कारोबार संवाददाता
मंगलबार, श्रावण २९, २०७५
730

सरकारले दुई वर्षभित्र देशको कुल घरपरिवारको आधालाई स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत बिमित गरिसक्ने लक्ष्य चुनौतीपूर्ण रहेको देखिएको छ । स्वास्थ्य बीमा कार्यक्रमलाई देशका ७७ वटै जिल्लामा पु-याउने सरकारले लक्ष्य लिएको छ ।
यो कार्यक्रमअन्तर्गत ५० प्रतिशत परिवारको स्वास्थ्य बीमा गरिसक्ने लक्ष्य रहेको स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. उमाशंकर प्रसादले बताए । बोर्ड आफैंले यसको आफ्नै संरचना निर्माण गर्नुपर्ने चुनौती आफ्ना लागि रहेको उनले जनाए ।

उनले भने, “पहिले त अपूरो बोर्ड पूरा गर्नुपर्ने छ । दोस्रो काम यो संरचनाका लागि चाहिने दरबन्दी अनुसारको कर्मचारी नियुक्ति गर्नुपर्ने छ ।” बोर्डको कामका लागि अहिले कर्मचारी काजमा खटि आएको जनाउँदै उनले सरकारबाट प्राप्त हुने सहयोग निरन्तर द्रुत गतिमा हुनुपर्ने आवश्यकता रहेको बताए ।
कार्यक्रमअन्तर्गत ५ जना भएको परिवारले बर्सेनी २ हजार ५ सय तिरेर बीमा गराउँदा त्यो परिवारको वार्षिक ५० हजारको स्वास्थ्य खर्च यो बीमाले भपाई गर्नेछ ।
सन् २०२० सम्ममा देशको कुल घरपरिवारको ५० प्रतिशतलाई यो बीमाबाट बिमित गर्नु भनेको २७ लाखभन्दा बढी घरपरिवारलाई यो कार्यक्रममा समावेश गर्नुपर्ने हो । सन् २०१२ को केन्द्रीय तथ्यांक विभागको पकेट बुक अनुसार कुल घरपरिवारको संख्या ५४ लाख २३ हजार २ सय ९७ रहेको छ । यो चुनौतीपूर्ण रहेको भएपनि सरकारले गरेको प्रतिबद्धता अनुसार सहयोग उपलब्ध गराए लक्ष्य पूरा हुन सक्ने आफूले पाएको अध्यक्ष डा. प्रसादले बताए ।
अहिलेसम्म ७.४ प्रतिशत घर परिवार स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत बिमित भइसकेको उनले जनाएका छन् । आफूले यसबारे थप अध्ययन गरिरहेको बताउँदै डा. प्रसादले त्यसपछि कार्ययोजनामा थपघट गर्ने बताए ।