कारोबार संवाददाता
सोमवार, भदौ ४, २०७५
785

एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ जीवन बिमा योजना ‘जीवन सञ्जीवनी’ (अग्रिम भुक्तानी सावधिक र आजीवन) सार्वजनिक गरेको छ । कम्पनीको सञ्चालक समितिका अध्यक्ष दीपककुमार श्रेष्ठले शनिबार लुम्बिनीको होटल बुद्धमाया गार्डेन्स्मा आयोजित कम्पनीको शाखा प्रबन्धक सम्मेलनको उद्घाटन कार्यक्रमका अवसरमा नयाँ बिमा योजना सार्वजनिक गरेका थिए ।
न्यूनतम ५० हजार रुपैयाँको बिमांकमै सुरु गर्न सकिने, बिमितले बिमा अवधिभर पटक–पटक किस्तामा भुक्तानी पाउने, बिमित ९९ वर्ष पूरा हुन्जेल जीवितै रहेमा थप बिमांक रकम भुक्तानी पाउने, बिमितले बिमाको रकम भुक्तानी पाउन बिमा समाप्ति अवधिसम्म कुर्नु नपर्ने, बिमा अवधिका आधारमा बिमा सुरु भएको शर्तसहित ३ वर्षदेखि नै किस्तामा बिमांकको रकम भुक्तानी पाउने तथा बिमा अवधिभित्रै बिमितको मृत्यु भएमा परिवारजनले बाँकी बिमाशुल्क नतिरी नै बिमांक रकम र आर्जित बोनस एकमुष्ठ भुक्तानी पाउने जस्ता यस योजनाका मुख्य विशेषताहरू रहेको कम्पनीले दाबी गरेको छ ।