कारोबार संवाददाता
आइतवार, भदौ १०, २०७५
821

नेपाल पुनर्बिमा कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित दरको १ करोड ६० लाख कित्ता साधारण सेयरहरू सर्वसाधारणहरूमा निष्कासन गर्नका लागि आरबीबी मर्चेन्ट बैंकिङलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सेयर निष्कासनसम्बन्धी सम्झौतापत्रमा नेपाल पुनर्बिमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र आरबीबी मर्चेन्ट बैंकिङको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा.रमेशकुमार भण्डारीले हस्ताक्षर गरे । यस नेपाल पुनर्बिमा कम्पनीको अधिकृत पुँजी १५ अर्ब रुपैयाँ, जारी पुँजी १० अर्ब, र चुक्ता पुजी ८ अर्ब ४० करोड रुपैयाँ छ भने सर्वसाधारणहरूलाई सेयर निष्कासन गरी बाँडफाँट गरेपश्चात् संस्थाको चुक्ता पुजी १० अर्ब रुपैयाँ हुनेछ ।
सार्वजनिक तथा निजी साझेदारी नीतिअन्तर्गत नेपाल सरकारको समेत स्वामित्व रहेको नेपाल पुनर्बिमा कम्पनी लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत २०७१ साल कात्तिक २१ गते पब्लिक लिमिटेड कम्पनीको रूपमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भै २०७१ साल पुस ४ गते बिमा समितिबाट पुनर्बिमाको इजाजतपत्र प्राप्त गरेको यस पुनर्बिमा कम्पनीले २०७२ साल साउन १ गतेदेखि आफ्नो पुनर्बिमाको कारोबारको शुुभारम्भ भइसकेको छ ।
थापाथली, काठमाडौंमा केन्द्रीय कार्यालय रहेको यस पुनर्बिमा कम्पनीले स्थापनाको छोटो अवधिमै स्वदेशका जिवन तथा निर्जीवन बिमा कम्पनी र विदेशी बिमा तथा पुनर्बिमा कम्पनीहरूसँग कारोबार गरी आव ०७४÷७५ अन्त्यसम्म कुल ४ अर्ब रुपैयाँ पुनर्बिमा शुल्क संकलन तथा ९ अर्ब ४० करोड रुपैयाँ लगानी गर्न सफल भएको छ ।