कारोबार संवाददाता
मंगलबार, माघ १६, २०७४
1264

नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक) तनहुँले निर्माणका खटिने मजदुरहरूको दुर्घटना बिमा गराउन माग गरेको छ । बुधबार निमित्त प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै क्युपेक तनहुँले भवन निर्माणको नक्सा पास गर्दा नै निर्माण मजदुरहरूको अनिवार्य दुर्घटना बिमा गर्ने व्यवस्था मिलाउन माग गरेको हो ।
साथै उसले निर्माणको क्रममा मजदुर अंगभंग भएमा बाँच्न पुग्ने गरी रकमको व्यवस्था तथा मृत्यु भएमा उचित क्षतिपूर्ति दिने व्यवस्था मिलाउनसमेत माग गरेको छ ।

क्युपेक तनहँुका अध्यक्ष भिम गुरुङद्वारा बुझाइएको ज्ञापनपत्रमा निर्माण मजदुरलाई काम गरेको अनुभवका आधारमा दक्षताको प्रमाणपत्र स्थानीय तहबाट दिने व्यवस्था तथा स्थानीय तहबाट निर्माण मजदुरहरूलाई कार्य दक्षता अभिवृद्धिका लागि डकर्मी, विद्युतकर्मी, प्लम्बरसम्बन्धी तालिमको मागसमेत गरिएको छ ।
भवन निर्माणको काम गर्ने र गराउनेबीच अनिवार्य लिखित सम्झौता र सुरक्षा सामग्री घरधनीले नै दिनुपर्ने क्युपेक नेपालको माग छ । त्यस्तै निर्माण क्षेत्रमा भएको असमान ज्याला दिने विभेद अन्त्य गरी समान कामको समान ज्याला लागू गर्नुपर्ने, जिल्लाभित्रका भवन निर्माणका लागि निर्माणकर्ताले दक्ष निर्माणकर्मी छनोट गरेर मात्र नक्सा पासको व्यवस्था गर्नुपर्ने, जिल्लाभित्र हुने निर्माणका विभिन्न समस्याबारे स्थानीय तह र ट्रेड युनियनबीच छलफल गर्नको लागि श्रम डेक्सको व्यवस्था गर्नुपर्ने माग गरिएको छ ।
साथै निर्माण मजदुरहरूलाई स्थानीय तहमा दर्ता गर्ने व्यवस्था मिलाउनुका साथै मजदुरहरूलाई परिचयपत्र उपलब्ध गराउनसमेत माग गरिएको छ ।
क्युपेकका जिल्ला अध्यक्ष गुरुङले आफूहरूले राखेको मागहरू जिल्लाभित्रका स्थानीय तहले पूरा गर्न सक्ने हुँदा प्रशासनमार्फत हजारौं निर्माण मजदुरको माग राखिएको बताए । निर्माण क्षेत्र जस्तो संवेदनशील क्षेत्रका मजदुरहरूको समस्या समाधानमा स्थानीय तहको ध्यान जान नसकेकोले आफूहरूले यस्ता माग राख्नुपरेको उनको भनाई छ ।