कारोबार संवाददाता
आइतवार, जेठ ११, २०७७
1213

कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएपछि बिमा समितिले कोरोना बिमालेखमा कडाइ गरेको छ । समितिले निर्जीवन बिमा कम्पनीहरूलाई अन्डरराइटिङपछि मात्र बिमालेख जारी गर्न निर्देशन दिएको हो ।
समितिको निर्देशनअनुसार अब विदेशबाट आएका व्यक्तिहरूले अब सिधै कोरोना बिमा गर्न नपाउने भएका छन् । विदेशबाट आएका मानिसहरूले १५ दिन क्वारेन्टाइन र १५ दिन परिवारसँग घुलमिल भएपछि आरडीटी परीक्षण गराउनुपर्ने र त्यसमा संक्रमण नदेखिएमा मात्र कोरोनाको बिमा गर्न सक्नेछन् । आरडीटी परीक्षणको प्रमाणीकरण स्थानीय तहले गरिदिनुपर्ने व्यवस्थासमेत गरेको छ ।

समितिले कोरोना बिमालाई अन्डरराइटिङ कार्यका लागि उक्त व्यवस्था गरेको छ । यसअघि जो कोहिले पनि सजिलै कोरोना बिमा गर्नसक्ने व्यवस्था रहेको थियो । समितिले गरिब तथा मध्यम बर्गका मानिसहरूलाई मध्यनजर राख्दै बैशाख ७ गते कोरोना बिमा कार्यक्रम अगाडि सारेको थियो । पछिल्लो समयमा विभिन्न कर्पोरेट हाउसलगायत संघसंस्थाहरूले सामूहिक रूपमा कोरोना बिमामा आकर्षण बढिरहेको छ ।
समितिका अनुसार एक महिनामा १२ हजार ५७८ बिमा लेखमार्फत १ लाख ५९ हजार ९३६ जनाको कोरोना बिमा भइसकेको छ । त्यसमार्फत ८ करोड ६१ लाख ४४ हजार रूपैयाँ बराबर बिमा शुल्क संकलन भएको छ । कम्पनीहरूले ५० हजार र १ लाख रूपैयाँ बराबर बिमांक बराबरको बिमालेख जारी गर्न सक्नेछन् ।
५० हजार रूपैयाँ बिमांक बराबरको बिमा लेख जारी गर्दा एक जनाको मात्र सुरक्षणमा प्रतिव्यक्ति ५०० रूपैयाँ र परिवारका सबै सदस्यको समेत बिमा गर्दा प्रतिव्यक्ति ३०० रूपैयाँ बिमा शुल्क तोकिएको छ । यसैगरी एक लाख रूपैयाँ बिमांक बराबरको पोलेसी जारी गर्दा व्यक्तिगत बिमामा एक हजार रूपैयाँ र परिवारका सबै सदस्यको गर्दा प्रतिव्यक्ति ६ सय रूपैयाँ शुल्क तोकिएको छ ।
कोरोना बिमालेख खरिद गरेको व्यक्तिको पीसीआर रिपोर्ट पोजेटिभ देखिएमा बिमितले दावी भुक्तानी प्राप्त गर्नेछन् । निर्जीवन बिमा कम्पनी र नेपाल पुनर्बिमा कम्पनीको सहकार्यमा कोरोना भाइरस बिमालेख सुरु गरेका थिए । उक्त बिमालेख लघुबिमा पुलमार्फत जारी हुँदै आएको छ । बिमा समितिले केही समय अघिमात्र जीवन बिमा कम्पनीका साथै अन्य संघसंस्थाहरूले कोरोना भाइरस बिमालेख बिक्री गर्न नपाउने व्यवस्था गरेको थियो ।