कारोबार संवाददाता
आइतवार, माघ २१, २०७४
1852

जोखिमलाई आफ्नै क्षमताभित्र बहन गर्न सक्नु वा भविष्यमा आउन सक्ने जोखिमको पहिले नै अनुमान गरी त्यसको रक्षावरण गर्नु नै जोखिम व्यवस्थापन हो ।
जोखिमलाई व्यवस्थापन गर्ने उत्तम उपकरण भनेको बिमा हो । बिमा कम्पनीलाई निश्चित बिमाशुल्क बुझाई बिमायोग्य जोखिम हस्तान्तरण गर्न सकिन्छ । यस जोखिम व्यवस्थापनको उत्तम विकल्प मानिन्छ । आजको आधुनिक युगमा जोखिम व्यवस्थापनको सर्वोत्तम उपाय पनि यही हो ।

न्यूनतम् खर्चमा (बिमाशुल्क बुझाई) आफनो सम्पति, आम्दानी, पर्ने दायित्व एवं कामदारको यथोचित अधिकतम सुरक्षाको व्यवस्था गर्नु नै बास्तविक जोखिम व्यवस्थापन हो । यही आवश्यकताले नै बिमा क्षेत्रको विकास भएको हो । तर, सबै जोखिमलाई बिमा गर्न सकिन्छ भन्ने होइन, बिमा हुनका लागि जोखिमका विशेष चरित्र हुनु जरुरी छ । ती चरित्रहरूलाई यहाँ निम्न शीर्षकमा बर्ण गरिएको छ:
१. मूल्य किटान गर्न सकिने:  
कुनै पनि क्षतिमा मूल्यको निर्धारण हुनु आवश्यक हुन्छ । घर आगलागी हुँदा, सवारी साधन दुर्घटना हुँदा मर्मत खर्च कति लाग्छ ? सवारी साधन दुर्घटना भई तेस्रो पक्षको मृत्यु भएमा कतिसम्म भुक्तानी गर्नुपर्छ ? जीबन बिमाको हकमा कसैको मृत्युमा भएमा वा अशक्त हुँदा आश्रित परिवारले कतिसम्म आर्थिक क्षति बेहोर्नुपर्छ भन्ने कुराको मूल्यांकन गर्न सक्नुपर्छ । सोही आधारमा नै बिमितले बिमांक रकम तय गरी बिमा गर्छ ।
२. निश्चित बिमाशुल्क निर्धारण गर्न सकिने : 
जोखिम हस्तारन्तरणको लागि निश्चित बिमाशुल्क बुझाउनुपर्छ । बिमाशुल्कको निर्धारणका आधारहरू धेरै कुरामा आधारित हुन्छ । सम्पत्तिमा सुरक्षण गरिने जोखिमको प्रकृति, त्यसमा पर्न सक्ने दायित्वको सीमा, जीवन बिमामा बिमा गर्नेको उमेर स्वास्थ्यको स्थिति तथा भुक्तानी फिर्ता हुने अवधि आदि विवरणहरूका आधारमा बिमाशुल्क निर्धारण हुन्छ । बिमा कम्पनीहरूलाई बिमाशुल्क निर्धारणको निमित्त उस्तै प्रकारका धेरै जोखिमहरूको प्रस्ताव प्राप्त हुनुपर्छ । हस्तान्तरण हुने जोखिम थोरै छ वा एक दुइटा मात्र छन् भने बिमाशुल्कको निर्धारण बढी हुन्छ ।
३. घटना अनिश्चित हुनुपर्ने: 
जोखिम हस्तान्तरण गरिएका पक्षहरूमा घट्न सक्ने घटना अनिश्चित हुनुपर्छ । घटना घटी हालेमा पनि क्षति कति परिमाणको हुन्छ सो पनि अनिश्चित हुनुपर्छ । घटना हुने निश्चित छ भने बिमा गर्न मिल्दैन । अर्थात् घटना बिमा गर्ने व्यक्ति वा संस्थाको काबुभन्दा बाहिर हुनुपर्छ । जीवन बिमा गर्नेको कुनै एक दिन मृत्यु हुने निश्चित अवस्था देखिए पनि कुन दिन मृत्यु हुन्छ त्यो अनिश्चित छ । जीवन बिमा गर्नेले बिमा गराउँदा तत्कालै आत्महत्यको नियत नराखेको हुनुपर्छ ।
४. हस्तान्तरण गर्न बिमायोग्य हित हुनुपर्ने :
बिमाको माध्यमद्वारा जोखिम हस्तारन्तरण गरिँदा आइपर्न सक्ने क्षति वा दायित्व सिर्जना हुने बिमाको विषयबस्तुमा बिमा गर्न प्रस्ताव गर्ने व्यक्तिको आफनो बिमायोग्य हित भएको हुनुपर्छ, । घटना घटेमा हित कायम भएको व्यक्ति वा संस्थाले मात्रै क्षतिपूर्ति पाउनुपर्छ । अन्य व्यक्ति वा संस्थाको सम्पति, पर्ने दायित्व तथा अरूको जीवनमा बिमा गर्न मिल्दैन (कुनै–कुनै अपवाद अवस्था बाहेक) यसलाई बिमायोग्य हितका सिद्धान्तसम्बन्धी शीर्षकमा छुट्टै व्याख्या गरिएको छ ।
५.जनहितविरुद्ध हुने गरी हस्तान्तरण गर्न नहुने : 
जोखिम अनिश्चित हुनुपर्छ भन्दा बिमाको विषयवस्तु अर्थात् आफ्नो सम्पत्ति आफैंले जानीजानी आगो लगाउनु बिगार्न र क्षतिपूर्ति माग गर्न सामाजिक मान्यताविपरीत हुन्छ । सवारी दुर्घटना जानीजानी चालकलाई सम्बन्धित प्रहरीले गर्ने जारिवानाबापत बिमाबाट क्षतिपूर्ति हुँदैन । तर, तेस्रो पक्षप्रति दायित्वको भने क्षतिपूर्ति हुन्छ ।