यादव हुमागाई
बुधवार, श्रावण ८, २०७६
906

बिमा समितिले दिएको समयसीमाभित्र तोकिएको चुक्ता पुँजी पु-याउन एक दर्जन बिमा कम्पनी असफल भएका छन् । तीन पटक समयावधि थप गर्दा पनि पुँजी पु-याउन नसकेपछि ती कम्पनीहरूलाई समितिले कारबाहीको प्रक्रिया अघि बढाएको छ । समितिले २०७४ सालमा निर्देशन जारी गर्दै एक वर्षभित्र जीवन बिमा कम्पनीलाई २ अर्ब र निर्जीवन बिमा कम्पनीलाई १ अर्ब रुपैयाँ पुँजी पु-याउन निर्देशन दिएको थियो । तोकिएको समयमा पुँजी पु-याउन नसकेपछि समितिले तीनपटक समय थप गरिसकेको छ । अन्तिम पटक दिएको समयसीमा पनि २०७६ असारमा सकिएको छ । यस अवधिमा पनि एक दर्जन कम्पनीले पुँजी पु-याउन नसकेपछि कारवाहि प्रक्रिया अघि बढाएको हो । समितिका अनुसार जीवनतर्फ गुराँस, सूर्या, प्राइम लाइफ इन्स्योरेन्सका साथै  राष्ट्रिय बिमा संस्थान र मेटलाइफको पुँजी पनि पुगेको छैन ।
यसैगरी, पुँजी नपु-याउनेमा निर्जीवनतर्फ एनएलजी, युनाइटेड, प्रुडेन्सियल, लुम्बिनी, ओरेन्टल, नेशनल इस्योरेन्स र राष्ट्रिय बिमा कम्पनी छन् ।  समितिको सोमबार बसेको बोर्ड बैठकले पुँजी नपु-याएका कम्पनीहरूमध्ये स्वदेशी लगानी भएका निजी बिमा कम्पनीहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । सोहीअनुसार समितिले जीवनतर्फ गुराँस, सूर्या, प्राइम लाइफ इन्स्योरेन्स र निर्जीवनतर्फ एनएलजी, युनाइटेड, प्रुडेन्सियल र लुम्बिनी इस्योरेन्स गरी सात कम्पनीलाई एक साताभित्र पुँजी नपुग्नुको कारणसहित सात दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ । “पुँजी नपु-याएका कम्पनीहरूलाई स्पष्टीकरण सोधेका छौं,” समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले भने, “स्पष्टीकरणको जवाफ प्राप्त भएपछि ऐनअनुसार थप कारबाहीको निर्णय लिन्छौं ।”पुँजी पु-याउन नसकेका कम्पनीहरूमध्ये अधिकांशले हकप्रद सेयर जारी गरेर पुँजी पु-याउने योजनामा छन् । पर्याप्त समय दिँदा पनि आलटाल गरेकाले स्पष्टिकरण सोधिएको चापागाईंले बताए ।

पुँजी नपु-याएका कम्पनीहरूमध्ये राष्ट्रिय बिमा संस्थान छुट्टै ऐनबाट सञ्चालित भएकाले समितिले निर्देशन दिन मिल्दैन । यस्तै, सरकारकै स्वामित्वमा रहेको राष्ट्रिय बिमा कम्पनीलाई यसअघि नै समितिले आर्थिक वर्ष २०७५-७६ को लेखापरिक्षण प्रतिवेदन पेश गर्न निर्देशन दिइसकेको छ । यसबाहेक विदेशी कम्पनीको शाखाको रूपमा सञ्चालनमा रहेका मेटलाइफका साथै  ओरेन्टल र नेशनल इस्योरेन्सलाई समितिले यसअघि नै लाभांस घोषणा गर्न र कुनै पनि लाभांस आफ्नो देशमा लैजान रोक लगाइसकेको छ । 
बिमा ऐन—२०४९ को दफा १२ मा समितिले दिएको निर्देशन पालना नगरेको खण्डमा बिमा व्यवसायमा आंशिक वा पूर्ण रोक लगाउन सक्ने व्यवस्था रहेको छ । सोहि दफाको व्यवस्थालाई टेकेर समितिले स्पष्टिकरण सोधेको र यसै अनुसार कारवाहि प्रक्रिया अघि बढाउने समितिले चेतावनी दिएको छ । हाल १९ जीवन बिमा तथा २० निर्जीवन र एक पुनर्बिमा  कम्पनी  सञ्चालनमा छन् ।