कारोबार संवाददाता
बुधवार, जेठ १४, २०७७
669

बिमा कम्पनीहरुको विस्तार र सर्वसाधारणमा आकर्षण बढेसँगै सर्वसाधारण नेपालीमा बिमाको पहुँच बढेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार संघीय संसद्मा चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै २०७६ फागुनसम्ममा करिव २२ प्रतिशत जनताको पहुँचमा बिमा पुगेको जानकारी दिए ।
अघिल्लो आर्थिक वर्षमा बिमाको पहुँच १८ प्रतिशतमा पुगेकोमा एक वर्षमा पहुँच ४ प्रतिशतले वृद्धि भएको छ । नयाँ बिमा कम्पनीहरु थपिएपछि गाउँ गाउँ शाखा विस्तार भएको र यसबाट बिमाबारे जनचेतना बढाउन तथा बिमाको पहुँच बढाउन मद्दत पुगेको छ । वैदेशिक रोजगार र म्यादी पनि गणना गर्ने हो भने बिमाको पहुँच २६ प्रतिशतमा पुग्ने अर्थमन्त्री खतिवडाले बताए ।

हाल १९ जीवन बिमा, २० निर्जीवन बिमा र एक पुनर्बिमा एक गरी ४० वटा कम्पनीले सेवा दिइरहेका छन् । संघीय संरचना अनुसार बिमा कम्पनीलाई शाखा विस्तार गर्न निर्देशन दिइएकोमा २०७६ फागुन मसान्तसम्ममा जीवनको एक हजार ८२७ र निर्जीवनको एक हजार १७० गरी दुई हजार ९९७ शाखा पुगेको छ । यसमध्ये सबैभन्दा बढी शाखा बागमती प्रदेशमा र सबैभन्दा कम शाखा कर्णाली प्रदेशमा रहेको सर्वेक्षणमा उल्लेख छ ।
यसैगरी गत आर्थिक वर्षसम्ममा आर्थिक वर्षसम्म बिमा व्यवसायको कुल वित्तीय स्रोत तथा उपयोग ४ खर्ब ६१ करोड ६९ लाख रहेको छ । त्यसमध्ये जीवन बिमा गर्ने कम्पनीको ३ खर्व ९० अर्व ६४ करोड निर्जीवन बिमा कम्पनीको ७१ अर्व ५ करोड रहेको छ । कम्पनीहरुको व्यवसाय विस्तार हुँदै गएकाले बिमा शुल्क पनि बढ्दै गएको छ । गत आवसम्ममा ९५ अर्ब ३७ करोड बिमा शुल्क आर्जन भएकोमा एक खर्ब १८ अर्व हाराहारीमा पुग्ने अनुमान सर्वेक्षणमा गरिएको छ ।
यस्तै जीवन तथा निर्जीवन बिमा व्यवसाय गर्ने बिमकको लगानीयोग्य रकम क्रमशः वृद्धि भइरहेको छ । बिमक कम्पनीको लगानीयोग्य रकम ३ खर्ब २३ अर्ब ५५ करोड रहेकोमा जीवन बिमाको ८६.९ प्रतिशत र १३.१ प्रतिशत हिस्सा रहेको सर्वेक्षणमा उल्लेख गरिएको छ ।
बिमाको विस्तार र पहुँच बढेपनि सरकारले प्राथमिकता दिएको कृषि तथा पशुपंक्षी बिमा भने घटेको छ । कृषि तथा पशुपक्षी बिमामा सरकारले ७५ प्रतिशत अनुदान दिँदै आएको छ ।
गत आर्थिक वर्षमा कृषि तथा पशुपंक्षी बिमामा २२ अर्ब ९ करोड बिमांकको १ अर्ब ४४ लाख बिमा शुल्कमध्ये ७५ करोड ३५ लाख अनुदान दिएको थियो । यसैगरी चालू वर्षमा १८ अर्ब ८२ करोड ७६ लाख बिमांकको ८४ करोड ४४ लाख १६ हजार बिमा शुल्कमध्ये ६३ करोड ३३ लाख १२ हजार रुपैयाँ अनुदान दिएको छ ।
बिमा कम्पनीहरुले कृषि तथा पशुपंक्षी र लघुबिमामा चासो नदिएको भन्दै अर्थमन्त्री डा.खतिवडाले असन्तुष्टी जनाएका थिए । बिमा समितिको वार्षिकउत्सव कार्यक्रममा बोल्दै उनले पुराना कम्पनीहरुले काम नगरे नयाँ कम्पनी दर्ता गरेर भएपनि कृषि बिमाको पहुँच र दायरा विस्तार गर्ने बताएका थिए ।