कारोबार संवाददाता
शुक्रवार, असार १९, २०७७
592

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले बिमित श्रीराम थापा मगरको परिवारलाई ३४ लाख बिमा दाबी रकम हस्तान्तरण गरेको छ । बोटलर्स नेपाल (तराई) का कर्मचारी समेत रहेका भरतपुर महानगरपालिका–१२ का स्वर्गीय थापाको नाममा बोटलर्स नेपालले सामूहिक म्यादी बिमा योजना अन्तर्गत ३६ लाख रुपैयाँ बिमांकको बिमा गरिदिएको थियो ।
उक्त बिमाबापत थापाले वार्षिक १० हजार रूपैयाँ प्रिमियम कम्पनीलाई बुझाउँदै आएका थिए । मंगलबार भरतपुरमा आयोजित एक कार्यक्रमकाबीच थापाकी श्रीमती श्यामकुमारी मगरलाई ३४ लाख १२ हजार ५४८ रुपैयाँको चेक हस्तान्तरण गरिएको कम्पनीले बताएको छ । बिमांक रकममा ५ प्रतिशत कटाएर बाँकी रकम उपलब्ध गराइएको सिटिजनको शाखा कार्यालय नारायणगढका प्रमुख गोकर्ण कार्कीले जानकारी दिए ।
बोटलर्स नेपाल तराईका एचआर म्यानेजर शैलेन्द्र चतुरवेदीले कर्मचारीको भविष्य हेरेर कम्पनीले बिमा गरिदिएको बताए । “घटना दुर्घटना नहोस् तर, भइहाले पनि बिमा गरेपछि परिवारका सदस्यलाई राहत हुन्छ”, उनले भने । थापाको गत फागुनमा मृत्यु भएको थियो ।