कारोबार संवाददाता
आइतवार, भदौ ३, २०७५
610

स्वास्थ्य बिमा लागू हुँदा तनहुँमा आकर्षण निकै बढ्यो । स्वास्थ्य बिमाको फाइदाले सर्वसाधारण बिमा गर्न अग्रसर भए । तर, पछिल्लो समय जिल्लामा स्वास्थ्य बिमामा आकर्षण घटेको पाइएको छ ।
अघिल्लो वर्षको तुलनामा यो वर्ष बिमामा सर्वसाधारणको आकर्षण घटेको स्वास्थ्य बिमा बोर्ड तनहुँ कार्यालयले जनाएको छ । अघिल्लो बिमा गरेका ५० प्रतिशतले स्वास्थ्य बिमाको नवीकरण गरेका छैनन् । “असार महिनाभित्र नविकरण गरिसक्नुपर्ने थियो,” कार्यालयका बिमा अधिकृत नवराज भट्टराईले भने, “बिमितहरु नवीकरणकै क्रममा छन् ।”

जिल्लामा गत वर्षको असार १ गतेबाट सुरु भएको स्वास्थ्य बिमा कार्यक्रम चार चरणमा सञ्चालन भएको थियो । हाल तनहुँमा १० हजार घरपरिवारका ४० हजार ७ सय ७७ जनाले स्वास्थ्य बिमा गरेका छन् ।
जिल्लाको १० स्थानीय तहमध्ये सबैभन्दा बढी शुक्लागण्डकी नगरपालिकामा २ हजार ४ सय ९९ घरपरिवारका १० हजार ६ सय ६० जनाले स्वास्थ्य बिमा गरेको छन् भने सबैभन्दा कम ऋषिङ गाउँपालिकाको ३ सय ३ परिवारका १ हजार सय २३ जनाले स्वास्थ्य बिमा गरेका छन् ।
व्यास नगरपालिकाका १ हजार ८ सय १२ घरपरिवारका ७ हजार १ सय ८८
जनाले बिमा गरेका छन् भने भिमाद नगरपालिकाका १ हजार ९ सय ७१ घरपरिवारका ७
हजार ५ सय २५ जनाले स्वास्थ्य बिमा गरेका छन । आँबुखैरेनी गाउँपालिकाका ४
सय ५४ घरपरिवारका १ हजार ८ सय ९४ जनाले बिमा गरेका छन् । बन्दीपुरका ५ सय २६ घरका २ हजार १ सय ३१ ज्ना सदस्यले बिमा गरेका छन् । भानुका ८ सय २
घरपरिवारका २ हजार ८ सय ९८ जनाको बिमा भएको छ ।
देवघाटको ५ सय ९२ परिवारको २ हजार ६ सय ९८ जनाले बिमा गरेका छन् । घिरिङ गाउँपालिकाको ४ सय १७ परिवारको १ हजार ८ सय ७२ जनाको बिमा भएको छ भने म्याग्देको ६ सय २४ परिवारको २ हजार ६ सय ६२ सदस्यले स्वास्थ्य बिमा गरेको कार्यालयले जनाएको छ ।
हालसम्म स्वास्थ्य बिमा गरेका ११ हजार १ सय ९ जना बीमितले मात्र सेवा लिएका छन् । बिमा कार्यालय तनहुँले जिल्लाभर बिमा दर्ताका लागि ९८ अभिकर्ता खटाइएको छ ।
किन घट्यो आकर्षण ?
बिमा अधिकृत भट्टराईका अनुसार बिमामा आकर्षण घट्नुको कारण बिमा सहयोगीहरुले बिमा बारेमा स्पष्ट जानकारी गराउन नसक्नु, बिरामीले अपेक्षा गरेअनुसार औषधि नपाउनु रहेको अनुमान गर्छन् ।
“सेवा सुविधा नपाएको र विविध व्यवस्थापकीय कमजोरीका कारण बिमाप्रति सर्वसाधारणको आकर्षण घट्दै गएको हुन सक्छ,” भट्टराईले भने, “अहिले नयाँ दर्ता हुनेको संख्यामा समेत कमी आएको छ ।” न्यून आय भएका जनताले उपचारको लागि खर्च कम लाग्ने आशमा ऋण नै खोजेरै भएपनि गराएको बिमा कार्यक्रम प्रभावकारी ढंगबाट अगाडि बढ्न नसक्दा धेरैले नवीकरण नगरेको अनुमान गरिएको छ ।
शुक्लागण्डकी नगरपालिकाकी बिमा अभिकर्ता सरस्वती सिग्देलले पनि अधिकांश बिमितले यस वर्ष नवीकरण नगरेको बताइन् । उनले बिमा गरे पनि कुनै सेवा नपाएको भन्दै बिमितहरु बिमाको नविकरण गर्न अनिच्छुक बनेको बताइन् ।
स्वास्थ्य बिमा गरेका व्यास–१ गल्वुवेशी निवासी सन्तबहादुर नेपालीले विरामी हुँदा परीक्षण गर्न जाँदा निःशुल्क औषधि नपाएपछि बाहिर मेडिकलमा गएर किन्नुपर्ने बाध्यता रहेको बताए । “स्वास्थ्य बिमा सुरुमा आकर्षण नै लाग्थ्यो,” उनले भने, “बिमा गरेपछि औषधि निःशुल्क पाइन्छ भन्ने लागेको थियो । पैसा हालेरै किन्नुपरेको छ ।”
तनहुँमा दमौली अस्पताल, बन्दीपुर स्थित बन्दीपुर अस्पताल, भीमादस्थित भीमाद
प्राथमिक स्वास्थ्य केन्द्र, भानु नगरपालिकाका पुरनडिही प्राथमिक स्वास्थ्य केन्द्र र बेलचौतारा स्थित जिपी कोइराला श्वास प्रश्वास उपचार केन्द्रमा स्वास्थ्य बिमाको सेवा लिन सकिने व्यवस्था गरिएको छ ।