कारोबार संवाददाता
आइतवार, भदौ २४, २०७५
5329

फुड साइन्सको ‘सिलिकन भ्याली’ मानिने क्यानडाको टोरन्टो, अन्तरियोलाई एक दशकयता कर्मथलो बनाइरहेका छन्, वरिष्ठ खाद्य वैज्ञानिक नारायण घिमिरे । लिन–सिक्स–सिग्माको सबैभन्दा उच्च प्रोफेसनल सर्टिफिकेसन ‘मास्टर ब्ल्याकबेल्ट’ घिमिरेले खाद्य, कृषि र जडिबुटीका साथै उद्यमशीलताको उन्नत अनुसन्धानमा नेतृत्व गर्दै आएका छन् । तनहुँको बन्दीपुर गाउँपालिका याम्पाफाँटमा ४८ वर्ष अघि जन्मेका घिमिरे क्यानडाको सबैभन्दा ठूलो फ्लेवर हाउस फ्लेवरक्यान इन्टरनेसनल इन्कका टेक्निकल म्यानेजर हुन् । उनीसँग खाद्यप्रविधिको क्षेत्रमा विश्वको बदलिँदो स्थिति र नेपालमा कृषि उद्यमशीलताको विकासबारे गरिएको कुराकानीको सार :

तपाईं आफूलाई कसरी चिनाउनुहुन्छ ?
म आफूलाई इनोभेसनको विद्यार्थी मात्र मान्छु । कृषिको रैथाने उत्पादनको गुण पहिचान, गुणको मानव कल्याणका लागि सदुपयोग हुन सक्ने मूल्य पहिचान, तिनको प्रशोधन र दिगो व्यवसायिकीकरणको जिज्ञासु पनि हुँ । कुनै प्राविधिक विषयवस्तुको अध्ययन र कार्यान्वयनमा लगभग २० हजार घण्टा खर्चने व्यक्तिलाई विज्ञ मानिएको छ । मैले पनि टोरन्टोमा बसेर कृषिजन्य एरोमेटिक (सुगन्धित) र मेडिसिनल (औषधीय) उत्पादनको भ्यालु–एड पहिचान र व्यवसायिकीकरणमा २० हजार घण्टाभन्दा बढी समय बिताइसकेको छु ।

तपाईंको परिचयमा ‘लिन–सिक्स–सिग्मा मास्टर ब्ल्याक बेल्ट’लेखिएको रहेछ । खाद्यप्रविधिको क्षेत्रमा यसको अर्थ के हो ?
संसारमा मुख्यतः दुई प्रकारका अनुसन्धान हुन्छन् । एउटा, कुनै पनि विषयवस्तुमा खोज गरिन्छ तर त्यसको निष्कर्ष केमा सदुपयोग गर्ने भन्ने सोचाइ राखिन्न । त्यो एकेडेमिक वा सैद्धान्तिक रिसर्च हो । अर्काे, कुनै पहिचान गरिएको समस्या सुल्झाउने उद्देश्यले गरिने एप्लाइड वा व्यावहारिक अनुसन्धान । यति हुदाहुदै पनि सफल मानिएका व्यावहारिक अनुसन्धानका सबै नतिजा हाताहाती प्रतिफल दिने गरी व्यवसायीकरण गर्न सकिन्न । विश्वको मान्यता के छ भने तपाईं आजको युनिभर्सिटी मोडलमा व्यवहारिक अनुसन्धान गर्नुभयो र एकेडेमिसियनहरूले अब्बल भनी दाबी गर्ने पब्लिक–प्राइभेट पार्टनरसिप मोडल अपनाउनुभयो भने पनि लगभग १ हजार डलर मूल्यबराबरको व्यावहारिक रिसर्चका निष्कर्षलाई व्यवसायीकरण गर्न १ देखि १० मिलियन डलरसम्म लाग्छ । तैपनि त्यो व्यवसायीकरणले तपाईंको लगानी उठाउँछ भन्ने निश्चित गर्दैन । त्यो खर्च न आजको दैनिक परिवर्तनशील बजार प्रणालीले धान्न सक्छ, न त व्यावहारिक नै छ ।
आज विश्वमा त्यो परम्परागत पब्लिक–प्राइभेट–पार्टनरसिप मोडललाई को–क्रिएसन मोडलबाट प्रतिस्थापन गरिएको छ । त्यसका कारण आज संसारका ठूलठूला उद्योगहरू सहजै मुनाफा कमाई तत्कालै परिवर्तित बजारको माग पूर्ति गर्न सक्षम बनेका छन् । त्यसरी सक्षम बनेका संस्थालाई इनोभेटिभ कम्पनी भनिन्छ । त्यस सन्दर्भमा लिन–सिक्स–सिग्मा संसारको एउटा उन्नत व्यावसायिक संस्कृति हो । यसले क्रस फङ्सनल टिमको सहभागितामा को–क्रिएसन मोडलबाट तत्कालीन अवस्थामा उपलब्धमध्ये सबैभन्दा सस्तो तर सबैभन्दा उच्च गुणस्तरमा अनुसन्धानका निष्कर्षलाई व्यवसायीकरण गर्ने ग्यारेन्टी गर्छ । सामान्य भाषामा भन्दा भने कुनै पनि प्रोसेसको नन–भ्यालुएडेड हटाउने प्रविधि लिन हो भने डिफेक्टिभ (कमसल) उत्पादन वा सेवा पैदा हुनै नसकोस् भनी गुणस्तरलाई डिजाइनबाट नियन्त्रण गर्ने प्रविधि सिक्स–सिग्मा । हालसम्म संसारमा उपलब्ध लिन–सिक्स–सिग्माको सबैभन्दा उच्च प्रोफेसनल सर्टिफिकेसन चाहिँ ‘मास्टर ब्ल्याकबेल्ट’हो । त्यो मैले मार्च २०१० मै प्राप्त गरेको हुँ ।

तपाईं खाद्य प्रविधिमा आकर्षित हुनुको कुनै घटना वा कारण छ ?
हाम्रो परिवार मध्यमवर्गीय किसान थियो । धानखेती जति भए पनि कृषिले जीवनपद्धति नधान्ने मात्र होइन, लगानी उठाउने उत्पादन पनि दिँदैनथ्यो । एक–दुई वर्षमा दुई–चार रोपनी जग्गा बेच्यो अनि लागेको ऋण तिर्यो गर्दै बुबाले हामीलाई पढाउनुभएको हो । मलाई के लाग्थ्यो भने कृषिलाई पोस्ट–हार्भेस्ट गरे खेतबारीले हामीलाई मनग्य आम्दानी देला, नत्र एक दिन सुकुम्बासी बनाइदिन्छ । त्यसैले म पोस्ट–हार्भेस्टको पढाइ खोज्दै धरानको हात्तीसार पुगेँ र मलाई खाद्य प्राविधिक हुने अवसर जुर्यो । त्यसपछि खाद्य, कृषि र औषधिजन्य, जडीबुटी क्षेत्रका साथै उद्यमशीलताको उन्नत अनुसन्धानमा सहभागी हुने र नेतृत्व गर्ने अवसर मिल्दै गयो । सर्टिफाइड माइन मेपिङ, सर्टिफाइड क्वालिटी इन्जिनियर, सर्टिफाइड फुड साइन्टिस्ट, सर्टिफाइड फ्लेभरिस्ट, सर्टिफाइड फर्मास्युटिकल एनालिस्ट आदिबाट सम्मानित हुन पाएको छु ।

साढे एक दशकपहिले तनहुँको याम्पाफाँटमा रहँदा याम्पा फुड प्रोसेसिङ एन्ड रिसर्च सेन्टर खोल्नुभएको थियो । के कारणले छोटो अवधिमै विदेश पलायन हुनुपर्यो ?
भर्खर–भर्खर कृषि उद्यमशीलताबाट स्वाबलम्बी हुन सकिन्छ भन्ने विश्वास जागेका बेला मैले सुरु गरेको काम थियो त्यो । अहिले म क्यानडामा जस्तो प्रकृतिको काम गर्छु, त्यो उद्योग त्यस्तै प्रकृतिको थियो तर मसँग भएको हालको जस्तो बडी अफ नलेज त्यतिखेर कहाँ पाउनु ? यो त कामको अनुभव, अध्ययन र तालिमले दिने रहेछ । १८ महिनामै २० वटा नयाँ प्रोडक्ट र चारवटा नयाँ प्रविधि विकास भएको थियो । जम्मा ४ लाख रुपैयाँबाट सुरु गरेको व्यवसाय २० लाख रुपैयाँ कारोबार गरी अर्को ३४ लाखको अर्डर हातमा थियो ।
यसैबीच मेरो एउटा गल्ती के भयो भने मैले प्रचारप्रसारका लागि पत्रकार सम्मेलनमार्फत सबै कुरा बाहिर राखिदिएँ । कुलचन्द्र न्यौपाने, सूर्यचन्द्र बस्नेत, प्रदीप काफ्लेजस्ता काविल पत्रकारहरूले मेरो खबर कभर गर्नुभयो । राष्ट्रिय रूपमा राम्रो मान्यता मिल्यो । बाटो हिँड्ने जो कोही मेरोमा छिर्थे र तारिफ गर्थे । म गमक्क परेँ तर मेरो उद्योग आन्तरिक दबाबमा पर्यो । तत्कालीन समस्याको चुरो मैले आजसम्म पनि परिवारलाई सुनाएको छैन । अहिले लाग्छ, मेरो बुबालाई यसको अन्दाज थियो ।
माओवादी विद्रोहताका दुईवटा सरकार अस्तित्वमा थिए, सरकार र विद्रोही पक्ष । एकै हप्ता सरकार पक्षबाट मलाई जनयुद्धविरुद्ध सहयोग मागियो भने विद्रोही तर्फबाट युद्ध लड्न छापामारका लागि चाउचाउको विकल्पको ड्राइफुड बनाउने प्रविधिबारे सहयोग । ऋण लिएर व्यवसाय गरेको मलाई लगभग सात दिनजति निद्रा परेन । त्यसैबीच एक सरकारपक्षीय कार्यकर्तालाई माओवादी छापामारले मेरो उद्योगअगाडि नै हत्या गरे । त्यो घटनाले मेरा बुबा–मुमालाई धेरै विचलित बनायो । बुबाले चितवन गई अस्पताल अगाडिको जग्गा कौडीको भाउमा दलाललाई ठूलो कमिसन खुवाएर बेचीवरी कृषि विकास बैंकबाट लिएको ऋण तिर्नुभयो र भन्नुभयो, “बाबु, मलाई उद्योगधन्दा हैन, तिम्रो जीवन चाहिन्छ ।”
त्यसपछि मेरो उद्यमशीलता बन्द भयो । म क्यानडा बसाइको तरखरमा लागेँ । लगभग चार–पाँच वर्षपछि घर फर्केर मैले बनाएका ३४ लाख अर्डरमध्येको तयारी हालतका ११ लाखबराबरको अमलाका तितौरा मैले घरपछाडि खाडल खनेर गाडँे । ग्राहकको अर्डर पूरा नगरेपछि बिकेको २० लाख मालबापतको १४ लाख वक्यौता पनि मेरो हात परेन । जीवन कति विक्षिप्त थियो भने मैले सो वक्यौता लिन ताकेतासमेत गर्न सकिनँ । त्यसको चार वर्षपछि मेरो जानकारीमा आयो– मेरो उद्योगको अमला, तामा, गुन्द्रुक, सिन्की र आलो गुन्द्रुक फ्लेवर हङकङ सिंगापुर लगी बेच्ने पोखराको नाम चलेको ओमित नामक सुपर मार्केट त बैंक–करप्ट बनेको केही वर्ष भइसकेको रहेछ ।

क्यानडामा रहेर खाद्य प्रविधिका क्षेत्रमा तपाईंले हासिल गरेका प्रमुख उपलब्धि के–के छन् ? तिनको महत्व के–कति छ ?
विश्व सन्दर्भमा कुनै पनि सफलतालाई निजी मानिँदैन । बरु त्यो टिमको सफलता हो । मेरो निजी प्रगति भनेको मैले लिन सकेको प्रोफेसनल सर्टिफिकेसन र अनुभव नै होलान् । हाम्रो दैनिक व्यावसायिक काम संसारका इनोभेटिभ कम्पनीहरूसँगको सामीप्यमा रहेर विज्ञान र प्रविधिको क्षेत्रमा भएका तत्कालका नयाँ उपलब्धिले आगामी दिनमा संसारलाई कता डो¥याउँदैछ भन्ने आधारमा परिवर्तित बजार मागबारे अन्दाज गर्नु, आफ्नो ग्राहकका रूपमा रहेका इनोभेटिभ कम्पनीहरूलाई विशिष्ट प्रकृतिका कच्चा पदार्थ उपलब्ध गराउनु र कृषि उत्पादनमा आश्रित कम्पनीहरूलाई बदलिँदो माग आफ्नो उत्पादनमार्फत पूर्ति गर्न सक्षम बनाउनु नै हो । यसका लागि हामी इनोभेसन ल्याबमा ग्राहकले माग गरेअनुरूपको इनोभेटिभ कच्चापदार्थ विकास गरी प्रोटोटाइप बनाउने, ल्याब परीक्षण गर्ने र वास्तविक व्यावसायिक वातावरणमा काम गर्ने–नगर्ने जाँच गरी यकिन गर्छौं । त्यो इनोभेटिभ क्रिएसनले सोचेकै नतिजा दिन सफल भएपछि तयार गरी ती उद्योगहरूलाई आपूर्ति गर्छांै । व्यावसायिक रूपमा भन्दा हामी जुन काम गर्छांै, त्यसका लागि एकातर्फ लेटेस्ट कटिङ एज प्रविधिको विकास जरुरी हुन्छ भने अर्कातर्फ संसारका नाम चलेका उद्योगका आधुनिक रिसर्च ल्याबहरूसँग इनोभेटिभ प्रोडक्टको लेबलमा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । यसलाई म को–क्रिएसनमा आधारित अत्याधुनिक अनुसन्धान भन्न मन पराउँछु । विगत ११ वर्षदेखि क्यानडामा रहेर को–क्रिएसनमा आधारित अत्याधुनिक अनुसन्धानको टेक्निकल म्यानेजरका रूपमा प्राविधिक र वैज्ञानिक व्यवस्थापनको अवसरलाई मैले आफ्नो निजी उपलब्धि मानेको छु ।

कुखुरालाई २५ किलो दाना खुवाएर एक किलो मासु निकाल्नुभन्दा त्यही पाँच किलो दानाबाट सीधै प्रोटिन सिजनिङ गरी एक किलो चिकेन बनाउने हो भने त्यो स्वास्थ्यवद्र्धक मात्र हैन, सारा ग्रिन हाउस समस्याको समेत विकल्प हुने भेटियो ।

भेगन (प्रोटिनयुक्त शाकाहारी मासु, अन्डा, चिज) को खोजीमा तपाईं कसरी लाग्नुभयो ?
हामी संसारमा हाल उपलब्ध भएका प्रायः सबै फ्लेवर बनाउने क्षमता राख्छौँ । सन् २०५० सम्म विश्वको जनसंख्या ९ अर्ब पुग्ने अनुमान छ र त्यो विशाल जनसंख्याका लागि परम्परागत सुधारिएको कृषिबाट फस्ट क्लास प्रोटिनको स्रोत मासु पु¥याउन सम्भव हुने देखिएन । किनकि पृथ्वी मानिसका लागि चाहियो, जनावर कहाँ पाल्ने ? कुखुरालाई २५ किलो दाना खुवाएर एक किलो मासु निकाल्नुभन्दा त्यही पाँच किलो दानाबाट सीधै प्रोटिन सिजनिङ गरी एक किलो चिकेन बनाउने हो भने त्यो स्वास्थ्यवद्र्धक मात्र हैन, सारा ग्रिन हाउस समस्याको समेत विकल्प हुने भेटियो । यस्तै–यस्तै फाइदाजनक अवस्था मासु, अन्डा आदिमा पनि भेटियो र संसार उत्साहित बन्यो । विज्ञहरूले प्रोटिन सयौँ वर्षदेखि बनाएकै थिए । त्यो सिजनिङको भाग हामीजस्ता इनोभेटिभ उद्योगको भागमा आइपर्यो अनि बनाइयो । भेगन दूध र चिजको कहानी पनि लगभग त्यस्तै–त्यस्तै छ ।
प्रोटिनको स्रोत गेडागुडी मात्र होइन, फट्याङ्ग्रा, तिथिर्का, बारुला, कमिला, बाच्छिउँजस्ता कीरा; लेउ, झ्याउजस्ता पानीमा हुने वनस्पति र बिरुवाका जरा, डाँठ, पात आदिमा पनि हुन्छ । अर्को कुरा, हामी जनावर मारेर मासु निकाल्छौँ । त्यसको छाला, हड्डी, भित्री र बाहिरी भाग सबै खेर जान्छ । फल मासु भनेको कुखुराको छाती होला, खसीको ह्याकुलो होला । अब किन त्यस्तो दुःख गरी–गरी हुर्काउने ? अझ महत्वपूर्ण कुरा त प्राणीहत्या गर्दा पनि निकै कम मात्र मासु हात लाग्छ । त्यसलाई ध्यानमा राखी ल्याबमा सीधै जनावरबाट जुन अंगको मासु चाहियो, त्यसकै स्टिम सेल लिने अनि उमार्ने प्रविधि फेला पर्यो ।
हालसालै के निश्चित भयो भने अब वास्तविक मासु वा छालाका लागि जनावर मारिराख्नु पर्दैन । दसैँमा मासु खान खसी काट्नु पर्दैन । बर्गरका लागि जनावर मार्नुपर्ने छैन । छोराले बाबुलाई सोध्नेछ— तपाईंको जमानामा मासु खान जनावर मार्नुपथ्र्यो रे हो ? जसरी संसारभर पाउरोटी फ्याक्ट्री, फ्याक्ट्रीमा बन्छ, त्यसरी नै मासु र छाला पनि फ्याक्ट्रीमै बन्नेछ । यसरी ल्याबमा बनेको मासुमा जनावरको मासुमा जस्तो रसिलोपन, रगत र दुर्गन्ध नहुने भएकाले फेरि हामीजस्ता सिजनिङ बनाउने इन्कुबेटरको काम आयो । हामी त्यसमा पनि काम गर्दछौ । त्यसैले हामीले किन यस्ता कुरामा हात हाल्यौँ भन्ने प्रश्नको सही उत्तर समयको माग र जिम्मेवारीबोध र कामबाट हुने उत्साहजनक मुनाफा हुन सक्छ ।

समाजलाई कुनै कुराको आवश्यकता छ भने त्यसको खोजी हुन्छ र त्यो उपलब्ध छ भने अवश्य भेटिन्छ ।

तपाईंको सफलताको सूत्र के हो ?
म भ्यालु–एडमा मात्र विश्वास गर्छु । दर्जनौ तालिम र अनुभवले मलाई सिकाएको मन्त्र हो— समाजलाई कुनै कुराको आवश्यकता छ भने त्यसको खोजी हुन्छ र त्यो उपलब्ध छ भने अवश्य भेटिन्छ । एकछिन विचार गर्नुस्, राज्यले जति कडा नियम बनाए पनि अपराधीको हातमा हतियार पुगिरहेकै हुन्छ, किनकि हतियारले नै अपराधीलाई सुरक्षा महसुस गराउँछ । त्यसैले यो उसलाई अमूल्य भयो । वस्तु वा सेवाको अमूल्यतालाई लिन सिक्स–सिग्माले भ्यालु–एड भन्छ । जब तपाईं भ्यालु–एडेड सेवा वा प्रोडक्ट समाजमा आपूर्ति गर्न सक्नुहुन्छ, त्यतिबेला तपाईंका लागि बजारको उपलब्धता हैन कि तपाईंको सेवा वा प्रोडक्टको गुणस्तर र कन्सिस्टेन्सी तपाईंलाई बजारको मुख्य चुनौती हुन्छ । तर, जब तपाईं सेवा वा प्रोडक्टको भ्यालु–एडेड पक्ष बिर्सेर मूल्य र बजारको उपलब्धतातिर ध्यान दिनुहुन्छ, तब तपाईंका ग्राहक विकल्प नपाउँदासम्म मात्र तपाईंसँग रहन्छन् । जब तपाईं व्यवसाय र समाजसेवा एकै ठाउँमा मिसाइदिनुहुन्छ, तपाईंका सामान वा सेवा विक्रेतालाई भ्यालु हैन कि कमिसनको प्रलोभनमा तान्ने नीति लिनुहुन्छ । विज्ञ र प्राज्ञको दायरा नबुझीकन प्राज्ञलाई नै विज्ञ सम्झेर उसबाट इनोभेसन र आफ्नो उद्योग वैतरिणी तर्ने विश्वास गर्नुहुन्छ, तपाईंको व्यवसाय धराशायी हुनैपर्छ । किनकि यो संसारले ‘सर्भाइभल अफ द फिटेस्ट’को सिद्धान्तलाई मानेको छ । यहीे नै लिन–सिक्स–सिग्माको कखरा हो । म त्यसलाई निकै गम्भीरताका साथ लिने मात्र हैन, आफ्नो व्यावसायिक अनुशासन मान्छु । सायद यसले नै मलाई हालको जिम्मेवारीमा लामो समयसम्म टिकाइरहेको छ ।

जतिबेला संसार प्रशोधित दूधमा काम गरिरहेको थियो, हामी नेचुरल भेगन चिज (जनावरबाट आउने कुनै पनि चिजबिनै) का लागि कच्चापदार्थ बनाइरहेका थियौँ । संसारले भेगन चिज, दूध र अन्डा बनाइरहँदा हामी भेजिटेरियन मासुको प्रोजेक्टमा थियौँ ।

तपाईंको कर्मथलोलाई फुड हेभन, स्पाइस हब आदि भन्दा रहेछन् नि ?
भनाइ नै छ, त्यो सम्पत्ति हैन, जुन तपाईंसँग थियो तर हाल खर्च गरिसक्नुभयो । त्यस्तै इनोभेसन त्यो ज्ञानबाट प्राप्त हुन्न, जसले तपाईंलाई हाल बजारमा जे आइसकेको छ, त्यो बनाउन सक्षम बनाउँछ । यो त त्यस्तो इभिडेन्स बेस्ड ज्ञान विकास गर्ने सिस्टमेटिक रिसर्च र प्रयोगात्मक विकास गर्ने कला हो, जसले तपाईंलाई आउँदो पुस्ताको आवश्यकता अन्दाज गर्ने क्षमता दिन्छ र तपाईंलाई त्यसतर्फ काम गर्न प्रेरित गर्छ ।
जतिबेला संसार प्रशोधित दूधमा काम गरिरहेको थियो, हामी नेचुरल भेगन चिज (जनावरबाट आउने कुनै पनि चिजबिनै) का लागि कच्चापदार्थ बनाइरहेका थियौँ । संसारले भेगन चिज, दूध र अन्डा बनाइरहँदा हामी भेजिटेरियन मासुको प्रोजेक्टमा थियौँ । संसार त्यहाँ पनि पुग्यो तर हामी नेचुरल हेल्थ र वेलबिइङका खाद्यपदार्थको विकासमा पुगिसकेका थियौँ । अब संसार त्यता जाँदैछ, हामी अथेन्टिक ट्रेडिसनल खाना र आयुर्वेदिक खानाको विकल्प अन–कभर गरिरहेका छौँ । यही उद्यमी चरित्र वा संस्कृतिले हामीलाई सदैव अग्रणी भूमिकामा राखेको छ । मेरो कर्मथलोको विज्ञताचाहिँ फुड फ्लेवर, स्पाइस, नेचुरल अर्गानिक र हेल्थ प्रोडक्ट आदि हुन् । त्यसैले यसलाई फुड हेभन, स्पाइस हब या फुड साइन्सको स्वर्ग मानिएको होला ।

तपाईं कार्यरत कम्पनीको विशेषता के हो ? तपाईंको मुख्य जिम्मेवारी के छ ?
मैले काम गर्ने कम्पनी शतप्रतिशत क्यानेडियनको स्वामित्वमा रहेको क्यानडाकै सबैभन्दा ठूलो फ्लेवर हाउस हो । यो खाद्य उद्योग, फर्मास्युटिकल उद्योग, नेचुरल हेल्थ प्रोडक्ट, हर्बल र नेचुरोप्याथी अनि आयुर्वेदिक सप्लिमेन्टको को–क्रिएसन गर्ने क्यानडाको निजी क्षेत्रको सबैभन्दा ठूलो इनोभेटिभ रिसर्च कम्पनी पनि हो । हामी ग्राहकको चाहनाअनुसारको फ्लेवर र फुडका इन्ग्रिडिएन्ट उनीहरूकै क्वान्टिटीमा बनाउँछौँ । म यो कम्पनीको १७ औँ कामदार थिएँ । हामी दुई–तीन देशमा कारोबार गथ्र्यौैं । हाल हामीले आफूलाई हजार गुना वृद्धि मात्र गरेका छैनौ, प्रत्यक्ष र अप्रत्यक्ष गरी २ सय ५० जनालाई रोजगारी दिएका छौँ । १५ वटा देशमा प्रत्यक्ष रूपमा र त्यो सञ्जालमार्फत ७५ देशमा हाम्रा उत्पादन र सेवा पुगेका छन् । हाम्रा कर्मचारीमध्ये लगभग ३५ प्रतिशत वैज्ञानिक, रिसर्चर र प्राविधिक छन् । यो कम्पनीमा मेरो जिम्मेवारी टेक्निकल म्यानेजरको हो । यसमा वैज्ञानिक अनुसन्धान तथा प्रयोगात्मक विकासका सबै कार्यको मुख्य जिम्मेवारीसमेत सम्हाल्नुपर्ने गरी कार्य विभाजन गरिएको हुन्छ ।
वास्तवमा म कार्यरत कम्पनी क्यानेडियन बडी अफ नलेज बेस्ड इन्कुबेसन सेन्टर हो, तर यसलाई फ्लेवर हाउस भन्ने गरिएको छ । सामाजिक सञ्जालको विकाससँगै आज संसारमा दिनप्रतिदिन धेरै नयाँ–नयाँ कुरा विकासमात्र भएका छैनन्, संसारले ती कुरा रातारात थाहा पाउने अवसर मिलेकाले हाम्रो बजार माग दिनदिनै परिवर्तन भइरहेको छ, जुन उद्योगधन्दाले बदलिँदो बजार मागअनुसार तत्काल आफ्ना उद्योगको उत्पादनलाई परिवर्तन गर्न सक्दैनन्, तिनीहरू बजारबाट विस्थापित बनेका छन् । हिजो तपाईंको छिमेकी मात्र प्रतिस्पर्धी थियो भने आजसंसारको कुनै कुनाको नामै नसुनेको प्रतिस्पर्धीसँग तपाईंले बजार प्रतिस्पर्धा गरिरहनुपरेको छ । यो बजार व्यवस्थामा तिनै मात्र सफल हुन सक्छन्, जसको आफ्नै रिसर्च र डेभलपमेन्ट निकाय छ । त्यो निकायले बडी अफ नलेज बेस्ड इन्कुबेसन सेन्टरसँग को–क्रिएसनमा काम गर्छ । यो सन्दर्भमा हाम्रो भूमिका विश्वको इनोभेसन यात्राका लागि निकै निर्णायक लाग्छ ।

तपाईंजस्ता जनशक्तिले पाउने वेतनबारे पनि बताउन मिल्छ ?
इनोभेटिभ कम्पनीहरूले आफ्ना कि–पर्सनलहरूको वेतन पनि आफ्नो कन्फिडेन्सियल सूचना मान्ने हुनाले अनुमतिबिना बताउन पाइँदैन । केचाहिँ भन्न सकिन्छ भने यस्ता पदमा कम्पनीले आफ्ना एक्जुकेटिभहरूलाई क्यानडाका टप १५ एम्प्लोईलाई दिने सेवा सुविधा दिन्छन् । क्यानडा सरकारका सरकारी र एकेडेमिक पदमा दिइने समानान्तर प्रकृतिका काम गर्ने समकक्षीभन्दा केही धेरै हुन्छ ।

एउटा खाद्य वैज्ञानिकका रूपमा भन्नुपर्दा नेपालमा कृषि उद्यमशीलताको सम्भावना के कति देख्नुभएको छ ?
अध्ययनअनुसार संसारका १५ हजार जातिका वनस्पतिमध्ये ३ हजार ७ सय एरोमेटिक र मेडिसिनल मूल्य बोकेका छन् । नेपालका रैथाने ७ हजार वनस्पतिमा १ हजार ५ सय त्यस्ता वनस्पति भेटिएका छन् र १ सय ४० भन्दा बढी औषधीय उपजको त सक्रिय कारोबार नै छ ।
हालसम्मको नेपालका वनस्पतिको अध्ययनचाहिँ आयुर्वेदिक महत्वलाई ध्यानमा राखी गरिएको छ । ती वनस्पति उन्नत अनुसन्धानको सिजनिङ, सेनिटरी क्लिनर, जैविक विषादी आदिमा पनि उपयोग हुन सक्छ । नयाँ पुस्ताले पछि विकास गर्ने हरेक कुरामा कतै न कतै उपयोग भइहाल्छ ।
मेतेरिया मेडिका अफ आयुर्वेदाले भनेको पनि छ, संस्कृतमा त्यस्तो कुनै एक अक्षर छैन, जुन मन्त्र नहोस्, यो पृथ्वीमा त्यस्तो कुनै जरा छैन, जसको खाना वा औषधि नहोस् ।
समग्रमा प्राविधिक दृष्टिकोणबाट नेपाल नेपालकै रैथाने लगभग ७ हजार मेडिसिनल र एरोमेटिक प्लान्टको व्यावसायिक मुकाम हुन सक्छ । जतिसक्दो चाँडो हाताहाती प्रतिफल लिन सकिने अवस्थामा पु¥याउन भने मेडिसिनल र एरोमेटिक भ्यालु पहिचान, प्रशोधन र व्यावसायिक विधिको ‘बडी अफ नलेज’ हस्तान्तरण जरुरी हुन्छ । त्यो अवसरको सँघार इनोभेटिभ इन्कुबेटरहरूलाई नेपालमा आमन्त्रण गरी काम गर्ने वातावरण प्रदान गरेपछि मात्र खुल्छ ।

नेपालले यदि संसारको आधा जनसंख्या रहेको भारत र चीनमा आफ्नो उत्पादन बेच्न नसक्ने हो भने नेपाली उद्यमीमै केही कमी छ कि भनी हेर्न सल्लाह दिँदा हुने अवस्था आउँछ ।

मैले बुझेअनुसार नेपालको विकासमा कायापलट आउने गरी प्रभाव दिन सक्ने कुनै क्षेत्र छ भने त्यो एरोमेटिक र मेडिसिनल भ्यालु बोकेका वनस्पति र जीवाणु नै हुन् । नेपाल संसारको आधा जनसंख्या बोकेको भारत र चीनको बीचमा छ । भारतको दुईतिहाइ जनसंख्या शाकाहारी छ । आधाभन्दा बढी मानिस युवा छन् र हातमा डिस्पोजेबल मनी पनि छ । त्यस्ता युवाहरू नयाँ कुरा तुरुन्तै किनिहाल्ने र प्रयोग गरिहाल्ने प्रवृत्तिका हुन्छन् । शाकाहारी र भेगन कुरा नेपालमा सजिलै बन्छ भने भारतमा आसलाग्दो बजार छ । अब रह्यो, लेउ, झ्याउ र कीरालगायत हर्बलका कुरा । यसका लागि चीन स्वर्ण बजार हो । आजको चीन धनी मात्र हैन, प्रत्येक नागरिकसँग राम्रै डिस्पोजेबल मनी पनि छ । त्यसैले आज अमेरिका, क्यानडाजस्ता मुलुक पनि त्यही चिनियाँ बजारमा यी कुरा पैठारी गरी व्यापार व्यवसाय गरिरहेका छन् । नेपालले यदि संसारको आधा जनसंख्या रहेको भारत र चीनमा आफ्नो उत्पादन बेच्न नसक्ने हो भने नेपाली उद्यमीमै केही कमी छ कि भनी हेर्न सल्लाह दिँदा हुने अवस्था आउँछ ।

नेपाललाई त्यसको मुकाम बनाउन सकिने आधार के–कति छन् ?
सन् २०१४ को तथ्यांक विभागको भूमिसम्बन्धी डाटाअनुसार जम्मा १ लाख ४७ हजार १ सय ८० वर्गकिलोमिटर क्षेत्रफलको २.६ प्रतिशत मात्र छ भने लगभग २३ हजार ५ सय ७० वर्गकिलोमिटर भनेको १६ प्रतिशत खेती गरिएको जमिन छ । खेती गरिएको जमिनमध्ये आधामा मात्र सिँचाइ सुविधा छ । यसरी हिसाब गर्दा मात्र ८ प्रतिशत जमिनमा पुस्तौँपुस्तादेखि हाम्रो सारा कृषिको जोडबल थुपारिरहेका छौँ । १६ प्रतिशत खेतीयोग्य भनी मानिएको जमिनमा हाम्रो राष्ट्रको ८० प्रतिशत कृषिको लगानी घोप्टाए पनि कृषकको जीवनपद्धति उँभो लागेन । हाम्रा सरकार र नीतिनिर्माताले त्यसको उपचारको विकल्प खुट्याउन सकेका छैनन् । जंगल भनिएको २४ प्रतिशत र अन्य भनिएको ४४.०८ प्रतिशत गरी जम्मा ६८.०८ प्रतिशत भूभाग जस्ता छन्, त्यस्तै अवस्थामा सजिलै उम्रने र हुर्कने आयुर्वेदिक, मेडिसिनल, सेनिटरी क्लिनर, एरोमेटिक फुड, फुड सप्लिमेन्ट र अन्य एस्सेसरिज बोयोप्रोडक्टको सम्भावना बोकेका वनस्पति र जीवाणुहरूको भ्यालु पहिचान, प्रशोधन र व्यवसायीकरणमार्फत राष्ट्रलाई धनी बनाउन सक्ने अवसरको स्वर्ण धर्ती हो । नेपाललाई मैले मेडिसिनल र एरोमेटिक पकेट क्षेत्र मानेको छु ।
क्यानडा र अमेरिकी क्षेत्रमा खाद्य र प्रविधिको नयाँ–नयाँ सूचनाका आधारमा भन्नुपर्दा आजभन्दा २० वर्षपछिका मानिसका लागि चाहिने लत्ताकपडा, औषधि र खानपिनको मुख्य आधारमाथि भनिएको ६८.०८ प्रतिशत भूभागको वातावरणलाई बिग्रन नदिई पूर्ति गर्न सकिने वनस्पति र जीवाणु हुन सक्छन् । नेपालको विकासमा कायापलट आउने गरी प्रभाव दिन सक्ने कुनै क्षेत्र छ भने ती एरोमेटिक र मेडिसिनल मूल्य बोकेका वनस्पति र जीवाणु नै हुन् ।

अब नेपाल फर्केर पुरानो असफलता बिर्साउने चाहना छैन ?
हामीलाई नेपाली मित्रहरूले सार्वजनिक रुपमै भगौडा भन्नुहुन्छ । त्यो ठीकै पनि होला । मेरो मनले पनि मलाई ‘हे भाइ, तँैले क्यानडामा जे गरे पनि आफ्नै मातृभूमि नेपालको पूर्णरुपेण असफल उद्यमी त होस्’ भनेको महसुस गर्छु । क्यानडामा दर्जनौ प्रगतिका अवसरमा आफ्नो तारिफ सुनिरहँदा, पुरस्कार र प्रमाणपत्रहरू बुझिरहँदा त्यही अन्तर्मनको आवाज पटक–पटक सुनेको छु । म खुसी हुन सक्दिनँ तर अलिकति पनि रिग्रेट छैन । अब मैले आफैलाई प्रमाणित गर्नु छ कि म सधैँ फेलर हुने भाग्य र खुबी लिएर जन्मेको छैन । नेपालमै काम गर्ने हो भने मैले कृषिको इनोभेसन को–क्रिएसन सेन्टर नै खोल्नुपर्ने हुन्छ । किनकि मैले जानेको काम त्यही मात्र हो, जुन नेपालको हावापानी सुहाउँदो पनि छ तर त्यति सजिलो छैन । किनकि बिना टिमवर्क र लगानी यसमा लाग्न सकिन्न । कृषिको इनोभेसन को–क्रिएसन सेन्टर खोली नेपालको उद्यमशीलता विकासमा सहयोग पु¥याउँदै उचित मुनाफाले आफ्नो जीवनयापन गर्नु नै मेरो ड्रिम प्रोजेक्ट हुनेछ ।