जगन्नाथ दुलाल
आइतवार, आश्विन २१, २०७५
3130

प्रा. डा. सुरेन्द्र केसीे ३ दशकभन्दा बढी त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन पेशामा आवद्ध रहे । २०५२ सालमा ‘नेपाली कम्युनिजम’ मा विद्यावारिधि परेका केसीले ५ दर्जनभन्दा बढी पुस्तक लेखन तथा सम्पादन गरिसकेका छन् । पछिल्लो समय राजनीतिक विश्लेषकका रूपमा चर्चामा रहेका केसी समसामयिक घटनामाथी खरो टिप्पणी गर्ने व्यक्तिका रूपमा परिचित छन् । दुई वटा ठूला कम्युनिष्ट पार्टी एकताकोे एक वर्ष र केपी ओली नेतृत्वको सरकारको ७ महिनाको संकेतले आशावादी हुने ठाउँ नरहेको उनी बताउँछन् । उनै डा. केसीसँग समसामयिक राजनीतिक घटनाक्रम, पछिल्ला समय देशमा बढिरहेका आपराधिक घटना र सरकारका कामकारबाहीका बारेमा केन्द्रीत रहेर कारोबारकर्मी जगन्नाथ दुलालले गरेको कुराकानीको सार :

दुई ठूला कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी एकता भएको एक वर्ष पूरा भएको छ । नेपालको इतिहासकै बलियो कम्युनिस्ट पार्टीको एक वर्षलाई कसरी लिनुभएको छ ?
मैले दुई पार्टीको एकतालाई अप्राकृतिक, अस्वाभाविक, हठात् भएको रहस्यात्मक एकता हो भनेको थिएँ । पहिलो, एकतै हुन सक्दैन । भइहाल्यो भने पनि त्यसले कुनै परिणाम दिँदैन, दिइहाल्यो भने पनि त्यो देश र जनताको पक्षमा हुँदैन । ती भित्रका टाठाबाठा, भाइभतिज, आफन्त, श्रीमान्, श्रीमतीलाई केही कुरा भए पनि बृहत्तर नेपाली जनताका पक्षमा केही हुँदैन भन्ने मेरो विश्लेषण थियो । अहिले मैले अनुमान गरेभन्दा पनि घिन लाग्ने गरी यो बाहिर आएको देख्छु । यो एकताको त्यस्तो अर्थ मैले केही पनि देखेको छैन ।

नेकपाका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको सात महिना बितेको छ । सरकारको कामकारबाहीबाट नागरिकले सन्तुष्ट हुने, खुसी हुने अवस्था छ ?
चुनावमा जे गर्छु भनेर मत मागेका हुन् त्यो विषय प्रवेश नै भएको देख्दिनँ । सरकारमा आएपछि उनीहरूले आफैं केही विषय उठान गरे । जस्तो, उनीहरूले सडकको खाल्डाखुल्डीको कुरा, समयमा काम नगर्ने ठेकेदार कारबाहीको कुरा, सिन्डिकेटको कुरा, सुनकाण्डको कुरा र एनजीओलाई पारदर्शी गर्ने कुरा उठाए । त्योचाहिँ गर्लान् कि भन्नेमा हामी निकै भ्रमित भयौं । वास्तविकताकै अधारमा यी कुरा उठाए होलान् भन्ने थियो । किनभने यिनीहरूले कम्युनिस्टको सरकार हो, वामपन्थीको सरकार हो, शक्तिशाली सरकार हो भनेका थिए । त्यसपछि हो कि त भन्ने लागेको थियो । गएको १० वर्षमा मात्र ३८ क्विन्टल सुन तस्करी भएको रहेछ । यत्रो कुरा त हामीलाई केही पनि थाहा थिएन । सडकका खाल्डाखुल्डी र समयमा ठेक्का पूरा नगर्ने कुरा पनि यिनीहरूकै मान्छेले कब्जा गरेका कारण नभएको रहेछ । त्यो कुरा पनि थाहा थिएन । गृहमन्त्रीले भन्दै थिए कि भ्रष्टहरू, तस्कर, माफिया, राजस्वमारा, देशलाई उँभो लाग्न नदिनेहरूलाई कारबाही नगरी छोड्दिनँ । सानो माछामा अल्झिन्नँ, ठूलै माछा नसमाई छोड्दिनँ भन्थे । माओवादी, मगरका छोरा हो कि त भन्ने पनि लाग्यो हामीलाई । नेपाली जनताले उठाएका पनि होइनन् । उनीहरू आफैंले उठाएका कुरासमेत यिनीहरूले अवरुद्ध गरेर निष्कर्षहीन अवस्थामा ल्याएर छोडिदिए । प्रधानमन्त्री न्युयोर्कको सम्मेलनबाट फर्केर आउने क्रममा गरिबी सात महिनामा आ’को हो ? खाल्डाखुल्डी हामीले बना’को हो ? भनेर उफ्रँदै हुनुहुन्थ्यो ।

यी केही दृष्टान्तलाई आधार मान्ने हो भने सरकारको सात महिनाको गतिविधि, अहिले भइरहेको अवस्था र भोलि आउन सक्ने अवस्थामा मैले आशा गर्ने ठाउँ देखेको छैन ।

बलात्कारीलाई समेत कारबाहीको दायरामा ल्याउन सरकारले सकेको छैन । उल्टै बलात्कार प्रकरणलाई धोइपखाली गरेर अपराधी र अपराधको निशानालाई नै नामेट पार्ने कुरामा नेपाल प्रहरीजस्तो सरकारको औपचारिक संयन्त्र पनि लागिरहेको अवस्था छ । यो हेर्दा सरकारको सुरुवात हेर्दा ठीक छैन । हामी आलोचना गरिरहेका छौं । यसको अभिप्राय सरकार सच्चियोस् भन्ने नै हो ।

तपार्इंले प्रस्तुत गरेका दृष्टान्त हेर्दा त कतै हामी असफल राष्ट्र बन्ने दिशातर्फ त गइरहेका छैनौं भन्ने पो देखिन्छ । अवस्था त्यस्तै हो वा तपाईं बढी नै भावनामा बगेर यी कुरा भनिरहनुभएको छ ?
असफलताकै यो नमुना हो ।

बिहानीले दिनको संकेत गर्छ भनिन्छ । अहिले जे भइरहेको छ यही बिहान हो भने त यसको दिन डरलाग्दो छ ।

यो सरकार पाँच वर्ष पूरै जान्छ भन्ने पनि छैन । सायद अब नेपालको सार्वभौमिकतामाथि प्रहार हुने हो कि भन्ने देखिन्छ । राज्य टुक्र्याउँछु भन्दा पनि सरकारले केही गर्न सक्दैन । हरेक दिन बलात्कार, हत्याका घटना भइरहँदा राज्यको उपस्थिति देखिँदैन । नागरिकहरूको बीचमा विद्वेषको भावना रहनु र एक महिला सांसदको संसद्मा अभिव्यक्ति सुन्दै थिएँ, कसैले पनि यो संविधानलाई तराईमा लागू गर्न सक्दैन । त्यसो हो भने त असफल राज्यतिर गइहाल्यो नि त यो । तर, नेपाली जनता सद्भावमा बसेका, राज्यको नीति नियमप्रति आस्था भाव राख्ने भएका कारण कुटाकुट, अस्तव्यस्ततातिर गएको मनोविज्ञानजस्तो चाहिँ लाग्दैन । तर, अहिलेको रुझानचाहिँ एउटा विस्फोटक परिवेशतर्फ त जाँदैन भन्ने दोसाँधमा उभिएको कुरा भने पक्का हो ।

सरकार अस्थिर भएका कारण देश विकास हुन सकेन भन्ने मत नेपालमा बलियो थियो । अहिले त्यस्तै, संसद्को अंकगणित हेर्दा बलियो सरकार नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा बनेको छ । स्थिर र बलियो सरकारसँगै आर्थिक विकासको गतिमा देश हिँड्ला भन्ने नागरिकको अपेक्षा कुन बाटोमा जाँदै गरेको देख्नुहुन्छ ?

गणित निर्णायक हुँदैन । गणित एउटा तत्व मात्र हुन्छ । गणित आउनासाथ स्थायित्व र सुशासन अनि समृद्धि हुन्छ भन्ने कुरा होइन ।

यिनीहरूले कस्ता मान्छेलाई मन्त्री बनाउँछन् । कस्तो भाषा बोल्छन् । त्यसमा पनि भर पर्छ । यो संसदीय शासन प्रणाली भनेको नैतिकवान्, शिक्षित र जवाफदेही मान्छेहरूले चलाउने प्रणाली हो । दक्षिण एसियाको यो भागमा चाहिँ शिक्षा, इमान्दारिता, निष्ठा, पारदर्शिता भन्ने कुरा प्राय: जनजीवनमा छैन । जस्तो, बाराक ओबामाको आम्दानी कति हो भन्ने कुरा म अहिले यहीँ भन्न सक्छु । ओबामाको आम्दानी वकिल मात्र हुँदा वार्षिक १८ लाख डलर थियो । राष्ट्रपति हुँदा उनको आय घटेर १२ लाख डलर भयो । तपाईं भन्न सक्नुहुन्छ, अहिले प्रचण्डको आय कति छ ? केपी ओलीको आम्दानी कति छ ? अरू नेताहरू कसको आय कति छ भनेर हामी भन्न सक्छौं ? केही पनि भन्न सक्दैनौं । कोमल वली कसरी सांसद भइन्, हामी केही पनि भन्न सक्दैनौं । मोहनचन्द्र अधिकारी किन बाटोमा मागेर हिँडिरहेका छन्, केही भन्न सक्छौं हामी ? त्यसकारण अजवाफदेही र असंवेदनशील संस्कारमा जवाफदेही र संवेदनशील प्रणाली एकाकार हुनै सक्दैनथ्यो । तर, हामीले त्यो कुरामा बढी जोड दिएनौं । शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेलामा तत्कालीन सरकारका प्रवक्ता रहेका सञ्चारमन्त्रीले त नेपालको अबको भविष्यको प्रधानमन्त्री आरजु देउवा हुन् सम्म पनि भने । कांग्रेसमा आरजु देउवाको के योगदान हो र उनको प्रधानमन्त्री हुने के ल्याकत हो ? यो खालको शासनशैली हाम्रो भएको हुनाले आजको अवस्था आइराखेको छ ।

तपाईंले संसदीय व्यवस्था सुहाउँदो हाम्रो राजनीतिक पार्टी र नेतृत्व भएन भनेर भन्नुभयो । के अहिले देखिएको समस्या व्यवस्था र त्यो व्यवस्था हाँक्नेहरूबीच तालमेल नहुँदाको कारण हो भन्नु खोज्नुभएको हो ?

व्यवस्था आफैंमा समस्या होइन । तर, यो व्यवस्थालाई थाहा पाउनुपर्यो नि त । योग्यताक्रम, जवाफदेहिता र पारदर्शिता संसदीय व्यवस्थाका मलभूत तत्वहरू हुन् ।

योग्यताक्रम ‘राइट म्यान राइट प्लेस’, ‘पुरस्कार र दण्ड’ गर्न सकिन्छ नि । यो गर्नै नसकिने ठूलो कुरा त होइन नि । तर, कोही मान्छे पनि ‘राइट म्यान राइट प्लेस’ हुँदैन यहाँ । अर्को कुरा, जसले जे गल्ती गरेपछि ऊ जवाफदेही छैन यहाँ । जस्तो भक्तपुरमा बच्चा मारियो, बबरमहलमा मारियो, कञ्चनपुरमा बालिका बलात्कार गरियो । त्यसको जवाफदेहिता कसको हो ? पञ्चायतकालमा दशरथ रंगथशालामा हावाहुरी चल्यो । भाग्दा मान्छे म¥यो । त्यसको जवाफदेहिता तत्कालीन शिक्षा तथा खेलकुदमन्त्रीले लिएर राजीनामा दिए । जवाफदेहिता कसैको त हुनुपर्ने हो । तर, जवाफदेहिता पनि देखिएन । मैले पारदर्शिताको कुरा गरेँ । कञ्चनपुरको घटनामा प्रहरीले जुन रिपोर्ट प्रस्तुत गर्यो । अघिल्लो दिन नै पीडितको बाबुको नक्कली ल्याप्चे लगाएको रहेछ भन्ने कुरा गृहमन्त्रीले भन्नुभयो । हामीलाई प्रहरीले ‘मिस लिड’ गर्यो प्रधानमन्त्रीले नै भन्नुभयो । तर, यसमा कसैलाई कारबाही हुँदैन । जवाफदेहिता कसैको पनि बन्दैन । संसदीय शासन प्रणाली जहाँबाट ल्याइयो, त्यो संवेदनशील र जवाफदेहीपूर्ण थियो । अहिले जहाँ ल्याएर अभ्यास गरियो ती मानिसहरू बर्बर र जंगली भए । त्यसकारण विरोधाभास पैदा भयो । यसले गर्दाखेरी देशले ठीक बाटो लिन सकेन ।

वर्तमान सरकार र प्रधानमन्त्रीलाई अहिलेसम्मकै शक्तिशाली भनेर भनिएको छ । के त्यो सामथ्र्यलाई पहिचान गर्न प्रधानमन्त्री केपी ओलीले नसक्नुभएकै हो ?

केपी ओलीलाई शक्तिशाली प्रधानमन्त्री भनियो । देशमा हत्या, बलात्कार, अपराधका यति धेरै घटना भइराखेको छ । प्रधानमन्त्रीले त्यो शक्ति केमा देखाउनुभयो ?

निर्मला बलात्कारपछि हत्याकाण्ड के भएको भनेर प्रहरी प्रमुखलाई सोध्न सक्नुभएन । पार्टीका आफ्नै नेताले संसद्मै प्रधानमन्त्री र सरकारविरुद्ध तथानाम बोले । यो के भनेको भनेर सोध्न सकेनन् । त्यसकारण यो सरकारलाई शक्तिशाली भन्नु, दुईतिहाइको भन्नु, केपी ओलीलाई शक्तिशाली प्रधानमन्त्री भन्नु भ्रामक कुरा हो । उनीजस्तो कमजोर प्रधानमन्त्री मैले देखेको छैन । उनको रिमोट प्रचण्डको हातमा छ । त्यहाँभित्र चार–पाँचवटा गुट मुख आँ गरेर बसिरहेका छन् । जसले ठुँग्यो भने पनि विष केपी ओलीलाई लाग्ने अवस्था छ । मैले त नेपालको पूरै इतिहासमा यतिको कमजोर र अस्थिर सरकार देखेकै छैन ।

माक्र्सवादको राम्रो जानकार हुनुहुन्छ । विश्व कम्युनिस्ट आन्दोलनलाई नजिकबाट हेर्नुभएको पनि छ । निर्मला पन्त बलात्कारपछि गृहमन्त्रीले बलात्कारको दोष पुँजीवादलाई दिनुभएको छ । के माक्र्सवादी दृष्टिकोणबाट हेर्दा बलात्कारका घटना हुनुमा ‘पुँजीवाद’ कारक मान्न सकिन्छ ?
पुँजीवाद र बलात्कारको सम्बन्ध हुँदैन । यस्ता खालको सांस्कृतिक अपचलन भन्थे माओवादीहरूले, त्यस्तो खालको त उहाँ आफैंले गर्नुभएको छ । त्यसो भए उहाँले कुन सिद्धान्तअन्तर्गत त्यसो गर्नुभयो । आफू त्यस्तो आचरण गरेर हिँड्ने । यस्तो अर्कोले गर्यो भने साम्राज्यवादको टाउकोमा हाल्दिने ? मानिसले गर्ने विकृति र विसंगतिपूर्ण व्यवहार राजनीतिक विचारधारा र आस्थासँग मात्र जेलिएको हुँदैन ।

जुनसुकै प्रणालीभित्र पनि खराब मान्छे हुन्छन् । अपराध त जहाँ पनि हुन्छ । के कम्युनिजममा अपराध हुँदैन ?

चीनमा, रसियामा पनि बम विस्फोट भइरहेका छन् । अरू कम्युनिस्ट देशमा पनि अपराध भइरहेका छन् । उहाँले पुँजीवादी व्यवस्थामा अलिक यौनिक उदारता र छाडापन बढी हुने भएकाले यस्तो भएको भन्न खोज्नुभएको होला । तर, यो गलत ठाउँमा पर्यो । निर्मला प्रकरणसँग यो कुराको कुनै सम्बन्ध छैन । उहाँमा प्रस्तुतीकरणमा पनि समस्या हो ।

एउटा बालिकाको बलात्कारपछि हत्या भएको दुई महिना बितिसक्दा पनि दोषाी पत्ता लाग्न सकेको छैन । धेरै मानिसले नेपालमै भएका नमिता सुनिता काण्डसँग पनि तुलना गरेर हेरेका छन् । दोषी पत्ता नलाग्नुमा कारक के देख्नुहुन्छ ?
नमिता सुनिता काण्ड जस्तो हो र जत्रो हो, निर्मलाको प्रकरण पनि त्यस्तै र त्यत्रै हो । यस्तो मान्छेको हातबाट यो घटना भएको छ, जसलाई म पनि भन्न सक्दिनँ । यसबारे तपाईंले सोध्नु पनि बेकार छ । मन्त्री, प्रधानमन्त्री जसले बनाउँछ त्यतिको शक्तिशाली मान्छेको संलग्नता हुन सक्छ । प्रहरीको एउटा एसपीले यत्रो घटना घटाउन सक्छ भन्ने म पत्याउन्नँ । कति शक्ति हुन्छ र प्रहरीको एसपीसँग । बलात्कार गरेर, हत्या गरेर, सडकमा फ्याँक्ने । कल्पना गर्न सकिने कुरा हो त्यो । गरेको पनि हुनसक्छ तर मलाई त्यस्तो लाग्दैन । होइन भने प्रहरीको आइजीपीले दुई भाटा हानेपछि एसपीले सबै कुरा बक्दैन भन्या ? सरकार निर्लज्ज भएपछि के उपाय छ यसको । मैले मारेको हो र भन्दिनुहोला भोली प्रधानमन्त्रीले । यो गरिबी मैले ल्याएको हो र ?

खाल्डाखुल्डी मैले पार्देको हो र ? भन्नेले निर्मलालाई मैले मारेको हो र भन्दिए भने कसलाई गएर पक्डनुहुन्छ ।

प्रसंग बदलौं, अहिले देशको आर्थिक विकासका लागि सबैले दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्नुपर्ने बताइरहेका छन् । के त्यो लक्ष्य हासिल गर्ने बाटोमा सरकार अघि बढिरहेको छ ?
हाम्रो राष्ट्रिय अर्थतन्त्रमा औद्योगिक क्षेत्रको योगदान हिजो १६ प्रतिशत हो । अहिले त्यो घटेर ६ प्रतिशतमा आएको छ । रेमिट्यान्सबाट हामी चलेका छौं । रोजगारीको बजारमा वार्षिक ५ लाख मानिस श्रमको बजारमा आउँछन्, जसमध्ये २.९ प्रतिशतले मात्र रोजगारी पाउँछन् । रेमिट्यान्समध्ये पनि ७९ प्रतिशत उपभोग्य सामग्रीमा खर्च हुन्छ । त्यसको मतलब जहाँबाट आएको हो रेमिट्यान्स उपभोगमार्फत बाहिरै जान्छ । कुल ३० अर्ब त हामी कृषिजन्य सामग्रीमात्र आयात गर्छौं । धान पनि हामीले आयात गरिरहेको अवस्था छ । युवाहरूको बहिर्गमनले गर्दा देशभित्र काम गर्ने युवाहरू पनि पाउन सकिरहेका छैनौं ।

बाहिरबाट ८ खर्बको रेमिट्यान्स ल्यायौं भने भारतले मात्र ६ खर्बको रेमिट्यान्स लैजान्छ । के आधारमा देशको आर्थिक दर बढ्छ ?के आधारमा दोहोरो अंकको आर्थक वृद्धिद्धर हासिल हुन्छ ? दोहोरो अंकको अर्थ त बुझ्छन् यीनीहरू ? 


अहिलेको अर्थमन्त्री डा. युवराज खतिवडालाई अर्थतन्त्र बुझेको व्यक्तिका रूपमा लिने गरिन्छ । उहाँको कामकारबाहीलाई कसरी हेर्नुभएको छ ?
अर्थमन्त्रीको पर्फमेन्स एकदमै दु:खलाग्दो छ । अर्थ, परराष्ट्र र राजदूत यी पदमा योग्यता पुगेको व्यक्तिले मात्र अवसर पाउनुपर्छ भन्ने कुराको वकालत गर्दै आएको छु । ४/५ कक्षा पढेका विष्णु पौडेलले बरु अर्थमन्त्रीलाई अहिले भन्दा राम्रो चलाईदिए । सुरेन्द्र पाण्डे बिए पढेका हुन् । उनले नि राम्रो चलाए नै । आइएल पढेका भन्ने वर्षमान पुन त्यतिबेला गुरिल्ला अर्थमन्त्री भन्थें म । तीनको पनि ठीकै थियो । युवराजको त केही गर्यो कि विवाद मात्रै आउँछ । त्यसकारण युवराज खतिवडाको पर्फमेन्स एकदमै दयनीय भयो । पढे लेखेकोपना पनि उनले त्यहाँ देखाउन सकेनन् । अनुभवी व्यक्ति हुन् भन्ने कुरा पनि सिद्ध गर्न सकेनन् । समष्टिमा अर्थमन्त्रीको रूपमा खतिवडाको काम आलोच्य नै छ ।

अन्त्यमा, प्रतिपक्षी दल नेपाली कांग्रेसको भूमिकाबारे के भन्नुहुन्छ ?
कांग्रेसको भूमिका एकदमै कमजोर र शिथिल छ । शेरबहादुर देउवा दलको नेता भए भने पार्टी सकियो भनेर मैले त्यतिबेला भन्दा कांग्रेसीहरू हाँस्थे । समयले त्यो कुरालाई सिद्ध गर्यो । शेरबहादुर मेहनत गर्न सक्दैनन् । सत्ताका लागि जे पनि गर्ने भन्ने आलोचना हुन्छ । नराम्रो पराजय भयो चुनावमा । त्यसको जिम्मेवारी पनि लिएनन् उनले । त्यसो भनेको भए ७ महिनामा कांग्रेसले अवस्था सुधाथ्र्यो ।

कांग्रेसको भूमिका अपेक्षा गर्नु नै बेकार छ । कहिले गोविन्द केसी त कहिले निर्मला पन्तको मुद्दामा रुमल्लिएको छ । आफूले कुनै मुद्दा ल्याउन सकेको छैन ।