कारोबार संवाददाता
सोमवार, माघ १३, २०७६
349

वैदेशिक रोजगारमा जाने श्रमिकहरूको म्यादी जीवन बिमा अनलाइनबाटै भुक्तानी गर्न सकिने गरी आइतबार वैदेशिक रोजगार विभाग र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच सम्झौता सम्पन्न भएको छ ।
सो बिमा कम्पनीले विभागसँग सम्झौता गरेका अन्य अनलाइन भुक्तानी सेवा प्रदायक सञ्चालकसँग अर्को सम्झौता गरी वैदेशिक रोजगार म्यादी बिमा विद्युतीय माध्यमबाट जारी गर्ने तथा बिमा नवीकरण र भुक्तानीको व्यवस्था मिलाउनेछ । अब जारी भएको बीमाको जानकारी सोझै वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा हुनेछ । कम्पनीको जुनसुकै शाखाले बिमा पोलिसी जारी गर्न सक्ने जनाइएको छ । अब श्रम तथा रोजगार कार्यालयको वरिपरि रहेको बिमा कम्पनीको कार्यालयसम्म धाउनु नपर्ने विभागले जनाएको छ ।
सम्झौताअनुसार अबको एक साताभित्र यो सेवा प्रारम्भ गरिसक्नु पर्ने उल्लेख छ । उक्त सेवावापत बिमा कम्पनीले सेवाग्राहीबाट कुनै थप शुल्क लिन पाउने छैन । वैदेशिक रोजगारीमा गएको व्यक्तिले आफू कार्यरत देश वा सो देश हेर्ने नेपाली कूटनीतिक नियोगबाट पुनः श्रमस्वीकृति लिने व्यवस्था गर्ने वित्तिकै बिमा पोलिसी अनलाइन नवीकरण गर्न सक्ने व्यवस्था गर्नुपर्ने छ । बीमित व्यक्तिले आफूले तिरेको प्रिमियमको रकम अनलाइनबाटै हेर्न सक्ने व्यवस्था समेत मिलाइनेछ ।