कारोबार संवाददाता
बिहिवार, आश्विन ९, २०७६
443

बिमा समितिले पुँजी पु-याउन नसकेको भन्दै स्पष्टीकरण सोधेका बिमा कम्पनीहरूलाई बोनस सेयर र हकप्रदबाटै पुँजी पु-याउने अवसर दिएको छ ।
कम्पनीहरूले समितिमा कार्य योजनाअनुसार नै तोकिएको पुँजी पु-याउनका लागि काम गरिरहेको स्पष्टीकरण पेस गरेका थिए । उक्त स्पष्टीकरणपछि कम्पनीहरूसँग छलफल गरेर प्रतिबद्धतासहित थप समय दिइएको समितिले जानकारी दिएको छ ।

“स्पष्टीकरण प्राप्त भएपछि कम्पनीहरूसँग छलफल ग-यौं”, समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने, “बोनस तथा हकप्रदबाट पुँजी पु-याउने क्रममा रहेकाले केही समय दिएका हौं । समितिले हकप्रद सेयर जारी गर्ने प्रक्रियामा रहेका कम्पनीका संस्थापक, सञ्चालक र आधारभूत सेयरधनीले अग्रीम रूपमा (कल इन एड्भान्स) मा रकम जम्मा गर्न निर्देशन दिएको उनले बताए ।
समितिले साउन पहिलो साता ७ वटा कम्पनीलाई पुँजी नपु-याएकाबारे स्पष्टीकरण सोधेको थियो । समितिले जीवनतर्फ गुराँस, सूर्या, प्राइम लाइफ इन्स्योरेन्स र निर्जीवनतर्फ एनएलजी, युनाइटेड, प्रुडेन्सियल र लुम्बिनी इन्स्योरेन्स गरी सात कम्पनीलाई एक साताभित्र पुँजी नपुग्नुको कारणसहित उपस्थित हुन निर्देशन दिएको थियो । कम्पनीहरूले कार्ययोजनाअनुसार नै बोनस सेयर र हकप्रदबाट पुँजी वृद्धि गर्ने काम भइरहेको र त्यसका लागि केही समय लागेको स्पष्टीकरण समितिमा बुझाएका थिए ।
समितिको निर्देशनपछि मंगलबार मात्र प्राइम लाइफ इन्स्योरेन्सले विशेष साधारणसभा गरी तोकिएको पुँजी पु-याएको छ । कम्पनीको पुँजी १ अर्ब ७८ करोड रुपैयाँ रहेकोमा साधारणसभाले संचित नाफाबाट १२.५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेसँगै पुँजी २ अर्ब नाघेको छ ।
तोकिएको पुँजी पु-याउनका लागि दुई कम्पनी हकप्रद बिक्री गर्ने क्रममा छन् । सूर्या लाइफले बुधबारदेखि १० बराबर ७ को अनुपातमा हकप्रद सेयर जारी गरेको छ । उक्त सेयरका बिक्रीपछि पुँजी २ अर्व १५ करोड पुग्ने कम्पनीले जनाएको छ । युनाइटेड इस्योरेन्सले १ बराबर २.४ (१ ः २.४) को अनुपातमा हकप्रद बिक्री गरिरहेको छ । कम्पनीको हकप्रदका लागि आवेदन दिन समय असोज २३ गतेसम्मका लागि छ । उक्त हकप्रद बिक्रीसँगै कम्पनीको पुँजी १ अर्ब २ करोड नाघ्नेछ ।
यस्तै पुँजी पु-याउनका लागि हकप्रद सेयर घोषणा गरेका गुराँस लाइफ, एनएलजी र प्रुडेन्सीयल इस्योरेन्सको आवेदन नेपाल धितोपत्र बोर्डमा अध्ययनका क्रममा छ । बोर्डबाट स्वीकृत भएपछि गुराँस लाइफ एक बराबर एक (१ः१) र एनएलजी तथा प्रुडेन्सीयल १० बराबर ६ (१०ः६) को अनुपातमा हकप्रद सेयर जारी गरी तोकिएको पुँजी पु-याउने योजनामा छन् ।
यसैगरी लुम्बिनी जनरल इस्योरेन्सले २० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव साधारणसभाबाट पारित गरी प्रक्रिया अघि बढाएको छ ।
पुँजी नपु-याएका कम्पनीहरूमध्ये राष्ट्रिय बिमा संस्थान छुट्टै ऐनबाट सञ्चालित भएकाले समितिले कुनै निर्देशन दिएको छैन । यस्तै सरकारकै स्वामित्वमा रहेको राष्ट्रिय बिमा कम्पनीलाई यसअघि नै समितिले आर्थिक वर्ष २०७५-७६ को लेखापरीक्षण प्रतिवेदन पेस गर्न निर्देशन दिइसकेको छ । यसबाहेक विदेशी कम्पनीको शाखाका रूपमा सञ्चालनमा रहेका मेट लाइफका साथै ओरेन्टल र नेसनल इन्स्योरेन्सलाई समितिले यसअघि नै लाभांस घोषणा गर्न र कुनै पनि लाभांश आफ्नो देशमा लैजान रोक लगाइसकेको छ ।
समितिले २०७४ सालमा निर्देशन जारी गर्दै एक वर्षभित्र जीवन बिमा कम्पनीलाई २ अर्ब र निर्जीवन बिमा कम्पनीलाई एक अर्ब रुपैया पुँजी पु-याउन निर्देशन दिएको थियो । तोकिएको समयमा पुँजी पु-याउन नसकेपछि समितिले तीन पटक समय थप गरिसकेको छ । अन्तिम पटक दिएको समयम सिमा पनि २०७६ असारमा सकिएको छ ।
समितिले तोकिएको समयभित्र पुँजी पु-याउन नसक्ने कम्पनीलाई फोर्स मर्जरमा लैजाने बताउँदै आएको थियो । स्पष्टीकरण पत्र तथा छलफलमा कम्पनीहरूले चालु आवभित्रै पुँजी पु-याउने बताएपछि समिति अन्य कारबाहीबाट पछि हटेको हो ।