रेशमराज रोकाया
बुधवार, भदौ ६, २०७५
822

हुम्ला-हुम्लाको कुल जनसंख्या ५० हजार ८ सय ५८ मध्ये २ हजार ५ सय जनाले मात्र जीवन बिमा गरेका छन् । बाँकी रहेका ४८ हजार ३ सय ५८ जना भने बिमाको पहुँचभन्दा बाहिर छन् । बिमाका बारेमा प्रयाप्त जानकारी नहुनु र बिमाको प्रभावकारिता कम हुनुले हुम्लामा ९५ प्रतिशतभन्दा बढी बासिन्दाले बिमा सेवा लिन सकेका छैनन । बिमा भनेको अर्थ नै थाहा हुन नसक्दा र बिमा गर्दा हुने फाइदाको बारेमा जानकारी नहुँदा बिमा गर्नेको संख्यामा कमी आएको हो ।
“बिमा ? कुन मेरोे गाउँको आईमाई बिमा ?” कारोबारकर्मीको बिमा गर्नुभएको छ कि छैन, बिमा भनेको थाहा पाउनु भएको छ कि छैन भन्ने प्रश्नको जवाफ खार्पुनाथ गाउँपालिका–५ का जस्मता रोकायाले बताउनु भयो । गाउँमा बिमा कम्पनीको कुनै पनि पहुँच नरहेको यो वाक्यांशले चरितार्थ गरेका छ । हुने खाने र पढेलेखेका जमातको लागि मात्र हुम्लाको बिमा सुविधा छ । बिमान केको लागि किन गरिन्छ भन्ने कुराको जानकारी नहुनुले यहाँका अधिकांश बासिन्दाले बिमा गर्न पाएका छैनन् ।

जीवनको सुरक्षा र समृद्धिका लागि हुम्लाका बासिन्दाले ध्यान दिएका छैनन् भने स्थापना भएका बिमा कम्पनीले ग्रामीण स्तरमा यसको सेवा पुराउन नसक्दा बिमाको प्रभावकारिता आउन सकेको छैन । हुम्लामा ग्रामीण स्तरमा हुने ठगीको कारण हाल स्थानीय सबै निजी स्तरका कार्यालयबाट कसैले रकम उठाउँदा झस्कने गरेका छन् । यसअघि बेरोजगारलाई रोजगार दिने भनी स्थापना भएको कार्यालयले ग्रामीण स्तरमा प्रतिबेरोजगार १ हजारका दरले लाखौंको रकम उठाएर ठगी गरेको गाउँका बासिन्दालाई ताजै छ । त्यसै गरी बिमाको नाममा युनिटी लाइफ इन्टरनेसनलले १५ हजारका दरले बिमा र अन्य सुविधाको कार्ड फालेर करोडौंंको ठगीपछि हाल हुम्लीवासी बिमादेखी त्रसित हुने गरेका छन् ।
चिनेजानेका एजेन्टले गाउँमा केही हुने खाने वर्गलाई बिमा गरेको भए तापनि सर्वसाधारणको माझमा बिमाले प्रभावकारिता छर्न सकेको छैन । बिमाको बारेमा जानकारी नहुनुले पनि बिमा गर्नेको संख्या घटेको बिमा कम्पनीका कर्मचारीको भनाइ छ । हाल जिल्लामा ३ वटा बिमा कम्पनीको कार्यालय स्थापना भएर बिमा गरिरहेका छन् । नेपाल लाइफ इन्स्योरेन्स, शिखर लाइफ इन्स्योरेन्स र सन नेपाल लाइफ इन्स्योेन्स कम्पनी मात्र स्थापना भएका छन् । १ दशक देखी काम गर्दै आएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले हुम्लामा धेरै बान्सिदाको बीचमा स्थापित कम्पनी छ । अन्य २ कम्पनी भने भरखरै यो वर्षदेखि मात्र कार्य स्थापना गर्दै आइरहेका छन् ।
जीवनमा कतिखेर के आपत्ति र विपत्ति आउने हो भन्ने बारेमा यहाँका बासिन्दालाई थाहा हुन सकेको छैन भने आउने विपत्तिलाई के कसरी जोखिमलाई न्यूनीकरण गर्न सकिन्छ भन्ने कुराको ज्ञान नहुँदा हुम्लामा जीवन बिमा गर्नेको संख्यामा कमी आएको छ । बिमाको महत्व अझै पनि ग्रामीण स्तर र सिमिकोटका हरेक घरधुरीलाई थाहा हुन नसकेको बिमा कम्पनीका कर्मचारीले नै स्वीकार गरेका छन् । बिमाबाट हुने सम्भावित लाभको बारेमा बिमा कम्पनीले जानकारी नगराउनु अनि ग्रामीण स्तरमा बिमाका बारेमा जानकारी नहुनु नै हुम्लामा बिमा गर्नेको संख्यामा कमी आएको हो । रोजगारमा लागेका सबैले बिमा गर्ने हो भन्ने मात्र जनमानसमा छाप पर्नुले पनि यस्तो समस्या हुन गएको हो । सबै रोजगार गर्ने कर्मचारीले पनि बिमा नगरेको पाइएको छ । सरकारले स्थायी कर्मचारीको बिमा स्वतः गर्ने गरेको भए तापनि आफंैले भने थप बिमा गर्नेको संख्या पनि बढिरहेको छ । बिमा गरेपछि सरकारी पारिश्रामिकमा २० हजाररुपैयाँसम्म करमा छुट हुने भएको भए तापनि हाल बिमा गर्ने कर्मचारीको संख्या पनि कमै रहेको पाइएको छ । हुम्लामा हाल सबैभन्दा बढी बिमांक रकम १ करोड रुपैयाँसम्मको छ । १ करोड रकम बराबरको बिमा गर्नेमा मानसरोवर होटलका मालिक चीन रावत र व्यवसायी थार्पा ऐडी छन् ।
एकातर्फ बिमा गर्नका लागि स्थानीय स्तरमा बिमा कम्पनी नहुनु, बिमा रकम नियमित तिर्न सक्ने आर्थिक स्थिति नहुनु, बैंक र वित्तीय संस्था सदरमुकाममा मात्र हुनु, बिमा कम्पनी पनि सदरमुकाम केन्द्रित हुनुले हुम्लामा बिमा गर्नेको संख्या न्यून हुन गएको छ ।
देशका अन्य जिल्लामा स्वास्थ्य बिमा सुरु भएको भएता पनि हुम्लामा यसको कुनै तयारीसमेत भएको छैन । बिरामी हुँदा निःशुल्क औषधोपचार लगायतको सुविधा प्राप्त गर्नका लागि स्वास्थ्य बिमा लाभदायक भएको भए तापनि त्यो हुन सकेको छैन । त्यसैगरी निर्जीवन बिमाका बारेमा अझै कुनै चासो र चिन्ता हुन सकेको छैन । पशु र कृषि बिमाको लागि पनि यस्तै अवस्था छ ।