कारोबार संवाददाता
सोमवार, आश्विन ६, २०७६
1859

नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको वरिष्ठ अभिकर्ताहरूको राष्ट्रिय सम्मेलन ‘चेयरपर्सन क्लब’ समारोह काठमाडौंमा आइतबार सम्पन्न भएको छ । समारोहमा आर्थिक वर्ष २०७५-०७६ मा मुलुकभरि रहेका कम्पनीको ४७ हजार ४ सय अभिकर्ताहरूमध्ये उत्कृष्ट व्यवसाय गर्ने २ सय ३७ जना अभिकर्ताहरूलाई सम्मानित गरिएको भन्दै कम्पनीले कार्यक्रमको उद्घाटन अध्यक्ष श्रीमती प्रेमा सिंहले गरेको पनि जनाएको छ ।
उद्घाटन गर्दै अध्यक्षले कम्पनीको विविध पक्षबारे जानकारी गराउँदै कम्पनी वित्तीय एवं संरचनागत हिसाबले राम्रो रहेको, कम्पनीको जीवन बिमा कोष २७ अर्ब रुपैयाँभन्दा बढी पुगेको र चुक्ता पुँजी नियामक निकायले तोकेको २ अर्ब रुपैयाँलाई पार गरेर हाल ३ अर्ब रुपैयाँ पुगेको अवगत गराइन् ।

उनले वर्तमान प्रतिस्पर्धात्मक बजारमा कम्पनीले व्यवसाय विस्तारका लागि शाखा विस्तार, प्रविधिमा लगानी र नयाँ बिमा लेखहरूमा विशेष ध्यान दिइएको उल्लेख गर्दै व्यवसाय विस्तारसँगै कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वमा समेत विशेष ध्यान दिएको र गत वर्षदेखि विपन्नवर्गका बालबालिकाहरूलाई शिक्षाका लागि आर्थिक सहयोग उपलब्ध गराउने हिसाबले ‘बालबालिका शिक्षा योजना छात्रवृत्ति कार्यक्रम’ सञ्चालन गरेकोमा गत वर्ष ६ जना विपन्नवर्गका बालबालिकाहरूलाई छात्रवृत्ति उपलब्ध गराइएको र चालु वर्षमा थप ९ जना गरी हालसम्म जम्मा १५ जना बालबालिकाहरूलाई छात्रवृत्ति उपलब्ध गराइएको तथा आगामी वर्षहरूमा पनि यो कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरिन् ।
कार्यक्रममा कार्यकारी प्रमुख भरत बस्नेतले आव ०७५-७६ मा कम्पनीले सन्तोषजनक व्यवसाय गरेको र नेपालको जीवन बिमा क्षेत्रमा महत्वपूर्ण स्थान हासिल गरेको बताउँदै व्यवसाय सञ्चालनको विविध पक्षबारे जानकारी प्रस्तुत गरे । समारोहमा एजेन्सी म्यानेजरको वर्गमा नेपाल भरीमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ४ लाख रुपैयाँ, ३ लाख र २ लाख रुपैयाँ नगद पुरस्कार र सम्मान पत्र प्रदान गरियो ।
साथै व्यक्तिगत अभिकर्तामा नेपाल भरीमा प्रथम, द्वितीय एवं तृतीय हुनेलाई क्रमशः २.५० लाख रुपैयाँ, २ लाख रुपैयाँ र १ लाख रुपैयाँ पुरस्कार र सम्मानपत्र प्रदान गरियो । यसैगरी ७ वटा प्रदेशमा प्रथम, द्वितीय र तृतीय हुनेलाई समेत नगद पुरस्कार र सम्मानपत्र प्रदान गरियो ।