कारोबार संवाददाता
आइतवार, जेठ २६, २०७६
196

 महालक्ष्मी लाइफ इन्स्योरेन्सले चौथो योजनाको रूपमा जीवन हेरचाह बिमा आइतबार (आज) बाट सर्वसाधारणमा बिक्रीका लागि ल्याउने भएको छ । एउटै बिमा योजनामा टर्म इन्स्योरेन्स, एन्युटी (पेन्सन) इन्स्योरेन्स र इन्डोमेन्ट इन्स्योरेन्सको समिश्रण रहेको यो योजना नेपालको बिमा बजारमा नौलो प्रस्तुति छ । केटाकेटी र सन्तानको सुरक्षित भविष्यलाई लक्षित गरी ल्याइएको यो बिमा योजनामा प्रस्तावक (अभिभावक) को मृत्यु भएमा इच्छाइएको व्यक्तिलाई बिमांक रकम एकमुष्ट तुरुन्त भुक्तानी गरिनेछ ।
बिमांक रकम भुक्तानीपछि पनि बिमाले निरन्तरता पाउँदै अवधि समाप्ति नभएसम्म प्रत्येक तीन–तीन महिनामा बिमांक रकमको २.५ प्रतिशत बाँकी जीवन निर्वाह भत्ता (पेन्सन) को रूपमा पाइरहने, बाँकी अवधिका लागि बिमा शुल्क तिर्नु नपर्ने र भुक्तानी अवधि समाप्ति पछि पुनः बिमांक रकम र आर्जित बोनस एकमुष्ट भुक्तानी पाउने व्यवस्था गरिएको छ ।
साथै प्रस्तावक दुर्घटनामा स्थायी अपांग वा अशक्त भएमा बाँकी अवधिका बिमा शुल्क छुट हुने र १२ वर्षसम्म त्रैमासिक रूपमा बिमांक रकमको २.५ प्रतिशत जीवन निर्वाह भत्ता उपलब्ध हुने व्यवस्थासमेत गरिएको छ । नेपालको बिमा बजारमा केटाकेटी बिमामा बच्चाको मृत्युपछि बिमा योजना रद्द हुने व्यवस्था छ । तर, महालक्ष्मी लाइफले ल्याएको योजनामा इच्छाइएको वा बच्चाको मृत्युपछि पनि बिमाले निरन्तरता पाइरहने र सो बिमा परिवारको इच्छाइएको व्यक्ति वा दोस्रो सन्तानमा हक हस्तान्तरण हुने एकदमै नौलो व्यवस्था गरिएको छ । साथै प्रस्तावक जीवितै रहेको अवस्थामा भुक्तानी अवधि समाप्तिपछि बिमांक र आर्जित बोनस एकमुष्ट पाउने व्यवस्था छ ।