कारोबार संवाददाता
बिहिवार, जेठ २, २०७६
732

वीरगन्जमा निर्जिवन बिमा कम्पनी अजोडले आफ्नो कारोबार सुरु गरेको छ । सोमबार वीरगन्जमा क्षेत्रीय कार्यालयको उद्घाटन गरेर कारोबार सुरु गरेको हो । इन्स्योरेन्सको क्षेत्रीय कार्यालय उद्घाटन गर्दै वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले बिमा कम्पनीहरूलाई बिमा समितिले नै हस्तक्षेप गरेको आरोप लगाए । सेवा बिक्री गर्ने बिमा कम्पनीलाई मूल्य निर्धराण गर्न स्वतन्तता नदिएर बिमा समितिले हस्तक्षेप गर्ने गरेको उनको तर्क छ ।
सरावगीले बिमा समितिको एकाधिकारले नेपालका बिमा कम्पनी फस्टाउन नसकेको बताए । नेपालमा भएका बिमा कम्पनीहरूलाई मूल्य निर्धारण गर्ने स्वतन्त्रता नहुँदा बिमाको सेवा लिनेहरू देशभन्दा बाहिर जानुपरेको बताए । बिमा समितिले प्रिमियममा १ प्रतिशत रकम लिएर पनि बिमा सचेतनाका लागि कुनै कार्यक्रम नगरेको उनको भनाइ छ ।

अहिले नेपालमा तीन तहको सरकार रहेको र स्थानीय सरकारको पनि आफ्नै कानुनहरू पनि रहेकोले बिमा कम्पनीहरूले स्थानीय सरकारको कानुनहरू पनि अध्ययन गरेर मात्रै कारोबार सञ्चालन गर्न मेयर सरावगीले सुझाव दिए । उनले अधिकांश आगलागीका घटनाहरूको बिमा गरेको नपाइएकाले आफ्नो सम्पत्तिलाई जोखिमबाट बचाउन बिमा अनिवार्य गराउने व्यवस्था गर्नुपर्ने बताए । बिमा गराउने बेलामा कानुनी वैद्यताहरूलाई गहिरो अध्ययन गरेर मात्रै बिमा गर्न सुझाव दिए । वीरगन्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुवोध गुप्ताले खुला बजार अर्थतन्त्रमा बिमा कम्पनीको स्थापना हुनु राम्रो भएको भन्दै जति धेरै कम्पनीहरू आउँछन् उति प्रतिस्पर्धा हुने र सेवामा पनि गुणस्तरीयता आउने भएकाले निजी क्षेत्रले फाइदा पाउने बताए । ०६४ चैत २० गते कम्पनी रजिस्टारको कार्यालयमा दर्ता भएको अजोड इन्स्योरेन्स कम्पनीलाई चैत २४ गते बिमा समितिले कारोबारको अनुमति दिएको थियो । १ अर्ब अधिकृत पुँजी रहेको समितिले संस्थापक सदस्यबाट ७० करोड उठाइसकेको र बाँकी ३० करोड सर्वसाधारणका लागि सेयर जारी गर्ने तयारी गरिरहेको बिमा कम्पनीका उपकार्यकारी अधिकृत सुरेन्द्र थापाले जानकारी दिए । ६ वटा क्षेत्रीय कार्यालय र २३ वटा शाखा कार्यालय गरी ३० वटा शाखा कार्यालय १५ वटा बिमा काउन्टर र एउटा ग्राहक सेवा केन्द्रमार्फत ७ वटै प्रदेशमा बिमा सेवा प्रदान गर्न सक्षम भएको कम्पनीले बीमका ग्राहकहरूलाई अनलाइनबाट पनि बिमा गर्न सकिने व्यावस्था रहेको उपकार्यकारी अधिकृत थापाले बताए । कम्पनीले निर्जीवन बिमा व्यवसायअन्तर्गत सम्पत्ति बिमा, मोटर बिमा, सामुद्रिक बिमा, ईन्जिनियरिङ बिमा, हवाई बिमा, कृषि तथा पशु बिमा, लघु बिमा लगायतका बिमा सेवा प्रदान गर्दै आइरहेको छ ।
कम्पनीले छिटो छरितो दाबी भुक्तानी गर्ने गरेको दावी पनि पाण्डेले गरे । “कम्पनीमा प्राप्त दाबी संख्या १८९ मध्ये १६३ वटा दावी बराबर १ करोड ३३ लाख ८२ हजार दाबी भुक्तानी गरिएको छ । कम्पनीमा प्राप्त दाबीको ८६ प्रतिशत भुक्तानी हुनुलाई राम्रो मान्नैपर्छ ।” उनले भने, “दाबी भुक्तानीलाई अझै सरल, छिटो, छरितो, चुस्त र पारदर्शी बनाउन लागि परेका छौं । फाष्ट ट्र्याक दाबी भुक्तानी नीति अबलम्बन गरेर २ लाख रुपैयाँसम्मको दाबी भुक्तानी तत्कालै गर्ने व्यवस्था मिलाएका छौं ।”