कारोबार संवाददाता
आइतवार, असार २९, २०७६
663

जीवन बिमा सेवाको अतिरिक्त अन्य सेवासुविधा विस्तार गरी ग्राहकसेवा केन्द्रित योजना सञ्चालन गर्ने क्रममा ज्योतिलाइफ इन्स्योरेन्स कम्पनीले पत्रकार सम्मेलनमार्फत ‘ज्योति केयर्स’को औपचारिक शुभारम्भ गरेको छ । कम्पनीको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा कम्पनीका अध्यक्ष नन्दकिशोर शर्माले ‘ज्योति केयर्स’ औपचारिक शुभारम्भ गरेका हुन् ।
उक्त कार्यक्रममा ज्योति केयर्सको अवधारणा, कार्ड वितरण हुने मापदण्ड तथा कार्डबाहकले पाउने सेवा सुविधा र हालसम्म ज्योति केयर्सको माध्यबाट सुविधा प्रदान गर्न कम्पनीले सम्झौता गरेका सेवाप्रदायक साझेदार संस्थाहरूको विस्तृत विवरणसहित प्रस्तुति दिइएको थियो ।

कार्यक्रममा कम्पनीका अध्यक्ष शर्माले कम्पनीले आफ्नो व्यवसाय शुभारम्भदेखि नै घातक रोग उपचार सुविधालगायत नयाँ–नयाँ विशेषता भएका बिमा योजना जारी गरेको र ग्राहक सेवाका लागि थप कार्यहरू गर्ने क्रममा ज्योति केयर्सको माध्यमबाट बिमितहरूलाई अतिरिक्त सुविधा प्रदान गर्ने कार्यको सुरुवात भइसकेको र आगामी दिनमा नयाँ–नयाँ योजनामार्फत बिमितहरूलाई सेवा दिने जानकारी गराए ।
यस्तै, कम्पनीका कार्यकारी उपप्रमुख प्रकाशविक्रम खत्रीले कम्पनी सञ्चालनमा आएको २ वर्षभन्दा कम अवधिमा कम्पनीलाई प्राप्त विश्वास तथा सहयोगको कारणले बिमा क्षेत्रमा एउटा छुट्टै पहिचान बनाउन सफल भएकाले नै ज्योति केयर्स एउटा सुरुवात भएको बताए ।