कारोबार संवाददाता
बुधवार, आश्विन २९, २०७६
527

अजोड इन्स्योरेन्स लिमिटेडले ३० लाख कित्ता सेयर प्रतिसेयर १०० रुपैयाँ अंकित दरले साधारण सेयर सर्वसाधारणहरूमा निष्कासन गर्नका लागि एनआईबीएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सेयर निष्कासनसम्बन्धी सम्झौतापत्रमा अजोड इन्स्योरेन्सको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा र एनआईबीएल एस क्यापिटलको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गरेका थिए ।
अजोड इन्स्योरेन्स लिमिटेडको अधिकृत पुँजी १ अर्ब रुपैयाँ, जारी पुंजी १ अर्ब रुपैयाँ र चुक्ता पुंजी ७० करोड रुपैयाँ छ भने सर्वसाधारणहरूलाई सेयर निष्कासन गरी बाँडफाँट गरेपश्चात् कम्पनीको चुक्ता पुंजी १ अर्ब रुपैयाँ हुने भन्दै अजोड इन्स्योरेन्स लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत २०६४ चैत २० मा पब्लिक लिमिटेड कम्पनीका रूपमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भई स्थापना भएको जनाएको छ ।
२०७४ माघ २४ गते बिमा समितिबाट निर्जीवन बिमा कारोबार गर्न विमकको प्रमाणपत्र प्राप्त गरेको यस कम्पनीले २०७४ असार २१ गतेदेखि बिमासम्बन्धी कारोबारको शुुभारम्भ गरेको थियो ।