कारोबार संवाददाता
मंगलबार, जेठ १४, २०७६
346

बिमाको पहुँच विस्तारमा उल्लेख्य सुधार भएको छ । आर्थिक वर्ष २०७५-७६ को आर्थिक सर्वेक्षणअनुसार चालू आर्थिक वर्षको फागुन महिनासम्ममा बिमाको पहुँच १८ प्रतिशतमा पुगेको छ ।
प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै बिमा साक्षरताका कारण बिमामा राम्रो सुधार भएको बताए । नेपालमा बिमाको इतिहास ७ दशक लामो भए पनि नागरिकको पहुँच अत्यन्तै कम छ । बिमा समितिको सकृयता तथा हालै बिमा कम्पनीहरूको संख्या वृद्धि भएबाट दवाव बढ्न गै बिमाको पहुँच विस्तार भएको मानिएको छ ।

सरकारले बिमाको पहुँच २५ प्रतिशत पु-याउने घोषणा गरेको छ । जसअनुसार चालू आर्थिक वर्षको अन्त्यसम्ममा २० प्रतिशत पुग्ने र आगामी डेढ वर्षभित्र २५ प्रतिशत बढ्ने आंकलन गरिएको छ । पछिल्लो समय बिमा कम्पनीहरूको लगानीको लाग पनि समितिले क्षेत्र विस्तार गरिदिएको तथा बजारमा बिमा साक्षरतामा कम्पनीले पनि लगानी गरेका कारण पनि बिमाको विस्तार भएको हो ।
पछल्लो समय बिमा कम्पनीले ५ प्रतिशतसम्म घरजग्गामा लगानी गर्न पाउने भएका छन् । बिमा समितिले लगानी निर्देशिका २०७५ मार्फत घरजग्गामा लगानी गर्न पाउने व्यवस्था गरेको थियो । यसअघि घरजग्गामा लगानी गर्न पाइने व्यवस्था थिएन । बिमा कम्पनीहरूले घर जग्गा व्यवसायमा रहेको लगानीलाई कम्तिमा प्रत्येक तीन वर्षमा एक पटक र घरजग्गा बाहेक अन्य क्षेत्रमा गरिएको लगानीलाई प्रत्येक दिन मूल्यांकन गर्नुपर्ने गरी नयाँ निर्देशिका आएपछि बिमा कम्पनी पनि उत्साहका साथ बजार विस्तारमा लागेका छन् ।
कम्पनीहरूले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त गरी दोस्रो बजारमा सूचीकृत नभएका पब्लिक कम्पनीमा लगानी गर्दा, घरजग्गा व्यवसाय, कृषि पर्यटन र जलस्रोतलगायतका पूर्वाधारमा तोकिएको सीमाभन्दा बढी लगानी गर्दा समितिबाट पूर्व स्वीकृति लिनुपर्ने, बिमा कम्पनीले बाणिज्य बैंक तथा नेपाल पूर्वाधार बैंकमा कम्तिमा पनि कूल टेक्निकल रिजर्भको ४० प्रतिशत रकम मुद्दती निक्षेपमा जम्मा गर्नुपर्ने जस्ता व्यवस्था निर्देशिकाले गरेको छ ।
समितिले जारी गरेको नयाँ निर्देशिकाले थप लगानीको दायरा विस्तार गरेकाले लगानीका दायरा बढ्ने पनि बिमा कम्पनीले बताउँदै आएका थिए ।