कारोबार संवाददाता
आइतवार, बैशाख २२, २०७६
384

खोटाङमा स्वास्थ्य बिमा गर्नेहरूको संख्या १७ हजार नाघेको छ । २०७४ साल पुस २४ गतेदेखि स्वास्थ्य बिमा सुरु गरिएको खोटाङमा २०७६ वैशाख १३ गतेसम्म १७ हजार ४ सय ५१ जनाले बिमा गरेको स्वास्थ्य बिमा बोर्ड खोटाङका संयोजक सन्तोष दाहालले जानकारी दिए ।
उपचार खर्च अभावमा अकालमा ज्यान गुमाउन बाध्य नागरिकको जीवन रक्षाका लागि सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रम बापतको सेवा सुविधा प्राप्तिका लागि जिल्लाका १० वटै स्थानीय तहमा स्वास्थ्य बिमा दर्ता कार्यक्रम अघि बढाइएको छ ।

जिल्लाको ऐंसेलुखर्क प्राथमिक स्वास्थ्य केन्द्र, चिसापानी प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला अस्पताल खोटाङ, जिल्ला अस्पताल उदयपुर, जिल्ला अस्पताल ओखलढुंगा, जिल्ला अस्पताल सोलुखुम्बु, धरान, विराटनगर, काठमाडौं, भक्तपुरलगायत ठाउँमा रहेका सरकारी अस्पतालबाट बिमाको सर्तअनुसार स्वास्थ्य उपचार सेवा लिन पाउने गरी स्वास्थ्य बिमा दर्ता भइरहेको छ । हरेक वडामा नियुक्त स्वास्थ्य बिमा दर्ता सहयोगीले नाम दर्ता र परिचयपत्र वितरणको काम गरिरहेका छन् ।
सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति टेकु, काठमाडौंअन्तर्गत कात्तिकदेखि पुससम्म नाम दर्ता भएका नागरिकको स्वास्थ्य बिमा फागुन १ बाट, माघदेखि चैतसम्म नाम दर्ता गरेका नागरिकको बिमा जेठ १ बाट, वैशाखदेखि असारसम्म नाम दताए गरेका नागरिकको भदौ १ बाट र साउनदेखि असोजसम्म नाम दर्ता गरेका नागरिकको बिमा मंसिर १ गतेबाट लागू हुने जनाइएको छ ।
“हालसम्म १७ हजारभन्दा बढीले स्वास्थ्य बिमाका लागि नाम दर्ता गरेर परिचयपत्र लिइसकेका छन,” संयोजक दाहालले भने, “स्वास्थ्य बिमा लागू हुने महिनाको अघिल्लो महिना बिमा गराउनेको चाप बढी देखिएको छ ।” पाँच जनासम्मको परिवारले वार्षिक २५ सयको स्वास्थ्य बिमा गरेपछि बिरामी परेका समयमा वार्षिक ५० हजार रूपैयाँसम्मको स्वास्थ्य उपचार सेवा पाउने भएपछि स्थानीय यो कार्यक्रमप्रति हौसिएका छन् ।
पाँच जनाभन्दा बढी सदस्य भएको परिवारले स्वास्थ्य बिमा गर्न थप प्रतिव्यक्ति ४५० रूपैयाँका दरले शुल्क बुझाउनुपर्छ भने उपचार खर्च पनि ५० हजारमा प्रतिव्यक्ति थप १० हजारका दरले बढी सेवा पाउने बिमा बोर्डले जनाएको छ ।