कृञ्जला पुलामी
शुक्रवार, आश्विन ३, २०७६
415

सिन्धुलीको कमलामाई नगरपालिकाले गरिब तथा विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिदिने भएको छ । नगर क्षेत्रभित्र बसोबास गरेका सुकुम्बासी, गरिब, विपन्न, मजदुर किसानहरूका लागि निःशुल्क स्वास्थ्य बिमा गरिदिने भएको हो ।
नगरपालिकाको चालू आर्थिक वर्ष ०७६-७७ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख सागरकुमार ढकालले बताए । सो कार्यक्रमका लागि यो वर्ष ३० लाख रुपैयाँ बजेट छट्याइएको उनले जानकारी दिए ।

उनका अनुसार स्वास्थ्य बिमाका लागि नगरपालिकाले नगरवासीलाई आवेदन आह्वान गरेको थियो । जसमा नगरको लक्ष्यभन्दा पनि ५ गुणा बढी आवेदन परेको ढकालले बताए । “करिब ९ सय परिवारको यो वर्ष स्वास्थ्य बिमा गराउदै छौं । तर, आवेदन हाम्रो टार्गेटभन्दा धेरै आएको छ ।” ढकालले भने, “आएका आवेदनहरू मध्येबाट पनि वास्तविक सुकुम्बासी, गरिब, विपन्न, मजदुर किसान छनोट गर्ने छौं ।”
स्वास्थ्य बिमाका लागि तोकिएको सीमा क्षेत्रमा परेका वास्तविक गरिबहरूलाई नै कार्यक्रममा समावेश गरिने उनले बताए । “हामीसँग वास्तविक सुकुम्बासी, गरिब वा विपन्न हो वा होइन भन्ने पहिचान गर्न धेरै आधारहरू छन् ।” उनले भने, “मेहनत धेरै लाग्छ । तर, पनि हामी क्रस चेक गर्ने योजनामा छौं ।” वडा कार्यालयले गरेको सिफारिस, नगरपालिकाले ढेड वर्षअघि गरेको आर्थिक सर्वेक्षण र गरिब घरपरिवार परिचयपत्रको रिपोर्टका आधारमा वास्तविक लक्षित वर्ग पहिचान गरिने सामाजिक विकास अधिकृत ढकालले बताए ।
चालु आवमा नगरका ८ सय ५८ सुकुम्बासी, गरिब, विपन्न, मजदुर किसानहरूका परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिने नगरपालिकाले जनाएको छ । अर्का वर्ष पनि यो कार्यक्रमलाई निरन्तरता दिइने बताइएको छ ।
एउटा परिवारका ५ जना सदस्यका लागि ३५ सय रुपैयाँमा स्वास्थ्य बिमा गरिनेछ । गरिब नागरिकहरूलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउनका लागि यो कार्यक्रमको थालनी गरिएको ढकालले बताए । “नगरपालिका भए पनि गरिब नागरिकहरू अझै स्वास्थ्य सेवाको पहुँचबाट बाहिर छन् । कतिपयले महँगो रकम तिरेर स्वास्थ्य उपचार तथा औषधि प्रयोग गरिरहेका छन् ।” उनले भने, “ती सबै लक्षित समुदायलाई सरकारको निःशुल्क स्वाथ्य बिमा कार्यक्रममा सहभागी गराउन नगरले यो कार्यक्रम ल्याएको हो ।”
स्वास्थ्य बिमा पछि प्रतिपरिवार वार्षिक १ लाखसम्मको स्वास्थ्य सेवा पाउने छन् । कार्यक्रमबाट बिमाकर्ताले सिन्धुली अस्पतालमा र अस्पतालले सिफारिस गरेमा नागरिकहरूले सूचीकृत भएका विभिन्न अस्पतालबाट स्वास्थ्य सेवा पाउने जनाइएको छ । बहिरंग, प्रसूति, एक्सरे, प्रयोगशाला, घाउ चिरफार, टाँका सिलाइ, अल्ट्रासाउन्ड, इन्डोस्कोपी, फिजियोथेरापी, मधुमेहलगायत ३२ किसिमका स्वास्थ्य सेवा पाउनेछन् ।