लक्ष्मीप्रसाद सापकोटा
मंगलबार, फाल्गुन ६, २०७६
614

पर्वतमा सामाजिक न्यायमा आधारित स्वास्थ्य विमा कार्यक्रम सुरु भएको छ ।
नेपाली नागरिकहरुलाई स्वास्थ्य सेवामा सहज पहुँच पु-याउने उद्देश्यले नेपाल सरकारले थालेको स्वास्थ्य बिमा कार्यक्रम पर्वतमा सोमबारदेखि सुरु भएको छ ।
नेपालको ५२ औं र गण्डकी प्रदेशको सातौं जिल्लाको रूपमा सोमबारदेखि स्वास्थ्य बिमा कार्यक्रम प्रारम्भ गरिएको छ । सोमबार जिल्लाका सातवटै स्थानीय तहका जनप्रतिनिधि र सरोकारवाला निकायको सहभागितामा सदस्यता दर्ता शुभारम्भ गरिएको छ । स्वास्थ्य बिमा बोर्डका कार्यकारी दिर्नेशक रमेशकुमार पोखरेलले जिल्ला समन्वय समिति पर्वतका संयोजक मनोहर बी पौडेललाई स्वास्थ्य बिमा सदस्यता परिचयपत्र वितरण गरेर कार्यक्रमको शुभारम्भ गरिएको हो ।
काठमाडौंले २०७२ सालमा कैलाली, बागलुङ र इलामबाट सुरु गरिएको उक्त कार्यक्रम गण्डकी प्रदेशका अन्य ६ जिल्लामा लागू हुँदै आएको थियो । आसपासका जिल्लाहरुमा कार्यक्रम लागू भए पनि पर्वत जिल्लाका बासिन्दाहरु भने अहिलेसम्म बञ्चित बनेका थिए । स्वास्थ्य बिमा कार्यक्रम जिल्लाभर लागू गर्न सबै स्थानीय तहका वडा–वडामा दर्ता सहयोगी जनशक्ति नियुक्त गरिएको छ । जिल्लाका ६१ वडामा एक÷एक जनाका दरले सहयोगी नियुक्त गरिएको हो ।
नेपालको संविधान २०७२ को धारा ३५ मा आधारभूत स्वास्थ्य सेवालाई नेपाली नागरिकको मौलिक हकका रूपमा समेटिएको छ भने संविधानको धारा ५१ ‘ज’ १५ मा राज्यका नीति निर्देशक सिद्धान्तअन्तर्गत नागरिकको स्वास्थ्य बीमा सुनिश्चित गर्दै उनीहरुको स्वास्थ्योपचारमा पहुँचको व्यवस्था मिलाउने भनी किटान गरिएको छ ।
स्वास्थ्य बिमा गर्नका लागि पाँच जनासम्मको परिवारले वार्षिक ३ हजार ५ सय र पाँच जनाभन्दा बढी सदस्य भएमा प्रतिसदस्यको थप ७ सय बीमा रकम तिर्नुपर्ने व्यवस्था रहेको स्वास्थ्य विमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले जानकारी दिए । उनका अनुसार स्वास्थ्य बीमा गरेमा सरकारले निःशुल्क प्रदान गर्ने सेवासँगै बहिरङ, अन्तरङ र आकस्मिक कक्षबाट प्रदान गरिने सेवा, स्वास्थ्य बिमा कार्यक्रमले तोकेका र परीक्षण सेवा पनि पाउने भएका छन् ।
त्यस्तै पाँच जनाको परिवारले आवश्यक पर्दा वार्षिक १ लाख र ५ जनाभन्दा बढी सदस्य भएका परिवारले प्रतिथप सदस्य २० हजार रुपैयाँ थप गरी २ लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा उपभोग गर्न पाउने व्यवस्था समेत गरिएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोह बी पौडेलले यो कार्यक्रमलाई जिल्लाभर प्रभावकारी रूपमा संचालन गर्न आग्रह गरे । उनले विपन्न र असहाय परिवारका लागि यो अझै प्रभावकारी हुने बताउँदै जनप्रतिनिधिहरुले आवश्यक सहयोग पु-याउन आग्रह गरे । कार्यक्रममा गण्डकी प्रदेशमा स्वास्थ्य बिमाको अवस्थाका बारेमा बोर्डका गण्डकी प्रदेश संयोजक जीवलाल खरेलले जानकारी दिए ।