कारोबार संवाददाता
शुक्रवार, श्रावण ३, २०७६
1076

नेपाल इन्जिनियर्स एसोसिएसनले आज (शुक्रबार) मनाउने एसोसिएसनको ५७ औं इन्जिनियर दिवसको तयारी पूरा भएको जनाएको छ ।
५७ औं दिवसको पूर्वसन्ध्यामा रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै एसोसिएसनले उक्त दिवस प्रधानमन्त्री केपी शर्मा ओलीले (आज) शुक्रबार बिहान ११ बजे उद्घाटन गर्ने जानकारी गराएको हो । काठमाडौंमा प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृह र काठमाडौं बाहिर प्रदेश राजधानीस्थित एसोसिएसनका प्रादेशिक कार्यालयहरू धनगढी, सुर्खेत, बुटवल, पोखरा, हेटौंडा, जनकपुर र विराटनगरमा समेत विविध कार्यक्रम गरी उक्त दिवस मनाउन लागिएको एसोसिएसनका अध्यक्ष ई. प्रा.डा. त्रिरत्न बज्राचार्यले जानकारी दिए ।

अध्यक्ष बज्राचार्यका अनुसार उक्त दिवसलाई भव्य रूपमा सफल तुल्याउनका लागि ‘गोदावारी स्टिल्स’ले मुख्य प्रायोजनको भूमिका निर्वाह गर्ने भएको छ । त्यस्तै मुख्य आकर्षणका रूपमा इन्जिनियर समुदायको तर्फबाट समाज तथा राष्ट्रका लागि उत्कृष्ट योगदान पु-याएका इन्जिनियर÷आर्किटेक्ट तथा संस्थालाई लाइफ टाइम एचिभमेन्ट अवार्ड (पाँच जना सदस्यहरूले संयुक्त सिफारिस गरी पठाउनुपर्ने), डिस्टिंग्युस्ड अन्टरप्रन्युरसिप अवार्ड, सहिद ई. नवराज विष्ट स्मृति अवार्ड, आउटस्ट्यान्डिङ युथ प्रोफेसनल अवार्ड, आउटस्ट्यान्डिङ वुमेन इन्जिनियर अवार्ड, र इन्जिनियर्स एप्रिसिएसन अवार्ड गरी विभिन्न ६ विधामा अवार्ड पनि प्रदान गरिने एसोसिएसनले जनाएको छ । अवार्डको लागि स्वतन्त्र समितिले नाम छनोट गरिरहेको र शुक्रबार नै सार्वजनिक गर्ने अध्यक्ष बज्राचार्यले बताए ।
एसोसिएसनले विकासका कार्यक्रम लिएर जनताको घरदैलोमा पुग्ने इन्जिनियरहरूको सेवालाई अधिकार सम्पन्न बनाउन सरकारले काम गर्नुपर्ने पनि माग गरेको छ । एसोसिएसनले यस वर्षको इन्जिनियर दिवसको मूल नारा ‘समृद्ध नेपाल निर्माणका लागि इन्जिनियरिङ सेवा’ तय गरेको छ ।
अध्यक्ष बज्राचार्यले जबसम्म मुलुकमा प्राविधिक जनशक्तिको सेवाको सम्मान तथा दक्षताको उचित सम्बोधन गरिँदैन तबसम्म मुलुकको पूर्वाधारलगायत आर्थिक तथा सामाजिक विकास संभव नभएको जिकिर गरे । उनले भने, “यो पेसा जोखिमयुक्त पेसा हो ।” उनले शुक्रबारको कार्यक्रममा नै २० हजार इन्जिनियरहरूको सामूहिक दुर्घटना बिमा गरिने पनि जनाए । त्यस्तै, उनले इन्जिनियरिङ सेवा ऐन पनि आउन लागेकोमा खुसी व्यक्त गरे ।
एसोसिएनका अनुसार २० हजार इन्जिनियरको गरिने दुर्घटना बिमा नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय बिमा कम्पनी लिमिटेडसँग गरिने भएको हो । बिमांक १० लाख रहनेछ भने प्रिमियम ५० लाख तिर्नुपर्नेछ । तर, आफूहरूको चाहना बिमा दाबी गर्न नपरोस् भन्ने रहेको पनि अध्यक्ष बज्राचार्यले सुनाए । अहिलेलाई एसोसिएसनले नै प्रिमियम तिरिदिने भएको छ ।


सातामा धेरै पढिएको