यादव हुमागाई
सोमवार, भदौ ११, २०७५
1424

आधा दर्जनभन्दा बढी बिमा कम्पनीहरू प्रमुख कार्यकारी अधिकृत (सीईओ)बिना नै सञ्चालनमा रहेका छन् । बिमा समितिले संस्थागत सुशासन निर्देशिका परिवर्तन गरी सीईओको पदपूर्तिसम्बन्धी व्यवस्था हटाएपछि बिमा कम्पनीले सीईओको पदपूर्ति गर्न आलटाल गरेका हुन् । आधा दर्जनभन्दा बढी बिमा कम्पनीहरू प्रमुख कार्यकारी अधिकृत (सीईओ)बिना नै सञ्चालनमा रहेका छन् । बिमा समितिले संस्थागत सुशासन निर्देशिका परिवर्तन गरी सीईओको पदपूर्तिसम्बन्धी व्यवस्था हटाएपछि बिमा कम्पनीले सीईओको पदपूर्ति गर्न आलटाल गरेका हुन् । 
समितिले जारी गरेको संस्थागत सुशासन निर्देशिका—२०७३मा कुनै पनि कम्पनीले तीन महिनाभन्दा बढी समय सीईओ रिक्त राख्न नपाइने व्यवस्था गरेको थियो । तर, संशोधन भएको ‘संस्थागत सुशासन निर्देशिका—२०७५’ मा यो व्यवस्था हटाएपछि रिक्त सीईओ पदपूर्ति गर्न कम्पनी बाध्य छैनन् । सञ्चालनमा रहेका बिमा कम्पनीमध्ये ९ वटा कम्पनीहरू सीईओविहीन छन् । त्यसमध्ये जीवनतर्फका पाँच र निर्जीवनतर्फका चारवटा कम्पनी रहेका छन् । सीईओ नियुक्त नगर्नेमा अधिकांश नयाँ कम्पनीहरू रहेका छन् । नयाँ जीवन बिमा कम्पनीहरूमा आईएमई, सानिमा, प्रभु, ज्योति र सन् नेपाल लाइफ इस्योरेन्सले सीईओ नियुक्त गरेका छैनन् । आइएमईमा कार्यवाहक महाप्रवन्धकका रुपमा दिनेश अमात्यले नेतृत्व गरिरहेका छन् भने सानिमामा सहायक महाप्रवन्धक केशवराज केसी, प्रभुमा कार्यवाहक सीईओ केशवप्रसाद लामिछाने, ज्योतिमा डेपुटी सीईओ प्रकाशविक्रम खत्री र सन् नेपालमा कार्यवाहक सीईओ राजकुमार अर्यालले नेतृत्व गरिरहेका छन् । यसैगरी निर्जीवनतर्फका नयाँ कम्पनीहरू जनरल इस्योरेन्स र सानिमा जनरल इन्स्योरेन्सले पनि प्रमुख कार्यकारीविहीन नै छन् । यसबाहेक पुराना कम्पनीहरूमा युनाइटेड इस्योरेन्स र एनएलजी इस्योरेन्स पनि सीईओविहीन रहेका छन् । बिमा कम्पनीहरूले सीईओ नियुक्ति गर्न नसकेपछि समितिले सीईओको योग्यतासमेत घटाएको छ । नयाँ निर्देशिकाअनुसार सीईओहरूका लागि स्नातक मात्र पास भए पुग्ने व्यवस्था गरिएको छ । तर, यो व्यवस्थापछि पनि सीईओ नियुक्ती हुन सकेको छैन ।
प्रमुख कार्यकारी अधिकृत नियुक्ती नगरी कम्पनी संचालमा सञ्चालकहरूको हालीमुहाली बढी हुने भएकाले सीईओ नियुक्तिमा उदासीन भएको बताइन्छ । “सीईओ नियुक्तीसम्बन्धी बाध्यकारी व्यवस्था हटाइएको छ,” एक कम्पनीका सीईओले भने, “कार्यवाहक र सहायक सीईओ बनाएर आफ्नो सञ्चालकले आफूखुसी गर्न पाएका छन् ।” नयाँ कम्पनीका सञ्चालकहरूले सीईओहरूलाई अत्याधिक व्यावसायीक लक्ष्य दिने गरेकाले पनि सीईओमा आकर्षित हुन नसकेको समेत विश्लेषण छ ।  संस्थागत सुशासन निर्देशिकामा बिमा, व्यवथापन, लेखा, अर्थशास्त्र, वाणिज्यशास्त्र, कानुन, गणित, तथ्यांकशास्त्र वा इजिनियरिङ बिषयमा स्नाकोत्तर उत्र्तिण गरी बिमा क्षेत्रमा भए पाँच वर्ष, बैंकिङमा भए आठ वर्ष र दुवैमा भए सात वर्षको अनुभव भएको व्यक्तिलाई सीईओ नियुक्त गर्न सकिने व्यवस्था छ ।
यसैगरी अर्थशास्त्र, तथ्यांकशास्त्र, लेखा, गणितलगायतका विषयमा स्नातक गरी बिमा क्षेत्रमा १२ वर्ष, बैंकमा १५ वर्ष वा दुवै क्षेत्रमा भए १३ वर्ष अनुभव भएको व्यक्ति सीईओ बन्न पाउँछन् । निर्देशिकाले सीईओ चार वर्षका लागि नियुक्त गर्न सक्ने र एक कार्यकाल थप गर्नसकिने व्यवस्था छ । यसैगरी एउटा कम्पनी छोडेको ६ महिनासम्म सीईओ बन्न नपाउने व्यवस्था गरेको छ । नियुक्ती गर्नु २१ दिनअघि कम्पनीले सीईओसँग गरेको करार सम्झौता, निजको योग्यता र अनुभवका साथै उसले तयार पारेको व्यवसायीक कार्ययोजना समेत समितिमा बुझाउनुपर्ने नियम छ । 

सीईओविहीन कम्पनी 
जीवन बिमातर्फ 
♦ आईएमई
♦ सानिमा 
♦ प्रभु 
♦ ज्योति 
♦ सन् नेपाल 
निर्जीवनतर्फ 
♦ जनरल इस्योरेन्स
♦ सानिमा जनरल इन्स्योरेन्स
♦ युनाइटेड इस्योरेन्स 
♦ एनएलजी इस्योरेन्स