलन नेपाल सरकारको साझेदारीमा हुँदैछ । सम्मेलनका सबै सत्रमा नेपाल सरकारका प्रतिनिधिहरूको सहभागिता हुनेछ । पहिलो दिनका सबै सत्र नीतिगत विषयमा केन्द्रित हुनेछ । यो सम्मेलनको मुख्य उद्देश्य नै नेपाल सरकारको नीति निर्माणमा सहयोग गर्ने नै हो ।

सम्मेलन प्राज्ञिक बहसमा मात्रै सीमित रहने हो कि ?
हामीले यो सम्मेलनलाई बहुआयामिक बनाउन चाहेका छौ । सम्मेलनलाई ज्ञानको मञ्चन गर्ने थलो बनाउने हाम्रो उद्देश्य हो । कसैसँग इनोभेटिभ आइडिया छ तर लगानी गर्ने पैसा छैन भने उनीहरूलाई सम्भावित लगानीकर्ता भेट्टाउन यो सम्मेलनले सहयोग गर्नेछ । यसका लागि हामीले एउटा छुट्टै सत्रको आयोजना गरेका छौँ । विदेशमा ज्ञान, सीप सिकेर नेपाल फर्केकाहरूको अवसर र चुनौती के छ, उनीहरूका अनुभव साट्नका लागि अर्को सत्रको आयोजना गरिएको छ । सो सत्रमा विदेशबाट फर्किएकाहरूको एलुम्नाईका प्रतिनिधिहरूका प्रतिनिधिहरूलाई आमन्त्रण गरेका छौँ । यस्तै नेपाली विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने मुलुकका राजदूतहरू, युजीसी, नास्टजस्ता अनुसन्धानका लागि स्रोत उपलब्धि गराउने निकायहरूको प्रतिनिधिहरू पनि आमन्त्रित छन् । रिसर्च एन्ड डेभेलपमेन्टलाई नयाँ सिरामा पु¥याउन यस्ता अन्तक्र्रियाले सहयोग गर्नेछ । साथै, एनआरएनमा व्यापारीहरूको सहभागिता रहँदै आएको र प्राज्ञिक क्षेत्रका मानिसको सहभागिता न्यून रहेको छ भन्ने गुनासो छ । प्राज्ञिक क्षेत्रका गैरआवासीय नेपालीहरूलाई पनि आफ्नो ज्ञान र क्षमता देखाउने यो अवसर हो । नेपालका राजनीतिज्ञ र एनआरएनका नेताहरूसँग गुनासो गरेर बस्नु भन्दा आफैंले केही गरेर देखाउने बेला आएको छ । यस्तो सम्मेलनमा हरेक दुई वर्षमा नेपालमा आयोजना हुने भएकाले यस सम्मेलनमा भाग लिन नसक्नेहरूको भविष्यमा सहभागिता हुनेछ भन्नेमा हामी विश्वस्त छौं ।

ज्ञान, सीप, पुँजी र राजनीतिलाई हामीले सँगै लिएर जान सके मात्र परिवर्तन सम्भव छ ।

त्यसैले पहिलो पटक आयोजना हुन लागेको यस सम्मेलन सफल पार्न सबै गैरआवासीय नेपालीहरूलाई अनुरोध गर्छौं ।

नेपालमा व्यावहारिकता तथा ज्ञानका केन्द्रहरूको एक–आपसमा कुनै सामञ्जस्य छैन भन्ने गरिन्छ, यहाँलाई के लाग्छ ?
खासमा व्यावहारिकता तथा ज्ञानका केन्द्रमा सामञ्जस्य नहुनुमा विभिन्न तत्वले भूमिका खेलेको छ । यसका खास कर्मचारीतन्त्रको ‘फलो अफ’ ले पनि मुख्य भूमिका खेलेको छ । धेरै पहिलादेखि नै हामीमा काम गर्न खोज्ने तर त्यसको जिम्मेवारी लिन नसक्ने परिपाटीका कारण एकआपसमा समन्वय हुन नसकेको हो । बाहिर गरिने व्यवहार र काम तथा भित्र गरिने कामबीच फरक भएका कारण यस्तो भएको हो जस्तो लाग्छ । समयमा निर्धारण गरिएको काम अन्य विभिन्न कारण देखाएर नगर्ने प्रवृत्ति आमरूपमा रहेको छ । यसमा काम गर्ने जिम्मेवार मुख्य मान्छेको भूमिका र धारणाले पनि प्रभाव पारेको देखिन्छ । सबैले आफ्नो जिम्मेवारी समयमा उत्तरदायी तरिकाले गर्ने हो भने यस्ता समस्या बिस्तारै हल हुदै जान्छ ।

वर्तमान कार्यसमितका अध्यक्षको कार्यकालमा भएका केही राम्रा कामहरू केके हुन् ?
सबै कार्यकालमा समय र परिस्थितिअनुसारका काम हुँदै आएका छन् । यसका पहिलो कुरा के हो भने यो कार्यकालमा तीनवटा महत्वपूर्ण काम भएका छन् भने अन्य ससाना तर दीर्घकालीन रूपमा प्रभाव पर्ने कार्यहरू भएका छन् । अघिल्लो कार्यसमितिले सुरु गरेका र अहिलेको कार्यसमितिले लगातार मेहनत गरेर पूरा गरेका परियोजना सम्पन्न भएका छन् । यसको उदाहरणका रूपमा लाप्राक परियोजना, शंखमूल पार्क र एनआरएनए सचिवालय भवन हुन् । यी तीनवटा परियोजनामा वर्तमान कार्यसमितिको योगदान र प्रयास धेरै छ । यसको अर्थ अघिल्लो कार्यसमितिले केही गरेको छैन भन्ने होइन ।

यो कार्यसमितिले एक वर्षमा जति गर्नुपर्ने, त्यो गरेको छ र गरिरहेको छ । लाप्राक, सचिवालय भवन र शंखमूल पार्कले पूर्णता पाएका छन् ।

लाप्राकको कुरा गर्दा आगामी वैशाख १२ गते बस्ती स्थानीयलाई हस्तान्तरण गरिँदैछ भने सचिवालय भवन र शंखमूल पार्क हस्तान्तरण र निर्माण सम्पन्न भएको छ ।
यसैगरी १० अर्ब लगानीको कोष निर्माण गरेर लगानी भित्र्याउने सम्बन्धमा पनि काम अन्तिम चरणमा पुगेको छ । हुनत यो कार्यक्रम सुरु गर्ने भनेको धेरै समय भए पनि कार्यप्रगति भने अन्तिम चरणमा पुगेको छ । सरकारको समेत लगानी रहने भएपछि यो कोषप्रति आम गैरआवासीय नेपालीको विश्वास बढेको छ । पहिला सामूहिक लगानी गर्ने भन्ने विषयमा मात्र भएकोमा अबदेखि आईपीओमा जाने गरी कोष स्थापना गर्ने कुरा भएको छ ।

एनआरएनले गफ मात्र गर्छ, काम चाहि गर्दैन भन्ने जुन हल्ला छ त्यसमा यहाँको प्रतिक्रिया के छ ? अब एनआरएनए सक्रिय भएको हो ?
मलाई के लाग्छ भने सरकार र आममानिसको एनआरएनए आकांक्षा बढी भएका कारण केही गर्न सकेन भन्ने मान्यता विकास भएको हो । पहिला–पहिला एनआरएनमा लगानी गर्छु भन्ने भावना मात्र बढी आएको पनि हुन सक्छ । यसको अर्थ सुरुका चरणमा गैरआवासीय नेपाली भावना बगे भन्नुपर्छ, तर अहिले आममानिस, सरकार र एनआरएनमा पनि लगानी गर्नुपर्छ भन्ने भावना विकास भएको छ । पहिला गैरआवासीय नेपालीले गरेको लगानी गर्ने वाचा पनि बिस्तारै व्यवहारमा पनि देखिँदै गएको छ । समय बित्दै जाँदा लगानी आउने क्रम पनि बढेको छ । वास्तवमा हेर्ने हो भने लगानी गरेका क्षेत्रको संख्या र लगानी गरेको पुँजी पनि बढ्दै गएको छ ।

अब विदेशमा रहेका नयाँ पुस्ताले १० देखि २० वर्षसम्म सोचेभन्दा बढी लगानी भित्र्याउने देखिएको छ ।

त्यसैगरी लगानीअनुसार नेपालमा काम गर्ने वातावरण पनि बन्दै गएको छ ।
एनआरएनए स्थापना भएको १५ वर्ष भयो । समयसँगै एनसीसीको संख्यासमेत बढेर ७९ वटा पुगिसकेका छन् । यसरी नै सरकारले गैरआवासीय ऐनसमेत बनाएको छ । अब नेपालमा पुँजी कसरी भित्र्याउने भन्ने सम्बन्धमा मात्र एनआरएनए र एनआरएन केन्द्रित हुने बेला आएको छ । यसैले यी सबै विषयलाई समेट्न विज्ञ सम्मेलनको आयोजना गरेको हो । नेपालमा लगानी भित्र्याउन लगानी, इनोभेसन र नीतिलाई समायोजन गरेर लैजानुपर्छ ।